भारतमा वर्षौँदेखि ब्याङ्कभित्र थन्किएका एमएफ हुसेनका महँगा कलाकृति लिलामी हुँदै

तस्बिर स्रोत, Pundole Art Gallery
- Author, शेरिलान मोलन
- Role, बीबीसी न्यूज, मुम्बई
विश्वका प्रसिद्ध आधुनिक कलाकारहरूमध्ये एकका लगभग दुई दर्जन चित्रहरू अर्को साता पहिलोपटक लिलामी केन्द्रमा पुग्नेछन्। ती चित्रहरू कुनै बेला कीर्तिमानी कला सम्झौताको हिस्सा बनेका थिए।
यही जुन १२ मा एमएफ हुसेनले बनाएका २५ वटा दुर्लभ चित्रहरू मुम्बई नगरको एक आर्ट ग्यालरीमा लिलामीमा जानेछन्। ती चित्रहरू उनले बनाएको दुई दशकभन्दा बढी समयपछि त्यसरी लिलामीमा जान लागेका हुन्।
यी चित्रहरूलाई सन् २००८ पछि पहिलोपटक आगामी साता सार्वजनिक प्रदर्शनीमा राखिने भएको हो।
सन् २००८ मा ब्याङ्कहरू डुबाएको आरोप लागेका एकजना चर्चित व्यापारीसँग रहेका यी चित्रहरू अधिकारीहरूले जफत गरेपछि एउटा ब्याङ्कका भल्टमा बन्द गरेर राखिएका थिए।
गुणगान र आलोचना
"यस्तो लाग्छ- यी चित्रहरूले लामो यात्रा पूरा गरेका छन् र यहाँ आइपुगेका छन्," पुन्डोल आर्ट ग्यालरीका निर्देशक दादिबा पुन्डोल भन्छन्। यी चित्रहरू उक्त ग्यालरीमै लिलामी हुने तय भएको छ।
हुसेनले यी धेरै चित्र बनाउन उक्त ग्यालरीलाई आफ्नो स्टुडियोको रूपमा प्रयोग गरेका थिए र ती महत्त्वाकाङ्क्षी १०० वटा चित्र शृङ्खलाको एउटा हिस्सा थिए। तर उनले उक्त शृङ्खला कहिल्यै पूरा गरेनन्।
उनलाई प्रायः "भारतको पिकासो" भनेर चिनिन्थ्यो। उनी देशका सबैभन्दा प्रसिद्ध र विवादास्पद कलाकारमध्ये एक थिए।
उनको कामबारे लाखौँले गुणगान गाएका छन्। तर उनका कतिपय साहसी कदमले उनलाई आलोचनाको केन्द्रमा पनि तानेका थिए। सन् २०११ मा ९५ वर्षको उमेरमा उनको मृत्यु भएको थियो।
'हुसेन : एन आर्टिस्टस् भिजन अफ द ट्वेन्टियथ सेन्चुरी' शीर्षक दिइएको पुन्डोल ग्यालरीको प्रदर्शनीमा रहेका २५ वटा चित्रहरूले प्रविधि, राजनीति र संस्कृतिमा आएको व्यापक परिवर्तनलाई मूर्त रूप दिएको परिवर्तनकारी शताब्दीबारे उनको धारणाको झलक प्रस्तुत गर्छन्।

तस्बिर स्रोत, Pundole Art Gallery
कतिमा लिलामी होला?
पुन्डोलका अनुमानमा लिलामीमा २ करोड ९० लाख अमेरिकी डलरसम्म उठ्न सक्ने देखिन्छ।
न्यूयोर्कमा क्रिस्टीको लिलामीमा हुसेनको अर्को चित्र अनटाइटल्ड (ग्राम यात्रा) अभूतपूर्व रूपमा १ करोड ३८ लाख डलरमा बिक्री भएको महिनौँपछि यी चित्रहरू प्रदर्शनीमा आएका हुन्।
उक्त चित्र सबैभन्दा महँगोमा बिक्री हुने भारतीय कलाकृति बनेको छ।
सन् २०१३ मा लिलामी घरलाई उक्त चित्रबारे जानकारी नगराइएसम्म तैल क्यानभासको उक्त उत्कृष्ट कृति लगभग पाँच दशकसम्म नर्वेली अस्पतालको भित्तामा सजिएको थियो र त्यसलाई कला जगत्ले बिर्सिएको थियो।
लिलामीमा राखिएका पछिल्ला चित्रहरूले पनि यस्तै प्रवृत्ति देखाउन सक्छन्।
पुन्डोलले स्मरण गरे अनुसार हुसेनले सन् २००० को दशकको सुरुतिर ठूलो उत्साह र जोशका साथ काम गर्न थालेका थिए।
"उनले चित्र बनाइरहेका बेला उनलाई कुनै पनि कुराले विचलित गर्न सक्दैनथ्यो। उनको वरिपरि जेसुकै भए पनि त्यसले उनलाई फरक पार्दैनथ्यो," उनी भन्छन्।
सन् २००४ मा हुसेनले मुम्बईका एक व्यापारीलाई एक अर्ब रुपैयाँको सम्झौताको पहिलो किस्ताको रूपमा २५ वटा चित्र बेचेका थिए।
'एमएफ हुसेन: द जर्नी अफ अ लिजेन्ड'का लेखक किशोर सिंहले इन्डियन एक्सप्रेस अखबारमा उक्त सम्झौताबारे लेखेका छन्।

