कोरोनाभाइरस: नेपाल भ्रमण वर्षमा चीनबाट पाँच लाख पर्यटक आउने आशा अब के होला

तस्बिर स्रोत, EPA
निकै ठूलो प्रचारप्रसारसहित सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० को एउटा प्रमुख लक्ष्य एक वर्षमा २० लाख पर्यटक भित्र्याउनु हो।
तर चीनमा फैलिएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा घट्न सक्ने त्रास उब्जिएको छ।
त्यसले भ्रमण वर्षको लक्ष्य प्रभावित हुन सक्ने आशङ्का पर्यटन व्यवसायीहरूले गरेका छन्।
कोरोनाभाइरसका कारण चीनमा सयौँ मानिसको मानिसको ज्यान गइसकेको छ भने हजारौँ मानिसमा सङ्क्रमण भएको छ।
अहिलेसम्मको तथ्याङ्कमा के छ?
गत ज्यानुअरी महिनाको पर्यटक आगमनको तथ्याङ्कले नेपालका पर्यटन अधिकारीहरूलाई मिश्रित सन्देश दिएको छ।
अघिल्लो वर्ष पहिलो महिनामा नेपाल आउने विदेशीको सङ्ख्या ८१,२७३ थियो। यसपालि उक्त सङ्ख्या दुई प्रतिशतले घटेको देखिएको छ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार गत महिना ७९,६८६ पर्यटक नेपाल आएका थिए।

तर अनौठो चाहिँ के छ भने पर्यटन बोर्डले दिएको आँकडाका अनुसार ज्यानुअरी महिनामा नेपाल भ्रमण गर्ने चिनियाँहरूको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिभन्दा थोरै बढी छ।
"अघिल्लो ज्यानुअरीमा १२,९१६ चिनियाँ आएका थिए भने यसपालि १३,३०३ चिनियाँ आएका छन्," लामिछानेले भने।
चीनबाट पर्यटक घटे कस्तो असर?
गत वर्षको तथ्याङ्क हेर्ने हो भने नेपाल भ्रमणमा आएका झन्डै १२ लाख पर्यटकमध्ये झन्डै १५ प्रतिशत चिनियाँ थिए।
अर्थात् २० लाखको लक्ष्यमा १५ प्रतिशत भनेको लगभग तीन लाख हुन आउँछ।
तर यसपालि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको अनि अनौपचारिक कुराकानीमा पाँच लाखसम्म चिनियाँ पर्यटक आउन सक्ने छलफल भएकाले नेपालका पर्यटन अधिकारीहरूले उत्तरी छिमेकमा निकै भर गरिरहेका थिए।

तस्बिर स्रोत, AFP via Getty Images
साथै हाल नेपाल-चीनबीच हवाई यात्रु क्षमतापनि झन्डै साढे चार लाखको हाराहारीमा पुगेकाले चार-पाँच लाख चिनियाँ भित्र्याउने अपेक्षा राखिएको थियो।
तर त्यो लक्ष्यमा पछिल्ला घटनाक्रमका कारण तुषारापात हुने सम्भावना बढेको कतिपयले ठानेका छन्।
अन्य देशबाट हुने पर्यटक आगमनमा के होला?
कोरोनाभाइरस सङ्क्रमणको पहिलो प्रत्यक्ष अन्तर्राष्ट्रिय असर हवाई आवागमनमा नै परिरहेको देखिन्छ।
हालसम्म विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसकै कारण अन्तर्राष्ट्रिय आवागमन एवं व्यापारमा कुनै अङ्कुश लगाउनुपर्ने अवस्था नआएको बताइरहेको छ।

तस्बिर स्रोत, TWITTER/TIACAO2
तर व्यवहारमा मानिसहरू यो समय आवतजावत गर्न त्यति उत्सुक नहुने पर्यटन व्यवसायीहरूमा डर छ।
नेपालका पर्यटन व्यवसायीहरूको सङ्गठन नेपाल एसोसिएशन अफ टूर अपरेटर्स नाटोका अध्यक्ष अशोक पोख्रेल अब नेपालले भ्रमण वर्षको लक्ष्य पुन: समीक्षा गरेर घट्न सक्ने सङ्ख्यालाई कसरी पूर्ति गर्ने भन्ने बारे सोच्ने बेला आइसकेको धारणा राख्छन्।
"कोरोनाभाइरस सङ्क्रमणका कारण पर्यटकहरूको सङ्ख्या त घट्ने नै देखिन्छ। अहिले नै चीनको साथै (दक्षिण) कोरिया र जापानबाट आउनेहरूको सङ्ख्या प्रभावित हुन थालेको छ," पोख्रेलले भने।
उनका अनुसार यो सङ्क्रमणले चिनियाँ मात्रै होइन अन्य पर्यटकको पनि 'यात्रा व्यवहार' मा असर पर्न सक्छ।
"उदाहरणका लागि अमेरिकाबाट अनि अन्यत्रबाट आउने कैयौँ पर्यटक पनि चीन ट्रान्जिट भएर आउँथे। किनकि त्यहाँबाट हवाई भाडा कम पर्न जान्थ्यो। त्यस्ता पर्यटकको सङ्ख्या पनि घट्न सक्छ," पोख्रेलले भने।
यसको प्रभाव नेपालको वसन्तयाममा देखा पर्ने उनले चेतावनी दिए।








