प्रत्येक महिना १०० नेपाली किन अरू देशबाट निष्काशनमा परेर घर फर्किन्छन्

- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले निर्वाचनअघि आफूले घोषणा गरे झैँ गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रक्रिया कसरी अगाडि बढाउलान् भन्ने चासो नेपालमा पनि देखिएको छ।
विगत चार वर्षको अवधिमा अमेरिकाबाट ११४ नेपाली नागरिकहरू निष्काशनमा परेर नेपाल फिर्ता भएका छन्। यो वर्ष विभिन्न देशबाट 'डिपोर्ट' भएका नेपालीको कुल सङ्ख्या १,१६२ पुगेको विभागले जनाएको छ।
अध्यागमन विभागका अनुसार सन् २०२४ मा अहिलेसम्म ३३ जनालाई अमेरिकाले त्यसरी नेपाल फर्काएको छ। तीमध्ये आठ जना एकै खेपमा नेपाल आएका थिए।
विश्वका विभिन्न मुलुकबाट देशनिकालामा परेर फर्किने नेपालीहरूमा वैदेशिक रोजगारी र अध्ययनमा गएका युवादेखि प्रदेशका बहालवाला मन्त्रीसम्म छन्।
केही साताअघि कोशी प्रदेशका कानुनमन्त्री लीलावल्लभ अधिकारीलाई जापानले विमानस्थलबाटै नेपाल फिर्ता पठाइदिएको थियो। उनीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या विगतका वर्षमा बढेको नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको तथ्याङ्कले देखाउँछ।
अमेरिकाबाट गत वर्ष २४ जना, सन् २०२२ मा २२ र २०२१ मा ३५ नेपाली निष्काशनमा परेका थिए।

'प्रत्येक दिन औसतमा तीन जना'

तस्बिर स्रोत, Department of Immigration
अध्यागमन विभागको तथ्याङ्कअनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना १०० जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन्।
यो वर्ष नोभेम्बर २२ सम्मको तथ्याङ्कअनुसार डिपोर्ट भएर स्वदेश फर्काइएका नेपाली नागरिकको सङ्ख्या १,१६२ छ।
यो वर्ष सबैभन्दा धेरै नेपाली यूएईबाट निष्काशनमा परेका छन्। त्यसपछि क्रमशः मलेशिया र कतारबाट निष्काशित हुने नेपालीको सङ्ख्या बढी छ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार यूएईबाट २७० जना, मलेशियाबाट ८८ जना र कतारबाट ६४ जना देशनिकालामा परेर नेपाल फिर्ता भएका हुन्।
यी तीनवटै देश नेपाली कामदारले धेरै रुचाएका राष्ट्रहरू हुन्।
अर्को प्रमुख श्रम गन्तव्य साउदी अरबमा पनि नेपालीहरूले "सार्वजनिक शिष्टाचारविपरीत आचरण" गरेका कारण जरिबाना र अन्य सजाय हुन सक्नेप्रति एक साताअघि नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई सचेत गराएको थियो।

कुन वर्ष कति नेपाली देशनिकालामा परेर फर्किए

तस्बिर स्रोत, Department of Immigration
विगत पाँच वर्षको तथ्याङ्कअनुसार सन् २०२३ मा सर्वाधिक सङ्ख्यामा नेपाली नागरिकहरू निष्काशित भएर फर्किएका थिए।
सो वर्ष १,४४३ जना त्यस्तो कारबाहीमा परेका थिए।
त्यसअघि सन् २०२२ मा १,१६७ जना र २०२१ मा ८८० जना डिपोर्ट भएर नेपाल आएका थिए।
कोभिड महामारीका कारण सन् २०२० मा डिपोर्टमा पर्ने नेपालीहरूको सङ्ख्या कम थियो। अध्यागमन कार्यालयले उक्त वर्ष आफ्नो अभिलेखमा जम्मा एक जना मात्रै त्यसरी फर्किएको जनाएको छ।
नेपालबाट एक महिनामा २३ जना देशनिकालामा
नेपालले यो वर्ष विभिन्न देशका २७६ जनालाई निष्कासन गरेर उनीहरूको देशमा पठाएको छ।
तीमध्ये अधिकांश भिसा अवधि सकिएर पनि स्वदेश नफर्किएकाहरू छन्। अध्यागमन विभागका अनुसार यो वर्ष 'ओभरस्टे' गर्ने २३० विदेशीलाई त्यस्तो कारबाही गरिएको हो।
सन् २०२३ मा ४५८ र २०२२ मा ५७० जनालाई पनि त्यसरी निष्काशन गरिएको थियो।
नेपालबाट निकालामा पर्ने विदेशीहरूमध्ये चिनियाँ नागरिकको सङ्ख्या सर्वाधिक हुने गरेको छ। दोस्रो ठूलो सङ्ख्या अमेरिकी नागरिकहरूको हुने गरेको अध्यागमन कार्यालयका अधिकारीहरूले बताएका छन्।

