९/११ आक्रमणका तीन योजनाकार 'दोष मान्न सहमत, मृत्युदण्ड नमागिने'

सन् २००१ को सेप्टेम्बर ११ को आतङ्ककारी हमला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००१ को सेप्टेम्बर ११ मा आक्रमणकारीहरूले न्यूयोर्कस्थित ट्विन टावरमा पनि विमान जोतिदिएका थिए
    • Author, म्याक्स माट्सा
    • Role, बीबीसी न्यूज

सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको षड्यन्त्र बनाएको आरोप लागेका तीन जनासँग 'सुनुवाइअघि नै सहमति' भएको अमेरिकाको रक्षा मन्त्रालयले जनाएको छ।

खालिद शेख मोहम्मद, वालिद मुहम्मद सालिह मुबारक बिन अताश र मुस्तफा अहमद आदम अल-हाउसावीलाई क्युबास्थित अमेरिकी जलसेनाको आधारशिविर 'ग्वान्टानामो बे'मा वर्षौँदेखि कुनै पनि आरोपमा मुद्दा नचलाई राखिएको छ।

अमेरिकी समाचारसंस्थाहरूले जनाएअनुसार अभियोजनकर्ताहरूले मुद्दा दायर गर्दा ती व्यक्तिको मृत्युदण्ड माग नगर्ने सर्तमा उनीहरूले दोष स्वीकार गर्ने भएका हुन्। यद्यपि उक्त सम्झौताका सर्त सार्वजनिक हुन बाँकी छ।

भयानक आक्रमण

अल-कायदाले गरेका आक्रमणहरूमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भेनिया राज्यमा झन्डै ३,००० मानिसको मृत्यु भएको थियो।

उक्त आक्रमणपछि अमेरिकी नेतृत्वमा अफगानिस्तान र इराकमा आक्रमणहरू सुरु भएका थिए। ती युद्धलाई अमेरिकाले "वार अन टेरर" अर्थात् "आतङ्कवादविरुद्धको युद्ध" भनेको थियो।

सन् २००१ का ती आक्रमणहरू अमेरिकी भूमिमा दोस्रो विश्वयुद्धपछि भएका सबैभन्दा घातक हमला थिए।

सेप्टेम्बर ११ हमला

दोस्रो विश्वयुद्धका बेला सन् १९४१ मा हवाईमा जापानले आक्रमण गर्दा पर्ल हार्बरमा २,४०० जनाको मृत्यु भएको थियो।

त्यसपछि अल-कायदाको आक्रणम नै अमेरिकी भूमिका भएको सबैभन्दा घातक हमला हो।

सम्झौताको खुलासा

न्यूयोर्क टाइम्सका अनुसार तीन आरोपितलाई पठाइएको एउटा पत्रमा अभियोजनकर्ताहरूले उक्त सम्झौताबारे जानकारी दिएका थिए।

"सम्भावित सजायबाट मृत्युदण्डको माग हटाउने प्रतिबद्धताको साटो यी तीन अभियुक्तहरू आरोपपत्रमा सूचीकृत २,९७६ जनाको हत्यालगायत आरोप लागेका सबै अपराध स्वीकार गर्न सहमत भएका छन्," प्रमुख अभियोजक रेअर एड्मिरल आरोन रफको पत्रमा भनिएको छ।

ती तीन पुरुषलाई नागरिकहरूमाथि आक्रमण गरेको, युद्धसम्बन्धी कानुन उल्लङ्घन गरी हत्या र अपहरण गरेको र आतङ्कवादी कार्य गरेको जस्ता अभियोगहरू लगाइएको छ।

द टाइम्सका अनुसार उनीहरूले अर्को साताको सुरुमा अदालतमा औपचारिक रूपमा त्यसबारे निवेदन दिने अपेक्षा गरिएको छ।

मुख्य योजनाकार

खालिद शेख मोहम्मद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २००३ मा पक्राउ परेपछि खालिद शेख मोहम्मद

