भारतीय प्रसिद्ध सचित्र कथाका पुस्तकहरूको महत्त्वपूर्ण मूलप्रतिहरू नै आगलागीबाट नष्ट

अमर चित्रकथाको कृष्ठबारेका अङ्कहरू

तस्बिर स्रोत, Amar Chitra Katha

तस्बिरको क्याप्शन, सन् १९७०को दशकमा प्रकाशित कृष्णबारेको संस्करण अमर चित्रकथाका लागि कोशेढुङ्गा बन्यो
    • Author, अल्पेश करकरे र जान्हवी मूल
    • Role, बीबीसी मराठी

धेरै पुस्ताका भारतीयहरूका लागि अमर चित्रकथाका पुस्तकहरू मिथक, इतिहास र पौराणिक कथा पढ्ने रोचक स्रोत थिए।

आकर्षक दृश्य र सरल भाषाको प्रयोग गरेर धार्मिक दृष्टान्त, शास्त्र र लोककथाहरूलाई विभिन्न चित्रहरूमार्फत प्रस्तुत गरिएको अमर चित्रकथा सन् १९६७ बाट प्रकाशित हुन सुरु भएको थियो।

त्यसको छ दशकपछि पनि यसका कमिक्स अथवा चित्रकथाहरू विशेष गरी बालबालिकामाझ लोकप्रिय छन्।

तर लामो इतिहास बोकेको यो चित्रकथाको एउटा भाग धूवाँ बनेर उडिसकेको छ।

अक्टोबर १ मा मुम्बईको भित्री सहर भिवन्डीस्थित अमर चित्रकथाको गोदाममा सर्ट सर्किटका कारण भीषण आगलागी भयो।

आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकलाई चार दिन लाग्यो जति बेलासम्म त्यसले ठूलो क्षति पुर्‍याइसकेको थियो।

बालबालिकाहरूमा अध्ययनको प्रेम जगाउन पुस्तक

प्रकाशनका प्रवक्ताका अनुसार अमर चित्रकथा र यसको भगिनी प्रकाशन टिङ्कलका करिब ६ लाख पुस्तकहरू जलेर नष्ट भए।

उनका अनुसार बालबालिकाका निम्ति बनाइएका चित्र पत्रिका, विशेष संस्करणका बक्स सेट सहितका सामग्री पनि नष्ट भए।

क्षतिग्रस्त सामग्रीमा सन् १९६० र १९७० को दशकका २०० भन्दा बढी हातले कोरिएका चित्रका मूल प्रति पनि थिए। कतिपय अभिलेखमा राखिनुपर्ने सामग्री र फिल्म पनि नष्ट भए।

अमर चित्रकथा र टिङ्कलकी बजार प्रमुख दामिनी बाथमले बीबीसी मराठीलाई बताए अनुसार धेरैजसो यसका संस्करणहरू डिजिटल रूपमा संरक्षित गरिएको छ।

"तर हातले कोरिएका कलाकृतिका मूल प्रतिहरू गोदाममा भण्डारण गरिएको थियो। ती अमूल्य थिए। हामीले तिनलाई कहिल्यै बेचेका थिएनौँ, त्यसैले हामीलाई वास्तविक लागत पनि थाहा छैन। यसलाई निकै सावधानीसाथ संरक्षण गरिएको थियो," उनले भनिन्।

आगलागीबाट भएको आर्थिक क्षति अझै यकिन भैसकेको छैन, तर भावनात्मक क्षति भारतका कमिक्सप्रेमीहरूका लागि भारी छ।

"आज पनि, कसैले पनि अमर चित्रकथाको प्रति तुरुन्तै चिन्न सक्छ," लेखक तथा कमिक्सप्रेमी गणेश मतकरी भन्छन्।

"यी पुस्तकहरूले बालबालिकाहरूमा अध्ययनको प्रेम जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे। तिनीहरूको सरल भाषा र आकर्षक दृश्यहरूले जटिल कथाहरूलाई धेरैको पहुँचमा पुग्ने बनाए।"

