सेप्टेम्बर ११ आक्रमण: २० वर्षपछि पनि यस्ता शङ्का उपशङ्का फैलिरहेका छन्

सेप्टेम्बर ११ आक्रमणपछि नाइन इलेभन ट्रूथ मुभमन्टले प्रत्येक वर्ष र्‍याली निकाल्छ

तस्बिर स्रोत, Getty Images

    • Author, शायन सर्दारीजादेह
    • Role, बीबीसी मोनिटरिङ

सेप्टेम्बर ११ को आक्रमण भएको दुई दशक बितिसक्दा पनि अनलाइन माध्यममा उक्त घटनाबारे शङ्का-उपशङ्का गरिएका विभिन्न धारणाहरू व्यक्त हुन छोडेका छैनन्।

सेप्टेम्बर ११ मा आक्रमण भएको केही घण्टाभित्रै सन् २००१ मा इन्टरनेटमा उक्त घटना षड्यन्त्रमूलक योजनाको परिणाम भएको दाबी गर्दै विभिन्न शङ्का उपशङ्काहरू व्यक्त गरिए। सामाजिक सञ्जालको विस्तारसँगै त्यस्ता दाबीको दायरा र परिमाण त्यसयता बढ्दै गएको छ।

अमेरिकाको ९/११ आयोग, सरकारी निकायहरू र विज्ञ समूहहरू कुनै गुप्त षड्यन्त्र भएको अस्वीकार गर्छन्।

तर ९/११ ट्रूथ मुभमन्ट सञ्चालन गर्ने अमेरिकाभित्र र बाहिरका अभियानकर्ताहरू तथ्य लुकाइएको दाबी गर्छन्।

यो अभियानका कैयौँ अग्रणी सदस्यले कोभिड-१९ र खोपको सम्बन्धमा षड्यन्त्र भएको छ भन्ने मान्यताहरू पनि पत्याएको देखिन्छ।

अनि कतिपय वरिष्ठ नेता, चर्चित व्यक्तित्व र सञ्चारकर्मीहरूले पनि सरकारी विवरणमाथि आशङ्का गरेका छन्।

'विश्व सरकार'

षड्यन्त्र भएको मान्यतालाई प्रश्रय दिने 'क्यूएनन' जस्ता अनलाइन अभियानहरूले अमेरिकी 'डीप स्टेट' अर्थात् सरकारी नीतिहरूलाई नियन्त्रणमा राख्न सक्ने व्यक्तिहरूको समूह आक्रमणका लागि जिम्मेवार रहेको बताउँछन्।

त्यस्ता अभियानकर्ताहरूले यो विचारलाई व्यापक बनाएका छन्।

लूज चेन्ज नामक चलचित्रहरूको शृङ्खलाका अनलाइन क्लिपहरूले कैयौँ गलत विवरण फैलाएका छन्।

कतिपयले अमेरिकी सरकारले आफैँ आक्रमण गराएको वा आक्रमण हुने जानकारी पहिल्यै पाएको र त्यसो हुन दिएको तर्क गर्छन्।

यी मिथ्या समूहहरू यस्ता हमलाहरूलाई देखाउँदै नागरिक स्वतन्त्रतामा अङ्कुश लगाउनुपर्ने र तानाशाही विश्व सरकार गठन गरिनुपर्ने योजना बनाइरहेका विश्वका अभिजात्य वर्गका पछिल्ला अनलाइन अभियानहरूसँग निकट छन्।

सेप्टेम्बर ११ आक्रमण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कतिपय अनलाइन माध्यममा अमेरिकी सरकार नै आक्रमणमा जिम्मेवार रहेको दाबी गर्ने गरिएका छन्

अनलाइनमा व्यापक रूपमा शेअर गरिएको एउटा दाबीमा भनिएको छ, "जेटको इन्धनले स्टीलका बीमहरूलाई पगाल्न सक्दैन।"

त्यसको अर्थ वर्ल्ड टेड्र सेन्टरका ट्विन टावरलाई विस्फोटक पदार्थहरूले ढालिएको थियो भनेर लगाउने गरिएको छ।

तर आधिकारिक प्रतिवेदनले ठक्कर दिएका विमानहरूले दुवै गगनचुम्बी भवनहरूलाई आड दिएका बीमहरूमा उल्लेख्य क्षति पुर्‍याएका थिए र आगो निभाउने क्षमतालाई बिगारिदिएका थिए।

