चीनमा 'नेपाल भ्रमण वर्ष' आयोजना गर्ने निर्णयसँगै सबैको ध्यान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
तस्बिरको क्याप्शन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट चाँडै नियमित उडान हुने प्रधानमन्त्री प्रचण्डले बताएका छन्

सन् २०२५ मा चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्ष मनाउने चीन र नेपालको संयुक्त घोषणाबाट फाइदा लिन पोखरा र भैरहवाजस्ता नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै उडान गराउनु अनिवार्य भएको पर्यटन क्षेत्रका विज्ञहरूले बताएका छन्।

बेइजिङस्थित नेपाली राजदूतले चिनियाँ ऋणमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्ने, चीनका विभिन्न सहरबाट हुने उडानहरूको सङ्ख्या वृद्धि गर्ने र काठमाण्डूलाई तिब्बतको मानसरोवरलाई हवाई सञ्जालबाट जोड्नेसहितका विषयमा प्रधानमन्त्रीले अघिल्लो महिना गरेको चीन भ्रमणका क्रममा छलफल भएको बताएका छन्।

उनले सन् २०२५ मा चीनमा नेपाल पर्यटन वर्ष मनाउने दुई देशको घोषणाले नेपालको पर्यटन प्रयासलाई थप टेवा पुर्‍याउने धारणा राखेका छन्।

तर पर्यटन क्षेत्रका जानकारहरूले चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गर्न र उनीहरूको आवागमनबाट अझ बढी लाभ दिन हवाई सम्पर्क सञ्जाललाई अझ विस्तार गरिनुपर्ने र नयाँ पर्यटन गन्तव्यहरूलाई प्रवर्द्धन गरिनुपर्ने बताएका छन्।

नेपाल चीनले पर्यटनसम्बन्धी के घोषणा गरेका छन्?

प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरमा गरेको चीन भ्रमणका क्रममा दुई देशले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा चीनले आफ्ना पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उल्लेख गरेको छ।

दुवै देशले सन् २०२५ मा चीनमा नेपाल भ्रमण वर्ष मनाएर चिनियाँ पर्यटकहरूलाई नेपालको भ्रमण गर्न प्रेरित गर्न सांस्कृतिक र पर्यटकीय आदानप्रदानसम्बन्धी गतिविधि आयोजना गरिने भनिएको छ।

त्यसबाहेक दुवै देशले आफ्ना देशका वायु सेवा प्रदायकहरूलाई थप उडान भर्न र पोखरासहितका नयाँ गन्तव्यहरूमा सेवा दिन सहयोग र प्रेरित गर्ने भनिएको छ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति सीसँग

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रधानमन्त्री प्रचण्डको भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा नेपाल भ्रमण वर्षको चर्चा गरिएको छ

चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भ्रमण वर्षलाई प्रवर्द्धन गर्न परम्परागत नाकाहरू खोल्ने र हवाई उडानहरूको सङ्ख्या विस्तार गर्नेबारे सहमति भएको बताए।

उनले भने, “हामीले चीनलाई धेरै शहरहरूमा हवाई सम्पर्क सञ्जाल जोड्नुपर्‍यो भनेका छौँ। अहिले हिमालय एअरलाइन्सले बेइजिङबाट पनि जोडेको छ। छिङ्दाओसँग पनि जोडिएको छ। अब केही समयपछि चोङचिङबाट पनि काठमाण्डू आउँछ।”

उनले यो वर्षको अन्त्यसम्ममा ल्हासा र काठमाण्डूबीच पनि सोझै उडान हुने बताए।

उनले थपे, “हामीले काठमाण्डूदेखि मानसरोवरसँग पनि हवाई जहाज जोडौँ भनेका छौँ। धार्मिक पर्यटकहरूलाई सजिलो होस् भन्ने छ। ल्हासा काठमाण्डूलाई पनि बसले जोडौँ र सन् २०२५ लाई भ्रमण वर्षको रूपमा हामी मनाउँदै छौँ, त्यति बेलासम्म सबै ठाउँमा सम्पर्क सञ्जाल विकास होस् भन्ने हाम्रो मुख्य ध्येय हो।”

उनले छेङ्दु र तिब्बतबाट पोखरामा सोझै उडान गर्न सकिने भन्दै त्यसबारे पनि छलफल भएको बताए।

उनले थपे, “त्यही छलफलकै आधारमा अरू सहरहरूबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जोडौँ भनेर त्यो विषय संयुक्त विज्ञप्तिमा पनि छ।”

