अमेरिकाले दक्षिण अफ्रिकी श्वेतहरूलाई स्वागत गरिरहँदा अन्य शरणार्थीको यस्तो गुनासो

बसको झ्यालबाट बाहिर हेरिरहेकी एक कङ्गोली शरणार्थी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घका अनुसार हालैका वर्षमा हतियारधारी मिलिशियाहरूद्वारा हजारौँ सर्वसाधारण मारिएका छन्
    • Author, ब्रान्डन ड्रेनन
    • Role, बीबीसी न्यूज, वाशिङ्टन डीसी

गत ज्यानुअरीमा केन्यास्थित एउटा पार्किङस्थलमा पत्नी र नवजात छोरासहित रात बिताएका एक मानिस भ्रम र अविश्वासले बेचैन थिए।

डेमेक्र्याटिक रिपब्लिक अफ कङ्को (डीआरसी) को उक्त शरणार्थी परिवार केही घण्टामै पुनर्वासका निम्ति अमेरिका उड्ने अपेक्षामा थियो।

तर पूर्वनिर्धारित प्रस्थानको केवल दुई दिनअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शरणार्थी कार्यक्रम बन्द गरिदिएपछि जहाड उड्नलाई २४ घण्टासमेत बाँकी नरहेको अवस्थामा ती व्यक्तिलाई आकस्मिक रूपमा उडान रद्द भएको बताइयो।

"मसँग अन्त जाने ठाउँ नै थिएन," परिचय गोप्य राख्नका निम्ति आफूलाई पेसिटो नामले चिनाउन चाहने ती व्यक्तिले बीबीसीसँग भने।

अमेरिकामा नयाँ जीवन सुरु गर्ने तयारीस्वरूप उनले त्यसअगावै आफ्नो परिवारलाई केन्या सार्नुका साथै फर्निचर तथा आफ्ना धेरैजसो सामानहरू बेचिसकेका थिए। द्वन्द्वका कारण कङ्गो छाडेका उनीहरू तुलनात्मक रूपमा सुरक्षित रहेको केन्यामा बस्छन्।

'आप्रवासनविरोधी' ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सामान्यतः आप्रवासीहरूप्रति अनुदार नेता मानिन्छ

अमेरिका प्रवेशका निम्ति ससर्त अनुमति दिइएका लगभग एक लाख २० हजार शरणार्थीमध्ये यी केवल तीन जना हुन्। शरणार्थी कार्यक्रम रोकिएपछि उनीहरू अलमलको स्थितिमा प्रतीक्षारत छन्।

ट्रम्पको उक्त कदमले उनीपूर्वका नेतृत्वहरूले पछ्याउँदै आएका विधिमा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गर्छ। पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा सन् २०२४ मा एक लाख शरणार्थी अमेरिका आएका थिए र यो झन्डै तीन दशकयताकै उच्च वार्षिक आँकडा हो।

ज्यानुअरीमा पदभार ग्रहण गरेसँगै ट्रम्पले "अमेरिका पहिले" भन्ने आफ्नो अजेन्डासम्बन्धी चुनावी वाचा पूरा गर्न तीव्र कदमहरू चालिराखेका छन् र त्यसमा आप्रवासीहरू अमेरिका आउने बाटाहरूमा नाटकीय रूपमा कडाइ गर्ने कार्य पनि सामेल छ।

उनको उक्त प्रयत्नमा महत्त्वाकाङ्क्षी निर्वासन कार्यक्रम पनि सामेल छ र त्यसअन्तर्गत मानिसहरूलाई न्यायाधीशको आदेशविपरीत एल साल्भडोरको कुख्यात जेलमा पठाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा अध्ययनरत हजारभन्दा धेरै विद्यार्थीहरूको भिसा रद्द गरिनुका साथै "स्वनिर्वासन"मा जान चाहने अवैध आप्रवासीहरूलाई १,००० डलर दिने प्रस्ताव गरिएको छ।

ह्वाइट हाउसले भने आफ्नो कदमको बचाउ गर्दै देशबाट बलात् निकालिराखिएमध्ये कैयौँ हिंस्रक अपराधी भएको र कतिपयबाट अमेरिकी हितमा खतरा पुगेको बताएको छ।

अपवाद

तर उक्त नीतिका बाबजुद केही सीमितलाई भने बस्न दिइएको छ।

फेब्रुअरीमा ट्रम्पले 'अफ्रिकानर' भनेर चिनिने दक्षिण अफ्रिकाका श्वेतहरूमाथि उनीहरूको देशमा "नश्लीय विभेद" भएको दाबी गर्दै उनीहरूका निम्ति शरणार्थीका रूपमा अमेरिका छिर्ने विशेष बाटो खोल्न एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

उनान्साठी जना अफ्रिकानर बोकेको जहाज यो महिनाको सुरूमा वाशिङ्टन डीसीनजिकैको एउटा विमानस्थलमा अवतरण हुँदा एउटा समारोहबीच उपविदेशमन्त्रीले स्वागत गरेका थिए।

