सुवास नेम्वाङको पुरानो क्षेत्रमा नयाँ र पुराना शक्तिको 'प्रतिष्ठा दाउमा'

निर्वाचन आयोग

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, सीता निरौला
    • Role, इलाम

इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मौन अवधि बुधवार मध्यरातबाट सुरु हुने छ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि रिक्त भएको पदका लागि वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो।

चुनावको मिति नजिकिँदै गर्दा ठूला दल र स्वतन्त्र उम्मेदवारले दौडधुपलाई थप तीव्र पारेका छन्।

पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि शीर्ष नेताको उपनिर्वाचन केन्द्रित बढ्दो दौडधुपले मतदाताहरू उत्साहित भएका छन्।

तुलनात्मक रूपमा बझाङमा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेकाले इलाम क्षेत्र नं २ मा अहिले धेरैको चासो देखिएको छ।

ठूला दलले इलामको उपनिर्वाचनलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिरहेका छन्। संसदीय निर्वाचनका बेला इलाम क्षेत्र नं २ सधैँ विशेष चर्चामा हुने गर्थ्यो।

संविधानसभाका अध्यक्ष नेम्वाङले विसं २०५६ सालयता पाँचवटा निर्वाचनमा लगातार जित हासिल गरेको इलाम-२ को प्रतिस्पर्धालाई यो पटक पनि निकै चासोपूर्वक हेरिएको छ।

इलाम-२ मा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार उठेका छन्।

ओली र सुहाङ नेम्वाङ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, एमालेले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ भने माओवादीले उनलाई समर्थन गरेको छ

इलाम-२ मा कडा प्रतिस्पर्धा

राजनीतिशास्त्री प्रा कृष्ण पोखरेलका अनुसार यो क्षेत्रमा यसअघिका निर्वाचनमा दुई दलबीच प्रतिस्पर्धा हुँदै आएकोमा यसपालि अवस्था फरक छ। इलामको चुनावी गतिविधिलाई नजिकवाट नियाल्दा "यो पटक एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचान पक्षधर उम्मेदवार" बीच कडा प्रतिस्पर्धा हुने उनको आकलन छ।

"यो उपनिर्वाचनमा केही राजनीतिक दल वा शक्तिहरूको प्रतिष्ठा दाउमा छ। एमालेका लागि २०५६ साल देखि रहेको ठाउँमा आफ्नो विरासत जोगाउन प्रतिष्ठा दाउमा छ," प्रा पोखरेल भन्छन्।

सुवासचन्द्र नेम्वाङले जित्दै आएको क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। यसअघिको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले यो पटक एमालेलाई साथ दिएको छ।

डम्बर खड्का

तस्बिर स्रोत, Dambar Khadka/Facebook

तस्बिरको क्याप्शन, नेपाली कांग्रेसले इलाम-२ मा गत संसदीय निर्वाचनमा सुवास नेम्वाङसँग पराजित भएका डम्बर खड्कालाई फेरि उम्मेदवार बनाएको छ

सत्तारूढ एमाले इलाम-२ मा आफ्नो विरासत जोगाउँदै वामपन्थी जनमतको प्रभाव देखाउन चाहन्छ भने प्रमुख प्रतिपक्षी कांग्रेस यसअघिको पराजयको बदला लिने ध्येयमा छ। अघिल्लो निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका डम्बर खड्कालाई कांग्रेसले फेरि अर्को अवसर दिएको छ।

"नेपाली कांग्रेसले यसअघि निर्वाचनपूर्व गठबन्धन गर्नु हुँदैन भन्ने कुराको जोडदार वकालत गरेर महासमितिबाट पास पनि गराइसकेका कारण एक्लै चुनाव लडेर पनि जित्न सकिन्छ भनेर भाष्य निर्माण गर्नलाई प्रतिष्ठा दाउमा छ," पोखरेल भन्छन्।

इलाममा आयोजित एउटा सभामा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको र गठबन्धनबिना पनि कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ भन्ने सन्देश दिन पनि जित्नैपर्ने भएको बताएका थिए।

एमाले र कांग्रेसका बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह लिम्बुको पनि चर्चा चुलिएको छ।