खालिद शेख मोहम्मद ती आक्रमणको मुख्य योजनाकार भएको मानिन्छ।

उनको योजनानुरूप नै अपहरणकारीहरूले यात्रुवाहक विमानहरू आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र वाशिङ्टनबाहिर पेन्टागनमा लगेर ठोकाउन बाध्य बनाएको ठानिन्छ।

चौथो विमान चाहिँ त्यसमा सवार यात्रुहरूले अपहरणकारीमाथि प्रत्याक्रमण गरेपछि पेन्सिल्भेनियास्थित एउटा मैदानमा खसेर दुर्घटना भएको थियो।

मोहम्मद अमेरिकामा पढेका इन्जिनियर हुन्। उनी सन् २००३ मा हाउसावीसँगै पाकिस्तानमा पक्राउ परेका थिए।

अभियोजनकर्ताहरूका अनुसार उनले विमान अपहरण गर्ने तर विमानहरूलाई अमेरिकी भवनहरूमा ठोकाउने योजना अल-कायदाका नेता ओसमा बिन लादेनलाई सुनाएका थिए र पछि केही अपहरणकारीहरूलाई तालिम दिन तथा उक्त कार्यमा संलग्न गराएका थिए।

भग्नावशेष

तस्बिर स्रोत, Getty Images

यातना र अनुसन्धान

उनीसँग सोधपुछ गर्न अमेरिका सरकारले गम्भीर यातनासहितका विभिन्न उपाय अवलम्बन गरेको थियो।

त्यस्ता उपायलाई "इन्ह्यान्स्ड इन्टेरगेशन टेक्निक" भनिन्छ र त्यसमा "वाटरबोर्डिङ" पनि पर्छ।

अमेरिकी सरकारले "वाटरबोर्डिङ"लाई प्रतिबन्ध लगाउनुअघि उनले कम्तीमा १८३ पटक त्यस्तो यातना पाएका थिए।

आफ्नो पत्रमा प्रमुख अभियोजनकर्ता रफले उक्त निर्णयमा "हल्का ढङ्गले नपुगिएको" र यो नै "न्यायसम्म पुग्नका लागि… उपयुक्त बाटो" भएको उल्लेख गरेका छन्।

गत सेप्टेम्बरमा बाइडन प्रशासनले क्युबास्थित अमेरिकी जलसेनाको शिविरमा राखिएका पाँच जनासँग त्यस्तै खालको सम्झौताका सर्तहरूलाई अस्वीकार गरेको थियो। त्यसमा मोहम्मद पनि थिए।

ती आरोपितहरूले राष्ट्रपतिसँग उनीहरूलाई एक्लै राखिने कारागारमा नराख्न र आफूहरूलाई मानसिक आघात परेकाले उपचार गरिदिन आग्रह गरेको बताइने गरेको थियो।

पीडित परिवार के भन्छन्

ह्वाइटहाउसको न्याश्नल सिक्युरिटी काउन्सिलले बुधवार नयाँ समझदारीबारे वार्तामा राष्ट्रपति कार्यालयको कुनै संलग्नता नभएको जनाएको छ।

उक्त आक्रमणमा आफ्नी पत्नी गुमाएका जिम स्मिथले 'न्यूयोर्क पोस्ट'सँग पीडित परिवारले "ती पशुहरूले आफ्ना प्रियजनलाई के गरेका थिए भन्ने थाहा पाउन" २३ वर्षदेखि कुरिरहेको बताए।

तर आफूहरूलाई त्यस्तो अवसरबाट वञ्चित गरिएको उनको भनाइ छ। उनले ती व्यक्तिहरूले "सबैभन्दा ठूलो कारबाही" पाउनुपर्ने बताए।

उक्त सम्झौताको खबर आउनेबित्तिकै रिपब्लिकनहरूले बाइडन प्रशासनको आलोचना सुरु गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।