तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एनपीएल फाइनलमा देखिएको 'अराजकता'माथि अनुसन्धान, हुलदङ्गा रोक्न विज्ञका कस्ता सुझाव
नेपाल प्रिमिअर लीग क्रिकेटको फाइनलपछि केही क्रिकेट समर्थकहरूले देखाएको अराजक व्यवहारको अनुसन्धान गरिरहेको बताइरहँदा यस्ता घटनाले देशमा लोकप्रियताको शिखरमा रहेको क्रिकेटको साख गिराउन सक्ने र भविष्यमा यस्ता गतिविधि रोक्न पहल थालिनुपर्ने विज्ञहरूले बताएका छन्।
प्रतियोगिताभर जम्मा एक खेल हारेको सुदूरपश्चिम रोयल्सलाई फाइनलमा जनकपुर बोल्ट्सले पराजित गरेपछि बोल्ट्सका केही समर्थकहरूमाथि अपमानजनक र उच्छृङ्खल व्यवहार गरिएका विवरणहरू आएका छन्।
उनीहरुविरूद्ध संवेदनशील शब्दहरू प्रयोग गरिएका र कतिपय समर्थकहरूलाई हातपात भएका भनिएका भिडिओ फूटेज सामाजिक सञ्जालमा देखा परिरहेका छन्।
नेपाल प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको र दुर्व्यवहारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जनाएको छ।
आयोजक नेपाल क्रिकेट सङ्घका प्रवक्ताले आफूहरूले पनि त्यसबारे विस्तृत अध्ययन गर्ने र यस्ता घटना भविष्यमा हुन नदिन सावधानी बढाउने बताएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक जना पूर्व कप्तानले खेलमा समर्थकहरूबीच बेला बेलामा हुलदङ्गा हुनु सामान्य भए पनि यस्ता व्यवहारमा वृद्धि भए त्यसले नेपालमा बढ्दो क्रिकेटको लोकप्रियतालाई नै प्रभावित तुल्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।
एनपीलएलपछिका दृश्य र प्रहरीको प्रतिक्रिया
फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको खुसीयाली मनाइरहेको क्षणभरमै त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान छेउछाउ केही समर्थकहरूले देखाएका भनिएका व्यवहार यो प्रतियोगिता सकिएको दुई दिनपछि पनि चर्चामा छ।
सामाजिक सञ्जालमा कैयौँ व्यक्तिहरूले खेलकुदमा विभेदलाई बढाउने र सामाजिक सद्भावमाथि नै प्रहार हुने गतिविधि देखा परेका भन्दै दोषीलाई कारबाही गर्न माग गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता नवराज अधिकारीले उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीलाई बताए।
उनले भने, "विभिन्न सामाजिक सञ्जाल, व्यक्ति र निकायहरूमार्फत् हामीलाई केही मानिसले दुर्व्यवहार गरे भन्ने उजुरी आयो। त्यसको आधारमा हामीले अनुसन्धान गर्दै जाँदा दुई जना व्यक्तिहरू नियन्त्रणमा लिएका छौँ।"
उनले थप खोजीकार्य जारी रहेको भन्दै 'सामाजिक सद्भाव भत्काउने' हिसाबका टिप्पणीहरू सामाजिक सञ्जालमा नगरिदिन पनि अनुरोध गरेका छन्।
प्रवक्ता अधिकारीका अनुसार अनुसार खेल मैदानभित्र कुनै यस्ता गतिविधि हुन नपाऊन् भन्ने हिसाबले झन्डै १५ सय जना प्रहरी खटाइएको थियो।
उनले भने, "खेल शान्तिपूर्ण रूपमा नै सञ्चालन भयो। तर निस्केर बाहिर जाँदा ती गतिविधि भए भन्ने कुरा आए। तत्काल हाम्रो जिल्ला प्रहरी परिसरको ध्यानाकर्षण भएर उच्छुङ्खल गतिविधिमा संलग्न हुनेहरूको पहिचान गर्ने क्रममा दुई जनालाई पक्राउ गरिसकेका छौँ।"
भव्य रूपमा सम्पन्न भएको एनपीएलको पहिलो सिजनमा ८ टोली सहभागी थिए। अन्तर्राष्ट्रिय माध्यममा प्रसारणका कारण चर्चित यो प्रतियोगितामा खेल समर्थकहरूको व्यापक उपस्थिति थियो।
अधिकांश खेलहरू व्यवस्थित ढङ्गले सञ्चालन भएको देखिए पनि चिर प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स निर्णायक खेलहरूमा भिड्न थालेपछि केही समर्थकहरूले उग्र व्यवहार देखाएका विवरणहरू सार्वजनिक भएका थिए।
दुई खेलमा बेहोरेको पराजयपछि बोल्ट्सले फाइनलमा उपाधि जितेपछि 'मैदान बाहिर' त्रिभुवन विश्वविद्यालयका कतिपय क्षेत्रमा केही समर्थकहरूबीच नाराबाजी र झडप भएका समेत विवरण आएका छन्।
हुलदङ्गा रोक्न विज्ञका के छन् सुझाव
नेपाली राष्ट्रिय टोलीका कप्तान रहिसकेका पूर्व क्रिकेटर पवन अग्रवाल यस्ता गतिविधिले क्रिकेटलाई बदनाम गराउने भन्दै समर्थकहरूमाझ सचेतना अभिवृद्धिमा जोड दिन्छन्।
उनले भने, "कुनै नराम्रो घटना भयो भने क्रिकेटका समर्थकहरूको सङ्ख्या घटेर जाने हुन सक्छ। उग्र गतिविधि हिंसात्मक समेत बन्न सक्छ। जति सानो भए पनि यसलाई सबैले गम्भीरतापूर्वक लिनुपर्छ।"
उनले थपे, "प्रशासनले पनि यसलाई कसरी शान्त पार्ने भन्नेमा ध्यान दिनुपर्छ। फ्रेन्चाइज टोलीका मालिकहरूले पनि आफैँ अघि सरेर यसलाई व्यवस्थित गर्न सके, खेलाडीहरू प्रयोग गरेर फ्यानहरूसँग अझ घुलमिल भए यो बिस्तारै ठिक हुन्छ।"
तर अग्रवाल नेपाल क्रिकेट सङ्घ वा आयोजक एक्लैले मात्रै यस्ता गतिविधिलाई नियन्त्रण गर्न नसक्ने ठान्छन्।
उनले भने, "टोलीका मालिक र समर्थकहरू दुवैलाई शिक्षामूलक हुने खालको गतिविधि आयोजकहरूले गर्न सक्छन्। उग्र अवस्थामा नपुर्याउन भन्नेबाहेक अरू गर्न सकिने म देख्दिनँ। बिस्तारै समर्थकका हिसाबले पनि हामी परिपक्व हुँदै जाउँला। अहिलेलाई यस्तो नगरिदिनुहोस् भनेर जाँदा राम्रो हुन्छ।"
नेपाल क्रिकेट सङ्घ के भन्छ?
