‘प्रचार निषेध अवधि’अघि मतदातालाई रिझाउने अन्तिम प्रयासमा उम्मेदवार

उपनिर्वाचन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, एउटा चुनावी सभामा सहाभगीहरू

उपनिर्वाचनको प्रचारप्रसार निषेध गरिएको अवधि सुरु हुनुअघि सत्ताधारी गठबन्धनसहित राजनीतिक दलहरूले चुनावी सभाहरू गर्दै मतदातालाई आफ्नो पक्षमा तान्ने अन्तिम प्रयास गरेका छन्।

आगामी आइतवार बारा, चितवन र तनहुँका तीनवटा क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।

बिहीवार मध्यरातिदेखि उपनिर्वाचनको “प्रचारप्रसार निषेध गरिएको अवधि” सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि खाली भएको तनहुँ-१, नागरिकता विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि चितवन-२ र जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा-२ मा उपनिर्वाचन हुन लागेको हो।

चितवन र तनहुँका क्षेत्रमा सत्ताधारी गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र स्थापनाको एक वर्ष पनि नभएको रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने ठानिएको छ।

कहाँ कस्तो प्रतिस्पर्धा?

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Facebook/CK/Ramesh/UPendra

बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन्।

उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका पुरुषोत्तम पौडेलले चुनौती दिइरहेका छन्।

उक्त क्षेत्रमा रोचक कुरा के छ भने प्रधानमन्त्रीलाई समर्थन दिए पनि सरकारबाहिर रहेका जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि आफ्ना उम्मेदवार उठाएका छन्।

अघिल्लो चुनावमा एमालेसमेतको समर्थन पाएका जसपका रामसहायप्रसाद यादवसँग केही सय मतले पराजित माओवादी नेता शिवचन्द्र कुशवाहा त्यहाँ जनमत पार्टीबाट उम्मेवार बनेका छन्।

रास्वपाले चर्चित पूर्व प्रहरी अधिकृत रमेश खरेललाई मैदानमा उतारेको छ।

बाराको उपनिर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको विश्लेषकहरू बताउँछन्।

बारा-२ मा कुल ३६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साङ्केतिक तस्बिर
साङ्केतिक तस्बिर

पुराना दलहरूले गुमेको विरासत फर्काउन जोडबल गरिरहेको चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने पुन: निर्वाचित हुने दौडमा छन्।

मङ्सिर ४ को निर्वाचनमा उनी करिब ४९ हजार मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले १४-१४ हजार हाराहारीमा मत प्राप्त गरेका थिए।

छोटो समयमा नै निकै लोकप्रियता कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअघि खसेको मत फर्काउने चुनौती नेपाली कांग्रेस र एमालेलाई छ।

उपनिर्वाचनका लागि १२ दल र १० स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन्।

तर मुख्य प्रतिस्पर्धा भने रास्वपा, कांग्रेस र एमालेबीच नै रहेको बताइन्छ।

सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ चुनावी मैदानमा छन् भने त्यहाँ एमालेले रामप्रसाद न्यौपानेलाई उठाएको छ।

तनहुँ-१ मा मुख्य दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको चुनाव प्रतिष्ठाको लडाइँ बनेको बताइएको छ।

उक्त क्षेत्रमा चुनावको मुखैमा नेपाली कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका अर्थशास्त्री स्वर्णिम वाग्लेले उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसले त्यहाँ यसअघि नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष भइसकेका पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ।

एमालेले त्यहाँ पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आफ्नो उम्मेदवार बनाएको छ।

चुनावमा नौवटा पार्टीहरूले उम्मेदवारी दिए पनि तीनवटा पार्टीको चुनावी चर्चाले अरू पार्टीहरूलाई ‌ओझेलमा पारेको देखिन्छ।

साङ्केतिक तस्बिर

तस्बिर स्रोत, EC

शीर्ष नेताहरू चुनावी दौडाहमा

यसपालिको उपनिर्वाचनमा विशेषगरी नयाँ दलबाट चुनावी चुनौती हुने ठानेर सत्ताधारीसहित प्रमुख दलका नेताहरू तीनवटै क्षेत्रमा व्यापक रूपमा खटेको देखिएको छ।

ठूला भनिएका दलका चर्चित नेताहरू तीनवटै क्षेत्रमा पुगेर चुनावी सभाहरूमा भाषण गर्नुका साथै घरदैलोमा समेत सहभागी भएका छन्।

यसै क्रममा उपनिर्वाचनको अन्तिम चुनावी सभाहरूमा पनि शीर्षस्थ नेताहरू सहभागी भएका छन्।

बिहीवार बारामा भएको चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा र माधवकुमार नेपालले सम्बोधन गरेका छन्।

उनीहरूले विभिन्न आश्वासन दिँदै आफ्नो गठबन्धनतर्फबाट उम्मेदवार बनेका जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा मत मागेका थिए।

बारामा नेकपा एमालेले पनि चुनावी सभा गरेको थियो र त्यसमा उक्त दलका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डसहित देउवा र नेपालले बिहीवारै चितवन पुगेर गठबन्धनका तर्फबाट चुनावी मैदानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठको पक्षमा मत मागेका छन्।

त्यस्तै रास्वपाले चितवनमा आफ्नो अन्तिम चुनावी सभा गरेको छ।

उक्त सभालाई रास्वपाका सभापति रवि लामिछानेसहित तनहुँका उम्मेदवार स्वर्णिम वाग्ले र बाराका उम्मेदवार रमेश खरेलले सम्बोधन गरेका थिए।

साङ्केतिक तस्बिर
साङ्केतिक तस्बिर

‘निषेध अवधि’मा के गर्न पाइँदैन?

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीवार मध्यराति १२ बजेदेखि निर्वाचनको प्रसारप्रसार गर्ने अवधि सकिँदैछ।

त्यसपछिको उम्मेदवार वा दलहरूले कुनै पनि खालको निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन्।

पौडेलले भने, “आज राति १२ बजे उप्रान्त प्रसारप्रसार निषेधको अवधि सुरु हुन्छ। यस अवधिमा आचारसंहितामा उल्लेख भएअनुसार यसअघि गर्न पाइने जुलुस, र्‍याली, भाषण र घरदैलोजस्ता सबै कुराहरू गर्न मिल्दैन।"

“आचारसंहितामा अरू दिन गर्न मिल्ने कुरा पनि अब मिल्दैन।"

उनले यसपालिको उपनिर्वाचनमा कुनै पनि दल वा उम्मेदवारको चित्र तथा चिह्न अङ्कित टिसर्ट, टोपीलगायतका सामग्री वितरणमा पनि रोक लगाइएको थियो।

त्यस्ता गतिविधि यो अवधिमा पनि गर्न नपाइने उनले स्पष्ट पारे।

उनले भने, “यो ‘कुलिङ पिरियड’ हो। प्रचारप्रसार अवधिमा उम्मेदवार र दलहरूले आफ्ना कुरा राखेका छन् अब मतदाताले मन्थन गर्छन् र कहाँ मत हाल्ने भन्ने निर्क्यौल गर्ने अवधि हो।"