उत्तर कोरियाले चाँडै 'जासुसी भूउपग्रह प्रक्षेपण गर्ने'

उत्तर कोरियाका नेता किम जङ अनका लागि जासुसी भूउपग्रहको सफल प्रक्षेपण एउटा ठूलो उपलब्धि हुने छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, उत्तर कोरियाका नेता किम जङ अनका लागि जासुसी भूउपग्रहको सफल प्रक्षेपण एउटा ठूलो उपलब्धि हुने छ

उत्तर कोरियाले 'गुप्तचरी गर्ने उद्देश्यले फेरि भूउपग्रह प्रक्षेपण गर्न सक्ने' जापानले दाबी गरेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार त्यस्तो प्रक्षेपण चाँडोमा बुधवार मध्यरातसम्म हुन सक्छ।

टोक्योका अनुसार प्योङ्याङले नौ दिनको अवधिभित्र जासुसी भूउपग्रह प्रक्षेपण गर्ने जानकारी प्राप्त भएको छ। उक्त अवधि आगामी साता बिहीवार नोभेम्बर ३० को मध्यरातमा सकिन्छ।

जापानले दक्षिण कोरियासँग मिलेर प्योङ्याङलाई त्यस्तो प्रक्षेपण रोक्न आग्रह गर्ने भएको छ। दुवै देशले जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउनु संयुक्त राष्ट्रसङ्घबाट पारित सङ्कल्प प्रस्तावहरूको उल्लङ्घन गर्नु हो भनेका छन्।

यसअघि उत्तर कोरियाले दुई पटक जासुसी भूउपग्रह अन्तरिक्षमा पठाउने प्रयास गरेको थियो। तर दुवै पटक प्रक्षेपणहरू विफल भएका थिए।

गत अगस्ट महिनाको अन्तिम सातामा उत्तर कोरियाले दक्षिण कोरियाका सैन्य स्थलहरूमा परमाणु आक्रमणको 'सिम्यूलेशन' अर्थात परिकल्पनाका आधारमा गरिएको अभ्यास भन्दै छोटा दूरीका दुइटा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरिएको दाबी गरेको थियो। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरिरहेको बेला चेतावनी दिन प्योङ्याङले त्यसो गरेको बताएको थियो।

समुद्रमा उत्तर कोरियाले प्रक्षेपण गर्न खोजेको जासुसी भूउपग्रहको भग्नावशेष

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत मे महिनामा प्योङ्याङले पहिलो पटक जासुसी भूउपग्रह प्रक्षेपण गर्ने प्रयास गरेको थियो (फाइल तस्बिर)

उत्तर कोरियाले पठाएको सूचनामा के छ

जापान कोस्ट गार्डका अनुसार उत्तर कोरियाले पठाएको सूचनामा तीनवटा सामुद्रिक क्षेत्र उल्लिखित छन्। ती क्षेत्रमा उत्तर कोरियाले प्रक्षेपण गर्ने भूउपग्रह बोक्ने रकेटका भग्नावशेषहरू खस्न सक्ने ठानिएको छ।

तीमध्ये दुई क्षेत्र कोरियाली प्रायःद्वीपभन्दा पश्चिममा छन् भने एउटा फिलिपिन्सको लुजोन टापुभन्दा पूर्वमा छ।

प्योङ्याङले जासुसी भूउपग्रह प्रक्षेपण गरे सोलले "आवश्यक कदम" चाल्ने चेतावनी दक्षिण कोरियाली सेनाका वरिष्ठ अधिकारी काङ हो-पिलले दिएका छन्।

किम जङ अनका लागि किन विशेष

उत्तर कोरियाका नेता किम जङ अनका लागि जासुसी भूउपग्रहको सफल प्रक्षेपण एउटा ठूलो उपलब्धि हुने ठानिएको छ।

त्यसबाट उत्तर कोरियामाथि हुन सक्ने आक्रमण पत्ता लगाउन सहज हुने छ अनि किम आफैँले आफूअनुकूल सैन्य आक्रमणका योजना बनाउन पाउने छन्।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले प्योङ्याङलाई भूउपग्रह प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ। राष्ट्रसङ्घले भूउपग्रह प्रक्षेपणलाई उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको पूर्वाभ्यास मानेको छ।

किम र पुटिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, केही महिनाअघि किमले रुस भ्रमण गरेका थिए

गत मे महिनामा उत्तर कोरियाले गरेको प्रक्षेपण विफल भएपछि दक्षिण कोरियाले समुद्रमा भग्नावशेष फेला पारेको थियो। त्यस बेला उसले उत्तरले अन्तरिक्षमा पठाउन खोजेको भूउपग्रहको "सैन्य उपयोगिता नभएको" बताएको थियो।

प्योङ्याङले फेरि अगस्टमा दोस्रो पटक गरेको भूउपग्रह प्रक्षेपणको प्रयास पनि विफल भएको थियो।

त्यस बेला उत्तर कोरियाली अन्तरिक्ष निकायले अक्टोबरमा पुनः अर्को प्रयास गरिने जनाएको थियो। तर अक्टोबरमा प्योङ्याङले भूउपग्रह प्रक्षेपण गर्ने प्रयास गरेन।

गत सेप्टेम्बर महिनामा किम जङ अन रुस भ्रमणमा जाँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङ्याङलाई भूउपग्रह निर्माण गर्न सघाउने बताएका थिए।

तर रुसले त्यस विषयमा उत्तर कोरियालाई कस्तो वचन दिएको हो भन्नेबारे थप कुरा थाहा भइसकेको छैन।

उत्तर कोरियासँग भएका क्षेप्यास्त्र

दक्षिण कोरियाको योजना के छ

यो महिनाको सुरुतिर दक्षिण कोरियाले पनि नोभेम्बरको अन्त्यसम्ममा आफ्नै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको थियो।

दक्षिण कोरियाली भूउपग्रह अन्तरिक्षमा लैजान अमेरिकी कम्पनी स्पेसएक्सको एउटा रकेट प्रयोग हुने छ।

सोलले सन् २०२५ सम्म आफ्ना पाँचवटा त्यस्ता भूउपग्रह अन्तरिक्षमा पठाउने योजना बनाएको बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।