अमर चित्रकथाका पुराना अङ्कहरू

तस्बिर स्रोत, Amar Chitra Katha

तस्बिरको क्याप्शन, अमर चित्रकथा अनन्त पैले सुरु गरेका थिए

हाजिरी जबाफ हेरिरहेका बेला फुरेको जुक्ति

अमर चित्रकथा टाइम्स अफ इन्डिया पत्रिकामा कनिष्ठ इन्जिनियरको काम गर्ने अनन्त पै ले सुरु गरेका थिए।

उनी त्यही पत्रिकाको सञ्चालक समूहको स्वामित्वमा रहेको इन्द्रजाल कमिक्ससँग आबद्ध थिए। त्यसले अमेरिकी लेखक ली फल्कका लोकप्रिय नायकहरू फ्यान्टम र म्यान्ड्रेकको बारेमा कमिक्सहरू प्रकाशित गर्थ्यो।

दिल्लीमा टेलिभिजन सेट बेच्ने पसलमा एउटा हाजिरी जबाफ प्रस्तुति हेरिरहेका बेला संयोगवश पै को मनमा अमर चित्रकथाको जुक्ति फुरेको थियो। उक्त हाजिरी जबाफका सहभागीहरूले ग्रीक पौराणिक कथाहरू बारेका प्रश्नहरूको जबाफ सजिलै दिए पनि भारतीय महाकाव्य र पौराणिक कथासँग सम्बन्धित प्रश्नहरूको जबाफ दिन नसकेको उनले देखे।

उनको निधनको एक वर्षपछि सन् २०१२ मा अमर चित्रकथाद्वारा सार्वजनिक उनको जीवनीमा पै उक्त टेलिभिजनमा देखिएको हाजिरी जबाफबाट निराश भएर भारतीय कथाहरूमा आधारित कमिक्सहरू प्रकाशन गर्ने निधोमा पुगेको उल्लेख छ।

"उनका कथाहरूमा नैतिक मूल्यमान्यताको कुरा छ, आमाबाबु र स्कुलहरूले विश्वव्यापी रूपमा भारतीय विरासत सिकाउन प्रयोग गरेका छन्," टिङ्कलकी बजार प्रमुख बाथम भन्छिन्।

सुरुका दशवटा अङ्कहरूमा सिन्ड्रेला र स्नो ह्वाइट जस्ता पश्चिमी परी कथाहरू समावेश थिए। तर सन् १९७० मा सार्वजनिक भएको हिन्दू देवता कृष्णमा आधारित एघारौँ अङ्कले अमर चित्रकथाका लागि नयाँ मोड ल्याइदियो।

प्रतिवर्ष ४५ लाख प्रतिहरू बिक्री

अमर चित्रकथाको पुरानो हास्य पुस्तक

तस्बिर स्रोत, Amar Chitra Katha

तस्बिरको क्याप्शन, अमर चित्रकथा र टिङ्कल कैयौँ भाषामा प्रकाशित छन्

राम वीरकरले त्यसका लागि चित्रहरू तयार गरेका थिए। कृष्णबारेको उक्त संस्करणले यसका भावी प्रकाशनहरूको लागि एउटा बाटो तय गरिदियो।

अभिव्यक्ति दर्शाउने अनुहार, राम्रा हरफहरू र नाटकीय रचनाहरूका लागि परिचित वीरकरले यो प्रकाशनका लागि ९० भन्दा बढी कमिक्सहरूमा चित्र कोरे।

कृष्णको सफलतापछि, अमर चित्रकथाले राम, शकुन्तला, सावित्री, भीष्म, हनुमान, चाणक्य, बुद्ध, शिवाजी र अशोक जस्ता भारतीय पौराणिक र ऐतिहासिक पात्रहरूमा आधारित धेरै कथाहरू समावेश गरेर प्रकाशनलाई विस्तार गर्‍यो।

"यी कमिक्स शृङ्खलाहरूले मलाई कार्टुनिष्ट बन्न प्रेरित गरे," आफूलाई अमर चित्रकथाका आजीवन प्रशंसकका रूपमा चिनाउने प्रसिद्ध चित्रकार आलोक निरन्तर भन्छन्।

"अमर चित्रकथाप्रति सबैको मन पग्लन्छ। यसका मूल प्रतिहरू नै नष्ट भएको कुरा हृदयविदारक छ। डिजिटल युगमा पनि मूल कलाकृतिले बेजोड महत्त्व राख्छ।"

