भारतमा मनसुन टुङ्गिने तरखरमा, नेपालमा अझै केही दिन वर्षा हुने

उर्लिएको बाग्मती नदी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत साता भएको अविरल वर्षाका कारण विभिन्न प्राकृतिक विपद्‌मा परेर नेपालमा २०० जनाभन्दा बढीको मृत्यु भएको छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसीन न्यूज नेपाली

भारतले 'दक्षिणपश्चिम मनसुन' टुङ्गिने अवस्थामा पुगेको घोषणा गरेको छ। तर नेपालमा भने अधिकारीहरूले यो वर्षको मनसुनी वर्षा सकिने लक्षण अझै नदेखिएको बताएका छन्।

भारतको मौसम विज्ञान विभागले देशको मनसुनयाम अन्त्य हुन लागेको र यो वर्ष स्वाभाविकभन्दा ८ प्रतिशत बढी वर्षा भएको जनाएको छ। तर अबको केही दिन पूर्वी र उत्तरपूर्वी भारतमा भारीदेखि अतिभारी वर्षा हुने चेतावनी दिइएको छ।

त्यसको असर नेपालका पूर्वीसहित विभिन्न भूभागमा देखा पर्ने अधिकारीहरूले बताएका छन्।

यसअघि गत सप्ताहान्त नेपालमा सक्रिय रहेको मनसुनको न्यूनचापीय प्रणालीका कारणले विभिन्न २५ वटा मौसम केन्द्रहरूमा २४ घण्टाको अत्यधिक वर्षाको नयाँ कीर्तिमान कायम भएको थियो।

अविरल वर्षाका कारण काठमाण्डू उपत्यकासहित देशका विभिन्न ठाउँमा बाढी र पहिरोको प्रकोप निम्तिएको थियो। यो प्रकोपमा परी कम्तीमा २२४ जनाको ज्यान गएको पुष्टि भएको छ।

त्यसबाहेक १५० जनाभन्दा बढी घाइते भएका छन् भने २४ जना बेपत्ता भएको सरकारले जनाएको छ। देशको राजधानी काठमाण्डू जोड्ने प्रमुख राजमार्गसहितका पूर्वाधारमा ठूलो क्षति पुगेको छ।

नेपालबाट कहिले बाहिरिएला मनसुन

भारतबाट मनसुन बाहिरिन लागेको देखाउने तस्बिर

तस्बिर स्रोत, India Met Department

तस्बिरको क्याप्शन, भारतबाट मनसुन बाहिरिन लागेको देखाउने तस्बिर

नेपालमा साधारणतया अक्टोबर २ मा मनसुन अन्त्य हुन्छ। तर यो वर्ष मनसुन लम्बिने सङ्केत देखिएको छ र अधिकारीहरूले जारी गरेको मौसमसम्बन्धी तीनदिने पूर्वानुमानमा वर्षाको सम्भावना औँल्याइएको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार भारतको आसाम आसपासको क्षेत्रबाट न्यूनचापीय मौसम प्रणाली उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको बताए।

“त्यसले गर्दा भोलि (बुधवार) र पर्सि (बिहीवार) नेपालका मध्य र पूर्वी भूभागहरूमा त्यसको प्रभाव हुने सम्भावना देखिन्छ। आगामी तीन दिनलाई मनसुन बाहिरिने सम्भावना छैन।”

भारतको जल तथा मौसम विज्ञान विभागले आगामी साताको सुरुसम्म उत्तरपूर्वी क्षेत्रका कतिपय स्थानमा भारीदेखि अतिभारी वर्षा हुने भनिएको छ। बुधवार र बिहीवार आसाम र मेघालयसहितका स्थानमा ठूलो वर्षा हुन सक्छ।

नेपालको जल तथा मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको आंशिक प्रभाव रहेको मङ्गलवार बिहान जनाएको थियो।

वर्षाको साङ्केतिक तस्बिर

मङ्गलवार दिउँसो कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। राति पनि ती स्थानहरूमा हल्कादेखी मध्यम वर्षाको सम्भावना छ।

बुधवारको प्रक्षेपणमा कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। बुधवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याउँदै मौसमविद्हरूले साँझ मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताएका छन्।

