उपराष्ट्रपति यादवकी पत्नी चम्पादेवी भन्छिन्- ‘छोराछोरी सम्झिँदा यता बस्ने मन, बस्तुभाउ सम्झिँदा गाउँ नै जानुपर्छ’

तस्बिर स्रोत, Office of the Vice President of Nepal
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
धेरैका लागि सामान्य कृषक अनि केहीका लागि नेतापत्नीकी रूपमा चिनिएकी बाराको कलैया उपमहानगरपालिका-५ की ५० वर्षीया चम्पादेवी यादवको परिचय गत सातादेखि एकाएक बदलिएको छ।
खेतबारी र गोठमा व्यस्त हुने उनी शुक्रवार काठमाण्डू आएदेखि नै शुभेच्छुकबाट घेरिएकी छन्।
गाउँमा निस्फिक्री रहने चम्पादेवी सुरक्षा घेरामा हिँडिरहेकी मात्र छैनन्, उनको आवासमा चैबीसै घण्टा सुरक्षाकर्मीले पहरा दिइरहेका छन्।
केही दिनभित्रै उनले दुईवटा ठूला औपचारिक कार्यक्रममा आफ्ना श्रीमान्सँगै उभिएर नमस्कार फर्काइन् र हात हल्लाइन्।
एक साताअघिसम्म गोठमा गाईभैँसीसँग रमाइरहेकी उनलाई खासै कसैले खोजी गर्दैन थियो।
तर अहिले उनलाई खोजी गर्ने र उनीसँग कुराकानी गर्न चाहनेको सङ्ख्या बढ्दो छ।
कतिले भेटेरै कुरा गर्छन्, भिडिओ र तस्बिर खिच्छन् त कतिले फोनबाट पनि कुरा गर्न खोज्छन्।
एक सातामै “अर्कै संसारमा पुगे जस्तो” अनुभूति गर्ने चम्पादेवी अरू कोही नभएर गत साता निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवकी पत्नी हुन्।

तस्बिर स्रोत, RSS
उपराष्ट्रपतिका रूपमा रामसहायप्रसादको जति चर्चा भइरहेको छ, करिबकरिब उस्तै चर्चाको केन्द्रमा छिन् उनकी पत्नी चम्पादेवी पनि।
उनले त्यस्तो चर्चा पाउनुको कारण हो- उपराष्ट्रपतिपत्नी भए पनि सामान्य कृषककै रूपमा गाउँमै बस्ने उनको चाहना।
तिनै चम्पादेवीसँग बीबीसीले पनि भलाकुसारी गर्न चाहेर उनीसँग भेट्न खोज्यो।
तर सोमवार पतिले उपराष्ट्रपतिका रूपमा शपथग्रहण गर्ने समारोहमा सरिक हुनेदेखि विशिष्ट व्यक्तित्त्वहरूसँग उपराष्ट्रपतिसँगै बसेर भेटघाट गर्नुपर्ने हुँदा उनले समय दिन पाइननन्।
उनीसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने मङ्गलवारको प्रयास पनि सफल हुन सकेन।
र, सोही व्यस्तताले दिइरहेको थियो- उनको नयाँ भूमिकाको परिचय।
प्रत्यक्ष भेटेर कुराकानी गर्न असमर्थ भएपछि उनका छोरा शत्रुघ्नप्रसादको सहजीकरणमा चम्पादेवीले टेलिफोनमै बीबीसीसँग कुराकानी गरिन्।
नेपाली भाषामा बोल्न कठिन हुने उनले बीबीसी संवाददाता गनी अन्सारीसँग मातृभाषा भोजपुरीमा बोल्दा आफ्नो गाउँ नै फर्कने अडानबारे एकदम खुलस्त भएर कुरा गरिन्।


श्रीमान् उपराष्ट्रपति बन्दा कस्तो लाग्यो?

