तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विदेशबाट 'एनपीएल' खेल्न नेपाल आएका नेपाली खेलाडी
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाल प्रिमिअर लीग 'एनपीएल'मा खेलिरहेका विदेशी खेलाडीहरूको खुबै चर्चा भयो र भइरहेको छ।
भारतीय पूर्व स्टार शिखर धवनदेखि न्युजिल्यान्डका मार्टिन गप्टिल र जिमी नीशम अनि पाकिस्तानका सोहेल तनविरसम्मको उपस्थितिले किर्तिपुरको खेल मैदानको वातावरण तातिएको देखियो।
तर खेलाडीहरूको यो भीडमा केही नेपाली खेलाडीहरू यस्ता पनि छन्, जो विदेशमा बसोबास गर्छन् र 'एनपीएल' मा खेल्नकै लागि नेपाल आएका छन्।
नेपाल क्रिकेट सङ्घले झन्डै डेढ सय खेलाडीलाई 'अक्सन' को सूचीमा राख्दा विदेशमा रहेका कतिपय नेपाली खेलाडीहरूले आफ्नो नाम लेखाएका थिए।
ती नामहरूमध्ये केही खेलाडीलाई लिन भने क्लबहरूले हानथाप नै गरेको देखियो।
त्यसरी विदेशबाट एनपीएल खेल्न आएका नेपाली खेलाडीहरू को-को छन्?
जितेन्द्र मुखिया
सन् २०१४ मा भएको टी२० विश्वकप खेल्ने नेपाली टोलीका प्रमुख सदस्य मध्येका एक खेलाडी जितेन्द्र मुखिया हुन्। अहिले उनी अस्ट्रेलियामा बस्छन्।
दायाँ हाते मिडिअम पेशर मुखियाले सन् २०१४ को विश्वकपमा ४ विकेट लिएका थिए। अफगानिस्तानविरुद्ध ३ विकेट लिएपछि उनी उक्त खेलमा म्यान अफ द म्याच भएका थिए।
विश्वकपमा चर्चा कमाए पनि चोटका कारण जितेन्द्रको क्रिकेट करिअर सोचे जस्तो तरिकाले अगाडि बढ्न सकेन।
टी-२० विश्वकपपछि अर्को वर्ष जितेन्द्रले आयरल्यान्ड र स्कटल्यान्डमा ग्लोबल छनोटसम्म खेलेका थिए।
तर बिरामी परेपछि टोलीबाट बाहिर रहेका उनले पुनः टोलीमा फर्किन भने सङ्घर्ष गर्नुपर्यो।
युवा खेलाडीहरूको उदयसँगै उनले टिममा स्थान बनाउन सकेनन्। अझैसम्म जितेन्द्र नेपालको एक दिवसीय टिममा पर्न सकेका छैनन्।
लामो पर्खाईपछि उनी अस्ट्रेलिया गएर खेल्न थालेका हुन्।
किशोर महतो
तीव्र गतिमा राष्ट्रिय टोलीको युवा दाबेदारको रूपमा हेरिएका किशोर महतो तीन वर्षअगाडि अस्ट्रेलिया गए।
राष्ट्रिय टोलीलाई आवश्यक परे कुनै पनि बेला नेपाल फर्किने जानकारी क्यानलाई दिएर उनी विदेशिएका थिए।
करण केसी र सोमपाल कामीको दबदबा रहेका बेला उनी राष्ट्रिय टोलीमा छायामा परे जस्तो देखिएको थियो, जसले गर्दा राष्ट्रिय टोलीमा स्थान बनाए पनि उनले मैदानमा उत्रिने अवसर भने खासै पाएनन्।
एसिया कपका लागि उनी नेपाली टिममा परेका थिए। तर, पाकिस्तान र भारतविरुद्धका खेलमा उनले प्लेइङ ११ मा स्थान बनाउन सकेनन्।
नवलपुर कावासोतीका २४ वर्षीय किशोरले जारी एनपीएलमा जनकपुर बोल्ट्सबाट राम्रो प्रदर्शन गरिरहेका छन्।
जनकपुरलाई प्रतियोगिताको एक दाबेदार बनाउने क्रममा किशोरले ५ खेलमा ९ विकेट लिइसकेका छन्। सुदूर पश्चिम रोयल्स विरुद्धको खेलमा उनले ४ विकेट लिएका थिए।
नन्दन यादव
एक समय 'इपीएल' मा पोखरा एभेन्जर्सबाट खेलेर म्यान अफ द म्याच जितेको दिन नन्दनले "राष्ट्रिय टोलीमा झुल्किएर हराउने कुनै योजना नभएको" बताएका थिए।