"यो उचित भएन," पेसिटोले टिप्पणी गरे, "अनुसन्धान, सुरक्षा तथा स्वास्थ्य जाँच गरिसकिएका एक लाख २० हजार शरणार्थीहरू छन्। हामी वर्षौँदेखि पर्खिराखेका छौँ तर उनीहरूको (अफ्रिकानरहरूको) चाहिँ तीन महिनाजस्तोमै प्रक्रिया भयो।"

यो स्थितले पेसिटोलाई फसेकोजस्तो महसुस गराएको छ। सङ्गीत उत्पादनका निम्ति चाहिने सबै उपकरणहरू बेचिसकेकाले केही महिनायता आफ्नो परिवार पाल्न उनले थरिथरिका कामका निम्ति सङ्घर्ष गरिराख्नु परेको छ।

"अलिक गाह्रै छ, भनौँ न," उनले भने।

ट्रम्पले अफ्रिकानरहरूले "नरसंहार"को सामना गर्नुपरेकाले शरणार्थीका रूपमा स्वीकार्ने आफ्नो निर्णयलाई उचित भनेका छन्। दक्षिण अफ्रिकामा जन्मेका र उनका निकट सहयोगी इलोन मस्कले पनि बारम्बार त्यही भन्दै आएका छन्।

वर्षौँदेखि फैलिइरहे पनि त्यस्ता दाबीहरू व्यापक रूपमा अस्वीकृत हुँदै आएका छन् र दक्षिण अफ्रिकाले पनि अस्वीकार गर्दै आएको छ।

तथापि "न्यायसङ्गत, समानतापूर्ण र जनहितमा" भन्दै दक्षिण अफ्रिकाले गत ज्यानुअरीमा श्वेत भूमिपतिहरूको जग्गा जफत गर्न सक्ने गरी पारित गरेको एउटा कानुनले नयाँ किसिमको वैरभाव पैदा गराएको थियो र त्यो खास गरी अमेरिकाको उग्रदक्षिणपन्थी समूहहरूमाझ देखा परेको थियो। रङ्गभेदी युगपछिको उक्त कानुनको उद्देश्य देशमा देखा परेको भूस्वामित्वसम्बन्धी निराशालाई चिर्नु थियो, जहाँ लगभग ७२ प्रतिशत खेतीयोग्य जमिन ७ प्रतिशतको सङ्ख्यामा रहेका श्वेतहरूको स्वामित्व छ।

कूटनीतिक विवाद

भिडिओ क्याप्शन सुरु हुँदैछ, डोनल्ड ट्रम्पले सिरिल रामापोसालाई अप्ठेरोमा पारे

यद्यपि राष्ट्रपति सिरिल रामापोसाले उक्त कानुनअन्तर्गत कसैको जमिन जफत नगरिएको बताएका छन् तर उक्त कानुन पारित भएको केही दिनमै ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको करोडौँ डलर बराबरको सहायता रोक्ने आदेश दिए।

त्यसपछि कूटनीतिक विवाद सुरु हुन पुग्यो।

बुधवार ह्वाइटहाउसमा यी दुईबीच भएको तनावपूर्ण बैठकका क्रममा आपसी सम्बन्धमा आएको तिक्तता खुला रूपमा छताछुल्ल भयो। रामापोसालाई अप्ठ्यारोमा पार्दै ट्रम्पले प्रत्यक्ष टेलिभिजन प्रसारणमै श्वेतमाथि "उत्पीडन गरेको" आरोप लगाए। यद्यपि रामापोसाले दह्रोसँग उक्त आरोपलाई अस्वीकार गरे।

विश्लेषकहरूले ट्रम्पको दोस्रो कार्यकालको समग्र विदेश नीतिलाई 'आइसलेशनिस्ट' अर्थात् एक्लै बस्ने किसिमको रूपमा अर्थ्याएका छन्, जसअन्तर्गत आप्रवासन घटाउने, वैदेशिक सहायतामा कटौती गर्ने तथा अन्यत्रका सङ्घर्षहरूबाट अमेरिकालाई अलग राख्ने सहितका प्रशस्त कदमहरू चालिएका छन्।

ट्रम्पले दक्षिण अफ्रिकाको एचआईभी/एड्स कार्यक्रमका निम्ति दिइँदै आएको सहायतासमेत सामेल रहेको अर्बौँ डलरका र विश्वव्यापी स्तरका सहायता अनुबन्धहरूलाई पनि खारेज गरिदिएका छन्। आफ्नो समूहले त्यसमा बेइमानी तथा दुरुपयोगभएको पाएकाले त्यसो गरिएको भन्दै ट्रम्पले उक्त निर्णय उचित भएको बताउँदै आएका छन्।

उक्त कदम दक्षिण अफ्रिकी श्वेतहरूलाई अमेरिकी भित्र्याउने प्रक्रियालाई तीव्र पार्ने ह्वाइट हाउसको निर्णयको उल्टो प्रतीत हुन्छ र शरणार्थी अधिकारसम्बन्धी अभियानकर्मीहरूले त्यसको विरोध गर्दै आएका छन्।

