तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
त्यो जय ट्रफी, यो जय ट्रफी
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपाली क्रिकेटका संस्थापक जयकुमार नाथ शाहको नाम नेपाली क्रिकेटमा अमर छ।
नेपाली क्रिकेटको कालखण्ड हाँक्ने क्रममा ४ दशक लामो समय अध्यक्ष बनेका शाहले नेपाली क्रिकेटको जग बसाउन अहम् भूमिका खेलेको मानिन्छ।
आठ वर्षअगाडि ८९ वर्षको उमेरमा उनको निधन भयो। तर शाहको योगदानको सम्झना क्रिकेट जगतमा भइरहन्छ।
गत वर्ष नेपाल क्रिकेट सङ्घले उनको सम्मानमा मूलपानीको माथिल्लो क्रिकेट रङ्गशालाको नाम 'जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट' मैदान राखेको थियो।
त्यही मैदानमा यूएईलाई पराजित गर्दै गत वर्षको टी-२० विश्वकपमा नेपाल छानिएको थियो।
शाहको नाममा यू-१६ महिला क्रिकेट प्रतियोगिता पनि आयोजना हुने गर्दछ।
अहिले क्यानले सुरु गरेको लामो संरचनाको दुई दिवसीय/तीन दिवसीय क्रिकेट प्रतियोगिताको नाम पनि 'जय ट्रफी एलिट कप क्रिकेट' राखिएको छ।
लामो फर्म्याटको क्रिकेट नेपालमा नभएको अहिलेको अवस्थामा नेपाली खेलाडीहरूलाई टेस्ट स्तरमा पुर्याउन आवश्यक ठानिएको यो ढाँचाको प्रतियोगिताको नाम स्वर्गीय जयकुमारको नाममा राखिनुले क्यानले उनको उच्च कदर गरेको देखिन्छ।
जय कुमारको नाममा हुन लागेको यो पहिलो प्रतियोगिता भने होइन।
उनी आफू क्यानको अध्यक्ष हुँदा आफ्नै नाममा प्रतियोगिता आयोजना गरेका थिए।
'जय ट्रफी' को नाममा भएको उक्त प्रतिस्पर्धालाई नेपाली क्रिकेट इतिहासको कालखण्डमा उल्लेख्य प्रतियोगिताको रूपमा सम्झने गरिन्छ।
त्यो जय ट्रफी
जयकुमार नाथ सन् १९६५ देखि २००५ सम्म ४० वर्ष निरन्तर नेपाल क्रिकेट सङ्घको अध्यक्ष बन्ने अनौठो कीर्तिमान उनको नाममा छ।
यो अवधिमा उनले नेपाली क्रिकेटलाई संस्थागत गर्ने काम गरेको क्रिकेटका जानकार बताउँछन्।
तत्कालीन राज परिवारका सदस्य शाह भारतमा पढ्न जाँदा त्यहीँ क्रिकेट सिकेका, पछि नेपालको राष्ट्रिय टोलीका सदस्य बनेका र पछि क्यानको जिम्मेवारी सम्हालेका हुन्।
विसं २०२२ मा उनी क्यानको अध्यक्ष हुँदा नेपाली क्रिकेट भर्खरै बामे सर्दै थियो।
त्यति बेला मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता हुने गर्दथ्यो। क्रिकेटलाई देशव्यापी बनाउने उद्देश्यले जिल्ला जिल्लामा क्रिकेट पुर्याउने योजना क्यानले बनायो।
जय कुमार नाथ शाह र तत्कालीन महासचिव विनयराज पाण्डे राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने प्रस्ताव लिएर राष्ट्रिय खेलकुद परिषद् पुगे।
महासचिव पाण्डेका अनुसार राखेपका तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले राष्ट्रिय प्रतियोगिता गर्न कम्तीमा पाँच अञ्चलको सहभागिता हुनुपर्ने बताएपछि क्यानले आठ अञ्चल पुर्याउन सफल भएको थियो।
पाण्डे भन्छन्, "हामीले प्रत्येक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने प्रस्ताव राख्दा शरदचन्द्र शाहले त्यसको लागि छुट्टै ट्रफी र नाममा क्रिकेट गर्न भने। अनि अध्यक्ष शाहले आफ्नै नाममा ट्रफी राखेर प्रतियोगिता सुरु गर्न तयार भए। राष्ट्रिय खेलकुद दुई वर्षमा हुन्थ्यो। हामीले भने प्रत्येक वर्ष जय ट्रफी गर्यौँ।"
विसं २०३७ सालदेखि जय ट्रफी हरेक वर्ष नियमित रूपमा सञ्चालन हुन थाल्यो। त्यही प्रतियोगिता नेपाली क्रिकेटको विकासको मेरुदण्ड बन्न पुग्यो।
प्रतियोगिता विभिन्न जिल्लामा हुने गर्दथ्यो र देशभरिका खेलाडीहरूको क्रिकेट प्रतिभा पस्किने थलो बनेको थियो।
अञ्चल/अञ्चल बीच प्रतिस्पर्धा हुन्थ्यो। कतिपय अञ्चलले जय ट्रफी नियमित नखेले पनि अधिकांश अञ्चलहरूबीच च्याम्पिअन बन्न कडा टक्कर चल्थ्यो।
