राष्ट्रिय स्वतन्त्र पार्टीः ९ महिना, ७ विवाद

तस्बिर स्रोत, RSP/Twitter
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छोटो समयमै राष्ट्रिय दल बन्न सफल भयो। यद्यपि दल गठन भएको एक वर्ष नपुग्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई अगाडि सारेको यो दल विभिन्न विवादमा पनि परेको छ।
घुस टेप प्रकरणमा मुछिएका आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई भर्खरै भर्खरै निष्काशन गर्ने निर्णय गरेको छ।
संसद् सचिवालयले रास्वपाका सांसद श्रेष्ठलाई निष्कासन गर्ने पत्र बिहीवार प्राप्त भएको र त्यसबारे अध्ययन भइरहेको जनाएको छ।
"उहाँलाई निष्कासन गर्ने निर्णयको जानकारी सहितको पत्र आएको छ। यसबारे निर्णय गर्न १५ दिनको समय रहने भएकाले अध्ययन हुँदैछ," संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बीबीसी न्यूज नेपालीसँग भने।
श्रेष्ठले पैसा मागेका भनिएका व्यवसायी दुर्गा प्रसाईँले यो पार्टीका अन्य नेताहरूको पनि "पोल खोल्ने" धम्की अझै दिइरहेका छन्।
छोटो समयमै वैकल्पिक राजनीतिक दलको स्थापित पहिचान बनाएको यो दलले विवादमा मुछिएका सांसदको प्रतिरक्षा नगरी कारबाही गर्ने निर्णय गरेको भन्दै धेरैले स्वागत गरिरहेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूसँग सम्बन्धित सातवटा विवाद यहाँ प्रस्तुत गरिएको छ।
रवि लामिछाने जोडिएको ठेक्का
रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा स्वीकृत गरिएको एउटा कार्यविधीले नेपाली नागरिकका संवेदनशील सूचनामा विदेशी कम्पनीको एजेन्ट रहेको एक निजी नेपाली कम्पनीको पहुँच हुनेगरी ठेक्का दिइएको समाचार कान्तिपुर दैनिकले बिहीवार प्रकाशित गरेको छ।
गत पुसमा एक महिना गृहमन्त्री भएका लामिछानेको कार्यकालमा राष्ट्रिय परिचयपत्रमा रहेका विवरण रुजु गर्ने अधिकार निजी कम्पनीलाई दिने निर्णय भएको समाचारमा उल्लेख छ। ठेक्काका लागि प्रचलित नियमविपरीत सात दिनको मात्रै समय दिइएको विषयमा समेत मन्त्रालयको निर्णयमा प्रश्न उठाइएको छ।
समाचारको खण्डन गर्दै लामिछानेले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन्।
फेसबुकमा लामो स्पष्टीकरण लेख्दै लामिछानेले आफू मन्त्री नियुक्त नहुँदै तयार गरिएको कार्यविधि आफूले स्वीकृत मात्रै गरेको दाबी गरेका छन्।
“कार्यविधि स्वीकृत गर्दा सम्बन्धित विभागीय प्रमुखको ब्रीफिङलाई आधार मान्नु र विश्वास गर्नुपर्ने नै हुन्छ,” उनको भनाइ छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
खरिदका बाँकी प्रक्रियामा मन्त्रीको संलग्नता नहुने दाबी गर्दै लामिछानेले थप लेखेका छन्, “खरिद प्रक्रियामा लेखा उत्तरदायी अधिकारीले प्रचलित कानुनको पालना भए नभएको सुनिश्चित गरेर अगाडि बढाउने हो।"
"यस्तो विषय गृहमन्त्री स्तरले गर्ने निर्णय नै होइन। न यसबारे गृहमन्त्री जानकार नै हुन्छन्। यसमा समेत मलाई मुछिनु उपनिर्वाचनअगाडि नियतवश बदनामीको प्रयासका रूपमा मैले लिएको छु।”
ढाकाकुमार श्रेष्ठ टेप प्रकरण

