प्रतिनिधिसभा उपनिर्वाचनबारे जान्नैपर्ने केही कुराहरू

तस्बिर स्रोत, Reuters
वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुन लागेका उपनिर्वाचनका उम्मेदवारहरू चुनावी अभियानमा व्यस्त छन्।
गएको मङ्सिरमा सम्पन्न आमचुनावपछि विकसित विभिन्न घटनाक्रमका कारण हुन लागेको उपनिर्वाचनलाई राजनीतिक दलहरूको ताजा जनादेशको परीक्षणका रूपमा हेरिँदैछ।
राष्ट्रिय स्तरमा चर्चित कतिपय प्रभावशाली नेताहरू चुनावी मैदानमा रहेकाले उपनिर्वाचनले देशभरकै ध्यान तानेको छ।
यो उपनिर्वाचनबारे जान्नैपर्ने केही प्रश्नहरू तल समेटिएका छन्।
उपनिर्वाचन किन हुँदैछ?
तनहुँ निर्वाचन क्षेत्र नम्बर एक, चितवन निर्वाचन क्षेत्र नम्बर दुई र बारा निर्वाचन क्षेत्र नम्बर दुईमा उपनिर्वाचन हुनु पछाडिका अलग अलग कारण छन्।
तनहुँ एकबाट चुनिएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सांसद पद खाली हुँदा त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
बारा निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि पनि उनी निर्वाचित भएको सांसद पद रिक्त हुँदा त्यहाँ उपनिर्वाचन गराउनुपर्ने परिस्थिति बनेको हो।
त्यसै गरी नागरिकता सम्बन्धी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुन: नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने लगायतका आदेश सर्वोच्च अदालतले दिएपछि सांसद पद खाली हुन पुगकेो चितवनमा फेरी निर्वाचन गर्नुपर्ने अवस्था आएको थियो।
चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा लामिछाने सबैभन्दा बढी मत अन्तरसहित मङ्सिर को आम चुनावमा चितवनबाट निर्वाचित भएका थिए।
नेपालको संविधानले सङ्घीय संसद अन्तर्गत १६५ सिट पहिलो हुनेले जित्ने प्रणालीबाट र ११० वटा सिट समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था गरेको छ।
संसद्को आयु ६ महिनाभन्दा बढी रहेको अवस्थामा कुनै पनि सिट रिक्त भएको खण्डमा जुन प्रणालीबाट सांसद चुनिएको हो त्यहीबाट परिपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
कस्ता र कति उम्मेदवार मैदानमा छन्?

तस्बिर स्रोत, RSS
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने मध्ये राजनीतिक दलका ३३ र स्वतन्त्र ३६ गरी ६९ उम्मेदवार छन्।
तनहुँ एकमा चुनाव लडिरहेका सबै ९ उम्मेदवार दलीय पृष्ठभूमिका छन्।
चितवन दुईमा १२ जना उम्मेदवार विभिन्न दलबाट र थप १२ जना स्वतन्त्र उम्मेदवार छन्।
बारामा भने १२ जना दलका उम्मेदवारले मनोनयन दर्ता गराउँदा त्यसको दोबर सङ्ख्यामा स्वतन्त्र उम्मेदवार छन्।
अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छैन। चुनावी दौडमा जम्मा ८ जना महिला उम्मेदवारहरू रहेका छन्।
कस्तो चुनावी समीकरण बनेको छ?
मङ्सिर को आम चुनावअघि राजनीतिमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ।
चितवनमा अध्यक्ष लामिछानेलाई पुन: उम्मेदवार बनाएको उक्त दलले कांग्रेस पार्टी त्याग गरेका स्वर्णिम वाग्लेलाई तनहुँ एक र चर्चित पूर्व प्रहरी अधिकृत रमेश खरेललाई बाराबाट जिताउने लक्ष्य लिएको छ।
उक्त दलले कुनै पनि राजनीतिक दलसँग चुनावमा तालमेल नगर्ने धारणा सार्वजनिक रूपमा राखिरहेको छ।
गएको चुनावमा कांग्रेस र एमालेका उम्मेदवारहरूले १५ हजार भन्दा कम मत ल्याउँदा उनीहरूको तुलनामा सवा तीन गुना अर्थात् ४९ हजार भन्दा बढी मत ल्याएर चितवनमा लामिछाने विजयी भएका थिए।
उक्त क्षेत्रमा यो पाली पनि कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन्। कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धनका माओवादी केन्द्र सहितका दलले सघाउने वाचा गरेका छन्।
तनहुँमा स्वतन्त्र पार्टीका वाग्ले, कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालका वरिपरि चुनावी प्रतिस्पर्धा केन्द्रित हुनसक्ने आकलन गरिएको छ।
चुनावी तालमेलबाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका रामचन्द्र पौडेलले गएको आमचुनावमा एमालेका उम्मेदवारलाई ५,३८० मत अन्तरले पराजित गरेका थिए।
त्यहाँ एमालेका उम्मेदवारले १९९८१ मत ल्याउँदा स्वतन्त्र चुनाव उठेका असन्तुष्ट कांग्रेस नेता गोविन्दराज जोशीले ६, ८८६ मत ल्याएका थिए।