सन् १९८० मा यो प्रकाशनले टिङ्कल सुरु गर्‍यो। यो सचित्र पत्रिका विशेष गरी बालबालिकाहरूमा अति लोकप्रिय थियो। यसका सुप्पन्डी र सिकारी शम्भु जस्ता पात्रहरू धेरै घरमा बालबच्चालाई बोलाउने नाम बने।

अमर चित्रकथा र टिङ्कल अङ्ग्रेजी, हिन्दी, तमिल, मलयालम र बङ्गाली लगायत धेरै भाषाहरूमा प्रकाशित भइरहेका छन्।

एक दशकअघि प्रतिवर्ष ३० लाख प्रति बिक्री भइरहेका यी पत्रिकाहरू अहिले पनि प्रतिवर्ष ४५ लाख प्रतिहरू बिक्री भइरहेका छन्।

यसको डिजिटल संस्करण पढ्न मिल्ने एप्स पनि विश्वभरि पाँच लाख प्रयोगकर्ताले डाउनलोड गरेको कम्पनीका एक कार्यकारीले बीबीसीलाई बताए।

कसैले पनि हेर्न नपाउने गरी खरानी

अमर चित्रकथा टाइम्स अफ इन्डिया पत्रिकामा कनिष्ठ इन्जिनियरको काम गर्ने अनन्त पै
तस्बिरको क्याप्शन, अमर चित्रकथा टाइम्स अफ इन्डिया पत्रिकामा कनिष्ठ इन्जिनियरको काम गर्ने अनन्त पै ले सुरु गरेका थिए।

टिङ्कलकी प्रधानसम्पादक गायत्री चन्द्रशेखरणका अनुसार अक्टोबरदेखि फेब्रुअरीसम्म सबैभन्दा धेरै बिक्री हुने समय हो।

"हामी दीपावली मेला, पुस्तक मेला र हास्य कार्यक्रमहरूमा भाग लिने तयारीमा थियौँ। पछिल्लो ६ महिनामा छापिएका सबै कुरा आगोमा जलेर नष्ट भए," उनले भनिन्।

तर, अमर चित्रकथाकी सम्पादक रीना पुरी अझै आशावादी छन्।

"हामीले १९९४ मा पनि यस्तै आगलागीको सामना गरेका थियौँ। त्यसबेला फिनिक्स जस्तै हामी पनि खरानीबाट उठेका थियौँ, अब फेरि हामी उठ्ने छौँ। हाम्रा पाठकहरूको प्रेम र हाम्रो टोलीको दृढताले हामीलाई उठ्न मद्दत गर्नेछ," उनी भन्छिन्।

त्यसबेला अमरचित्र कथा प्रकाशित गरिरहेको इन्डिया बुक हाउसको मुम्बईको कार्यालयमा सन् १९९४ मा शर्ट सर्किटका कारण आगलागी भएको आशङ्का गरिएको थियो।

उक्त आगलागीले करिब ३,००० सन्दर्भ पुस्तकहरू र धेरै अप्रकाशित संस्करणहरूको कलाकृति र पाण्डुलिपिमा क्षति पुर्‍याएको थियो। सम्पादक पुरी यसलाई डिजिटल प्लेटफर्मको माध्यमबाट नवीनता ल्याउने अवसरको रूपमा हेर्छिन्।

"१,५०० भन्दा बढी पुस्तकहरूको हाम्रो पुस्तकालय अब एप्समार्फत् डिजिटल रूपमा उपलब्ध छ," उनी भन्छिन्।

यद्यपि कला प्रेमीहरूको लागि यो क्षति अपूरणीय छ। ति कलाकृतिहरूको मूल प्रति अब कसैले पनि हेर्न नपाउने गरी खरानी भएका छन्।

"हामी बाल ठाकरे (जो पछि एक लोकप्रिय राजनीतिज्ञ बने) वा आरके लक्ष्मण जस्ता अग्रजका मौलिक कृतिहरू विरलै देख्न पाउँछौँ," कार्टुनिष्ट निरन्तर पछुतो मान्छन्।

"अब अमर चित्रकथाको मूल प्रति नष्ट भएपछि भावी पुस्ताले यी उत्कृष्ट कृतिहरू प्रत्यक्ष देख्न पाउने छैनन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।