सन् २०२५ मा विश्वभरि आप्रवासनमा कस्तो परिवर्तन आउला

हिँडिरहेका आप्रवासीहरू र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय झण्डाको पृष्ठभूमिमा आफ्ना कागजात देखाइरहेको एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आप्रवासीहरूका लागि अमेरिका विश्वकै सबैभन्दा लोकप्रिय गन्तव्य मुलुक रहिआएको छ
    • Author, ओनुर इरिम
    • Role, बीबीसी विश्व सेवा

विश्वभरि हरेक वर्ष आप्रवासनको क्रम बढिरहेको छ र भविष्यमा मानिसहरूले बसाइसराइँ गर्न कम गर्ने छन् भन्ने कुराको कुनै सङ्केत देखिँदैन।

तर पछिल्लो दशकले आप्रवासन खोज्ने मानिसहरूसामु गम्भीर अवरोध सिर्जना गरिदिएको छ : आफ्नो पहिलो कार्यकालमा "पर्खाल बनाउने" घोषणा गरेका डोनल्ड ट्रम्पको अमेरिकाका राष्ट्रपतिको रूपमा पुनर्निर्वाचन, कोभिड महामारी तथा यात्रासम्बन्धी प्रतिबन्धहरू र 'ब्रेक्जिट'का कारण यूके र युरोपेली सङ्घमा आबद्ध देशहरूबीच स्वतन्त्र रूपमा आवतजावतको क्रम अन्त्य हुनु आदि।

त्यसका साथै आप्रवासनका हिसाबले विश्वका दुई ठूला गन्तव्य मुलुकहरूमा सन् २०२५ को प्रारम्भ महत्त्वपूर्ण राजनीतिक परिवर्तनबाट हुने अपेक्षा गरिएको छ : संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्पले ज्यानुअरीमा राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्ने छन् भने जर्मनीमा निर्धारित समयअगावै फेब्रुअरीको अन्त्यतिर चुनाव हुने अपेक्षा गरिएको छ, जहाँ आप्रवासन नीतिमा कडाइ खोजिरहेका दलहरूको पक्षमा चुनावी नतिजा आउन सक्छ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवस डिसेम्बर १८ को सेरोफेरोमा सन् २०२५ मा विश्वभरि आप्रवासनको प्रवृत्तिमा आउन सक्ने बदलावबारे हामीले यहाँ चर्चा गरेका छौँ।

विश्वमा अहिले आप्रवासनको प्रवृत्ति कस्तो छ?

पछिल्ला तीन दशकमा आप्रवासीहरूको सङ्ख्या निरन्तर बढिरहेको देखिन्छ।

यद्यपि विश्वको जनसङ्ख्याको तुलनामा अहिले पनि आप्रवासनमा जाने मानिसहरूको प्रतिशत कम रहेको छ।

"हामीले २५ वर्षको आप्रवासन तथ्याङ्कका साथै मानव विकास सूचकाङ्क तथ्याङ्क हेरेका छौँ। सो अवधिमा विकासशील देशहरूबाट मध्यम, उच्च र निकै उच्च मानव विकास सूचकाङ्क रहेका देशहरूमा जान गाह्रो भइरहेको देखिन्छ," संयुक्त राष्ट्रसङ्घको आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) को माइग्रेशन रिसर्च एन्ड पब्लिकेशन्स डिभिजनकी प्रमुख म्यारी मुकलिफ भन्छिन्।

"त्यसले एकदमै स्पष्ट प्रवृत्ति रहेको देखाउँछ। आप्रवासन हुने नियमित बाटा कठिन देखिन्छन्।"

"अधिकांश अन्तर्राष्ट्रिय आप्रवासन सम्पन्न देशहरूबीच अर्थात् एउटा सम्पन्न देशबाट अर्को सम्पन्न देशमा हुने गरेको छ," युरोपभित्र हुने गरेको उच्च आप्रवासनको चर्चा गर्दै मुकलिफ भन्छिन्।

स्वतन्त्र रूपमा आउजाउ गर्न पाइने युरोपेली सङ्घका सदस्यहरूबीचमा जस्तो सहमति भएका क्षेत्रमा चाहिँ आप्रवासन दर उच्च रहेको पाइएको उनी बताउँछिन्।

दक्षिण एशियाबाट खाडी मुलुकहरूमा पनि ठूलो सङ्ख्यामा आप्रवासीहरू जाने गरेका छन्।

सन् २०२२ मा करिब ७० लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू विश्वमा रहेका थिए भने तीन दशकभन्दा कम समयमा त्यो सङ्ख्या तीन गुनाले बढेको छ।

सिरियामा बशर अल-असदको सत्ता ढलेपछि ६० लाखभन्दा बढी सिरियाली आप्रवासीहरू स्वदेश फर्कन सक्छन्।

बशर अल-असद रुस भागेपछि सुरुका दिनमा सिरिया फर्कन चाहने मानिसहरूका ठूलाठूला लामहरू टर्कीतर्फको सिमानामा देखिएका थिए।

भविष्यमा सिरिया कसरी शासित हुने छ भन्ने अनिश्चितताबीच यो क्रम जारी रहने छ र सुरक्षा अवस्था कस्तो हुने छ भन्ने कुराको आकलन गर्न अहिले गाह्रो छ।

ट्रम्पको पुनर्आगमनले आप्रवासनलाई कसरी प्रभाव पार्ने छ?