मङ्सिरको आम चुनावमा सप्तरीबाट पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ बाट निर्वाचित हुने उद्देश्यले चुनावी प्रतिस्पर्धामा छन्।
त्यहाँ उनलाई हराउन सीके राउत नेतृत्वले माओवादी केन्द्रबाट आफ्नो पार्टी प्रवेश गरेका शिवचन्द्रप्रसाद कुशवाहलाई उम्मेद्वार बनाएको छ। मङ्सिरको आम चुनावमा कुशवाह विजयी उम्मेदवार रामसहायप्रसाद यादवसँग जम्मा ३५४ मत अन्तरले पराजित भएका थिए।
एमालेले पूर्व मन्त्री पूरूषोत्तम पौडेललाई उम्मेदवार बनाउँदा स्वतन्त्र पार्टीका उम्मेदवारको उपस्थितिले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने ठानिएको छ।
कति मतदाताले चुनावमा मत खसाल्न पाउनेछन्?
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतादाता नामावलीका अनुसार मङ्सिरको आम चुनावको तुलनामा बारा र चितवनमा मतदाताको सङ्ख्यामा थोरै वृद्धि भएको छ।
निर्वाचन आयोगका अनुसार चितवन दुईमा ४८० जना मतदाता थपिएका छन् र कुल मतादाता सङ्ख्या १,२४,६९५ पुगेको छ।
बारा दुईमा मतदाता सङ्ख्या २३७ ले बढेर १,०५,२४८ पुगेको छ। तनहुँ एकमा भने मतदाता सङ्ख्या १३५ ले घटेको छ र त्यहाँ १,२३,३०५ मतदाता सङ्ख्या कायम भएको छ।
उपनिर्वाचनका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र स्थापना गरिने आयोगको भनाइ छ।

तस्बिर स्रोत, EPA
उपनिर्वाचनको परिणाम कहिले आउँछ?
निर्वाचन आयोगका अनुसार विगतमा जस्तै समानुपातिक र प्रत्यक्ष दुवैका मतपत्र गणना गर्नुपर्ने अवस्था नरहेका कारण उपनिर्वाचनको परिणाम चाँडै सार्वजनिक गर्न सम्भव हुनेछ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएको तीनदेखि पाँच दिनभित्र चुनावी परिणाम सार्वजनिक गर्ने हिसाबले स्रोत साधन र जनशक्तिको बन्दोबस्त मिलाइएको बताए।
उनका अनुसार उपनिर्वाचन केन्द्रित शान्ति सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ।
निर्वाचन आयोगले ६ वटा विभिन्न संस्थालाई चुनावको पर्यवेक्षणका लागि अनुमति दिएको पनि जनाएको छ।








