ढुङ्गे औजारको खोजले देखायो सुरुकै मानव आविष्कारक थिए

चारवटा भिन्न ढुङ्गे औजारको तस्बिर

तस्बिर स्रोत, David Braun

तस्बिरको क्याप्शन, हेर्दा सामान्य लाग्ने यी ढुङ्गा दशौँ लाख वर्ष पहिले एकदमै आधुनिक अनि निकै सीप र क्षमताले बनाइएका औजार हुन्
    • Author, पल्लव घोष
    • Role, विज्ञान सम्वाददाता

दशौँ लाख वर्ष पहिलेका प्रारम्भिक मानव जाति आविष्कारक भएको हुन सक्ने उत्तरपश्चिमी केन्यामा गरिएको एक अनुसन्धानले देखाएको छ।

नामोरोतुकुनान नामक उत्खनन स्थलमा करिब २७ लाख ५० हजार वर्ष पहिलेका प्रागऐतिहासिक मानवले लगातार ३ लाख वर्षसम्म ढुङ्गे औजार प्रयोग गरेको भेटिएको छ।

योभन्दा अगाडि प्राप्त प्रमाणले मानिसहरूले बेलाबखत औजार बनाउने तर छिट्टै त्यो बिर्सने गरेको देखाएको थियो।

जबकि पछिल्लो खोजले चाहिँ हजारौँ पुस्तासम्म यस्ता नयाँ खोजको ज्ञान प्रसार हुने गरेको देखाएको छ।

नेचर कम्युनिकेशन्स जर्नलमा प्रकाशित यस शोधको अगुवाइ वाशिङ्टन डिसीस्थित जोर्ज वाशिङ्टन युनिभर्सिटीका प्राध्यापक डेभिड ब्राउनले गरेका थिए। उनका अनुसार यसले मानवको विकास क्रमबारे हाम्रो बुझाइमा व्यापक फेरबदल ल्याउने प्रमाण पेश गरेको छ।

"हामीलाई लागेको थियो कि यस्ता औजारको प्रयोग कुनै बखत हुन्थ्यो र छिट्टै हराउँथ्यो। तर जब हामीले निरन्तर ३ लाख वर्षसम्म उही वस्तुको प्रयोग भइरहेको देख्यौँ तब ती पुराना धारणा सम्भव देखिएनन्," उनले भने।

"यो व्यवहारको लामो निरन्तरता हो। मानव जाति र मानव जातिका पुर्खामाझ औजारको प्रयोग हामीले सोचेभन्दा निकै पहिलेदेखि र निरन्तर हुँदै आएको रहेछ।"

एउटा धारिलो ढुङ्गे औजार

तस्बिर स्रोत, David Braun

तस्बिरको क्याप्शन, ढुङ्गे औजार यति विघ्न धारिला थिए कि खोजकर्ताहरूको औँला पनि तिनले काट्न सक्थे

पुरातत्त्वविदहरूले नामोरोतुकुनान उत्खननस्थलमा दश वर्ष अध्ययन गर्दा त्यहाँबाट १३ सय धारिला ढुङ्गाका टुक्रा, ह्यामरस्टोन तथा स्टोन कोरजस्ता औजार भेटे जसलाई नदीको किनाराबाट खोजेर ल्याएर मिहिनतापूर्वक बनाइएको जस्तो देखिन्थ्यो। तिनलाई ओल्डोवान भनिने ढुङ्गा टुक्र्याउने प्रागऐतिहासिक विधि प्रयोग गरेर बनाइएको थियो। ढुङ्गे औजार बनाउने उक्त विधि सबभन्दा प्रारम्भिक र प्रचलित विधि मानिन्छ।

उस्तै किसिमका औजार उत्खनन् स्थलमा तीन भिन्न तहमा भेटिन्छ। जति तलको तह हो उति नै प्राचीन समयको हुने गर्छ। धेरै जसो ढुङ्गा तिनको गुणलाई हेरेर छानिएको देखिन्छ। त्यसले ती मानिस सीपालु रहेको देखाउने अनुसन्धान टोलीमा रहेका ब्रजिलको साओ पाउलो विश्वविद्यालयका वरिष्ठ भूगर्भ वैज्ञानिक पाल्कु रोलिअरले भने।

"यहाँ हामीले जे देखेका छौँ त्यो निकै परिष्कृत वस्तु हो," उनले बीबीसी न्यूजलाई भने।

"ती मानिस निकै सिपालु अनि तीक्ष्ण भूगर्भशास्त्री जस्तो लाग्यो। तिनले उत्तम कच्चा पदार्थ कहाँ पाइन्छ भन्ने जान्दथे अनि तिनले बनाएका ढुङ्गे औजार पनि उत्कृष्ट थिए। ती औजारले हाम्रो औँला काट्न सक्छ।"

भौगर्भिक प्रमाणहरूका अनुसार ती औजारले ती मानिसलाई जलवायुमा आउने नाटकीय फेरबदलसँग जुझेर बाँच्न सघायो।

केन्याको न्याशनल म्युजिअम्सका वरिष्ठ वैज्ञानिक राहब एन. किन्यान्जुइका अनुसार तिनको वासस्थान कहिले सिमसारजस्तो अनि कहिले सुख्खा घाँसे मैदान अनि कहिले मरुभूमि सरह परिवर्तित भएका थिए।