कोशी प्रदेशका एक-दुई स्थानमा बुधवार राति र बिहीवार दिउँसो भारी वर्षाको सम्भावना औँल्याइएको छ। बिहीवार राति पनि कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहने भनिएको छ।

विभागले आगामी २४ घण्टाका लागि कोशी, बागमती र गण्डकी प्रदेशमा सावधानी अपनाउन भनेको छ। खास गरी सडक तथा हवाई यातायात, स्वास्थ्य, पर्यटन, पर्वतारोहण लगायतका क्षेत्रलाई उल्लेख गर्दै सुझाव दिइएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष सेप्टेम्बर ३० सम्मको तथ्याङ्क हेर्दा १,७०६.२ मिलिमिटर वर्षा भइसकेको छ।

दाङबाट देखिएको सूर्यास्तको दृश्य
RSS
नेपालमा अहिलेसम्मको सर्वाधिक उच्च तापक्रम

  • ४६.४°Cधनगढी, सन् १९९५ जुन १६

  • ४५.८°Cसेमरी, नवलपरासी पश्चिम, सन् १९९५ अगस्ट २

  • यो वर्ष ४५.३°Cटीकापुर, कैलाली, मे ३०

  • यो वर्ष ३३.४°Cकाठमाण्डूमा मे २४, ३० र जुन १०

  • काठमाण्डूमा सर्वाधिक३६.६°C, सन् १९८९ मे ७

स्रोतः Department of Hydrology and Meterology

नेपालमा तीन दिनको मात्रै मौसम पूर्वानुमान किन

गत वर्ष जुन १४ मा नेपाल प्रवेश गरेको मनसुन अक्टोबर १५ मा बाहिरिएको घोषणा गरिएको थियो। सो वर्षमा १,५७०.४ मिमि वर्षा भएको अधिकारीहरूले बताएका थिए।

जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले यो वर्षको वर्षाले हालसम्मकै अत्यधिक वर्षा भएको हो कि हैन भन्ने पछि मात्रै भन्न सकिने बताइन्।

“यो पछि रिपोर्टहरू तयार पार्दा आउँछ। विगतमा यतिका सङ्ख्याको मौसम केन्द्रका विवरण हामीसँग थियो कि थिएन, त्यसले पनि अर्थ राख्छ। तर उल्लेख्य केही देखियो तथ्याङ्कमा भने हामी सार्वजनिक गर्छौँ।”

अविरल वर्षाले गएको काठमाण्डूनजिकै झ्याप्लेखोलामा गएको पहिरो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अविरल वर्षाले गएको हप्ता काठमाण्डूनजिकै धादिङको झ्याप्लेखोलमा पहिरोमा परेर कम्तीमा ३५ जनाको मृत्यु भयो

मौसमविद् झाले नेपालमा मनसुन पूर्वबाट भित्रिएर देशभरि फैलने र बाहिरिने क्रममा बिस्तारै पश्चिमबाट जाने गरेको बताए।

“अहिले भारतको गुजरात र आसपासका क्षेत्रबाट मनसुन बाहिरियो तर अन्यत्र बाहिरिन थालेको छ। हामीले पनि पश्चिम भूभागबाट बाहिरिन थालेपछि त्यसबारे अद्यावधिक जानकारीहरू उपलब्ध गराउँदै जाने छौँ।”

पोहोरकै जति समय नेपालमा मनसुन रहेको खण्डमा यसपालि 'हिले दशैँ' हुने आशङ्का सर्वसाधारण मानिसमा देखिन्छ।

तर अधिकारीहरूले नेपालसँग तीन दिनको मात्रै मौसम प्रक्षेपण गर्ने सामर्थ्य रहेको र त्यसलाई विस्तार गरी एक साताको मौसम पूर्वानुमान गर्ने क्षमता विस्तार गर्न सरकारले प्रयास गरिरहेको बताउने गरेका छन्।

“सात दिन-१० दिनको मौसम पूर्वानुमान गर्नका लागि हामीसँग स्रोतसाधन छैन। नेपाल सरकारको १६औँ योजनामा सात दिनसम्मको पुर्‍याउने लक्ष्य राखिएको छ र त्यसलाई हासिल गर्नका लागि नेपाल सरकारले कामहरू गर्नुपर्ने देखिन्छ,” झाले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।