स्वर्णिम वाग्ले: कांग्रेस छाडेर कांग्रेसकै 'गढ'बाट सांसद निर्वाचित अर्थशास्त्री

स्वर्णिम वाग्ले

तस्बिर स्रोत, rss

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

उपनिर्वाचनको केही साताअघि मात्र नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उम्मेदवार बनेका अर्थशास्त्री स्वर्णिम वाग्ले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार मतले पछि पार्दै वाग्लेले संसद् भवनको यात्रा तय गरेका हुन्।

वाग्लेले ३४,९१९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसमा जोडिएको बताउने वाग्ले उमेरले ५० टेक्नै लाग्दा स्थापनाको एक वर्ष पनि नपुगेको नयाँ दलबाट सांसदका रूपमा प्रतिनिधिसभामा प्रवेश गर्न लागेका हुन्।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका वाग्ले विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूमा अर्थशास्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन्।

स्वर्णिम आफूलाई ‘अन्तर्राष्ट्रिय विकास अर्थशास्त्री’का रूपमा चिनाउने गर्छन्।

अध्ययन र अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने क्रममा लामो समय विदेशमा बिताएका उनी केही वर्षअघि मात्र नेपाल फर्किएका थिए।

त्यसयता नेपाली कांग्रेस सत्तामा रहेका बेला उनले पटकपटक सरकारी नियुक्तिमा अवसर पाए।

सोही कुरालाई लिएर कतिपय कांग्रेस नेतासहित अन्यले उनले नेपाल फर्केको र पार्टीमा सक्रिय भएको “छोटो समयमै महत्त्वपूर्ण भूमिका” पाएको बताउने गर्छन्।

तर उपनिर्वाचनको केही साताअघि कांग्रेस पार्टीभित्रको प्रवृत्तिप्रति औँला उठाउँदै उक्त दल त्यागेपछि उनकै शुभचिन्तक भनिएका नेताहरूले पनि वाग्लेको कटु आलोचना गरिरहेका छन्।

 तनहुँ-१ मङ्सिरमा भएको निर्वाचनको मतपरिणाम

आलोचकहरूका दृष्टिकोणमा स्वर्णिम ‘अवसरवादी’, ‘अहिलेको भरे नै अवसर चाहने’ तथा ‘अति महत्त्वाकांक्षी’ व्यक्तिका रूपमा दरिएका छन्।

तर उनी ती सबै आरोपलाई खण्डन गर्छन् र भन्छन्, “हाम्रो पुस्ता र समग्र नेपाली जनसङ्ख्या नै बूढो पुस्तामा रूपान्तरण भइरहेकाले हामीलाई चाँडोभन्दा चाँडो विकास र समृद्धि चाहिएको छ।”

“र, मलाई त्यही हुटहुटीले पोलेर केही गर्नका निम्ति परम्परागत पार्टी नै त्याग्नुपरेको हो।”

स्वर्णिम वाग्ले

तस्बिर स्रोत, Swarnim Wagle/Facebook

उनी बढीमा तीन कार्यकाल अर्थात् तीनवटा चुनावमा मात्र भाग लिएर देशको मुहार फेर्ने राजनीति गर्नुपर्ने दाबी गर्छन्।

“त्यस्तै रूपान्तरणका लागि हामीले राजनीति गर्ने हो म त्यो मान्यता राख्छु,” वाग्ले भन्छन्।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Swarnim Wagle

पृष्ठभूमि

वाग्लेको आधिकारिक वेबसाइट स्वर्णिम वाग्ले डटकम डट एनपीमा उनी विसं २०३१ सालमा गोरखामा जन्मिएको उल्लेख गरिएको छ।

वेबसाइटको ‘आफ्नो बारे’ खण्डमा भनिएको छ, “विगत २५ वर्षदेखि नेपालभित्र र बाहिर सक्रिय वाग्ले विसं २०७७ देखि २०७९ सम्म राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एशिया-प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार थिए।”

