मोनालिसा कहाँ बनाइएको थियो? ५०० वर्षपछि रहस्य खुलेको दाबी

मोनालिसा

तस्बिर स्रोत, Getty Images

यो विश्वकै सबैभन्दा प्रसिद्ध चित्रकलामध्ये एक हो तर अझै पनि यसबारे रहस्यहरू बाँकी छन्।

लिओनार्दो दा भिन्चीको 'मोनालिसा' चित्रकलामा देखाइएकी मोनालिसाको रहस्यमय मुस्कानको लागि परिचित छ।

उक्त चित्रकला बनेको ५०० वर्षभन्दा बढी भइसक्दा पनि त्यससँग सम्बन्धित धेरै पक्षबारे स्पष्ट उत्तर छैन।एक भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले उक्त चित्रकला कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी छन्।

मोनालिसाको रहस्य कसरी खुल्यो?

चित्रमा अङ्कित भूदृश्‍य चिन्न उनले आफ्नो विशेषज्ञता प्रयोग गरेकी छन्।

उक्त चित्रमा चौधौँ शताब्दीको पुल देखिन्छ। त्यसले उक्त चित्र लम्बार्डी क्षेत्रको कमो तालको किनारामा अवस्थित इटालेली सहर लेक्कोको पृष्ठभूमिमा बनाइएको सङ्केत गर्छ।

पिज्जोरुसोले हालै उत्तरी इटलीमा भएको एउटा सम्मेलनमा आफ्नो निष्कर्ष प्रस्तुत गरेकी थिइन्।

आफ्नो विशेषज्ञताका दुई क्षेत्रहरू संयोजन गर्दै उनी लियोनार्दो दा भिन्चीलाई कलाकारका रूपमा मात्र नभई "एक महान् भूगर्भविद्"का रूपमा पनि हेर्छिन्।

मोनालिसा

तस्बिर स्रोत, Getty Images

"म उनलाई भूगर्भविज्ञानका पिता ठान्छु। लियोनार्दोको विशेषतामा एउटा भौगर्भिक निष्पक्षता पनि पर्छ," उनले भनिन्।

"तपाईँले उनका कुनै पनि चित्र हेर्नुभयो भने त्यहाँ चट्टान वा वनस्पतिविज्ञान पाउनुहुन्छ। ती पूर्णरूपमा प्राकृतिक छन्। तिनलाई पूर्णरूपमा चिन्न सकिन्छ। त्यो उनको विशेषता हो।"

'लियोनार्दो दा भिन्चीको पाइला पछ्याउँदै'

बीबीसीको ग्लोबल न्यूज पड्कास्टसँग कुरा गर्दै पिज्जोरुस्सोले लियोनार्दोका पाइला पछ्याउँदै उनी ५०० वर्षअघि गएका स्थानहरूमा पत्ता लगाइएको बताइन्।

"म उनका चित्र र रेखाचित्रमा यति धेरै वर्षपछि पनि भूदृश्य देख्न सक्छु," उनले भनिन्।

वर्षौँदेखि कलासम्बन्धी इतिहासकारहरूले मोनालिसाको चित्रकलामा रहेको पुलको पहिचान गर्ने प्रयास गरिरहेका छन्। इटलीका धेरै सहरमा त्यस्ता पुलहरू थिए।

"मैले सबैले पुलमा मात्रै ध्यान दिएको पाएँ। यो भनेको कुनै सानो गाडी खोज्नु जस्तै हो। ती इटलीभरि जताततै थिए।"

"तपाईँले पुल भेट्नुपर्थ्यो, सँगसँगै तपाईँसँग भौगर्भिक अवस्थिति र ताल पनि हुनुपर्थ्यो। त्यो यहाँ छ।"

निष्कर्ष

पिज्जोरुस्सोले मोनालिसाको भौगोलिक विशेषतालाई उत्तरी इटलीको कमो तालको किनारमा रहेको सहर लेक्कोसँग दाँजेर उक्त विश्वप्रसिद्ध चित्रकला त्यहाँ बनाइएको विश्वास गरेकी छन्।

"कमो तालमा लियोनार्दोले धेरै समय बिताएका थिए किनभने उनले मिलानदेखि कमोसम्म एउटा नहर बनाउन कोसिस गरेका थिए। उनले त्यस्तो गर्न सकेनन् किनकि त्यो मार्गमा धेरै चट्टानहरू भएको जमिन थियो," उनले भनिन्।

मोनालिसा

तस्बिर स्रोत, Getty Images

पिज्जोरुस्सोका अनुसार चित्रको पृष्ठभूमिमा देखिने पर्वतमाला 'एल्प्स' जस्तै छ। लियोनार्दोले त्यहाँको भ्रमण गरेका थिए।

उनी पृष्ठभूमिमा रहेको पुल १४औँ शताब्दीमा बनेको आत्सोने भिस्कोन्टे पुल हो भन्ठान्छिन्।

पिज्जोरुस्सोले विभिन्न ठाउँ चिन्न गुगल म्याप्स, गुगल अर्थ र ड्रोनलगायतको प्रयोग गरेकी थिइन्।

पुराना दाबी

सन् २०११ मा मोनालिसाको चित्रकलामा देखिने पुल र सडक उत्तरी इटलीको एउटा सानो सहर बब्बिओको हुन सक्ने अनुमान गरिएको थियो।

सन् २०२३ मा गरिएको एउटा दाबीमा लियोनार्दो दा भिन्चीले अरेत्सो प्रान्तको एउटा पुल उक्त चित्रमा देखाएका थिए भनिएको थियो।

विगतमा ल्याटेरिनाको पोन्ते रोमितो पुल पनि मोनालिसा चित्रकलासँग जोडिएको थियो।

प्यारिसको लूभ्रमा राखिएको सोह्रौँ शताब्दीको चित्रकला मोनालिसा विश्वको सबैभन्दा प्रसिद्ध कलाकृतिमध्ये एक हो।

उक्त चित्रकला बनाउने लिओनार्दो दा भिन्ची कलाकार मात्र नभई मूर्तिकार, इन्जिनियर, वैज्ञानिक, गणितज्ञ र आविष्कारक पनि थिए।

पाँच सय वर्षअघि उनले गरेको खोजीले आज पनि हाम्रो दैनिक जीवनलाई सहज बनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।