तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली टोलीका लागि क्रिकेट समर्थक ‘बाह्रौँ खेलाडी’ बराबर
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
फुटबलमा देखिने मेक्सिकन वेभ (हजारौँ दर्शकले हात उठाएर समुद्रको जस्तो छाल बनाउने), पञ्चे बाजा, शङ्खको धुन, मादलको ताल… अनि त्यसमा हजारौँ दर्शकको सामूहिक स्वरमा नेपाल….. नेपाल…..।
रुखमा चढेका समर्थकको भाइरल तस्बिर त 'पोस्टर अफ द इयर' नै भइहाल्यो।
उनीहरूले सात घण्टासम्म हलचल नगरि क्रिकेट हेरे किनकी ओर्लिने बितिक्कै त्यो ठाँउ अर्को 'फ्यान'ले कब्जा गर्न सक्थ्यो।
विश्वकप क्रिकेट लिग-२ को खेल हेर्न गतसाता कीर्तिपुर मैदानमा ओर्लिएका क्रिकेट समर्थकको अहिले पनि चर्चा जारी छ।
उनीहरूले मैदानमा देखाएको धैर्य र क्रिकेट मोह देखेर कैयौँ क्रिकेटप्रेमी अचम्ममा परेका छन्।
राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासका शब्दमा मैदानमा ११ जना खेल्छन् तर नेपाललाई जिताउन प्रेरणा थप्ने '१२औँ खेलाडी' हुन् समर्थकहरू।
उनी समर्थकहरूलाई "नेपाली क्रिकेटको मेरुदण्ड " भन्न रुचाउँछन्।
समर्थकको सङ्ख्या
सन् २०१४ को २० ओभरको विश्वकपमा नेपाली राष्ट्रिय टोली बाङ्ग्लादेशमा खेल्दै गर्दा नेपालमा क्रिकेटको एउटा तस्बिर निकै भाइरल भयो।
बसन्तपुर दरबारको पृष्ठभूमिमा नेपाली संस्कृतीको झल्को दिनेगरी रातको समयमा हजारौँको सङ्ख्यामा रहेका दर्शकले विश्वकप हेरिरहेको त्यो फोटोलाई आइसीसीले आफ्नो वेबसाइटमा प्रमुखताका साथ छापेको थियो।
त्यस बेला संसाँझै सडक खाली भएको थियो। सायद, त्यो नेपाली क्रिकेट समर्थकको क्रिकेटप्रेम झल्किएको सबैभन्दा उत्कृष्ट समय थियो।
पारस खड्का, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र बसन्त रेग्मी त्यस समय नेपाली क्रिकेटका 'पोस्टर ब्वाई' बनेका थिए। कैयौँका बुझाइमा त्यसपछि नेपालमा क्रिकेटका फ्यानहरूको सङ्ख्या ह्वात्तै बढ्यो।
असोसियटमा अब्बल
नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आइसीसीको असोसियट सदस्य हो।
असोसियट राष्ट्रहरूमा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय आँखामा पर्नुमा तीनवटा कारण मुख्य रहेको मानिन्छ।
पहिलो- नेपाली खेलाडीको सहभागिता, दोस्रो- नेपाली सञ्चारमाध्यमको आकर्षण र तेस्रो- अपार दर्शकको उपस्थिति।
यी तीनवटै कुरा अन्य असोसियट राष्ट्रहरूमा पाउन गाह्रो छ।
अधिकांश असोसियट राष्ट्र अन्य देशका खेलाडीले भरिइसक्यो। त्यहाँका सञ्चारमाध्यमको प्राथमिकतामा क्रिकेट खासै छैन पनि।
असोसियट राष्ट्रका क्रिकेट प्रतिस्पर्धा हेर्दा त्यहाँ खेल्ने दुई राष्ट्रका खेलाडी, अम्पायर र प्राविधिकबाहेक रङ्गशालामा खासै मानिसहरूको उपस्थिति देखिँदैन।
विदेशी टोली नेपालमा आएर खेल्न रुचाउनुको कारणमध्ये एक हो- यहाँ हुने दर्शकको उपस्थिति। विदेशी खेलाडीहरू प्राय: नेपाल आएपछि नेपाली फ्यानकै 'फ्यान' भएर गएको पनि देखिन्छ।
नेपालमा आएर खेलेपछि नेदरल्यान्डस्का कप्तान स्कट एडवार्डले भनेका थिए, "आउनु अगाडि सुनेको थिएँ। देखेँ। यस्ता दर्शकसामू खेल्न म सधैँ रुचाउनेछु। "
एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न आएका पाकिस्तानी स्टार शाहिद अफ्रिदीले मोहित हुँदै भनेका थिए, "हाम्रै देशको जस्तो माहोल छ नेपालमा। अहो! कति शक्तिशाली समर्थक।"
क्रिकेट किन लोकप्रिय?
