कोरोनाभाइरस: चीनमा फैलिएको रोगले पायो औपचारिक नाम, अबदेखि कोभिड-१९ भनिने

कोरोनाभाइरस बेइजिङ

तस्बिर स्रोत, Getty Images

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ।

"हामीसँग अब उक्त रोगको नाम छ," सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, "त्यो कोभिड-१९ हो।"

संयोगवश चीनमा उक्त भाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको भोलिपल्ट उक्त रोगको नामकरण भएको हो।

हजारौँ मानिसहरूमा उक्त भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ। तर नयाँ सङ्क्रमण भएका बिरामीको सङ्ख्या घटिरहेको अधिकारीहरूले बताएका छन्।

डा. गेहब्रेयससले उक्त भाइरसलाई परास्त गर्न यथासम्भव प्रयास गर्न सबैलाई आग्रह गरेका छन्।

कोरोनाभाइरस पदावलीले एउटा भाइरसलाई मात्रै नभएर अहिले फैलिएको समेत विभिन्न विषाणुको समूहलाई जनाउँछ।

इन्टर्न्याश्नल कमिटी अन ट्याक्सनमी अफ भाइरसेसले नयाँ भाइरसलाई सार्स-कोभ-२ नामकरण गरेको छ।

नयाँ कोरोनाभाइरसले फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नयाँ कोरोनाभाइरसले फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन्

यसअघि कसैकसैले उक्त भाइरसलाई 2019-nCoV भन्ने गरेका थिए।

सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो।

यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीहरूको टोली बेइजिङ पुगेको छ।

अनुसन्धानकर्ताहरूले नामका कारण कुनै देश वा समुदायलाई अप्ठ्यारो नपरोस् भनेर उक्त भाइरस र त्यसले गराउने रोगको नाम सरल हुनुपर्ने औँल्याएका थिए।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

"हामीले कुनै भौगोलिक स्थान, जीव, व्यक्ति वा समुदायलाई इङ्गित नगर्ने तर उच्चारण गर्न सकिने र रोगसँग पनि सम्बन्धित नाम जुराउनुपर्ने थियो," डा. गेहब्रेयससले भने।

नयाँ नाम तीनवटा शब्द कोरोना, भाइरस र डिजीज (रोग) र साल २०१९ को संयोजनमा बनाइएको हो।

विश्व स्वास्थ्य सङ्गठनले डिसेम्बर ३१, २०१९ मा उक्त रोग फैलिएको औपचारिक सूचना पाएको थियो।

कोरोनाभाइरस प्रकोप: मृतकको सङ्ख्या १,००० माथि. . .

चीनमा अहिलेसम्म ४२,००० भन्दा बढी मानिसमा कोभिड-१९ भएको पुष्टि भइसकेको छ।

सोमवार एकैदिन १०३ जनाको मृत्यु भएपछि चीनले हुबे प्रान्तका वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको थियो।

विश्वभरिका वैज्ञानिकहरू यो रोगको प्रकोप नियन्त्रण गर्ने उपायबारे छलफल गर्न जिनिभामा भेला भएका छन्।