चार दशकअघि नेपाल आएका शरणार्थीले अझै बिर्सिन सकेका छैनन् भुटानको दशैँ

बेलडाँगी
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली

मानिसलाई आफू जन्मेको स्थान अतिप्रिय लाग्छ। त्यसमाथि पनि चाडबाडका बेला आफू हुर्केको, बढेको तथा चाडबाडको हर्षोल्लास त कहाँ बिर्सिन सक्छ र?

झन्डै चार दशकअघि भुटानबाट विस्थापित भएका झन्डै एक लाख नेपालीभाषीहरू भारत हुँदै पूर्वी नेपाल आए र शरणार्थी भएर यहीँ बसे।

'शरणार्थीको परिच विभिन्न दातृनिकाय तथा नेपाल सरकारको सहयोगमा विभिन्न शिविरमा बसोबास गरे। पछि तेस्रो देशमा पुनर्वास गर्ने योजनाअन्तर्गत अधिकांश भुटानी शरणार्थीहरू अहिले उनीहरू विभिन्न मुलुकमा छरिएर बसेका छन्।

तर चाडबाड विशेषगरी दशैँका बेला आफ्नो मन चसक्क दुख्ने उनीहरू बताउँछन्।

कहिले बिर्सिन नसक्ने सेताम्मे निधार

बेलडाँगी शरणार्थी शिविरका पूर्वसचिव युवराज राई भुटान छोड्दा १४ बर्षका थिए।

भुटानमा हुँदाको दशैँको उमङ्ग अहिले पनि उनको स्मृतिमा ताजै छ।

दशैँमा रातो टीका लगाएको आफूले पहिलो पटक नेपालमा आएर देखेको उनी सम्झिन्छन्।

राईले भने, "भुटानमा त कहाँ रातो टीका लगाउँथे र? म बसेको ठाउँ चिराङमा त सबैले सेतो टीका मात्र लगाउँथे। साँच्चै भन्ने हो भने नेपालमै आएर देखेको रङ्ग भएको टीका लगाएको।"

भुटान छोड्दा उनले भर्खरै किशोरवयमा टेकेका थिए।

भुटानी शरणार्थी

त्यति बेलाको रमझम र उमङ्गको सम्झनाले उनलाई अझै भावुक बनाउँछ।

राईले भने, "त्यो बेलाको एक रुपे, दुई रुपे, पाँच रुपे खुब महत्त्व हुन्थ्यो।"

राईकी पत्नी देवीमाया गुरुङका अनुसार अहिले शरणार्थी पुनर्स्थापना प्रक्रिया शरणार्थी परिवार छिन्नभिन्न भएकाले दशैँको कुनै रौनक छैन।

उनले भनिन्, "त्यस्मा पनि कोरोनाभाइरस महामारीले त झन् गर्नु गरेको छ"

यहाँ आएर पनि रमाइलो

भुटानमा लखेटिएपछि नेपालमा बस्दा कतिपयले आफ्ना "खास परम्परा" पाएको अनुभूति भएको सुनाउँछन्।

भुटानमा निश्चित समुदायको बसोबास अनि चाडबाड पनि नियन्त्रित जस्तै हुने गरेको उनीहरू बताउँछन्। तर नेपालमा चाडबाड मनाउन स्वतन्त्रता भयो।

बेल्डाँगी शिविरका रोहित महत भुटान छोड्दा १६ बर्षका थिए।

"अहिले पो परिवार छिन्नभिन्न भयो। नत्र कम रमाइलो हुन्थ्यो शिविरमा!" उनले भने।

तर भुटानमा पनि चाडबाडका बेला सरकारले छुट्टी दिने गरेको उनी सम्झिन्छन्।

उस्तै-उस्तै हो

कसैलाई दशैँ भुटानमै रमाइलो हुन्थ्यो भन्ने लाग्छ भने कसैलाई नेपाल आएपछि। तर धेरैलाई उही मान्छे र उही पर्व भएकाले दशैँ उस्तै लाग्छ।

भुटानमा सामानको उपलब्धता अलि कम हुने तर नेपालमा जस्तो सामान पनि मिल्ने भएकाले दशैँ यतै सहज भएको अनुभव बेल्डाँगी शिविरका दुर्गाकुमार ढुङ्गानाको अनुभव छ।

ढुङ्गानाले भने, 'भुटानमा पनि हामी नै, यहाँ पनि हामी नै। अनि कता राम्रो भन्नुहोला? उस्तै हो।'

बाहिरी वातावरण हेर्ने हो भने नेपालमै अझै धेरै रमाइलो हुने गरेको अनुभव उनले सुनाए।

तर धेरै भुटानी शरणार्थीलाई मातृभूमि छोड्नुको तथा आफन्त र इष्टमित्रसँग छुट्टिनुको पीडाले अझै भावविह्वल बनाउँछ।