पर्यटन क्षेत्रले राखेको आशा

प्रचण्ड

तस्बिर स्रोत, नेपाल

तस्बिरको क्याप्शन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानका लागि प्रयोग भइरहेको छ

बर्सेनि भारतपछि सबैभन्दा बढी चिनियाँ पर्यटक नेपाल आउने गर्छन्।

सन् २०१२ मा लगभग ७२ हजार चिनियाँ पर्यटक नेपाल आएकोमा कोभिड महामारी देखिनुभन्दा अघि सन् २०१९ सम्म उक्त सङ्ख्या १ लाख ७० हजार पुगेको थियो।

भारतबाट सन् २०१२ मा १ लाख ६५ हजार जनाभन्दा बढी पर्यटक आएकोमा त्यो सङ्ख्या सन् २०१९ मा २ लाख ५४ हजार भन्दा बढी थियो।

तर पछिल्लो पटकको कोभिड महामारीले उत्पन्न गराएको गम्भीर जनस्वास्थ्य जोखिममाझ यात्रा अवरोधहरू हटेपछि पर्यटन क्षेत्रले गति लिने प्रयास गरिरहेको छ।

नेपाल

तस्बिर स्रोत, BBC

सन् २००० देखि नेपालमा चिनियाँ पर्यटकहरूलाई भित्र्याइरहेका एकजना व्यवसायी विश्वेश श्रेष्ठ पछिल्लो समयमा नेपाल चीनबीचको सीधा उडान सङ्ख्या उल्लेख्य रूपमा घटेको उल्लेख गर्दै चिनियाँ पर्यटकहरू भित्र्याउन ठोस रणनीतिहरू अवलम्बन गरिनुपर्ने ठान्छन्।

उनले भने, “विगतमा हामीले एक वर्षमा दुई लाखसम्म चिनियाँ पर्यटक ल्याइसकेका छौँ र सेवा दिएर पठाइसकेका छौँ। त्योभन्दा अहिले हाम्रो पूर्वाधार राम्रो छ। पहिला जस्तो गाइड वा खानेकुराको अहिले समस्या छैन। तर पहिला सर्वाधिक व्यस्त समयमा हुने बेलाको उडान सङ्ख्यासँग तुलना गर्ने हो भने अहिले पाँच भागको एक भाग पनि छैन। त्यसलाई हामीले सुधार्नुपर्छ।”

उनले चिनियाँ पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढाउन पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सीधा उडान गरिनुपर्ने बताए।

उनले थपे, “चीनबाट पोखरा वा भैरहवामा सोझै उडान आउनसक्यो भने त्यसले एउटा नयाँ गन्तव्यको पनि विकास हुन्छ र हामीले नयाँ प्याकेज पनि बेच्न सक्छौँ।”

उनको भनाई छ, “पुरानै शैलीबाट काठमाण्डूको विमानस्थलबाट गर्दा धेरै कुरा नफेरिएला। तर चिनियाँ सरकारको कुनै किसिमको संलग्नतामा नै विमानस्थल बनेको छ भने चिनियाँ पर्यटकहरू त्यहीबाट आउन थाले भने हामीले भ्रमण वर्षलाई अलिक राम्रोसँग लैजान सक्छौँ।”

दुई देशको निर्णयको महत्त्व के छ?

नेपाल र चीनबीचको संयुक्त विज्ञप्तिमा चिनियाँ पर्यटकहरूलाई लक्षित गरी दुई देशले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने उल्लेख गरेको भए पनि नेपालले आमरूपमा उक्त वर्षलाई भ्रमण वर्ष मनाउन लागेको हो वा होइन भन्ने प्रस्ट छैन।

पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीले चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गर्ने वर्ष मनाउने सन्दर्भमा प्रधानमन्त्रीको भ्रमणमा समझदारी भएको बताए।

यसअघि नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको भए पनि कोभिड महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो। त्यसले एक वर्षभित्र १५ लाख पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य पूर्ण रूपमा विफल भएको थियो।

नेपालमा पर्यटन प्रवर्द्धन गर्न ड्रयागन बोट फेस्टिभल आयोजना गरिएको थियो
तस्बिरको क्याप्शन, पोखरामा केही समय पहिले ड्रायगन बोट फेस्टिभल आयोजना गरिएको थियो

चीनले अन्तर्राष्ट्रिय यात्रा अनुमतिमा बन्देज लगाइरहेको भए पनि सन् २०२२ मा भारतसहितका देशहरूबाट ६ लाख १५ हजार जति पर्यटकले हवाई मार्ग हुँदै नेपालको भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपक जोशी प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा दुवै देशले पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुलाई सकारात्मक ठान्छन्।

