'शरणार्थी'का रूपमा अमेरिका पुर्याइएका श्वेत अफ्रिकीहरूको कथा

- Author, नोमिआ इकबाल र काई पिल्युची
- Role, बीबीसी न्यूज, बफलो, न्यूयोर्क
गत सातासम्म ४६ वर्षीय चार्ल क्लेइनहाउस दक्षिण अफ्रिकाको एम्पुमलाङ्गा प्रान्तस्थित आफ्नो पारिवारिक फार्ममा बसिरहेका थिए। अन्यन्त मनमोहक दृष्ययुक्त हुनुका साथै वन्यजन्तु तथा नदीसहितका गहिरा उपत्यकाहरूका निम्ति प्रसिद्ध उक्त ठाउँबाट "सूर्य उदाँउछ" भन्ने गरिन्छ।
अहिलेका निम्ति उनको घर भनेको एउटा अमेरिकी राजमार्गनजिकैको सस्तोमस्तो होटेल हो।
उनी र उनीजस्ता अन्य दर्जनौँ श्वेत दक्षिण अफ्रिकीहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा विवादास्पद नीतिअन्तर्गत अमेरिका आएका हुन्, जुन नीतिले उनीहरूमाथि भेदभाव भइरहेको दाबी गर्दै त्यसबाट जोगाउने लक्ष्य राख्दथ्यो। यद्यपि उक्त आरोपलाई दक्षिण अफ्रिकाले भने अस्वीकार गर्दै आएको छ।
बीबीसीसँगको कुराकानीमा अमेरिकी राष्ट्रपतिको बचाउ गर्दै क्लेइनहाउसले बताएअनुसार ह्वाट्स्याप सन्देशमार्फत् ज्यान लिने धम्कीहरू आएपछि उनले देश छाडेका हुन्।
"मैले पाँचवटा शयनकक्ष भएको घर छाड्नुपर्यो, जुन अब मैले गुमाउनेछु," उनले भने। घरमात्र नभई उनले आफ्नो कार छाडे, कुकुरहरू छाडे र आमालाई समेत छाडे। "म यहाँ मोजमस्ती गर्न आएको थिइनँ," उनले थपे।
त्यहाँ र यहाँको घरबीच निकै अन्तर छ तर क्लेइनहाउसका निम्ति न्यूयोर्कको बफलोको बसाइ पहिलेभन्दा राम्रो छ। "मेरा बालबच्चा सुरक्षित छन्," सन् २००६ मा भएको एउटा सडक दुर्घटनामा पत्नी गुमाएका क्लेइनहाउस भन्छन्।
'अफ्रिकानर'हरू
दक्षिण अफ्रिकी श्वेत किसानहरूका सवाल लामो समयदेखि दक्षिणपन्थी र उग्र–दक्षिणपन्थी अमेरिकी राजनीतिको मुद्दाका रूपमा रहँदै आएको छ।
ट्रम्प र दक्षिण अफ्रिकामा जन्मेका उनका निकट सहयोगी अर्बपति इलोन मस्कले दक्षिण अफ्रिकाका श्वेत कृषकहरूको "नरसंहार" भएको भन्नेसम्मका तर्क गरेका थिए। यद्यपि उक्त तर्क व्यापक रूपमा अस्वीकृत भयो।
फेब्रुअरी महिनामा ट्रम्पले क्लेइनहाउसजस्ता 'अफ्रिकानर'हरू (पुर्खाका पालादेखि दक्षिण अफ्रिकामा बस्दै आएका डच मूलका मानिसहरू)लाई दक्षिण अफ्रिकामा सताइराखिएको भन्दै शरणार्थीको दर्जा प्रदान गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे।
ट्रम्प प्रशासनले आफ्नो निवेदनलाई द्रुत गतिमा अघि बढाएपछि मङ्गलवार वाशिङ्टन डीसीनजिकैको विमानस्थल आइपुग्ने ५९ जनाको समूहका एक सदस्य हुन् क्लेइनहाउस।
एकदम छिटो अमेरिका पुगेकोमा चकित परेको स्वीकार्दै उनले ट्रम्पप्रति कृतज्ञ भएको बताए। "केके भइरहेको छ भनेर देख्ने यो संसारमा कोही त छ भन्ने महसुस गरेँ।"
अन्य मानिसहरूसँगै उनी र उनको परिवार विमानस्थल आइपुग्दा राता, सेता र नीला बलूनहरूले स्वागत गरियो। उनले उक्त धुमधाम र त्यहाँ आयोजित समारोहलाई "सानदार" भने।
अश्वेतबाट श्वेत पीडित?