त्यसअघि तीन वर्ष उनले नेपालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष एवं सदस्यका रूपमा काम गरेका थिए।

योजना आयोगमा रहँदा उनले गरेको कामबारे उक्त वेबसाइटमा लेखिएको छ, “… वाग्लेले विसं २०७२ को महाभूकम्पपछि पुनर्निर्माणका लागि क्षति आकलन गर्ने र उल्लेखनीय अन्तर्राष्ट्रिय सहयोग जुटाउने कार्यमा विशेष भूमिका खेलेका थिए।”

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर

उनकै वेबसाइटबाट उनी नेपाल फर्कनुअघि विश्व ब्याङ्क र यूएनडीपीमा वरिष्ठ अर्थशास्त्री रहेका थिए भन्ने जानकारी प्राप्त हुन्छ।

अहिले चाहिँ वाग्ले काठमाण्डू विश्वविद्यालयको सेनेट सदस्य एवं सर्वाङ्गीण विकास अध्ययन केन्द्र- आईआईडीएसका अध्यक्ष रहेका छन्।

स्वर्णिम वाग्लेको वेबसाइटमा जनाइएअनुसार नेपालको लोकतान्त्रिक आन्दोलनमा उनको परिवार विसं २०२७ देखि नै संलग्न रहेको थियो।

उनले आफू विसं २०४२ सालको सत्याग्रहदेखि राजनीतिक रूपमा दीक्षित भएको दाबी गरेका छन्। यद्यपि कतिपयले वाग्लेले स्कूले जीवनमै राजनीतिमा दीक्षित भएको भनी गरेको दाबीप्रति प्रश्न उठाउने गरेका छन्।

नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य समेत रहेका वाग्लेको दाबीमा उनी विसं २०४६ को जनआन्दोलनमा पनि सहभागी भएका थिए।

एकजना भ्लगर सिसन बानियाँसँग अक्टोबर २०२२ मा दिएको एउटा अन्तर्वार्तामा उनैले दिएको जानकारी अनुसार वाग्लेले सोही वर्ष आफूले एसएलसी पास गरेको उल्लेख गरेका छन्।

त्यस वर्षको एसएलसीमा उनी नेपालभरिकै विद्यार्थीमध्ये दोस्रो स्थानमा आएका थिए।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Swarnim Wagle's website

पूर्व युवराज पारसका सहपाठी

गोरखामा जन्मिएका वाग्लेले कक्षा ४ देखि बूढानीलकण्ठ स्कूलमा अध्ययन गरेका हुन्।

बूढानीलकण्ठमा अध्ययन गर्दा आफ्ना सहपाठी पूर्व युवराज पारससमेत रहेको बानियाँसँगको वार्तामा वाग्लेले बताएका छन्।

उनले भनेका छन्, “बूढानीलकण्ठमा स्कूल नम्बर हुन्छ। साथीहरूको पहिलो नाम र नम्बरले चिनिन्छ थर त पछि मात्र आउने हो। त्यहाँ मेरो नम्बर २२८ थियो भने नविन (गायक नविन के भट्टराई) को २४४ थियो भने पारस शाहको २९२ थियो।”

“गौरिकाको बुवा (पौडी खेलाडी गौरिका सिंह) पारस सिंह पनि हामीसँगै थिए उनको नम्बर चाहिँ २७६ थियो।”

वाग्लेका भनाइमा उनलाई सानैदेखि अर्थशास्त्र अध्ययन गर्ने इच्छा थियो त्यसैले उनले एसएलसीपछि बूढानीलकण्ठमा सिनियर क्याम्ब्रिज पढ्दा पनि अर्थशास्त्र विषय लिने इच्छा गरे।

आफू र आफ्नो एकजना साथी मात्र त्यसबेला अर्थशास्त्रका विद्यार्थी भएको र धेरैले अर्थशास्त्र नपढ्न सुझाएको उक्त अन्तर्वार्तामा उनले स्मरण गरेका छन्।