उनले भने, “चीन आजका दिनसम्म नेपालका लागि दोस्रो ठूलो स्रोत बजार हो। अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने बाहिर सबैभन्दा ठूलो सङ्ख्यामा पर्यटकहरू पठाउने देश चीन हो। सरकारले नै नेपाल भ्रमणको कुरा गरिसकेपछि पक्कै पनि चीनमा त्यो सन्देश बाहिर जान्छ र हाम्रै पर्यटन बोर्ड र अरू सेवा प्रदायकहरूलाई चीनमा मार्केटिङ गर्न सजिलो हुन्छ।”

नेपाल सरकारले के गर्नुपर्छ?

जोशीले सन् २००३-०४ तिर चीनले आफ्ना नागरिकहरूले घुम्न जान मिल्ने देशको सूचीमा नेपाललाई राखेको उल्लेख गर्दै त्यसपछि बिस्तारै काठमाण्डूमा चिनियाँ पर्यटकहरू आउन थालेको बताए।

उनले अहिले नेपालले पर्यटन क्षेत्रमा भोगिरहेको सबैभन्दा ठूलो चुनौती भनेको सम्पर्क सञ्जाल रहेको बताए।

जोशी थप्छन्, “पहुँचको ज्यादै ठूलो समस्या छ। दुईवटा विमानस्थल आए तर सफलतापूर्वक सञ्चालन हुन सकेका छैनन्। यो पालीको भ्रमणमा पनि केही छलफलहरू भए पनि ठोस रूपमा यसरी सञ्चालन हुन्छ भन्ने कुरा आएको छैन।”

स्वदेश फर्किएपछि संवाददाताहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले बढीभन्दा बढी चिनियाँ सहरबाट नेपालमा उडान गर्न सैद्धान्तिक सहमति भएको भन्दै दुवै देशका नियामक निकायहरूले अब प्राविधिक काम अघि बढाउने बताएका थिए।

उनको भनाई थियो, “सबै कुराकानीबाट मलाई के लाग्छ भने छेङ्दुबाट पोखरा छिटै हुनसक्छ र अरू सहरहरूबाट पनि आवश्यक प्रक्रिया पुरा गरेर सीधा उडान हुन्छ।”

चीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चीन नेपालको एउटा प्रमुख पर्यटकीय स्रोत मुलुक हो

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत जोशीले मालदिभ्समा हवाई मार्गबाट जाने कुल पर्यटकको लगभग ४० प्रतिशत चार्टर उडानबाट जाने गरेका उल्लेख गर्दै नेपालको सन्दर्भमा पनि त्यस्तो सम्भावना रहेको बताए।

त्यसबाहेक बढी खर्च गर्ने खालका पर्यटकहरूलाई आकर्षित गर्न नयाँ गन्तव्यहरूको पहिचान, गन्तव्यसम्म पुग्ने पूर्वाधारहरूको स्तरोन्नति र महत्त्वपूर्ण चिनियाँ बजारहरूमा प्रवर्द्धनात्मक गतिविधिहरूलाई बढाउनुपर्ने उनले सुनाए।

चिनियाँ एक्जिम ब्याङ्कबाट २८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज भुक्तानीको प्रक्रिया अर्को वर्षबाट सुरु हुने नेपाली अधिकारीहरूले यसअघि बताएका थिए।

हालसम्म उक्त विमानस्थलमा चीनबाट एकाध चार्टर उडान भएका छन् भने अधिकांश रूपमा सो विमान आन्तरिक उडानहरूको लागि प्रयोग हुँदै आएको छ।

आफैँ कमाएर ऋण तिर्ने भनिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिएको ऋण मिनाहा गराउने बेइजिङसँग छलफल गर्ने विषयमा नेपाली अधिकारीहरूले परामर्श गरेका थिए।

त्यसबारे प्रधानमन्त्रीको चीन भ्रमणको समयमा कुनै टुङ्गो नलागेको भए पनि नेपाल भ्रमण वर्ष आयोजना गर्नेबारे बेइजिङमा भएका निर्णयले सम्पर्क सञ्जालसहितका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई बढावा दिनसक्ने सम्भावना रहेको अधिकारीहरूले विश्वास गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशबाहिर उडानहरू सुरु हुँदा त्यसले पोखराको पर्यटनमा टेवा दिने र विमानस्थल निर्माणका लागि लिएको ऋण तिर्नसमेत मद्दत गर्नसक्ने ठानिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।