डोनल्ड ट्रम्प र उनको आधारका निम्ति आप्रवासन एउटा निकै महत्त्वपूर्ण मुद्दा रहेको छ।

आप्रवासीहरूका लागि अमेरिका विश्वकै सबैभन्दा लोकप्रिय गन्तव्य मुलुक रहिआएको छ र सन् २०१६ को राष्ट्रपतीय चुनावमा त्यो निकै महत्त्वपूर्ण मुद्दा बन्यो।

अवैध आप्रवासन रोक्न मेक्सिकोसँगको पूरा सिमानामा पर्खाल लगाउने आफ्नो वाचालाई इङ्गित गर्दै चुनावी अभियानका क्रममा उनले प्रायः "बिल्ड द वाल" अर्थात्‌ 'पर्खाल बनाऊँ' भन्ने गरेका थिए।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मेक्सिकोसँगको प्राथमिक तारबारको लम्बाइ बढाउन त सकेनन्, तर उनले अरू कदमहरू चाले, जसको ठोस असर आप्रवासनमा देखियो।

सन् २०१७ को ज्यानुअरीमा राष्ट्रपति बनेपछि उनले गरेको पहिलो कामका रूपमा उनले इरान, इराक, लिबिया, सोमालिआ, सुडान, सिरिया र यमनका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाए।

मुस्लिम बाहुल्य भएको ती देशका नागरिकहरूको आप्रवासनमाथि उनले लगाएको प्रतिबन्धलाई "मुस्लिम प्रतिबन्ध" भनेर चित्रण समेत गरियो।

ट्रम्पले कार्यकारी आदेश जारी गर्ने बेला अमेरिकाका लागि उडानमा रहेका ती सात देशका करिब दुई हजार मानिस अमेरिकी भूमिमा ओर्लिनासाथ नियन्त्रणमा लिइए।

कोभिड महामारीका समयमा "अमेरिकी श्रम बजारलाई जोगाउन" भन्दै आफ्नो कार्यकालको अन्तिम वर्ष ट्रम्पले 'डाइभर्सिटी इमिग्र्यान्ट भिसा प्रोग्र्याम' प्रक्रिया रोक्ने निर्णय गरे।

तर नयाँ जीवन सुरु गर्ने सपना देखेका चिट्ठा विजेता दशौँ हजार मानिसहरू त्यो परिवर्तनका कारण प्रभावित भए।

"मैले सन् २०१९ मा चिट्ठा भरेँ। त्यसको नतिजा सन् २०२० को जुनमा आयो र मलाई त्यो पर्‍यो पनि," टर्कीकी २७ वर्षीया इर्माक (नाम परिवर्तन) ले भनिन्।

"समलिङ्गी र नास्तिक भएकीले टर्कीमा म आफूलाई सुरक्षित ठान्दिनँ र सो विषयमा बोल्न सक्दिनँ। निजी जीवनप्रति अमेरिकामा हुने सम्मान मलाई मन परेको थियो र त्यहाँ जीवन सहज होला भन्ने लागेको थियो," उनले भनिन्।

आप्रवासन प्रक्रिया रोकिएपछि इर्माकले आफूजस्तै समस्यामा परेका मानिसहरूविरुद्ध कानुनी चुनौती दिन सुरु गरिन्। तर अदालतमा त्यो मुद्दा विफल भयो र हजारौँ मानिसहरू अमेरिका जाने अवसरबाट वञ्चित भए।

उनको दोस्रो कार्यकालबाट के अपेक्षा गर्न सक्छौँ?

अमेरिकी झन्डाको पृष्ठभूमिमा डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डोनल्ड ट्रम्प र उनको आधारका निम्ति आप्रवासन एउटा निकै महत्त्वपूर्ण मुद्दा रहेको छ

अवैध आप्रवासीहरूलाई ठूलो सङ्ख्यामा निकाला गर्नु डोनल्ड ट्रम्पका चुनावी वाचामध्ये एउटा रहेको छ।

"यो मूल्यको विषय होइन। साँच्चिकै भन्नुपर्दा हामीसँग विकल्प छैन," सेना परिचालनका लागि राष्ट्रिय आपत्काल घोषणा गर्ने योजना बनाइरहेको बताउँदै उनले भने।

उपराष्ट्रपतिमा ट्रम्पका रोजाइ जेडी भान्सले १० लाख मान्छेहरूबाट देशनिकालाको "सुरुवात" हुन सक्ने बताएका छन्। यद्यपि त्यो सम्भव हुने कुरामा विज्ञहरू आशङ्का व्यक्त गर्छन्।