तस्बिर स्रोत, Pundole Art Gallery
सबैभन्दा ठूलो कला सम्झौता
सन् २००२ मा तेयब मेहताको काली [एक भारतीय देवी] ले भारतको सबैभन्दा महँगो चित्रको कीर्तिमान बनाएको केही समयपछि हुसेनले उक्त सम्झौता गरेको उल्लेख गर्दै सिंह लेख्छन्, "उनी [हुसेन] साथी कलाकारहरूको ईर्ष्या गर्दैनथे तर उनी प्रतिस्पर्धी थिए।"
उक्त चित्र १ करोड ५० लाख रुपैयाँमा बिक्री भएको थियो।
हुसेनले ती चित्र शृङ्खलाका लागि व्यापारी गुरु स्वरूप श्रीवास्तवसँग एक अर्ब रुपैयाँको सम्झौता गरेका थिए।
सञ्चारमाध्यमहरूले त्यसलाई "भारतको सबैभन्दा ठूलो कला सम्झौता" भनेर नामकरण गरे र त्यसले श्रीवास्तवलाई एक जना चर्चित कला सङ्कलकका रूपमा रातारात प्रसिद्ध बनायो।
तर दुई वर्षपछि भारतको अपराध अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले श्रीवास्तवको व्यवसायको अनुसन्धान सुरु गर्यो।
उनी र उनका सहयोगीहरूमाथि सरकारको सहयोग पाएको कृषि निकायबाट ऋणको दुरुपयोग गरेको आरोप लगाउँदै उक्त अनुसन्धान सुरु गरिएको थियो।
सीबीआईले श्रीवास्तवमाथि ती रकम घरजग्गा, म्युचुअल फन्ड र हुसेनको चित्रकलामा खर्च गरेको आरोप लगायो।
यद्यपि श्रीवास्तव र उनको कम्पनीले सबै आरोपहरू अस्वीकार गरेका र उक्त मुद्दा अदालतमा विचाराधीन रह्यो।
सन् २००८ मा एउटा न्यायाधिकरणले सरकारको सहायता पाएको कृषिसम्बन्धी निकायलाई श्रीवास्तवबाट एक अर्ब रुपैयाँको सम्पत्ति जफत गर्न अनुमति दियो र त्यसमा २५ वटा हुसेनका चित्रकलाहरू पनि समावेश गरिए।
गत फेब्रुअरीमा अदालतले ऋणको केही मात्रा फिर्ता गर्न चित्रकलाहरू लिलामी गर्ने बाटो खोलिदियो।
त्यसपछि वर्षौँसम्म ब्याङ्कको भल्टमा थुनिएका ती २५ चित्रहरू अन्ततः चर्चामा आएका छन्।

तस्बिर स्रोत, Pundole Art Gallery
हुसेनको कलाका विशेषता
सन् २०१८ मा लेखक तथा पत्रकार तारा कौशललाई दिएको अन्तर्वार्तामा श्रीवास्तवले ती कलाकारसँगको आफ्नो रोकिएको सम्झौताबारे बताएका थिए।
"मैले २५ वटा चित्रहरू बेचेर उनका बाँकी चित्रका लागि हुसेनलाई पैसा तिर्ने योजना बनाएको थिएँ। तर कानुनी जटिलताका कारण त्यो सम्भव भएन। सन् २००८ मा हुसेनले मलाई फोन गरेर चित्रहरू लन्डन र प्यारिसमा तयार छन् र पहिले सहमति बनेको मूल्यमा किन्नु भनेका थिए। तर मसँग रकम थिएन र त्यो उनले बुझे," उनले भने।
हुसेनले आफ्नो चित्रहरू भारतका धनाढ्य कला पारखीमाझ लगभग कसैले नचिनेको व्यक्तिलाई किन बेच्ने छनौट गरे भन्ने प्रश्नमा पुन्डोल भन्छन्, "उनलाई आफ्ना चित्रहरू बिक्री हुँदासम्म त्यसको खासै वास्ता थिएन।"
उक्त असफल सम्झौता वा उनको अधुरो २०औँ शताब्दीका चित्र शृङ्खलाको बारेमा हुसेनलाई कस्तो महसुस भयो भनेर अहिले हामीले थाहा पाउने कुनै उपाय छैन।
तर यो उनको जीवन र साहसी कदमको एउटा बिर्सन नसकिने घटना बनेको छ।
उक्त शृङ्खलाका २५ चित्रका क्यानभासमा कोरिएका जीवन्त एक्रिलिकहरूले २०औँ शताब्दीका प्रमुख घटना र सामाजिक मनोवृत्तिलाई प्रतिबिम्बित गर्ने हुसेनको 'बोल्ड' शैलीलाई उजागर गर्छन्।
एउटा चित्रमा बेन्चमा कुराकानी गरिरहेको एउटा अनौठो समूहलाई देखाउँछ। त्यसको प्रतीकात्मक अर्थ भनेको हुसेनले विश्वव्यापी शक्तिबीच शान्तिपूर्ण संवाद र सहअस्तित्वको आह्वान गरेका हुन्।
अर्को चित्रमा सामाजिक र आर्थिक असमानता अनि राज्यको विशाल खर्चबीचको भिन्नतालाई उजागर गर्न रकेट प्रक्षेपणको संयोजन गर्दै चार्ली च्याप्लिनलाई सम्मान व्यक्त गरिएको छ।
अन्य चित्रहरूमा गरिबीसँग लडिरहेको संसार, बङ्करमा रहेका सैनिकहरू र दोस्रो विश्वयुद्ध, भारतको विभाजन र होलोकस्टजस्ता त्रासदीको सामना गरिरहेको मानवतालाई दर्साइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