तस्बिर स्रोत, Dhakakumar Shrestha/Facebook
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको आवाज भनिएको अडिओमा आफू "स्वास्थ्य =मन्त्री बन्ने" र सहयोगको गुन तिर्न "काम गरिदिने" आश्वासन दिँदै एक मेडिकल व्यवसायीसँग पैसा मागेको घटना सार्वजनिक भएपछि श्रेष्ठलाई बुधवार पार्टीले निष्कासन गर्यो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग गरिएको उक्त वार्तालाप आफैँले रेकर्ड गरेको प्रसाईँले बताएका छन्। अडिओ सुन्दा गत माघ महिनामा पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा स्वास्थ्यमन्त्री बन्ने अभ्यासमा लागेका व्यक्तिले प्रसाईँसँग आर्थिक सहयोग खोजेको जस्तो सुनिन्छ।
रास्वपाका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा आफ्नो दलले शून्य सहनशीलताको नीति अपनाउने अठोट लिँदै उनलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिए।
रवि लामिछानेको राहदानी विवाद

तस्बिर स्रोत, RSS
रास्वपाका सभापति रवि लामिछाने आफैँ भने नेपालको राहदानी दुरुपयोगको आरोप खेपिरहेका छन्।
लामो समय अमेरिका बसेका रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी पनि लिएका थिए।
नेपाल फर्किएको केही समयपछि अमेरिकी नागरिकता र राहदानी त्याग गरे तापनि उनले केही समय दोहोरो राहदानी लिएको र प्रयोग समेत गरेको आरोप लाग्दै आएको छ।
यसबारे परेको उजुरीमा मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ।
लामिछानेले भने एकै समयमा दोहोरो राहदानी प्रयोग नगरेको दाबी गर्दै आफ्नो नेपाली राहदानी पनि सरकारलाई फिर्ता दिएका छन्।
नेपालको कानुनले दोहोरो राहदानी प्रयोगमा रोक लगाएको छ।
रवि लामिछानेविरुद्ध लागेको नागरिकता मुद्दा

तस्बिर स्रोत, RSP Media
विदेशी नागरिकता लिएपछि नेपालको कानुनअनुसार स्वतः खारेज हुने नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको मुद्दामा रवि लामिछानेले गत माघमा गृहमन्त्री र सांसद पद नै गुमाए।
अदालतबाट फैसला भएको केही दिनभित्रै प्रक्रिया पूरा गरेर उनले नेपाली नागरिकता लिएका थिए।
सर्वोच्च अदालतमा पुगेको मुद्दामा लामिछानेले खारेज भइसकेको नागरिकता देखाएर निर्वाचन आयोगमा दल दर्ता गरेको भन्ने आरोप लगाइएको थियो।
गत मङ्सिर ४ मा भएको आम निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि लामिछानेविरुद्ध सुरुमा निर्वाचन आयोगमा उजुरी पर्यो। तर उजुरीबारे अनुसन्धान नसकिँदै निर्वाचन परिणाम आइसकेपछि आयोगले नागरिकता छानबिन आफ्नो क्षेत्राधिकार नरहेको बतायो।
अदालतमा पुगेको नागरिकता मुद्दामा फैसला हुनुअघिनै लामिछाने गृहमन्त्री बनेका थिए।
तर अदालतले उनले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरिदिएपछि उनले गृहमन्त्रीबाट पनि राजीनामा दिए।
फेरि विधिवत् नेपाली नागरिकता प्राप्त गरेपछि लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट पुनः उम्मेदवार बनेका छन्।
मन्त्री छनोटको विवाद

तस्बिर स्रोत, RSP/Twitter
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पहिलो पटक सहभागी भएको यो दलको मन्त्री छनोट पनि विवादित बनेको थियो।
श्रममन्त्रीमा नियुक्त गरिएका डोलप्रसाद अर्याल आफैँ वैदेशिक रोजगारसम्बन्धी म्यानपावरको व्यवस्थापनमा रहेको विवरण सार्वजनिक भएका थिए। तर अर्यालले आफूले उक्त कम्पनी छोडिसकेको स्पष्टीकरण दिएका थिए।
“साथीहरूले एउटा कम्पनीमा 'सल्लाहकारमा राख्यौँ है' भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले। तर त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेअर न स्यालरी,” आफ्नो नियुक्तिबारे प्रश्न उठेपछि स्पष्टीकरण दिँदै अर्यालले भनेका थिए।
राज्यमन्त्रीको असावधानी