तस्बिर स्रोत, EPA
अफ्रिकानरहरू ती श्वेत अल्पसङ्ख्यकहरू हुन्, जसले रङ्गभेदी युगका बेला दक्षिण अफ्रिकामा शासन गर्नुका साथै सन् १९९४ मा औपचारिक रूपमा शासनबाट पतन नहुँदासम्म नश्लवादी नीति लागू गरेका थिए।
तर ३० वर्षभन्दा अधिक समय बितिसक्दा पनि देशको उत्तम कृषिक्षेत्रको सानो हिस्सामात्रै अश्वेत कृषकहरूको स्वामित्वमा छ। अर्थात् अधिकांश खेतीपाती श्वेतहरूकै हातमा छ।
सुस्त गतिको परिवर्तनले आक्रोशतर्फ धकेलेको छ। क्लेइनहाउसको ठम्याइमा अश्वेत अफ्रिकीहरूले पनि उनले झैँ दु:ख पाएका छन्।
तर उनी भन्छन्, "रङ्गभेदसँँग मेरो कुनै लिनुदिनु छैन। छैन, छैन, छैन।"
गएको ज्यानुअरीमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले निश्चित स्थितिमा क्षतिपूर्ति नदिईकन सरकारले निजी स्वामित्वको भूमि जफत गर्न अनुमति दिने एउटा विवादास्पद कानुनमा हस्ताक्षर गरे। उक्त कदम "न्यायसङ्गत र सार्वजनिक हितमा भएको" ठानियो।
दक्षिण अफ्रिकी सरकारका अनुसार अहिलेसम्म कसैको भूमि जफत गरिएको छैन। तर क्लेइनहाउसको भनाइअनुसार सरकारले एकपटक भूमिमा दाबी गरिसकेपछि काम गर्न असम्भव हुन जान्छ।
"तपाईँको जमिन बेकामको हुन्छ। भूमि अधिग्रहण कार्य निकै अघि बढिसकेको छ," उनी भन्छन्, "मानिसहरू त्यसबाट डराएका छन्। हाम्रो आलोचना गर्ने अन्य अफ्रिकानरहरू काल्पनिक दुनियाँमा छन्।"
सँगैका केही अफ्रिकानरहरू क्लेइनहाउस र उनका समूहलाई अवसरवादीका रूपमा व्याख्या गर्दै उनीहरूको अवस्था शरणार्थीको दर्जा दिन उचित ठानिने किसिमको उत्पीडनसरह नभएको बताउँछन्।
क्लेइनहाउस दक्षिण अफ्रिकामा किसानको हत्याको दर न्यून रहेको स्वीकार्छन् तर आफू पीडित बन्न नचाहेको बताउँछन्। "मेरा क्षेत्रमा मानिसहरूलाई गोली हानेर मारिएको छ," उनी भन्छन्।
आफूले स्थानीय समुदायका मानिसहरूबाट ज्यान मार्ने धम्की पाएको उनी बताउँछन्। "मलाई ह्वाट्स्यापमा नियमित रूपमा 'हामी तँलाई सिध्याइदिन्छौँ, तँ हाम्रो भूमिमा छस्' भन्ने किसिमका सन्देशहरू आइरहन्थे।"
क्लेइनहाउसका अनुसार उनी अमेरिका उड्नुअघि मात्रै पनि "हामी आउँदैछौँ, होस गर्लास् !" लेखिएको सन्देश आएको थियो।
उनले आफ्ना कृषि उपकरणहरूमा क्षति पुर्याइएको र आफ्नो निवेदनमाथि कारबाही गर्न स्थानीय प्रहरी विफल भएको पनि बताए।
रामापोसाले अमेरिका जाने समूहलाई "कायर" भन्दै उनीहरूले रङ्गभेदी युगका असमानताहरूलाई सम्बोधन गर्न नचाहेको बताए।
"दक्षिण अफ्रिकीका रूपमा हामी लचिलो छौँ," यो साताको प्रारम्भमा उनले भने, "हामी समस्याबाट भाग्दैनौँ। हामी यहीँ बसेर आफ्ना समस्याहरू हल गर्छौँ।"
विवादास्पद पुनर्वास

तस्बिर स्रोत, EPA
अफ्रिकानरहरूको अमेरिका पुनर्वास विवादास्पद हुनुको कारण भनेको अन्य शरणार्थीहरूमाथिको लगाइएको रोक हो।
ट्रम्प प्रशासनले हालै अफगानहरूको 'अस्थायी रूपमा संरक्षित'को दर्जा खारेज गरिदिएको छ।
अमेरिकाको आन्तरिक मामिला हेर्ने मन्त्रालयले विपक्षी सांसदहरू र अधिकारवादी समूहहरूले आलोचना गरे पनि अफगानिस्तानमा सुरक्षाको स्थिति र आर्थिक अवस्था सुध्रिएकाले आफ्नो कदम उचित भएको बताएको छ।
उनीहरूप्रति सहानुभूति राख्ने बताउँदै क्लेइनहाउस भन्छन्, "उनीहरू यहाँ आउन नसक्ने कुराले मलाई नराम्रो लागेको छ। तर त्यसको पनि एउटा प्रक्रिया छ भन्ने म जान्दछु। उक्त प्रक्रियाका निम्ति उचित ठानिएको खण्डमा उनीहरूले तपाईँहरूको ख्याल राख्नेछन्।"
के उनी राजनीतिक गोटीका रूपमा ट्रम्पद्वारा उपयोग गरिएकामा वा चार वर्षपछि अर्का राष्ट्रपतिले उक्त निर्णय उल्ट्याइदिन सक्ने सम्भावनाबारे चिन्तित छन्?