तस्बिर स्रोत, Shatrughan Yadav
कुनै बेला शिक्षण पेसा छाडेर श्रीमान् राजनीतिमा होमिँदा असन्तुष्ट बनेकी उनी अहिले श्रीमान् उपराष्ट्रपति बन्दा खुसी भएकी छन्।
तर पनि उनी गाउँ छाडेर काठमाण्डूमा आई उपराष्ट्रपति निवासमा बस्न चाहन्नन्।
“म त गाउँमै बस्छु। बेलाबेलामा यहाँ पनि आउँला,” बीबीसीसँग उनले भनिन्।
“श्रीमान् र छोराछोरी काठमाण्डूमा भएकाले यहाँ ठिक त लाग्छ। तर घरबार, बस्तुभाउ सबै कुरा त गाउँमै छ नि! त्यो सबै छाडेर मायाले मात्र यहाँ बस्ने भन्ने त भएन।”
दुई छोरा र एक छोरी भएकी उनी गाउँमा फुसको घरमा बसिरहेको र अहिले पक्की घर बन्दै गरेको बताउँछिन्।
श्रीमान्को शपथग्रहणका लागि काठमाण्डू आउँदा छिमेकीलाई 'बस्तुभाउ हेरिदिनू' भनेर आएकी उनी खेतीपाती र बस्तुभाउको हेरचाहका लागि गाउँमै फर्कने बताउँछिन्।
गाउँमा एक्लै बस्न मन लाग्छ त? भन्ने प्रश्नमा उनी भन्छिन्, “घरव्यवहार सम्हाल्न पनि त बस्नै पर्छ नि!”
उनका इन्जिनियर जेठा छोरा र इन्जिनियर छोरीले अहिले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका छन्।
उपराष्ट्रपति पत्नीका रूपमा सुरक्षा घेरामा रहनुपर्दा उनलाई कस्तो लाग्छ त?
“भन्न त सबैले यहाँ बस्नुपर्छ भनिरहेकै छन् तर मैले सबैकुरा त्याग्न त सक्दिन नि! म यता आए भने उताको सबै कुरा अस्तव्यस्त हुन्छन् त्यो भएर मैले त उता हेर्नै पर्छ,” चम्पादेवी भन्छिन्।
जो मन्त्रीपत्नी हुँदा पनि काठमाण्डू बस्न चाहिनन्

तस्बिर स्रोत, RSS
उपराष्ट्रपति निर्वाचित भएपछि रामहायप्रसाद यादवलाई सञ्चारकर्मीहरूले उनकी पत्नीबारे सोधेका थिए।
त्यस क्रममा उनले घरव्यवहार सम्हालेर चम्पादेवीले आफूलाई राजनीति गर्न “हौसला दिएको” बताए।
उनका भनाइमा आफूले लिएको बाटोमा अघि बढ्नका लागि चम्पादेवीले “जग्गा बेचेरै खर्च गर्नुपर्छ भने पनि गर्न सकिन्छ” भन्ने खालको हौसला दिने गर्थिन्।
एकबेला उनी पार्टीको जिल्ला कमिटीमा सदस्य समेत बनेको रामसहायले बताएका छन्।
उनले भने, “उनलाई पार्टीका सबै कार्यकर्ता र नेताबारे थाहा हुन्छ। उनी पहिले एक पटक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिइन् तर घरव्यवहारले नभ्याएर छाडिदिइन्।”
आफू मन्त्री भएका बखत उनले श्रीमतीलाई ल्याउन खोजेको तर उनी नमानेको उपराष्ट्रपतिको भनाइ छ।
उनले संवाददाताहरूलाई भनेका थिए, “उनलाई दुई पटक ल्याएको थिएँ। साथीभाइले मजाकको सिलसिलामा पनि बोलाएर ल्याउनुभयो। तर उनी फेरि फर्किहालिन्।”
उपराष्ट्रपतिपुत्र शत्रुघ्नप्रसादका भनाइमा शपथग्रहण समारोहमा सरिक हुन चम्पादेवी गत शुक्रवार काठमाण्डू आइपुगेकी हुन्।
उनले भोलिपल्टदेखि नै “घरमा बस्तुभाउ भोकै परे” भन्ने चिन्ता गरेर फर्कन खोजेकी थिइन्।
तर उपराष्ट्रपति मङ्गलवार घोडेजात्रा कार्यक्रममा सरिक हुनुपर्ने कार्यक्रम भएकाले उनलाई पनि उक्त कार्यक्रममा सरिक गराउन काठमाण्डूमा नै राखियो।
तर बुधवार जसरी पनि आफ्नी आमालाई पठाउनै पर्ने अवस्था रहेको शत्रुघ्नले मङ्गलवार बीबीसीलाई बताए।
उपराष्ट्रपतिको पृष्ठभूमि

