बारा, चितवन र तनहुँमा उपनिर्वाचन सम्पन्न, कति प्रतिशत मत खस्यो?

तस्बिर स्रोत, RSS
तनहुँ-१, बारा-२ र चितवन-२ मा रिक्त रहेका प्रतिनिधिसभा सदस्य चयनका लागि आइतवार शान्तिपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले आइतवार साँझ वक्तव्य जारी गर्दै भनेको छ, “प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।”
उसले मतदानको विवरण आयोगको सूचना प्रणालीमा समावेश गर्ने क्रम जारी रहेको छ बताएको छ।
यद्यपि हालसम्मको प्रारम्भिक विवरण अनुसार "समग्रमा करिब ६० प्रतिशत मतदान भएको देखिएको" आयोगको भनाइ छ।
"मतदान सम्पन्न भइसकेको छ र मतपेटिकाहरू सङ्कलनको काम पनि सुरु भइसकेको छ," आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बीबीसीसँग भने।
तीनवटै क्षेत्रमा केही छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपम मतदान सम्पन्न भएको उनको भनाइ छ।
मतपेटिका सङ्कलन सकिएपछि सम्भवत: आइतवार रातिबाटै मतगणना सुरु हुने आयोगले जनाएको छ।
बारामा भने मतदानस्थल नजिकै आएका भनिएका अन्य जिल्लाका चारजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको वीरगञ्जस्थित हाम्री संवाददाता माधुरी महतोले जनाएकी छन्।

तस्बिर स्रोत, RSS
कहाँ कति खस्यो मत?
पोखरास्थित हाम्रा संवाददाता नारायण कार्कीका अनुसार तनहुँ-१ मा गत मङ्सिरमा भन्दा कम मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जानकारी दिएको छ।
तनहुँका निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार उक्त क्षेत्रमा गत मंसिरमा ५४.०३ प्रतिशत मत खसेको थियो। प्रारम्भिक विवरणमा उपनिर्वाचनमा त्यो भन्दा केही कम ५३ प्रतिशत मात्र मत खसेको छ।
तनहुँमै रहेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त क्षेत्रमा मतदान सम्पन्न भई मतपेटिकाहरू सङ्कलन सुरु भइसकेको जानकारी बीबीसीलाई दिए।
मतपेटिकाहरू सदरमुकाम दमौलीमा भेला गरेर जिल्ला समन्वय समितिको हलमा गणना गर्ने आयोगले जनाएको छ।

चितवनस्थित हाम्रा संवाददाता ईश्वर जोशीका अनुसार त्यहाँ गत मंसिरको तुलनामा कम मत खसेको अधिकारीहरूले जानकारी दिएका छन्।
सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार त्यहाँ गत मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा भने ६३ प्रतिशत मात्र मत खसेको छ।
चितवनमा पनि मतपेटिकाहरू सङ्कलन सुरु भइसकेको छ।
बारामा पनि मतदान सम्पन्न भई मतपेटिका सङ्कलन सुरु भएको वाग्लेले जानकारी दिए।
वीरगन्जस्थित हाम्री संवाददाता माधुरी महतोका अनुसार निर्वाचन अधिकृत मुकेश उपाध्यायले त्यहाँ ६४ प्रतिशतको हाराहारीमा मत खसेको बताएका छन्।
उक्त निर्वाचन क्षेत्रमा पनि गत मङ्सिरमा ६३.५६ प्रतिशत मत खसेको थियो।

तस्बिर स्रोत, RSS
कहाँ कति उम्मेदवार?
तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उपनिर्वाचन भएको हो।
चितवन-२ मा त्यहाँबाट निर्वाचित रवि लामिछानेको सांसद पद उनको नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुन: चुनाव भएको हो त्यसमा लामिछाने स्वयंसमेत उम्मेदवार छन्।
मतदान भइरहेका बेला आइतवार दिउँसो चितवनकै नवकिरण माविमा रवि लामिछाने र अन्य दल पक्षधरबीच विवाद हुँदा तीन घण्टाभन्दा बढी समय अवरुद्ध बनेको मतदान रास्वपाले माफी माग्नेगरी भएको सर्वदलीय सहमतिपछि पुन: सुरु गरिएको थियो।
रवि लामिछाने पक्षधहरूले उनको पक्ष नाराबाजी गरेसँगै उत्पन्न उक्त विवादलाई नियन्त्रणमा लिने क्रममा विद्यालय परिसरबाहिर प्रहरीले बल प्रयोग समेत गरेको थियो।
चितवनको उपनिर्वाचनमा १२ दल र १० स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
बारा-२ मा १० जना राजनीतिक दल र २४ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवार छन्।
तनहुँ-१ मा भने सबै ९ जना राजनीतिक दलका उम्मेदवार छन्।


तीन क्षेत्रमा कति मतदाता?
उपनिर्वाचनका लागि सरकारले तीनवटै निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो।
तीन वटा निर्वाचन क्षेत्रमा ४ मङ्सिरमा भएको निर्वाचनको लागि प्रकाशित अन्तिम मतदाता नामावलीको तुलनामा बारा र चितवनका क्षेत्रमा उपनिर्वाचनमा केही मतदाता बढेका छन्।
तनहुँको निर्वाचन क्षेत्रमा भने मतदाता केही घटेका आयोगले जनाएको छ।
- बारा-२: १,०५,२४८ (थप २३७)
- चितवन-२: १,२४,६९५ (थप ४८०)
- तनहुँ-१: १,२३,३०५ (कम १३५)
आयोगका अनुसार उपनिर्वाचन १९४ मतदान स्थलका ४२७ मतदान केन्द्रमा मतदान भएको थियो।