सेप्टेम्बर ११ आक्रमण

त्यसबाहेक कतिपय क्षेत्रमा आगोले तापक्रम १,००० डिग्री सेल्सीअसम्म पुगेको थियो।

उच्च तापक्रमका कारण स्टीलका बीमहरू सग्लो रहन सकेनन् र अन्ततः भवनहरू भत्किए।

अनियन्त्रित आगलागी

ट्विन टावरनजिकै रहेको ४७ तल्ले सेभन वर्ल्ड ट्रेड सेन्टरबारे पनि अनेक शङ्कामूलक धारणाहरू छन्।

गत वर्ष सेप्टेम्बर ११ आक्रमणको वार्षिकीमा प्रमुख सामाजिक सञ्जालहरूमा ती चर्चाको मुख्य विषय नै बनेका थिए।

उक्त भवनमा अमेरिकाको गुप्तचर निकाय सीआईए, अमेरिकी रक्षा मन्त्रालय र आपत्कालीन व्यवस्थापनसम्बन्धी कार्यालयहरू छन्।

सीधै विमानले ठक्कर नदिएको वा निसाना नै नबनाएको भए पनि यो भवन ट्विन टावर ढलेको केही घण्टामै भत्किएको थियो।

सेप्टेम्बर ११ आक्रमण

तस्बिर स्रोत, YOUTUBE/NIST

तस्बिरको क्याप्शन, नियन्त्रित रूपमा भवन ढालिएको दाबी गर्दै यस्ता दृश्यहरू शेअर हुने गरेका छन्

तर सन् २००८ मा तीन वर्ष लगाएर न्याश्नल इन्स्टिट्यूट अफ स्ट्यान्डर्ड्स एन्ड टेक्नोलजीले गरेको एउटा अनुसन्धानले उक्त भवन सात घण्टा लामो तीव्र र अनियन्त्रित आगलागीका कारण ढलेको निष्कर्ष निकालेको छ।

उक्त प्रतिवेदनका अनुसार नोर्थ टावरको भग्नावशेष खसेर आगलागी सुरु भएको थियो।

सेभन वर्ल्ड ट्रेड सेन्टर आगलागीका कारण ढल्ने पहिलो त्यस्तो भवन थियो।

तर सन् २०१७ मा इरानी राजधानी तेहरानको प्लास्को टावर पनि आगलागीका कारण ढलेको थियो।

भाइरल खबर

उक्त आक्रमणबारे शङ्का व्यक्त गर्नेहरू प्रमुख सञ्चारमाध्यमहरूले पनि त्यसमा साथ दिएको तर्क गर्छन्।

बीबीसी न्यूज संवाददाता जेन स्टेन्लीले सेभन वर्ल्ड ट्रेड सेन्टर उनको पछाडि सीधा उभिएकै अवस्थामा ढलेको जानकारी प्रत्यक्ष समाचार सम्प्रेषणका क्रममा दिएकी थिइन्।

बीबीसी रिपोर्ट
तस्बिरको क्याप्शन, बीबीसीले त्रुटिपूर्ण समाचार प्रसारण गर्दा सेभन वर्ल्ड ट्रेड सेन्टर ढलिसकेको थिएन

रोएटर्स समाचारसंस्थाले त्रुटिपूर्वक उक्त भवन ढलेको खबर प्रकाशित गरेको थियो।

बीबीसीको उक्त लाइभ रिपोर्टको केही अघि सीएनएनले समेत सो समाचार प्रसारण गरेको थियो।

पछि रोएटर्सले आफ्नो त्रुटि सच्यायो।

तर उक्त खबरका क्लिपहरू सेप्टेम्बर ११ को वार्षिकीको समयमा भाइरल हुने गरेका छन्।

व्यावसायिक जेट

शङ्कापूर्ण अवधारणा भएका मानिसहरू सरकारको योजनाअनुसार पेन्टगनमा अमेरिकी क्षेप्यास्त्र प्रहार गरिएको दाबी गर्छन्।

उनीहरूका भनाइमा उक्त भवनमा परेको भ्वाङ यात्रुवाहक विमानले पार्नेभन्दा निकै सानो थियो।