नेपालबाट निष्कासनमा पर्ने धेरैजसो भिसाको अवधि सकिएर पनि स्वदेश नफर्किएकाहरू रहेको अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले जानकारी दिए।
“धेरै विदेशीहरू ओभरस्टेको कारणले र त्योबाहेक कोहीकोहीले यहाँ आएर हाम्रो कानुनले तोकेकोभन्दा फरक र गैरकानुनी क्रियाकलापमा संलग्न हुने अवस्थामा पनि फिर्ता पठाउने गर्छौँ,” रिजालले भने।
नेपालले निकाला गर्ने प्रमुख कारण
नेपाली अधिकारीहरूका अनुसार यस्ता कसुर गर्ने विदेशी नागरिकहरू निकालामा गरेका छन्।
- शङ्कास्पद राहदानी जाली भिसा र बिना भिसा बसेको
- लागुऔषध
- सुन तस्करी
- मानव बेचबिखन
- विदेशी मुद्रा विनिमय र जाली नोट
- बैङ्किङ कसुर
- आन्दोलनमा सहभागी
- अभद्र व्यवहार
नेपालबाट डिपोर्ट हुने विदेशीमध्ये कतिपयलाई नेपाल फेरि फर्किन निश्चित समयसम्म बन्देज लगाउने कानुनी व्यवस्था छ।
“पर्यटक भिसामा आएर ओभरस्टे छ भने त्यो भिसा वर्षभरिमा प्रवेश पाउँदैन। एक वर्षभन्दा बढी ओभरस्टे छ भने उनीहरूलाई कति समयको लागि प्रवेश नदिने भन्ने पनि कानुनी व्यवस्था छ,” रिजालले भने।
भिसा अवधि सकिएपछि नेपालमा बसेका विदेशी नागरिकहरूलाई ओभरस्टे अवधिका आधारमा कानुनले जरिबाना पनि तोकेको छ।
कतिपय आपराधिक गतिविधिमा संलग्न भएका कतिपय विदेशीहरूलाई पुनः नेपाल प्रवेश नपाउने गरी समेत निष्कासन गर्ने गरिएको अध्यागमन विभागले जनाएको छ।
नेपालसहित विभिन्न देशमा शृङ्खलाबद्ध हत्यामा दोषी ठहर भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजले नेपालमा कैद अवधि पूरा गरेपछि दुई वर्षअघि उनलाई १० वर्ष नेपाल फर्किन नपाउने गरी निष्काशन गरिएको थियो।
नेपालीहरू किन निकालामा पर्छन्

तस्बिर स्रोत, NepaliEmbassyUAE
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल नेपालीहरू अनेकौँ कारणले निष्काशित भई स्वदेश फिर्ता हुने गरेका छन्।
“कतिपयलाई अध्यागमन नाकाबाट प्रवेश इन्कार गरेर पनि फिर्ता पठाइएको हुन्छ भने कतिपयलाई सम्बन्धित देशमा प्रवेश गरिसकेपछि भिसाको समय सकिएको, कतिपय गैरकानुनी काममा संलग्न भएको कारण पनि डिपोर्ट गरेको देखिन्छ,” रिजाल भन्छन्।
प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रवक्ता भावेश रिमाल अमेरिकाबाट डिपोर्ट भएर आउनेमध्ये अधिकांश गैरकानुनी बाटोबाट उक्त देश प्रवेश गर्नेहरू रहेको बताउँछन्।
“हामीले अमेरिकाबाट डिपोर्टेशनमा परेर फर्किएकाहरूसँग कुरा गर्दा गैरकानुनी बाटोबाट अमेरिका पुगेकाहरू धेरै छन्। उनीहरूमध्ये कतिपयमाथि ब्यूरोले अनुसन्धान गर्छ र आवश्यक परामर्श पनि दिने गरेको छ,” रिमालले बीबीसी न्यूज नेपालीसँग भने।
अमेरिकामा गैरकानुनी काममा संलग्न भएको कसुरमा कतिपय नेपालीहरूलाई नेपालमा पनि थप अनुसन्धानका लागि अमेरिकाले नै आग्रह गरेर पठाउने गरेको रिमालले जानकारी दिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








