उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवको उम्मेदवारी कायम, अब के हुन्छ?

तस्बिर स्रोत, RSS
निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज गर्न अस्वीकार गरेको छ।
यादवको उम्मेदवारी कायम रहने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
उनले सञ्चारकर्मीहरूसँग भने, “खस आर्य समुदायभन्दा मधेसी समुदायका पुरुष उम्मेदवार उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको भन्न नमिल्ने हुँदा उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी विरोध दुवै उजुरीको दाबी पुग्न सक्दैन।”
“त्यसकारण (यादवको) मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन।"
भावी उपराष्ट्रपति पदका लागि यादवसहित चार जना प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगले मनोनयन फिर्ता लिन चाहने उपराष्ट्रपतिका उम्मेदवारलाई आज आइतवार अपराह्न ४ बजेसम्मको समय दिएको छ।
उपराष्ट्रपति चयनका लागि चैत ३ गते बिहान १० बजेदेखि ३ बजेसम्म सङ्घीय संसद् भवन परिसर नयाँ बानेश्वरमा मतदान हुँदैछ।
राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका गरी ८८२ जना मतदाताको नाम निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
हालका उपराष्ट्रपति नन्दबहादुर पुनको दोस्रो कार्यकाल चैत ३ गतेबाट सकिँदै छ।
उजुरी र जवाफ
जनता समाजवादी पार्टीका उम्मेदवार यादवविरुद्ध नेकपा एमाले र जनमत पार्टीका उम्मेदवारका तर्फबाट छुट्टाछुट्टै दुई वटा उजुरी परेको थियो।
राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका कारण उपराष्ट्रपति पदमा महिलाले मात्रै उम्मेदवारी दिन मिल्ने उजुरीकर्ताको दाबी थियो।
यादवले आइतवार त्यसको जवाफ पेस गर्दै संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायमध्ये एक हुनुपर्ने व्यवस्था रहेको दाबी गरेका छन्।
यादवले आफू राष्ट्रपतिमा निर्वाचित पौडेल भन्दा फरक समुदायको भएका कारण उम्मेदवारी विरुद्धको दाबी खारेज गर्न माग गरेका छन्।
पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई उपराष्ट्रपति निर्वाचन प्रयोजनका लागि प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।
संविधानले उपराष्ट्रपति र उपराष्ट्रपति पदमा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिमा खस आर्य समुदाय बाहेक र महिलाले मात्रै उम्मेदवारी दिन मिल्ने बताएका थिए।
संविधानमा के छ व्यवस्था?

तस्बिर स्रोत, EC Nepal
संविधानको धारा ७० मा “यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ” भनिएको छ।
गठबन्धनमा आबद्ध दलहरूले भने संविधानले फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको जिकिर गर्दै फरक समुदायको पुरुषले पनि उम्मेदवारी दिन मिल्ने तर्क गर्दै आएका छन्।
रामसहायप्रसाद यादवको मनोनयन खारेज भएको अवस्थामा जनता समाजवादी पार्टीले प्रमिलाकुमारी यादवको पनि उम्मेदवारी दर्ता गरेको थियो।
खारेज नभए प्रमिलाकुमारी यादवको मनोनयन फिर्ता लिने जसपा नेताहरूले यसअघि बताएका थिए।
सरकारलाई सहयोग गरिरहेका अधिकांश राजनीतिक दलहरूले उपराष्ट्रपतिको निर्वाचनमा जसपाका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका छन्।
गठबन्धनका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन्।

तस्बिर स्रोत, RSS/BBC
निर्वाचित हुन कति मत आवश्यक?
उपराष्ट्रपतिमा निर्वाचित हुन कुल योग्य मतदाताको मतभारको बहुमत आवश्यक हुने कानुनी व्यवस्था छ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८८२ जना मतदाताको नाम सार्वजनिक गरेको छ।
सङ्घीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६२८ हुन्छ। त्यसको बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक पर्छ।
यसअघि राष्ट्रपति चयनका लागि ३३१ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी कुल ८३१ जना सहभागी भएका थिए।
सङ्घीय सांसदको मतभार ७९ र प्रदेससभा सदस्यको मतभार ४८ तोकिएको छ।
कुनै पनि उम्मेदवारले बहुमत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने व्यवस्था छ।