तर अमेरिकन सोसाइटी अफ सिभिल इन्जिनियर्सका एक सदस्यले पपुलर मेकानिक्स खबरपत्रिकालाई उक्त भ्वाङको आकार बोइङ ७५७ को एउटा पङ्खा भुइँमा बज्रिएको र दोस्रोले भवनमा कम जोडले ठक्कर दिएकाले त्यस्तो भएको बताएका थिए।

सेप्टेम्बर ११ आक्रमण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सेप्टेम्बर ११ आक्रमणलाई लिएर आशङ्का गर्नेहरूले विमानले नभई मिसाइलले पेन्टगनमाथि आक्रमण गरिएको धारणा राख्छन्

अपहरणकारीबाट यात्रुहरूले विमानलाई नियन्त्रणमा लिन खोजेपछि यूनाइटेड एअरलाइन्सको उडान नं ९३ पेन्सिल्भिनियामा दुर्घटनाग्रस्त भएको थियो।

तर त्यसमा षड्यन्त्र देख्नेहरूले नजिकैको विमानस्थलतर्फ उडिरहेको एउटा अर्को जेट विमानले त्यसलाई तल खसालिदिएको दाबी गर्छन्।

तर अध्यागमन अधिकारीहरूले उक्त जेटलाई सो क्षेत्रको निरीक्षण गर्न भनेका थिए र त्यसले भुइँमा ठूलो भ्वाङ र त्यहाँबाट आगजनी भइरहेको प्रमाण उपलब्ध गराएको थियो।

सेप्टेम्बर ११ आक्रमण

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यूनाइटेड एअरलाइन्सको विमानलाई अर्को विमानले खसालेको कतिपयको दाबी छ

अमेरिकी उपराष्ट्रपति डिक चेनीले आफ्नो आत्मवृत्तान्तमा ट्विन टावरमा आक्रमण भइसकेपछि अपहरणकारीहरूले नियन्त्रणमा लिएको ठानिएको कुनै पनि व्यावसायिक उडानलाई खसालिदिन आफूले निर्देशन दिएको लेखेका छन्।

तर आक्रमणपछिको अनिश्चय र भद्रगोलका माझ उक्त आदेश लडाकु विमानका चालकसम्म नपुगेको सेप्टेम्बर ११ आयोगको प्रतिवेदनमा उल्लेख छ।

'यहुदी अभिजात्य वर्ग'

अर्को मिथ्या दाबीमा उक्त आक्रमणमा कुने पनि यहुदीले ज्यान नगुमाएको चर्चा गर्ने गरिन्छ।

त्यस क्रममा वर्ल्ड ट्रेड सेन्टरमा काम गर्ने ४,००० यहुदी कर्मचारीहरूलाई काममा नजान पहिल्यै सूचित गरिएको दाबी गरिएको थियो।

यसप्रति विश्वास राख्नेहरूले अमेरिकामार्फत् आफ्ना क्षेत्रीय शत्रुलाई आक्रमण गर्न इजरेल सरकारले हमला गराएको र उक्त हमलापछि विश्वका घटनाक्रममा शक्तिशाली यहुदी अभिजात्य वर्गको प्रमुख जिम्मेवारी रहने ठानेको निष्कर्ष निकाल्ने गर्छन्।

तर हमलामा ज्यान गुमाउने वर्ल्ड ट्रेड सेन्टरमा काम गर्ने २,०७१ जनामध्ये ११९ जना यहुदी रहेको पुष्टि भएको थियो भने थप ७२ जना यहुदी भएको विश्वास गरिएको थियो।

त्यो पीडितको ९.२ प्रतिशत थियो जुन त्यस समयमा न्यूयोर्कमा हिँडडुल गर्ने ९.७ प्रतिशत यहुदी जनसङ्ख्याको हाराहारीमा पर्ने बीबीसीको एउटा अनुसन्धानले देखाएको छ।

कतिपयले त्यो दिन झन्डै ४०० जनासम्म यहुदीहरू मारिएको आकलन गर्छन्।

कैयौँले अरू देशजस्तै इराक र इरानतर्फ पनि औँला तेर्स्याउँछन् तर उनीहरूको प्रत्यक्ष संलग्नताबारे कुनै ठोस प्रमाण फेला परेको छैन।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सेप्टेम्बर ११: अमेरिका र संसार बदलेको त्यो १०२ मिनेट