क्रिकेटमा मोह धेरै हुनुको एउटा कारण दक्षिण एशियाली क्रिकेट संस्कृतिको स्पष्ट प्रभाव नेपालमा पर्नु रहेको कतिपयको बुझाइ छ। त्यसमध्ये भारतीय क्रिकेटको प्रभाव नेपालमा अझ बढी नै छ।
नेपाली फ्यानहरू विश्व क्रिकेटबारे जति जानकार छन्, त्यो भन्दा बढी दक्षिण एशियाली र भारतीय क्रिकेटबारे जानकार छन्।
सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राख्यो। फ्यानको उत्साह त्यति बेलादेखि नै बढ्न थालेको थियो।
नेपालले कीर्तिपुरको फुटबल मैदानलाई 'क्रिकेट रङ्गशाला'मा परिणत गर्यो।
सन् २००० मा नेपाली युवा टोलीले एसीसी यू-१९ को उपाधि जित्दा कीर्तिपुर मैदान दर्शकले भरिएको थियो।
त्यो नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो। र, नेपाल १९ वर्ष मुनिको टोलीको विश्वकपमा पहिलो पटक प्रवेश गरेको थियो।
त्यहाँबाट खेलाडीले सफलताको भर्याङ उक्लिन थाले भने दर्शकहरू नेपाली खेलाडीमाथि मोहित हुन थाले।
त्यस बेलाका कप्तान विनोद दास सम्झिन्छन्, "त्यो बेला दर्शकको उत्साह गजबको थियो। अहिले त्यो उत्साह झन बढेको छ। बढी नै रहेको छ।"
खराब दर्शक, असल नतिजा
सन् २०१० को फेब्रुअरी २६ तारिखमा नेपाल र अमेरिकाबीच आइसीसी विश्व क्रिकेट लिग डिभिजन-५ को लिग चरणको खेल कीर्तिपुर मैदानमा चलिरहेको थियो।
फाइनल पुग्नका लागि त्यो खेल जित्न नेपाललाई जरुरी थियो।
अङ्क बराबर भए पनि नेपाल रन रेटमा सिङ्गापुरभन्दा पछि थियो र हारले नेपाललाई प्रतियोगिताबाट बाहिर गराउन सक्थ्यो।
नेपालले ज्ञानेन्द्र मल्लको ५२ रनको अर्धशतकमा १६२ रन मात्र बनाउन सक्यो।
जवाफमा आएको अमेरिकाले ३३ ओभरमा नै सो लक्ष्य सहज रुपमा पार गर्ने लक्षण देखायो।
अमेरिकाले यसरी जित निकाल्न लागेको दृश्य नेपाली दर्शकलाई मनपर्ने कुरै थिएन।
दर्शकको धैर्य त्यतिबेला टुट्यो जब अमेरिकी खेलाडी सुशील नादकर्मीले ३२औँ ओभरमा नेपाली स्पिनर सञ्जम रेग्मीको बलमा तीन छक्का प्रहार गरिदिए।
असह्य दर्शकले त्यसपछि त बबालै मचाए। मैदानमा पानीको बोतल, ढुङ्गाको लगातार वर्षा भयो। एक घण्टाभन्दा बढी समय खेल अवरुद्ध हुन पुग्यो।
खेल अवरुद्ध हुँदा अमेरिकालाई खेल जित्न १३ रन मात्र चाहिएको थियो।
एक घण्टापछि पुन: खेल सुरु हुँदा ४६ ओभरमा १५७ रनको लक्ष्य दिइयो अर्थात् जितका लागि सात रनको आवश्यकता।
त्यो लक्ष्य अमेरिकाले अर्को ओभरमा पूरा गर्दै सहजै पाँच विकेटले खेल जित्यो।
यसको ठूलो फाइदा चाहिँ नेपाललाई भयो। दर्शकले उत्पात मच्चाएपछि रन रेटमा अत्यन्त झिनो अन्तरले नेपाल सिङ्गापुरभन्दा अगाडि पर्न गयो।
सिङ्गापुर र नेपालको आठ अङ्क थियो। रन रेटमा नेपालको प्लस १.३५१ रह्यो भने सिङ्गापुरको प्लस १.३४७ मात्र थियो।
यदि दर्शकले उत्पात मच्चाउनु अघि नेपालले एक बल मात्र बढी खेलेको भए पनि रन रेटमा पछि पर्ने थियो।
त्यसकै भोलिपल्ट कीर्तिपुरमै भएको फाइनलमा नेपालले अमेरिकालाई नै पाँच विकेटले हराएर उपाधिसहित बदला लियो र डिभिजन-४ मा बढुवा भयो। र, डिभिजन-४ खेल्न इटली उड्यो।
