किन विश्वभरि छन् नेपाली क्रिकेटका समर्थक

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

‘नेपाली समर्थक’ कीर्तिपुर क्रिकेट मैदानका १२ औँ खेलाडी भन्ने गरिन्छ। त्यहाँ उपस्थित हुने समर्थकको हौसलाले नेपालले कैयौँ खेलहरूलाई हारबाट जितमा परिणत गरेको क्रिकेटका जानकारहरू ठान्छन्।

कीर्तिपुर मैदानको रुखमा झुन्डिएर खेल हेर्दै गरेका दर्शकको तस्बिर ‘भाइरल’ भएको थियो।

कीर्तिपुर मैदानमा मात्र होइन, नेपाली क्रिकेट समर्थकहरू विश्वभरि नै छन्।

एशिया कप खेल्न नेपाली क्रिकेट टोली श्रीलङ्का जाँदा समर्थकहरू त्यहीँ पुगेर नेपाली गीतमा नाचे। खाडी मुलुकमा वा मलेसियामा हुने प्रतियोगितामा पनि नेपाली क्रिकेटका समर्थकहरू उत्तिकै देखिन्छन्।

केही समयअघि सम्पन्न आइसीसी टी-२० विश्वकपको मुख्य आकर्षण मध्येको एक नेपाली समर्थकहरूको उपस्थिति र नेपाली टोलीप्रति उनीहरूको समर्थन गजबको थियो।

प्रतियोगिताबाट नेपाल नबाहिरिँदासम्म आईसीसीले पटक पटक नेपाली समर्थकको प्रशंसा गरेको थियो।

त्यसको सुरुआत अमेरिकाको ड्यालसबाट भयो। नेपाली समर्थकहरूको एक स्वरले राष्ट्रिय गीत गाउँदा ग्र्यान्ड प्रेरी रङ्गशालाभरि नेपाली स्वर गुन्जिएको थियो। पछि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा विपक्षी विकेट झर्ने बित्तिकै नेपाली समर्थक पोखरीमा झ्वाम्म हाम फाल्थे।

आईसीसीले ड्यालसमा समर्थक देखेर लेखेको थियो, “रातो र नीलो सागर”।

आईसीसी विश्वकपमै समूह चरण अन्तर्गतको नेपाल र श्रीलङ्काबीचको खेल फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड काउन्टीमा पानी परेपछि रोकियो। दुवै टोलीका लागि निकै महत्त्वपूर्ण मानिएको उक्त वर्षाका कारण हुन नसकेपछि दुवै टोली १-१ अङ्क बाँड्न बाध्य भए।

उक्त खेल रोकिए पनि नेपाली क्रिकेट समर्थकहरूको चर्चा रोकिएन।

पानीमा भिजेर रङ्गशाला पुगेका समर्थकहरूले बोकेको एउटा ब्यानरको तस्बिर आईसीसी र क्रिकेट असोसिएशन नेपाल सहितले सामाजिक सञ्जालमा राखेपछि 'भाइरल' बन्यो।

त्यसमा अङ्ग्रेजी भाषामा लेखिएको थियो, “यदि आईसीसीले नेपालको खेल चन्द्रमामा राख्यो भने पनि नेपाली समर्थकहरू त्यहाँ पुग्ने छन्।”

मैदानमा देखिएको समर्थनको प्रतिविम्ब सामाजिक सञ्जालमा नदेखिने त कुरै भएन।

त्यहाँ झन् चर्को उपस्थिति देखिएको थियो। नेपाल क्रिकेट सङ्घका अनुसार नेपालको डिजिटल सक्रियता विगतमा भन्दा ‘चार सय गुणा बढी’ रह्यो।

त्यसै कारण हो आईसीसीले नेपाललाई वर्ष २०२३ को ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अफ द इअर’ अवार्ड प्रदान गरेको।

क्यानका सचिव पारस खड्काले भने, “यो सामूहिक प्रयासको परिणाम हो। यसमा विशेषतः नेपाली समर्थकको हात छ, जुन नेपाली क्रिकेटको सधैँ बलियो पक्ष रहँदै आएको छ।”