तस्बिर स्रोत, RSS
राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वास्थ्य राज्यमन्त्री बनेकी डा. तोसिमा कार्की आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यलाई भेट्न अस्पताल पुगेकी थिइन्।
तर आफैँ चिकित्सक समेत रहेकी कार्कीले उपचारमा रहेका बिरामीलाई भेट्दा सावधानीका मापदण्ड पूरा नगरेको र भिडिओ सामाजिक सञ्जालमा हालेर प्रचार गरेको भन्दै उनको आलोचना भएको थियो।
कार्कीले त्यसबारेमा आफ्नो लामो स्पष्टीकरण दिएकी थिइन्।
आफू भित्रको संवेदनशीलताका कारण सघन उपचार कक्षमा प्रवेश गरेर ढाडस दिएको भन्दै उनले फेसबुकमा लेखेकी थिइन्, “त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो, को छिरेन, को बिरामीको अभिभावक, को मिडिया थियो - हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडिओ खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौँ।”
समानुपातिक सांसद छनोट विवाद
समानुपातिकतर्फ १४ सीटसहित प्रतिनिधिसभामा २० सीट जितेको रास्वपाको समानुपातिक सांसद छनोट भने विवादरहित रहेन।
पार्टी सदस्यको प्रत्यक्ष मतदानबाट सांसदका उम्मेदवार छनोट गर्ने अभ्यास गरेको यो दलले समानुपातिक तर्फको बन्द सूचीमा रहेकामध्येबाट समावेशी सांसद छनोटमा भने यो विधि अपनाएन।
सांसद छनोटमा विधि मिचिएको भन्दै समानुपातिक बन्दसूचीमा रहेका पार्टीका उम्मेदवार गणेश कार्कीले पार्टीमा “आफ्नालाई काखी च्यापिएको” आरोप लगाएका थिए।
बुधवार रास्वपाले ढाकाकुमार श्रेष्ठको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेपछि बन्दसूचीमा जनजाति समूहमै पुरुषतर्फ दोस्रो नम्बरमा रहेका अर्का नेता मेघबहादुर आलेले असन्तुष्टि व्यक्त गरिसकेका छन्।

‘राजनीतिलाई सङ्ल्याउने योजना देख्दिनँ’

तस्बिर स्रोत, RSS
स्तम्भकार उज्ज्वल प्रसाईँ परम्परागत दलहरूको “अकर्मण्यता र नालायकीलाई” पुँजीकृत गर्दै आएको दल भए पनि रास्वपा सर्वसाधारण मानिसका अपेक्षाहरू पूरा गर्न चुकेको बताउँछन्।
“पुराना दल र नेताहरूको एकागत तरिकाका कारणले गर्दा त्यो मौकामा उनीहरू माथि आउन खोजेका थिए र त्यो परिणाम पनि हात लाग्यो,” उनी भन्छन्।
“तर कुनै अभियानबाट नआएका कारण जस्तो पनि मान्छे जोडिएर यसको नेतृत्वमा पुगिदियो।”
यो दलले राजनीतिमा युवाहरूलाई जोड्ने र मतदानमा सहभागिता लागि उत्साह भने ल्याएको प्रसाईँको बुझाइ छ। तर पटकपटक यो दलका नेताहरूबारे देखिएका विवादले नयाँ ठानिएका दलहरूमाथिको विश्वास क्षय हुँदै जाने उनी ठान्छन्।

“विवादमा ल्याइएको भन्ने उनीहरूको आरोप हुनसक्छ तर केही कारण नभई बाहिर आएको होइन। रवि लामिछानेले सामान्य कुरालाई पनि व्यवस्थापन गर्न सक्नुभएन," प्रसाईँले भने।
"जसरी चुनावमा गएर पनि सत्तामा जाने हतारो गर्नुभयो त्यसबाट हत्तपत्त सत्तामा जाने केही काम गरे जस्तो गरेर लोकरिझ्याइँ गर्ने र त्यसकै बलमा फेरि सत्तामा पुगिराख्ने मात्रै उहाँहरूको उद्देश्य देखिन्छ। राजनीतिलाई सङ्ल्याउने र हाम्रा ठूला चुनौती समाधान गर्दै अघि जाने योजना देख्दिनँ।”
ढाकाकुमार श्रेष्ठलाई कारबाही गरे पनि त्यस्ता मान्छेहरूले कसरी उदाउने अवस्था आयो भन्नेबारे पनि उक्त दलले समीक्षा गर्नुपर्ने प्रसाईँको धारणा छ।