यो नतिजाले सिङ्गापुर यति दु:खी भयो कि आइसीसीमा यसबारे उजुरी नै दिएको थियो।
नेपाली क्रिकेटको इतिहासमा यो घटनालाई 'समर्थकले दिलाएको उपाधि'को रूपमा चिनिन्छ।
तर त्यसपछि नेपाली क्रिकेट दर्शकले अहिलेसम्म उपद्रो भने गरेका छैनन्।
उनीहरूले बुझिसकेका छन्- हामीले उपद्रो गरे देशको क्रिकेटले सजाय भोग्नुपर्छ भनेर।
सफलता कारक
दर्शकलाई आकर्षित गर्ने काम चाहिँ नेपाली खेलाडीले नै गरेको ठान्नेहरू धेरै छन्। राष्ट्रिय टोलीले डिभिजन-५ देखि टी-२० विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) सम्मको यात्रामा कैयौँ खेलहरू उत्कृष्ट ढङ्गले जितेका छन्।
दुई दशकको क्रिकेट यात्रामा नेपालले थुप्रै खेलमा अन्तिम बलमा, अन्तिम ओभरमा वा हार्नै लागेको खेललाई पनि चमत्कारिक रूपमा जितेका अनेकौँ दृष्टान्त छन्।
त्यस्तै एउटा खेल हो- सन् २०१८ को नेपाल र क्यानडा बीचको खेल।
अन्तिम विकेटको ५२ रनको साझेदारी भइ खेल जित्दा त्यो विकेट खस्ला भन्ने डरले नेपाली समर्थकहरू झस्किएका थिए।
सोही जितले नै नेपाललाई ओडीआई मान्यता दिलाएको हो।
त्यतिबेला एक समर्थकले लेखेका थिए, "नेपाली समर्थकलाई दुर्वासाको श्राप लागेको छ। तिमीले खेल त जित्छौ तर सातो गएपछि मात्र।"
कतिपयका भनाइमा नेपाली समर्थकको सङ्ख्या बढ्नुको अर्को कारण सामाजिक सञ्जालमा हुने क्रिकेटसम्बन्धी चर्चा पनि हो।
नेपाली क्रिकेटको पाँच/छ लाख सदस्य भएका फेसबुक ग्रुपहरू छन्।
त्यहाँबाट हरेक व्यक्तिलाई क्रिकेटका हरेक पक्षसम्बन्धी सूचना प्रवाह भइरहेको छ। यस्तो अरू खेलमा देखिएको छैन।
नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष नारायण पराजुली भन्छन्, "समर्थक त थिए नै। तर नेपाली क्रिकेटको सफलतामा बढ्दो समर्थक पनि एउटा कारण हो। आखिर समर्थकले खोज्ने भनेको खुसी त हो नि! त्यो क्रिकेटले दिन्छ भने हामी त्यसैमा झुम्छौँ। "
विदेशमा पनि समर्थक
देशमा मात्र होइन जहाँजहाँ नेपालले खेलेको छ त्यहाँत्यहाँ नेपाली समर्थक पुगेका छन्। किनकी धेरै देशहरूमा अहिले नेपालीहरूको उपस्थिति पनि बढेको छ।
बाङ्ग्लादेशमा भएको विश्वकपका बेला चिटगङ्गस्थित आधाउधी रङ्गशाला नेपाली समर्थकहरूले नै भरिएको थियो।
दर्शकको सङ्ख्या बढे पनि नेपाल क्रिकेट सङ्घले गतिलो पूर्वाधारको व्यवस्था गर्न भने सकेको छैन।
भुइँमा बस्नुपर्ने तथा पर्याप्त शौचालयको सुविधा नभएको अवस्था रहेको छ।
त्यस्तै मैदानमा पस्ने र निस्कने एउटै ढोका रहेकाले आपत्कालीन स्थितिमा के गर्ने भन्ने समेत अन्योल रहने अवस्था छ।
तर पनि समर्थकहरूले नेपाली क्रिकेटलाई हौसला दिइरहेका छन्।
पराजुली भन्छन्, "हामीले खेलाडीलाई, ग्राउण्ड स्टाफदेखि सबैलाई सहयोग गर्दै आएका छौँ।"
उनी नेपालमा कम्तीमा पनि एउटा सुविधासम्पन्न क्रिकेट रङ्गशाला बनाउनुपर्ने सुझाव दिन्छन्।