"सुरक्षा प्रदानसम्बन्धी उत्पीडनका हरेक मामिला विश्वसनीय प्रमाणमा आधारित हुनुपर्छ र यहाँ मुख्य प्रश्न भनेको कानुनअन्तर्गत निष्पक्ष र समान व्यवहारको हो," 'ग्लोबल रिफ्युजी' नामक गैरनाफामुखी सङ्गठनका टिमोथी यङले बीबीसीसँग भने।

"कुनै एउटा समूहले मानवीय सहायता प्राप्त गर्छ भनेअफगान सहयोगीहरू, उत्पीडनमा परेका धार्मिक अलपसङ्ख्यकहरू तथा गम्भीर खतराको सामना गरिराखेका शरणार्थीको दर्जा र कानुनी मापदण्ड पूरा गरेका अन्य हजारौँ परिवारहरूले पनि सहायता पाउनुपर्छ," उनले भने।

असन्तुष्टि र विरोध

अन्य कदमसँगसँगै ट्रम्प प्रशासनले अमेरिकामा अफगानहरूलाई दिइँदै आएको अस्थायी रूपमा संरक्षितको दर्जालाई नवीकरण नगर्ने निर्णय गरेको छ। "अफगानिस्तानमा सुरक्षाको स्थिति सुध्रिएको" र "अर्थतन्त्र स्थिर बन्दै गएको" उसको ठम्याइ छ।

दक्षिण अफ्रिकाले जातिका आधारमा भएको अपराधको आँकडा सार्वजनिक नगरे पनि एउटा ताजा खुलासामा प्रस्तुत आँकडाका अनुसार सन् २०२४ को अक्टोबर र नोभेम्बरको बीचमा ६,९५३ जनाको हत्या भएको छ।

तीमध्ये १२ जना 'फार्म'मा भएको आक्रमणमा मारिएका थिए। तीमध्ये एक जना किसान, पाँच जना 'फार्म'मै बसोबास गर्नेहरू र चार जना कामदार थिए। तिनीहरू अश्वेत भएको ठानिएको छ।

यसैबीच कङ्गोमा भने हालैका वर्षहरूमा हतियारधारी मिलिशियाहरूद्वारा हजारौँ सर्वसाधारण मारिँएका छन्। संयुक्त राष्ट्रसङ्घको आँकडाअनुसार एक लाखभन्दा धेरै मानिसहरू त्यहाँबाट विस्थापित भएका छन्।

पेसिटो सन् २०१६ मा कङ्गोबाट पैदलै भागेका थिए। "जता हेर्‍यो बन्दुक देखिने" गरेको बताउँदै उनले "शान्ति नभएको" सम्झना गरे। उनले आफ्नो श्रीमतीको परिवारतर्फको सदस्य मारिएको बताए।

पेसिटोजस्तै पुनर्वासका निम्ति अमेरिका अब असम्भव बन्दै गएको ठान्नेमा गाजाबाट आएर इजिप्टमा बसोबास गर्दै आएको हमादको परिवार पनि हो।

"ट्रम्पका कदमहरूपछि मेरो विचारमा अब यो असम्भवजस्तै हुने छ," अम्जद हमादले बीबीसीसँग भने।

उनी र उनका परिवारले सन् २०२४ मा अमेरिकाको 'ग्रीन कार्ड' चिट्ठा कार्यक्रममा आवेदन गरेका थिए तर उक्त आवेदन अस्वीकृत भएको मेमा थाहा पाए।

अन्य समूहहरूभन्दा दक्षिण अफ्रिकी श्वेतहरूको दुर्दशाप्रति ट्रम्पले देखाएको चिन्ताले उनलाई द्विविधामा पारेको छ।

"यदि दक्षिण अफ्रिकाका मानिसहरूले नरसंहारको सामना गरिराखेका छन् भने प्यालेस्टिनीहरूले चाहिँ के भोगिरहेका छन्?," उनले प्रश्न गरे।

इजरेलले सन् २०२३ को अक्टोबरमा हमासविरुद्ध कारबाही थालेदेखि गाजाभरमा ५३,००० भन्दा धेरै मानिस मारिएका छन्।

हमादको द्विविधा र पेसिटोको विचारसँग मिल्दोजुल्दो छ जसको पुनर्वासमा अमेरिका जाने आशामा ज्यानुअरीमा तुषारापात भयो।

त्यसयता उनी नैरोबीमा बेघर हुनुका साथै आफू र आफ्नो परिवारलाई केही दिनका निम्ति कसैले शरण देला कि भनेर ठाउँठाउँ चहार्दै छन्।

"कहिले खान पाउँछौँ, कहिले पाउँदैनौँ," उनले भने, "हामी एकदम कष्टसँग सङ्घर्षरत छौँ।"

अमेरिकाको नीतिगत परिवर्तनले आफूलाई ट्रम्पले स्वीकार्ने आशालाई असाध्यै झिनो तुल्याइदिएको छ तर विकल्पका पुन: अफ्रिका फर्किने कुरा उनका निम्ति अकल्पनीय छ।

"म फर्किन सक्दिनँ," उनी भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।