रास्वपामा सरकारमा भए पनि उसले उपनिर्वाचनमा सत्ता साझेदार एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्रा पोखरेलका अनुसार रास्वपाको लागि 'मिशन २०८४' मा बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाँउँछौँ भन्ने आफ्नो दाबीलाई पुष्टि गराउन इलाम-२ को उपनिर्वाचन जितेर पूर्वी नेपालमा पनि आफ्नो उदय भएको अर्थात् आफ्नो लोकप्रियता छ भन्ने कुराको पुष्टि गराउन प्रतिष्ठा दाउमा छ।

मतदातासँग रवि लामिछाने र मिलन लिम्बु

तस्बिर स्रोत, Milan Limbu/Facebook

तस्बिरको क्याप्शन, रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपाले इलामको उपनिर्वाचनलाई अर्को अवसरको रूपमा लिएको छ

यसअघिको उपनिर्वाचनमा चितवन र तनहुँमा सहज जित हासिल गरेको रास्वपा इलाम-२ मार्फत् पूर्वी नेपालमा आफ्नो सङ्गठनलाई थप सुदृढ बनाउने योजनामा छ।

"त्यसै गरी पहिचान पक्षधरको भने सहरबजारका टाठाबाठा मात्र हैन, साँच्चै जनस्तरमै पहिचानलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा उठेको छ र कोशी प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्छ भन्ने आन्दोलन साँच्चिकै जनआधारित छ भन्ने प्रमाणित गराउने प्रतिष्ठा दाउमा छ।"

उनका अनुसार पहिलाका चुनावमा "आमनेसामनेको टक्कर" भए पनि यो पटक नयाँ र पुराना शक्तिबीच कडा र "चतुष्कोणीय" प्रतिस्पर्धा हुने छ।

डकेन्द्र सिंह लिम्बु

तस्बिर स्रोत, Dakendra Singh Limbu Thegim/Facebook

तस्बिरको क्याप्शन, प्रदेशको नाम कोशी राखिएकोमा आन्दोलन थालेका पहिचान पक्षधर अभियानकर्मीहरूले डकेन्द्र सिंह लिम्बुलाई स्वतन्त्र उम्मेदवार बनाएका छन्

कोशी नामकरणको विरोधमा उठेको तरङ्ग

कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन चलिरहेकै बेला उपनिर्वाचन हुन लागेकाले पहिचान पक्षधरहरूले यसलाई आफ्नो मुद्दा स्थापित गर्ने अवसरका रूपमा लिएको देखिन्छ।

मूलधारका शक्तिहरूसँगै पहिचान पक्षधर अभियानकर्मी र पार्टीहरूले डकेन्द्र सिंह लिम्बुलाई साझा उम्मेदवार बनाएर उभ्याएका छन्।

पहिचान पक्षधर डकेन्द्र सिंह लिम्बुको पक्षमा धरानका मेयर हर्क साम्पाङदेखि पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले पनि सघाउने घोषणा गरेका छन्।

इलाम-२ मा राप्रपाबाट लक्ष्मी गुरुङ पनि चुनावी मैदानमा छिन्।

राप्रपाले पनि यो उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएको छ। राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा जनमत बढ्दै गएको आकलन गरेको राप्रपाले इलाम-२ को निर्वाचनलाई आफ्नो हकमा जनमत परीक्षणको रूपमा हेरेको छ।

मतदाता र मतदानस्थल कति छन्

उपनिर्वाचनको तयारी

इलाम-२ मा हुने उपनिर्वाचनमा एक लाख १५ हजार ८८९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार सो क्षेत्रमा दुई तेस्रोलिङ्गी, ५९,०१८ पुरुष र ५६,८६९ महिला छन्।

यो सङ्ख्या गत निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा ५४७ जनाले बढी हो।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम-२ मा ७९ मतदानस्थल र १४९ वटा मतदान केन्द्र तोकेको छ। इलाम-२ का ६ वटा स्थानीय तहमा ४२ वडा छन्।

निर्वाचन आयोग के गर्दै छ

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली, मतपत्र, मतपेटिका, छाप, मसी लगायत सियोदेखि स्वस्तिक छापसम्मका सबै सामग्रीसहित निर्वाचन कर्मचारीलाई मतदानकेन्द्रमा खटाइसकेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए ।

इलामका जिल्ला निर्वाचन अधिकारी देवीचरण फुएँलका अनुसार निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर इलाम-२ का १४९ वटै मतदानकेन्द्रमा कर्मचारी परिचालन गरिसकिएको छ ।