नेपाल क्रिकेट सङ्घ (क्यान)ले औपचारिक रूपमा उक्त घटनाबारे टिप्पणी गरिसकेको छैन। नेपाल प्रिमिअर लीगको सञ्चालनका लागि क्यानले आफ्ना सचिव पारस खड्काको संयोजकत्वमा तीन सदस्य 'गभर्निङ काउन्सिल' गठन गरेको थियो।
त्यसमा क्यानका कोषाध्यक्ष पदम खड्का र सदस्य सुदीप शर्मालाई पनि राखिएको थियो। उनीहरूले नै प्रतियोगिताको आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएका थिए।
क्यानका प्रवक्ता छुम्बी लामाले आफूहरू पूर्ण रूपमा खेलमा केन्द्रित भएको, अहिले चर्चामा आएको गतिविधि मैदानबाहिरको भएको र यसबारे आफूहरूले पनि बुझिरहेको बताए।
उनले भने, "हामीले माइकबाट नै यस्तो खालको गतिविधि नगर्न आह्वान गरिरहेका थियौँ। सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील भएर हामीले काम गरिरहेका थियौँ। यस्तो हुनुहुँदैन भन्नेमा क्यान प्रस्ट छ। हुलदङ्गा भड्काउने काम जसले गरेको छ, त्यस्ता दोषीमाथि कारबाही गरिनुपर्छ।"
उनले खेलकुद सबैको साझा भएको र यसमा सबैको सकारात्मक भूमिका रहनुपर्ने भन्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आफूहरूले अझ ध्यान दिने बताए।
प्रतियोगितालाई सुरक्षित ढङ्गले सञ्चालन गर्न आफूहरूले नेपाल प्रहरीबाहेक निजी क्षेत्रका सुरक्षाकर्मीसमेत प्रयोग गरेको क्यानले बताइरहेको छ।
"अन्तिम दिन हामीले अझ सुरक्षा बढाएका थियौँ। यो घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको होला। हामी पनि के हो, कसो हो भनेर छलफल गरिरहेका छौँ। हामी बस्छौँ, के भएको हो भनेर विस्तृतमा बुझेर के गर्न सकिन्छ त्यो पनि हामी हेर्छौँ।"
पछिल्लो घटनापछि मधेसी आयोगले एनपीएलमा 'उदण्ड' र 'अराजक' व्यवहार देखाउनेलाई कारबाही गर्न माग गरेको थियो।
आइसीसीले मैदानमा अस्थायी प्रतिबन्ध लगाएको दृष्टान्त
खेल प्रतियोगितामा विभिन्न किसिमका नाराबाजी र हुलदङ्गाका घटना नेपाल र अन्यत्र पनि बेला बेलामा हुने गरेका पाइन्छन्।
त्यस्तोमा नियमनकारी निकायबाट आयोजक र खेल्ने निकायहरूलाई सचेत गराउनेदेखि विभिन्न किसिमका कदम चालिएका दृष्टान्त छन्।
सन् २०१० मा नेपाल र अमेरिकाबीच त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको आइसीसी वर्ल्ड डिभिजन फाइभ प्रतियोगितामा नेपाली समर्थकहरूले मैदानमा ढुङ्गा र पानीका बोतल प्रहार गरेपछि अवस्था अनियन्त्रित बनेको थियो।
नेपाल नराम्रोसँग हार्न लागेको उक्त खेल त्यसपछि झन्डै डेढ घण्टा रोकिएको थियो। ओभर घटाइएपछि नेपाल रनरेटका आधारमा आफूभन्दा माथि परेको भन्दै प्रतियोगितामा सहभागी टोली सिङ्गापुरले असन्तुष्टि जनाएको थियो।
त्यसलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले समेत गहिरो चिन्ता व्यक्त गरेको थियो।
पूर्व कप्तान अग्रवाल भन्छन्, "अस्थायी रूपमा त्यो मैदान प्रयोग गर्न नै प्रतिबन्ध गरेको थियो। हामीले त्यही बेला फेरि लबिङ गरेर यस्तो हुँदैन। एक चोटि भयो अब हुँदैन भनेर विश्वासमा लिएपछि त्यही बेला नै त्यो फिर्ता भयो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।