किन बढे समर्थक

आईसीसीले छ वटा त्यस्ता राष्ट्रलाई ‘आईसीसी डेभलपमेन्ट अवार्ड २०२३’ प्रदान गर्‍यो, जसले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटको विकासमा अभूतपूर्व पहल गरेको होस् वा उत्कृष्ट प्रदर्शन गरेको होस्।

त्यस अन्तर्गतको एउटा विधा ‘डिजिटल फ्यान इन्गेजमेन्ट इनिसियटिभ अफ द इअर’ नेपालले जितेको हो।

पछिल्लो समय नेपाली क्रिकेटको डिजिटल सहभागिता ह्वात्तै बढेको देखिएको थियो।

त्यसमा विविध कारणहरू थिए।

मुख्य कारण नेपाली टोलीको लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता र त्यसमा प्रभावशाली प्रदर्शन नै थियो।

आईसीसी विश्वकप लीग २ को शीर्ष ३ मा पुगेर चम्केको टोलीको प्रदर्शन एसिया कप, एसियाली खेलकुद हुँदै आईसीसी विश्वकप टी-२० को छनोट हुँदासम्म लगातार जारी रहेको थियो।

त्यसबीच नेपाल क्रिकेट सङ्घले पनि सक्रियता बढाउँदै विभिन्न अन्तर्देशीय शृङ्खलाको आयोजना बढायो।

वेस्ट इन्डिज ‘ए’ सम्मको टोली नेपाली भूमिमा आएर खेल्यो।

क्यानका मिडिया म्यानेजर भानु सिग्देल भन्छन्, “यता क्यानले पनि डिजिटल माध्यमलाई व्यवस्थित गर्‍यो भने टीमको लगातारको सफलतापछि डिजिटल प्लेटफर्ममा समर्थकको सङ्ख्या ह्वात्तै बढेको देखिएको हो।”

डिजिटल फ्यान बढ्नुको मुख्य कारण भने क्रिकेटको सफलताले विश्वभरि रहेका नेपाली समर्थकहरूमा खुसी दिलाउन सक्नु रहेको जानकारहरू बताउँछन्।

विश्व क्रिकेटका ठूला राष्ट्रहरूलाई चुनौती दिने तहमा नेपाली टोलीले प्रदर्शन गरेपछि क्रिकेट प्रेमी हुन् वा आम नेपाली, सबैको ध्यान क्रिकेट तिर आकर्षित भएको देखिएको छ।

समर्थकले दिलाए एशिया अवार्ड

आईसीसीको अवार्ड जित्नु अगाडि नेपालले ‘फ्यान इनगेजमेन्ट अफ दी इअर’ को एशियाली अवार्ड जितेको थियो।

आईसीसीले उक्त अवार्डका लागि विभिन्न उपमहाद्वीपलाई विजेता बनाएको थियो।

जसमा एशियाबाट नेपाल छानिँदा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, युरोपबाट नेदरल्यान्ड्स र पूर्वी एशिया प्यासिफिकबाट इन्डोनेसियालाई प्रदान गरिएको थियो।

आईसीसीले यी नै क्षेत्रीय विजेताबाट ग्लोबल अवार्डको विजेता छान्दा नेपालले बाजी मारेको हो।

नेपाल क्रिकेट सङ्घको सामाजिक सञ्जालको पहुँच ४ करोड ६० लाख पुगेको थियो भने फलोअर्सको सङ्ख्या ११ लाख ७० हजार पुगेको थियो।

विगतको तुलनामा यो ४०० प्रतिशतभन्दा बढी रहेको क्यानले जनाएको छ।

नेपाली क्रिकेटका समर्थकहरूमा खेल प्रेमी बाहेकका मानिसहरूको उपस्थिति पनि उतिकै देखिएको छ।

तिनीहरूले नेपाली क्रिकेटको सफलता/असफलतामा विभिन्न खाले प्रतिक्रिया दिइरहेका हुन्छन्।

त्यसमा राजनीतिज्ञहरूको उपस्थिति पनि बाक्लै देखिन्छ।

उदाहरणका लागि नेपालले उक्त अवार्ड जितेपछि हालै चौथो पटक प्रधानमन्त्री भएका केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, “हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्। बधाई नेपाली”।

उनले विमिन्स एसिया कप जित्ने नेपाली टोलीलाई पनि बधाई दिएका थिए।

अर्थात् डिजिटल फ्यान इन्गेजमेन्टको क्रम जारी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।