मङ्गलवार निर्वाचन सामम्रीसहित माई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका ७२ वटा मतदानकेन्द्रमा कर्मचारी खटाइएको थियो भने बुधवार इलाम नगरपालिका ४३ र देउमाई नगरपालिकका ३४ गरी ७७ वटा मतदानकेन्द्रमा निर्वाचन प्रयोजनको लागि कर्मचारी परिचालन गरिएको हो।

इलाममा मतदान सामग्री पठाउन लागिँदै

आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारसँग स्पष्टीकरण

बुधरात मध्यरातपछि उपनिर्वाचनको 'मौन अवधि' सुरु हुने छ। मौन अवधिमा प्रचारप्रसार वा मत माग्न पाइँदैन।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन निरन्तर अनुगमन गरिरहेको निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक तथा इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

उनका अनुसार समितिमार्फत् विभिन्न राजनीतिक दलबाट आचारसंहिता उल्लङ्घन भएको भन्दै परेका उजुरीउपर स्पष्टीकरण सोध्ने र सच्याउने काम पनि भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई उपनिर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधिएको उनले बताए।

उनका अनुसार जिल्लामा मिलाउन नसकिएका केही उजुरीलाई भने सिफारिससहित निर्वाचन आयोगमा पठाइएको छ।

उपनिर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्रराज आचार्यका अनुसार रास्वपा उम्मेदवार मिलनविरुद्ध निर्वाचन प्रचारप्रसारका क्रममा मापदण्डविपरीत ठूलाठूला ब्यानर, फोटो र स्ट्यान्ड बनाएर टाँसेको भन्दै उजुरी परेको थियो।

डकेन्द्र सिंह लिम्बुलाई निर्वाचन प्रचारप्रसारका क्रममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नयाँवर्ष २०८१ को शुभकामना एवं निर्वाचनमा आफूलाई मत मागेको भिडिओलाई "तोडमोड गरी, साउन्ड डबिङ गरी" आफ्नो नाममा मत मागेको भन्ने उजुरी परेको थियो। समितिले ती उजुरीउपर स्पष्टीकरण सोधी आफ्नो सिफारिससहित निर्वाचन आयोगलाई जानकारी गराएको अनुगमन अधिकृत आचार्यले बताए ।

सुरक्षा व्यवस्था कसरी मिलाइँदै छ

आयोगका अनुसार इलाम-२ का सबै मतदानस्थललाई "अतिसंवेदनशील" मानिएको छ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुन लागेको देशभरिको एउटै मात्र निर्वाचन क्षेत्र भएकोले सम्भावित जमघट, भिडभाड र सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखी सबै मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समेटिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

इलामसँग सिमाना जोडिएको भारतको पश्चिम बङ्गालमा पनि विभिन्न सात चरणमा लोकसभा निर्वाचन भइरहेको छ।

गत वैशाख ७ गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको पश्चिम बङ्गालमा वैशाख १४ मा दोस्रो चरणको लोकसभा निर्वाचन हुँदै छ।

सीमावर्ती क्षेत्रमा भइरहेको निर्वाचनलाई लक्षित गरी उपनिर्वाचनको सुरक्षा प्रबन्धलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको प्रजिअ यादव बताउँछन्।

निर्वाचनमा सधैँझैँ पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ।

बझाङमा चुनावी चहलपहल कस्तो छ

बझाङ-१ प्रदेशसभा-१ को उपनिर्वाचनमा ११ जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि हुन गइरहेको उपनिर्वाचनमा कांग्रेसले उनकै छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको बझाङको उपनिर्वाचनमा एमालेबाट दमनबहादुर भण्डारी उठेका छन्।

माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र राप्रपाबाट किशोर खड्का उम्मेदवार बनेका छन्।

आयोगका अनुसार बझाङ-१ प्रदेशसभा-१ मा ६१,७४८ मतदाता छन्।

सो निर्वाचन क्षेत्रमा मतदानका लागि ७४ मतदानस्थल र ९३ वटा मतदानकेन्द्र स्वीकृत भएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता पाण्डेका अनुसार बझाङमा पनि अहिले उपनिर्वाचनलाई व्यवस्थित रूपले सम्पन्न गर्न निर्वाचन तयारीका अन्तिम चरणका काम भइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।