पूर्वी अफ्रिकाको नक्सा

यस्ता वातावरणीय परिवर्तनले सामान्यतया जीवजन्तुलाई क्रमिक विकासमार्फत् अनुकूलित हुन वा अन्यत्र सरेर जान वाध्य पार्छ। तर यी क्षेत्रका औजार निर्माताहरूले जैविक अनुकूलनभन्दा पनि प्रविधिको प्रयोग गरेर बाँच्न र विस्तारित हुन सफल भएको डा पाल्कु रोलिअरले भने।

"इस्ट तुर्कानाका ती प्राचीन बासिन्दालाई प्रविधिले बदलिँदो बासस्थानमा बाँच्न सघायो - आफूलाई अनुकूलित गराएर होइन कि खाना खोज्ने विधिलाई अनुकूलित गराएर।"

विभिन्न तहमा भेट्टिएका ढुङ्गे औजारका प्रमाणले लामो समय र निरन्तर रूपमा ती प्रागऐतिहासिक मानवले आफू वरपरको बदलिँदो संसारको परिवर्तनको चपेटामा नपरीकनै त्यसलाई नियन्त्रण गर्न सकेको देखाउँछ।

अनि यो सबै कुरा मानव जातिको उत्पत्तिको प्रारम्भिक चरणमै भएको डा रोलिअरले भने।

"औजारको प्रयोगको अर्थ के भयो भने ती फेरबदलसँग जुझ्न ती मानवले तिनको शरीरमा कुनै बदलाव ल्याउनु परेन। बरु तिनले खानेकुराको पहुँचका निम्ति आवश्यक प्रविधिको विकास गरे: जनावरको मासु काट्ने वा वनस्पति जमिनमुनिबाट उखेल्न चाहिने औजारका रूपमा।"

केन्याको तुर्काना बेसीनमा रहेको नामोरोतुकुनान उत्खनन स्थल

तस्बिर स्रोत, David Braun

तस्बिरको क्याप्शन, केन्याको तुर्काना बेसीनमा रहेको नामोरोतुकुनान उत्खनन् स्थल। प्राचीन समयमा सुकेको एक महत्त्वपूर्ण नदीको मार्गमा अवस्थित यो ठाउँमा प्रागऐतिहासिक कालका मानव तथा तिनका पुर्खा बस्थे

उत्खननस्थलमा त्यसको प्रमाण पनि भेटिन्छ: ढुङ्गे औजारले जनावरका हड्डी काटेको, जसको अर्थ हुन्छ तिनले निरन्तर मासुको उपभोग गरिरहन सकेका थिए।

"प्रविधिले ती प्रागऐतिहासिक मानवलाई निकै फाइदा दिलायो," डा पाल्कु रोलिअरले भने।

"वातावरणको फेरबदलका माझ तिनले विविध प्रकारका खानेकुरामा पहुँच पुर्‍याउन सके। उनीहरूलाई बाँच्न चाहिने आवश्यक स्रोत बदलिएको थियो तर प्रविधिका कारण त्यस्ता चुनौतीबाट पार पाउँदै नयाँ खानेकुरामा पहुँच पुर्‍याउन उनीहरूलाई प्रविधिले सघायो।"

उत्तरी केन्याको नामोरोतुकुनान स्थलमा पुरातत्त्वविद्हरूले उत्खनन गरेका छन्

तस्बिर स्रोत, David Braun

तस्बिरको क्याप्शन, उत्तरी केन्याको नामोरोतुकुनान स्थलमा पुरातत्त्वविद्हरूले उत्खनन गरेका छन्

२७ लाख ५० हजार वर्ष पहिले उक्त क्षेत्रमा सानो आकारको मस्तिष्क भएका प्रारम्भिक मानव जातिको बसोबास थियो। ती प्रागऐतिहासिक मानवहरू मानव प्रजातिको पुस्ता मानिने अस्ट्रालोपिथेसाइन्स प्रजातिसँगसँगै बस्दथे। तिनका दाँत ठूला हुन्थे अनि तिनको व्यवहारचाहिँ चिम्पान्जी र मानिसको मिश्रित किसिमको हुन्थ्यो।

नामोरोतुकुनानका औजार प्रयोगकर्ताहरू भनेको यिनै दुई प्रजातिमध्ये एक वा दुवै भएको हुनसक्छ।

प्राध्यापक ब्राउनका अनुसार यसअघि मानव विकास क्रमका कैयन् विज्ञहरूले २२ लाखदेखि २४ लाख वर्ष पहिले जब मानिसको मस्तिष्कको आकार बढ्यो तबदेखि मात्र मानिसले निरन्तर औजार प्रयोग गर्न थालेको मान्थे।

"के भनिन्थ्यो भने जब मस्तिष्कको आकार उल्लेखनीय बढ्यो तब त्यसको पोषणका लागि आवश्यक थप खानेकुरा जोहो गर्न औजारको प्रयोगले सघायो।"

"तर हामीले नामोरोतुकुनानमा के देख्यौँ भने मानव जातिको मस्तिष्कको आकार बढ्नुभन्दा पहिले नै उसले औजार प्रयोग गर्न थालेको थियो।"

"हामीले ती प्रागऐतिहासिक मानव र तिनका पुर्खालाई निकै कम आँकेका रहेछौँ। वातावरणीय परिवर्तनसँग जुझ्न प्रविधिको प्रयोगको इतिहास हामीले सोचेभन्दा निकै पुरानो रहेछ, करिब २७ लाख ५० हजार वर्ष पहिले वा अझ त्योभन्दा पनि पहिले।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।