राष्ट्रिय टोलीमा पुग्ने ढोका भनेकै जय ट्रफी थियो। लामो समय राष्ट्रिय टोलीको छनोटको आधार जय ट्रफी नै बन्यो।
२०४२ साल ताका राप्तीबाट जय ट्रफी खेलेका क्यानका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराई राप्तीको टीम निर्माण गरेको सम्झिँदै भन्छन्, "त्यतिबेला म घोराहीमा बस्थेँ। त्यहाँ छोराहरूसँग खेल्थेँ। त्यहाँ कोही देहरादुन, कोही बनारस पढेकाहरू थिए। खेल्दै जाँदा राम्रो टीम बन्यो र राप्तीबाट हामीले जय ट्रफीमा प्रतिनिधित्व गर्यौँ।"
त्यति बेला राप्तीमा क्रिकेटको वातावरण निकै राम्रो बनेको उनको अनुभव छ।
विसं २०५३ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाल्यो।
राष्ट्रिय टोलीको छनोटको आधार उही जय ट्रफीको प्रदर्शन थियो।
रमाइलो तथ्य के छ भने सो वर्ष जय ट्रफीको आयोजना भइसकेको थियो। तर छनोटको लागि सोही वर्ष अर्को जय ट्रफीको पनि आयोजना गरिएको थियो। अर्थात् एकै सालमा दुई पटक जय ट्रफी भएको थियो।
विसं २०५८ मा १८ औँ जय ट्रफीको आयोजना गरेपछि यो प्रतियोगिता बन्द हुन पुग्यो। राष्ट्रिय खेलकुद परिषद्ले बनाएको नयाँ नियमका कारण त्यस्तो भएको थियो।
राखेपले राष्ट्रिय विभूतिको नाममा राष्ट्रिय खेल गर्न पाउने तर व्यक्तिको नाममा राष्ट्रिय प्रतियोगिता गर्न नपाउने नियम बनाएपछि यो प्रतियोगिता बन्द हुन पुग्यो।
यो जय ट्रफी एलिट कप
स्वर्गीय शाहले स्थापना गरेको जय ट्रफी नेपाली क्रिकेटको मेरुदण्ड बनेको थियो। अहिले हुँदै गरेको 'जय ट्रफी एलिट कप' को उद्देश्य नेपाललाई टेस्ट राष्ट्रतिर अग्रसर बनाउने पाइला हुनेछ।
लामो भर्सनको क्रिकेटलाई नै वास्तविक क्रिकेट प्रतिस्पर्धा मानिन्छ।
खेलाडीहरूको प्रदर्शनलाई मजबुत बनाउन लामो संरचनाको प्रतियोगिता निकै आवश्यक ठानिन्छ। धैर्य गरेर लामो इनिङ ब्याटिङ गर्ने र चाहे जस्तो ठाउँमा बल फ्याल्न सक्ने क्षमता यस्तो खाले प्रतिस्पर्धाबाट निखारिने गर्छ।
क्यानले प्रतियोगिताको उद्देश्य आईसीसीको पूर्ण सदस्य पाउने लक्ष्यमा पुग्न लामो भर्सनको क्रिकेट आवश्यक पर्ने हुनाले जय ट्रफीको सुरुवात गरेको जनाएको छ।
क्यानका अनुसार यसै प्रतियोगितालाई भविष्यमा प्रथम श्रेणीको स्वरूप दिनेछ।
रातो बल र सेतो जर्सीमा खेल्ने यो प्रतियोगिता जनकपुर र वीरगन्जमा यही पुस २१ देखि माघ ३ सम्म चल्नेछ।
सन् २०२४ को प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चार स्थानमा रहन सफल नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सहित वाग्मती प्रदेश र मधेस प्रदेशलाई प्रतियोगितामा समावेश गरिएको हो।
सशस्त्र प्रहरी बल एपीएफ शीर्ष चारमा पर्न नसक्दा प्रतियोगितामा भाग लिन पाएन। जसले गर्दा कप्तान रोहित पौडेलसहित केही राम्रा खेलाडीहरूले जय ट्रफी एलिट कपमा भाग लिन पाएनन्।
नेपालमा विगतमा यस्तो प्रतियोगिता नभएको होइन, तर त्यसले निरन्तरता पाउन सकेन। अहिले क्यानले योजना सहित प्रतियोगिताको आयोजना गरेको देखिएकोले यसले लामो समय चल्ने विश्वास पूर्व खेलाडी किरण राणाको छ।
काठमाण्डूबाट जय ट्रफी खेलेर आफ्नो कप्तानीमा च्याम्पिअन बनाउन सफल भएका राणा भन्छन्, "हाम्रा पालामा यस्तो खाले प्रतियोगिता हुन सकेन। अहिले नेपालको लक्ष्य टेस्ट खेल्ने हो। त्यसको लागि यस्तो संरचना अपरिहार्य छ। यसलाई अझ बृहत् र ठूलो बनाउँदै लैजानुपर्छ।"
जय ट्रफी सुरु भइसकेको छ। चार शीर्ष टोलीका खेलाडीहरूको प्रदर्शनमा देखिने निखारले यसको महत्त्व बढ्ने कतिपयको विश्वास छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।