रवि लामिछाने फेरि निर्वाचित, सरकारलाई दिएको समर्थन 'फिर्ता लिने' सङ्केत

निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिँदै रवि लामिछाने

तस्बिर स्रोत, RSS

चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेगत मङ्सिरको निर्वाचनमा आफैँले प्राप्त गरेकोभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्।

मङ्सिरमा भएको मतदानमा उनी ४९,३०० मत ल्याएर ठूलो अन्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण उनको सांसद पद खारेज भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।

पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बनेर पुनः विजयी भएका हुन्।

उनी ५४,१७६ मत ल्याएर विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झन्डै ४३,००० बढी मत ल्याएका छन्।

चितवन-२ मा मङ्सिरमा भन्दा केही कम प्रतिशत अर्थात् कुल ७८,२७७ मत परेको थियो।

तर कांग्रेस र एमालेका उम्मेदवारहरूले मत यसअघिको भन्दा घटेको छ।

अघिल्लो निर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारहरू प्रत्येकले १४,००० मत कटाएका थिए।

त्यतिबेला लामिछाने ३५,००० को मतान्तरले विजयी भएका थिए।

चुनावी सभाा रवि लामिछाने

तस्बिर स्रोत, Rastriya Swatantra Party

के भने रवि लामिछानेले?

मतगणना सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेको चितवनस्थित हाम्रा संवाददाता ईश्वर जोशीले बताएका छन्।

"सरकारलाई (दिएको समर्थनको) निरन्तरताको औचित्य देखिएको छैन। त्यस कारण (काठमाण्डू) फर्किसकेपछि हामी छलफल गर्छौँ," उनले भने।

"स्थिरता नै रहोस् भनेर समर्थन गरिदिएका हौँ। तर स्थिरताकै नाममा जे पनि गर्नुलाई नोटिसमा लिएका छौँ," उनले भने।

के अब यो सरकारको साटो अर्को बन्छ हो? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, “हामी नयाँ बनाउने खेलमा छैनौँ। स्थिरता नै होस् भन्ने चाहन्छौँ।”

खासगरी यसअघि सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुँदा बनाइएको न्यूनतम साझा कार्यक्रमबाट आफूहरूले त्यतिखेर राखेका विषय निकालिएकोबारे उनले असन्तुष्टि प्रकट गरे।

“न्यूनतम साझा कार्यक्रममा रहेको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरिने भन्ने विषय - कसलाई बचाउन हो - निकालिएको छ,” उनले भने।

 चितवन-२ मा मङ्सिरमा भएको निर्वाचनको मतपरिणाम
रवि लामिछाने र जीतनारायण श्रेष्ठ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ (बायाँ) ले ११,२१४ मत पाएका छन्

आइतवार उपनिर्वाचन भएको तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भइसकेका छन् भने बारा-२ मा मतगणना जारी छ।

बारा-२ बाट प्राप्त मतगणनाको परिणाममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछाडि पारेका छन्।

उपनिर्वाचन भएका तीनवटै क्षेत्रको मतपरिणाम तीन दिनभित्र आइसक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका थिए।

मतगणना

तस्बिर स्रोत, RSS

रेड लाइन

चितवन-२ः रवि लामिछानेको फराकिलो जित

नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई रवि लामिछानेले सुरुदेखि नै पछाडि पारेका थिए।

  • रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी): ५४,१७६ (विजयी)
  • रामप्रसाद न्यौपाने (नेकपा एमाले): ११,२१४
  • जीतनारायण श्रेष्ठ (नेपाली कांग्रेस): १०,९३६

त्यहाँ अरू उम्मेदवारले न्यून सङ्ख्यामा मत पाए।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार चितवन-२ मा गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ।

नागरिकतासम्बन्धी विवादका कारण रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन भएको हो।

पुनः नेपाली नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने फेरि उम्मेदवार बनेका हुन्।

रेड लाइन

बारा-२ः उपेन्द्र यादवको अग्रता कायम

बारा-२ मा भएको उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टी-नेपालका उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहबीच सुरुमा प्रतिस्पर्धा देखिएको थियो।

तर पछि यादवले मतान्तर बढाउँदै लगेका छन्।

उपेन्द्र यादव

प्रारम्भिक मतगणनामा कुशवाहले यादवलाई झिनो अन्तरले पछाडि पारेका थिए। तर सोमवार साँझबाट पुन: यादव अगाडि छन्।

उनीहरूलाई नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा छन्।

  • उपेन्द्र यादव (जनता समाजवादी पार्टी-नेपाल): २२,०९६
  • शिवचन्द्र कुशवाह (जनमत पार्टी): १९,२७९
  • पुरुषोत्तम पौडेल (नेकपा एमाले): ६,३५४
  • रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी): २,६००
मङ्सिरमा भएको निर्वाचनमा बारा-२ को परिणाम

जनता समाजवादी पार्टी-नेपालका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्र रिक्त हुन गएको थियो।

उपेन्द्र यादव सोही पार्टीका केन्द्रीय अध्यक्ष हुन्।

त्यहाँ १० दलका र २४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।

 बारामा मतदान गर्दै एक महिला

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बारा-२ को उपनिर्वाचनमा मङ्सिरमा भएको निर्वाचनमा भन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ

अघिल्लो निर्वाचनमा उल्लेख्य मत ल्याएका स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले २,१०० मत कटाएका छन्।

निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारामा ६५.०२ प्रतिशत मतदान भएको थियो।

उक्त निर्वाचन क्षेत्रमा गत मङ्सिरमा ६३.५६ प्रतिशत मत खसेको थियो।

उपाध्यायका अनुसार यहाँ ६८,००० भन्दा बढी मत खसेको छ।

रेड लाइन

तनहुँ-१ बाट स्वर्णिम वाग्ले निर्वाचित

स्वर्णिम वाग्ले

तस्बिर स्रोत, RSS

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४,००० मतले पछि पार्दै एक महिना अघि मात्रै कांग्रेसबाट रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

वाग्लेले ३४,९१९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसका भट्टराईले २०,१२२ र एमालेका सर्वेन्द्र खनालले ८,४८८ मत पाएका छन्।

यो क्षेत्रमा यसअघि मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए।

आइतवार मतगणना सुरु भएदेखि नै तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अरू उम्मेदवारभन्दा निकै अगाडि थिए।

  • स्वर्णिम वाग्ले (राष्ट्रिय स्वतन्त्र पार्टी): ३४,९१९ (विजयी)
  • गोविन्द भट्टराई (नेपाली कांग्रेस): २०,१२२
  • सर्वेन्द्र खनाल (नेकपा एमाले): ८,४८८

तनहुँका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार यो क्षेत्रमा गत मंसिरमा ५४.०३ प्रतिशत मत खसेको थियो।

उपनिर्वाचनमा झन्डै ५३ प्रतिशत मात्र मत खसेको बताइएको छ।

गत मङ्सिरमा भएको निर्वाचनमा त्यस क्षेत्रबाट विजयी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।

मङ्सिरमा भएको निर्वाचनको परिणाम