एकैछिन रोकिएर क्लेइनहाउसले भने, "हो, यो डरलाग्दो छ तर म धार्मिक मानिस हुँ। मलाई ईश्वरले यो पहिलो समूहमा सामेल गराएका हुन् भन्नेमा विश्वास गर्छु, नत्र त्यसमा पर्ने सम्भावना लगभग शून्य थियो।"
शरणार्थीको जाँचपड्तालमाथि प्रश्न
क्लेइनहाउसले सामाजिक सञ्जालमा यहुदीविरोधी धारणा लेखेका कारण आलोचनाको सामना गर्नुपरेको थियो। ती पोस्टहरू पछि हटाइए।
यससम्बन्धी एउटा प्रसङ्गको चर्चा गर्दै उनले आफूलाई उपचारको हिस्साका रूपमा 'मर्फिन' दिइराखिएका बेला आफूले अरू कसैको विचारलाई सारेको तर त्यसलाई उचित मान्न नसकिने स्वीकारे।
इजरेलमा यहुदीहरूले इसाईहरूमाथि थुकेको (बीबीसीद्वारा पुष्टि नगरिएको) एउटा भिडिओ देखेपछि रिसको झोँकमा सन् २०२३ मा आफूले उक्त पोस्ट गरेको उनले बताए।
उनले आफ्नो उक्त टिप्पणी एउटा निश्चित क्षणका निम्ति भएको र यहुदीहरूका निम्ति व्यापक रूपमा नभएकोमा जोड दिए। "अहिले पनि कुनै व्यक्ति मेरो धर्मविरुद्ध गएको देखेँ भने म त्यसविरुद्ध बोल्छु," क्लेइनहाउसले भने।
उनीलगायत पुनर्वास गराइएका शरणार्थीहरूको जाँचपड्ताल प्रक्रियाबारे अमरिकी सरकारले प्रश्नहरूको सामना गर्नु परिराखेको छ। संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले अफ्रिकारहरूको जाँच प्रक्रियामा आफ्नो संलग्नता नरहेको बीबीसीसँग बतायो, जुन सामान्यतया: अमेरिका जाँदै गरेका शरणार्थीहरूका हकमा हुने गर्दछ।
यसअघि अमेरिकाको अन्तरिक मामिला हेर्ने मन्त्रालयले आफूले यहुदीविरोधी अभिव्यक्तिबारे आप्रवासीहरूको सामाजिक सञ्जालका गतिविधिहरूको जाँच गरिराखेको र त्यसलाई आवेदनहरू अस्वीकार गर्ने कारणका रूपमा ध्यान दिइराखेको बताएको थियो।
ट्रम्प प्रशासनले हालैका महिनाहरूमा प्यालेस्टिनी पक्षधर अभियानकर्मीहरूलाई पक्राउ तथा देशनिकालाको प्रयत्न गर्ने क्रममा उनीहरू यहुदीविरोधी भएको हवाला दिएको थियो।
बीबीसीलाई दिइएको वक्तव्यमा उक्त मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, "मन्त्रालयले सबै शरणार्थीसम्बन्धी आवेदनहरूको जाँच गर्छ। अनुचित भनी गरिएका दाबीहरूको गहन जाँच हुन्छ र आवश्यक परेमा उपयुक्त कारबाही गरिन्छ। मन्त्रालयले व्यक्तिगत आवेदनको स्थितिबारे टिप्पणी गर्दैन।"
राष्ट्रपतिका रूपमा पुनरागमन गरेयता ट्रम्पले आप्रवासन व्यापक रूपमा घटाउन पहल थालेका छन्। त्यसो भए के अमेरिकामा आफ्नो समूहले समस्या झेल्नुपर्ने हो कि भने क्लेइनहाउस चिन्तित छन्?
"मानिसहरूले हामीले यसको फाइदा लिइरहेका छौँ भन्ने सोच्नु हुँदैन," उनी भन्छन्, "हामी यो देशका निम्ति योगदान पुर्याउन आएका हौँ।"
"मलाई दायाँबायाँ होला भन्ने चिन्ता छैन किनकि म मेरा लागि ईश्वरले यस्तै चाहेका छन् भन्नेमा विश्वास गर्छु।"
"मेरो जीवन उनकै हातमा छ। उनले नचाहेको भए म यहाँ हुँदैनथेँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