त्यसपछि उनी छात्रवृत्तिमा स्नातक पढ्नका लागि ब्रिटेनस्थित लण्डन स्कूल अफ इकनमिक्स पुगे।

ब्रिटेनबाट स्नातक गरेका वाग्लेले अमेरिकाको हार्वड विश्वविद्यालयबाट इन्टरन्याशनल डीभलपमेन्ट अर्थात् अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन न्याशनल विश्वविद्यालयबाट अर्थशास्त्रमै विद्यावारिधि गरेका हुन्।

उनको वेबसाइटमा जनाइए अनुसार विसं २०७९ र २०७४ को आम निर्वाचनका लागि वाग्लेले कांग्रेसको घोषणापत्र मस्यौदा गर्दा समेत नेतृत्वदायी भूमिका निभाएका थिए।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Swarnim Wagle/Facebook

आलोचना

पहिले कांग्रेस वृत्तबाट निकै प्रशंसा पाउने वाग्लेले कांग्रेस छाडेलगत्तै उक्त दलका नेताहरूबाट कटु आलोचनाको सामना गर्नुपर्‍यो।

त्यस्तो आलोचना गर्नेमा कांग्रेसमा रहँदा उनीसँग घनिष्ठ सम्बन्ध भएका भनिएकाहरू समेत देखिए।

वाग्ले चुनव लडिरहेको निर्वाचन क्षेत्रमै पुगेर पहिले उनीसँग घनिष्ट सम्बन्ध भएका कांग्रेस महामन्त्री गगन थापाले वाग्लेलाई सङ्केत गर्दै “विदेश गएको” व्यक्तिका रूपमा चित्रित गरेका थिए।

यद्यपि उनले स्वर्णिमको नाम भने लिएका थिएनन्।

थापाले भनेका थिए, “मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ- मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको।”

“मलाई त भन्न मन लाग्छ- तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो, म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो। (विदेश) जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन।”

साङ्केतिक तस्बिर
यो पनि हेर्नुहोस्
साङ्केतिक तस्बिर

कांग्रेसकै अर्का नेता मिनेन्द्र रिजालले पनि तनहुँ पुगेर वाग्लेलाई सङ्केत गर्दै “अहिले नै चाहियो भरे नै चाहियो” भन्ने प्रवृत्ति नेपाली राजनीतिमा देखिएको बताएका थिए।

उनले वाग्लेका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्दै भनेका थिए, “मेरा लागि मै मात्र चाहिन्छ भन्ने पाटोबाट देश बनेको छैन। मैले आजै प्राप्त गर्नुपर्छ भन्ने बाटोबाट कोही पनि कहीँ पनि पुगेको छैन।”

उनले आफूले अघिल्लो पटकको चुनावमा माओवादी र एमालेको गठबन्धन हुँदा पनि चुनाव जितेको तर यसपालि टिकट नपाउँदा पनि पार्टीको काम नछाडेको भन्दै वाग्लेप्रति कटाक्ष गरेका थिए।

रिजालले अहिले मानिसहरूमा देश निर्माण गर्ने भन्दा पनि “मैले के पाउने हो” भन्ने कुरा बढी महत्त्वपूर्ण भएको बताएका थिए।

उनीमाथि लागेका त्यस्ता आरोपबारे बीबीसीले सोधेको प्रश्नमा वाग्लेले भने, “त्यसरी पहिले गरिने गरिएको राजनीतिलाई भत्काउनै खोजेको हो। राजनीति भनेको पूर्णकालीन पेशा बन्नु हुँदेन- नमरेसम्म गरिराख्ने र त्यसलाई पैसा कमाउने भाडो बनाउनु हुँदेन।”

“हामीले दुई वा अधिकतम तीन कार्यकालभन्दा बढी राजनीति नगर्ने भनेको हो। आफ्नो उर्वर क्षमता र उमेर भएका बेलामा जनतामा गएर अनुमोदिन भएर काम देखाउने र युवा पुस्तालाई ठाउँ दिने कुराबाट म निर्देशित भएको हुँ।”