सीमामा गिरफ्तार गरी फर्काइनेहरूको तुलनामा अमेरिकाभित्रै गिरफ्तार गरी निकाला गरिने मानिसहरूको सङ्ख्या एक दशकको अवधिमा प्रतिवर्ष एक लाखमुनि रहँदै आएको छ।

विज्ञहरूका आकलन अनुसार १० लाख अथवा सोभन्दा बढी मानिसहरूलाई देश निकाला प्रक्रियामा १० अथवा सयौँ अर्बौँ डलर खाँचो पर्न सक्छ।

त्यसबाहेक आप्रवासन मामिलासम्बन्धी अदालत ठूलो सङ्ख्यामा अवैध आप्रवासी निकाला प्रक्रिया पूरा गर्न असमर्थ हुन सक्छ र त्यस्ता निकाला कार्यक्रमले कानुनी चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ।

वैध रूपमा हुने आप्रवासनमा कटौती गर्ने कदममा भने ट्रम्पलाई बढी सफलता मिल्न सक्छ।

फेब्रुअरीको चुनावपछि जर्मनीमा के परिवर्तन हुन सक्छ?

जर्मनीका सीडीयू पार्टीका अध्यक्ष फ्रेडरिक म्याज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जर्मनीका सीडीयू पार्टीका अध्यक्ष फ्रेडरिक म्याजले आप्रवासनविरोधी एएफडीसँग चुनावपछि गठबन्धन नगर्ने बताएका छन्

आप्रवासनका लागि विश्वको दोस्रो ठूलो गन्तव्य जर्मनीले सन् २०२५ को चुनावपछि नयाँ सरकार पाउने देखिन्छ।

पछिल्ला वर्षहरूमा जनशक्ति भित्र्याउने उद्देश्यका साथ जर्मनीले आप्रवासनलाई सहज बनाउँदै आएको छ। यद्यपि आप्रवासनविरोधी दक्षिणपन्थी दलहरू सत्तामा आएको खण्डमा के त्यसमा परिवर्तन आउला?

वर्तमान सरकारले जनशक्ति अभाव हुन नदिने उद्देश्यले आप्रवासनसम्बन्धी केही नीतिलाई खुकुलो पारेको छ।

तर प्रधानमन्त्री ओलाफ शोल्जको सोशल डेमोक्र्याटिक पार्टी मत सर्वेक्षणमा तेस्रो स्थानमा रहेको छ।

त्यसभन्दा अगाडि क्रिश्चन डेमोक्र्याट (डीसीयू/सीएसयू) र चरम दक्षिणपन्थी एएफडी छन्, जसलाई देशका प्रत्येक पाँच जनामध्ये एकजनाको समर्थन रहेको छ।

"अनियमित आप्रवासनलाई कडा पार्ने मुद्दा जर्मनीका खास गरी (डीसीयू/सीएसयू) पार्टीहरूको चुनावी हिस्साको रूपमा रहेको छ। साथै चरम दक्षिणपन्थी एएफडी र चरम वामपन्थी बीएसडब्ल्यूको पनि," जर्मन काउन्सिल अफ फरन रिलेशन्स सेन्टर फर माइग्रेशनकी प्रमुख भिक्टोरिआ राइटिग भन्छिन्।

अरू गन्तव्यहरू

विमानस्थलमा बाबुछोरीको साङ्केतिक तस्बिर

तस्बिर स्रोत, Getty Images

जर्मनी र संयुक्त राज्यमा आप्रवासन जटिल हुन सक्ने बताइँदै गर्दा अरू गन्तव्यहरूले अतिरिक्त अवरोधहरू ल्याउने देखिँदैन।

ईयू र 'ईकोवास' क्षेत्रीय ढाँचाअन्तर्गत तथा दक्षिण एशियाबाट खाडी मुलुकमा हुने आप्रवासनमा समस्या नहुने देखिन्छ।

"एक्षिण एशियाबाट खाडी मुलुकबाट हुने मुख्यतः श्रम आप्रवासन जारी रहने देखिन्छ किनकि त्यसको आवश्यकता छ। श्रम आप्रवासन विभिन्न खाडी मुलुकहरूलाई निकै आवश्यक छ र श्रमिकहरूले महत्त्वपूर्ण सेवाहरू गर्छन्," आईओएमकी म्यारी मुकलिफ भन्छिन्।

"त्यो भएर महत्त्वपूर्ण परिवर्तन हुने म देख्दिनँ। धेरै आप्रवासन हुने कतिपय मुलुक र ठूला गन्तव्य मुलुकहरूको कुरा गर्दा पनि त्यसो हुने देखिन्न।"

युद्ध तथा विपद्‌का कारण हुने गम्भीर विस्थापनबाहेक अन्तर्राष्ट्रिय आप्रवासन प्रवृत्ति अनुमान गर्न सकिने र स्थिर हुन्छ अनि समयसमयमा हुने नीतिगत परिवर्तनहरूबाट प्रभावित हुन्छ।

"हामीलाई थाहा छ कि अन्तर्राष्ट्रिय आप्रवासन अपवाद हो; अधिकांश मानिसहरू आफू जन्मेकै देशमा बस्छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।