कुवेतलाई हराउँदै नेपालको लगातार दोस्रो जित, 'फाइनल नजिक'

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

हङकङमा टी २० आई प्रतियोगिता खेल्न जानु अघि प्रश्न उठेको थियो: कतै यो प्रतियोगिता नेपालभन्दा अन्य सहभागी टोलीका लागि फाइदाकारक हुने त होइन?

क्रिकेटका पारखीहरूका लागि त्यो प्रश्न उठ्नुको पृष्ठभूमि थियो: कतार र कुवेतभन्दा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको स्तर माथि थियो।

नेपालले आफूभन्दा तलकासँग भन्दा माथिल्लो स्तरका प्रतिद्वन्द्वीसँग खेल्नुपर्ने आवाज पनि उठेको थियो।

यद्यपि लगातार दुई खेलमा पाएको जित खेलाडीका लागि प्रदर्शन सुधार्ने राम्रो मौकाको रूपमा देखिएको छ।

कुशल भुर्तेलको फर्केको आत्मविश्वास, नन्दन चम्किँदै

बिहीवार कुवेतलाई ६ विकेटले पराजित गरेको खेल कुशल भुर्तेलको लागि निकै महत्त्वपूर्ण बन्न पुग्यो।

पछिल्लो समय लगातार आफ्नो फर्म गुमाइ रहेको भनेर हेरिएका नेपाली ओपनर कुशल भुर्तेलले आज ८१ रनको शानदार पारी खेले।

यसअघि कतार विरुद्धको खेलमा पनि उनले ३८ रनको पारी खेलेर आत्मविश्वास बटुलेका थिए।

यस्तै राष्ट्रिय टोलीमा दोस्रो खेल खेलिरहेका नन्दन यादवले पनि दुई विकेट लिँदै आफू अब राष्ट्रिय टोलीमा स्थापित हुने सङ्केत दिएका छन्।

जितसँगै कीर्तिमान

चार देशीय टी-२० आईको दोस्रो दिन आज नेपालले पाएको विजयमा केही कीर्तिमानहरू बने।

टस जितेको नेपालले कुवेतलाई ब्याटिङको निम्तो दियो। शानदार ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो।

यो लक्ष्य पार गर्न सके टी २० आईमा नेपालको कीर्तिमानी विजय हुने थियो।

जबाफमा नेपालले ओपनिङ जोडी कुशल भुर्तेलले ८१ रन तथा आसिफ शेखको ५३ रनको शानदार पारीको मद्दतले ७ बल खेल्नु अगाडि ४ विकेट गुमाउँदै पार गर्‍यो।

टी-२० आईमा नेपालले लक्ष्य पूरा गर्दा पछ्याएको उच्च योगफल हो। यसअघि मलेसियाविरुद्ध नेपालले १६६ रनको लक्ष्य पूरा गरेको थियो।

यसै गरी कुशल-आशिफको जोडीले पहिलो विकेट अघि बनाएको १२७ रनको साझेदारी पनि टी-२० आईमा नेपालको सर्वाधिक ठुलो ओपनिङ साझेदारीको कीर्तिमान हो।

५० बलमा ८१ रन जोडेका कुशलले ६ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै आशिफले ३८ बलमा ५३ रन जोडै।

कुशल-आशिफको शानदार पारीबाहेक नेपालले चुनौतीपूर्ण लक्ष्य पुरा गर्ने क्रममा दीपेन्द्र सिंह ऐरीको पारी महत्त्वपूर्ण रह्यो। उनले १२ बलमा ३१ रनको आक्रामक पारी खेलेका थिए।

त्यस बाहेक कुशल मल्लले ४ रन तथा गुलशन झाले ९ रन र कप्तान रोहित पौडेलले ५ रन बनाए।

कुवेतबाट प्रतिस्पर्धात्मक लक्ष्य दिने क्रममा क्लिन्टो एन्टोले ४१ रन, मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाएका थिए।

नेपालको तर्फबाट सोमपाल कामीले ३ विकेट लिए। ललित नारायण राजवंशी र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो।

फाइनल नजिक

लगातार प्राप्त दुई जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना निकै बलियो भएको छ।

नेपालको दुई खेलबाट चार अङ्क बटुलेको छ। कुवेतले एक जित प्राप्त गरेको छ। हङकङ र कतारले भने खाता खोल्न सकेका छैनन्।

नेपालले अब शनिवार हङकङसँग लीगको अन्तिम खेल खेल्नेछ।

लीगको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।