तर परिस्थितिले उनलाई विदेश डोहोर्यायो।
अस्ट्रेलियालाई नयाँ गन्तव्य बनाएका तीव्र गतिका बलर नन्दन नेपाल प्रिमिअर लिगमा कर्णाली याक्समा आबद्ध छन्।
चितवन राइनोज पनि प्रतिस्पर्धामा उत्रिएपछि कर्णालीले उनलाई ११ लाख रुपैयाँमा प्राप्त गरेको हो।
बाग्मतीबाट घरेलु क्रिकेट खेल्ने गरेका नन्दन तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने गर्छन् ।
'बाउन्सर' का लागि चिनिने नन्दनले जारी एनपीएलमा ५ विकेट लिइसकेका छन् । उनले विराटनगर विरुद्ध ३ विकेट लिएका थिए।
नरेश वुढाएर
सन् २०१४ को टी२० विश्वकपका अर्का मुख्य खेलाडी नरेश बुढाएर पनि राष्ट्रिय टोलीमा पर्न सङ्घर्ष गर्ने अर्का खेलाडी हुन्।
क्रिकेटमा लामो प्रयास सफल हुने नदेखिएपछि उनी सन् २०१८ मा क्यानडा लागेका थिए।
क्यानडामा उनी क्रिकेट प्रशिक्षकको भूमिकामा छन्।
उनले देश छोडेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
कञ्चनपुरका नरेशलाई नेपाल प्रिमिअर लीगमा उनकै क्षेत्रको टोली सुदूरपश्चिम रोयल्सले छानेको हो।
ब्याटिङमा धेरै मौका नपाएका उनले चितवन राइनोजविरुद्ध ५ तथा जनकपुर बोल्ट्स विरुद्ध अविजित ९ रन बनाएका थिए।
अनिल खरेल
विक्रम संवत् २०७१ सालमा मलेसियामा सम्पन्न एसीसी यू-१६ प्रिमिअर क्रिकेटमा नेपालका १३ वर्षे स्पिनर अनिल खरेलले १३ विकेट लिएर'तहल्का' मच्चाएका थिए।
नेपाललाई उपाधि दिलाएका उनी 'मोस्ट प्रमिसिङ प्लेयर' घोषित भएका थिए र उनलाई नेपालको 'फ्यूचर स्टार' भनी चित्रण गरिएको थियो।
तर 'लेफ्ट आर्म अफ स्पिनर' उनले पनि अस्ट्रेलिया रोजे। त्यहाँ उनी क्रिकेट 'करिअर' लाई नै अगाडि बढाउन गएका हुन्।
अस्ट्रेलियामा अनिल नन्दन यादवसँगै 'फस्ट ग्रेड' क्रिकेट खेल्ने गर्छन्। उता पनि नाम चलेकै विदेशी खेलाडीहरूसँग खेलिरहेकोले क्रिकेट अझै खारिँदै गएको उनको अनुभव छ।
एनपीएलमा विराटनगर किंङ्समा आबद्ध अनिलले ४ खेल खेले। जसमा उनले सुदूर पश्चिम रोयल्सविरुद्ध ३ विकेट लिएका थिए।
एनपीएलका लागि नेपाल फर्किएका उनले एनपीएलमा राम्रो खेल्दै राष्ट्रिय टोलीका लागि प्रभाव जमाउने योजना बनाएका छन्।
टिम 'प्ले अफ ' को दौडबाट बाहिरिए पनि अनिललाई २ खेलमा राम्रो खेल्ने अवसर छ।
सुनाम गौतम
अस्ट्रेलियामा बस्दै आएका अर्का खेलाडी सुनाम गौतम एनपीएलमा छानिए।
तर दुर्भाग्य चोटका कारण एउटै खेल नखेली उनले प्रतियोगिताबाट नाम फिर्ता लिनु पर्यो।
सुनाम गौतम अक्सनको ग्रेड एमा थिए। 'अक्सन' को दोस्रो लिस्टमा उनलाई चितवन राइनोजले छानेको थियो।
गत वर्ष नेपाल टी२० मा उनी काठमाण्डू किङ्गसबाट खेलेका थिए।
विवेक केसी
यस्तै अस्ट्रेलियालाई नै गन्तव्य बनाएका तीव्र गतिका बलर विवेक केसी काठमाण्डू गुर्खाजमा अनुबन्धित भएका छन्।
ब्रिजबेनमा घरेलु क्रिकेट खेल्ने विवेक तीव्र गतिका बलरमा राम्रा मानिन्छन्।
तर काठमाण्डू गुर्खाजले उनलाई अहिलेसम्म प्लेइङ ११ मा भने खेलाएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।