तस्बिर स्रोत, RSS
रामसहायप्रसाद यादवको यादवको जन्म विसं २०१७ साल साउन ९ गते बारा जिल्लाको तत्कालीन कचोर्वा गाउँपञ्चायतस्थित बसवरिया गाउँमा भएको हो।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् भने दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन्।
बसवरिया गाउँको सामान्य परिवारमा जन्मिएका यादव विसं २०४८ सालदेखि शिक्षण पेसामा आबद्ध थिए।
उनले भारतको सीतामढीबाट विज्ञानमा स्नातकोत्तर र वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट शिक्षा सङ्कायमा स्नातकसम्मको अध्ययन गरेका छन्।
मधेश आन्दोलनअघिसम्म बाराको कलैयास्थित पन्नादेवी कन्या माविमा उनले विज्ञान र गणित विषयको शिक्षकका रूपमा काम गरेका थिए।
जिल्ला सदरमुकाममा अवस्थित पन्नादेवी कन्या माविमा निमावि शिक्षकका रूपमा कार्यरत रहँदा उनले पुर्खौली घर बसवरिया छोडेर विद्यालयनजिकै एउटा सामान्य फुसको घर बनाएर बसोबास थालेका थिए।
चम्पादेवीको सकस

तस्बिर स्रोत, Photo Courtesy: Nepal Network TV
शिक्षण पेसा छाडेर पूर्ण रूपमा राजनीतिमा लागेपछि घरखर्च चलाउन मुस्किल पर्न थालेकाले स्मरण गर्छिन् चम्पादेवी
घरखर्च चलाउन समस्या परेपछि नै आफू कृषि र पशुपालनमा केन्द्रित भएको उनको भनाइ छ।
"पहिले छोराछोरी सानै थिए त्यसैले उहाँलाई राजनीतिमा नहिड्नु भनेर भनेको थिएँ। तर उहाँले राजनीति गर्न थालेपछि सबै जिम्मेवारी मेरो काँधमा आयो। त्यसबेला मलाई दिक्क पनि लागेको थियो," आफ्ना श्रीमान् उपराष्ट्रपति भएपछि नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) लाई दिएको अन्तर्वार्तामा उनले भनेकी छन्।
"गोबर सोहोर्ने, घाँस काट्नेदेखि गाईभैँसी दुहुनेसम्मको सबै काम मैले नै गरेँ। मानिसहरू 'नेताको श्रीमती भएर पनि के यस्तो गर्छेस्' भन्थे। तर मैले आफ्नो काम न गरेको हो म अर्काको काम गर्ने गएकी छु र? भन्थे।"
उनका भनाइमा लामो समय अस्थायी शिक्षक रहेका रामसहाय स्थायी भएको केही वर्षमा नै राजनीतिमा होमिएका थिए।
त्यसबेला चम्पादेवीलाई आफूलाई अब "निकै दु:ख हुने रहेछ" जस्तो लागेको थियो। तर अहिले उनलाई खुसी लागेको छ।
"मलाई खुसी लाग्छ नि! सारा दु:ख सह्यौँ हामीले, अरुले पैसा कमाए तर उहाँले नाउँ कमाउनु भयो नि! सम्पत्ति नकमाए पनि। उहाँकै कारण सबैको नाउँ भएको छ, छोराछोरीको नाउँ छ, गाउँको नाउँ छ।"
श्रीमती चम्पादेवीले गाई र भैँसी पालेर आर्थिक जोहो गर्दै राजनीतिक जीवन सहज बनाइदिएकाले नै आफूलाई सजिलो भएको रामसहायले पनि सार्वजनिक रूपमै बताइसकेका छन्।


विद्यालय शिक्षा पूरा गरेपछि छोराछोरी भने उच्च शिक्षाका लागि यादवसँगै काठमाडौमा डेरामा बस्दै आएका छन्।
रामसहायप्रसाद यादव विसं २०७२ मा मधेशी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङघीगय समाजवादी फोरम नेपालको महासचिव भएका थिए।
यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा-२ बाट निर्वाचित भएका हुन्।
उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
मधेस आन्दोलनअघि पनि उनी नेपाल सद्भावना पार्टीमा आबद्ध भएका थिए।
उक्त दलका अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि राजविराज महाधिवेशनमा नेपाल सद्भावना पार्टी विभाजनको विरोधमा आनन्दीदेवीको नेतृत्वमा पार्टी एकताका लागि आमरण अनसनमा बस्नेमा यादव पनि थिए।
उपेन्द्र यादवसँग भेट भएपछि उनी विसं २०५९ सालमा मधेशी जनाधिकार फोरममा आबद्ध भएका हुन्।
त्यसपछि उनी विसं २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उनी पार्टी महासचिव पनि भएका थिए।
उनी विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए।
वीरगन्जबाट माधुरी महतोको सयोगमा।








