कोरोनाभाइरसले सार्सले भन्दा धेरैको ज्यान लियो

तस्बिर स्रोत, Getty Images
चीनमा फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले ज्यान जानेको सङ्ख्या ८०० नाघेको छ।
करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको सङ्ख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ।
सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।
सार्सभन्दा कम घातक?
कोरोनाभाइरसले चीनको हुबेइ प्रान्तमा मात्र ७८० जनाको ज्यान लिएको छ भने कुल मारिनेको सङ्ख्या ८०३ पुगेको छ।
तीमध्ये एकजनामात्र चीन र हङ्कङभन्दा बाहिरका व्यक्ति हुन्।
तर नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको अनुपात भने सार्सभन्दा निकै कम रहेको छ।
नयाँ कोरोनाभाइरसले ३४,८०० मानिस सङ्क्रमित भइसकेका छन्।

तस्बिर स्रोत, Getty Images
गत महिना विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले यसलाई विश्व जनस्वास्थ्य सङ्कटको घोषणा गरेको थियो।
कोरोनाभाइरसको पछिल्लो अवस्था
डब्लुएचओले भाइरस सङ्क्रमणबाट अत्यधिक प्रभावित चिनियाँ क्षेत्रहरूमा त्यसका नयाँ सङ्क्रमणका घटना अलिकति स्थिर हुन थालेको बताएको छ।
तर अहिले नै अब भाइरस सङ्क्रमणको वृद्धि दर रोकिने वा पुन: बढ्ने बारे बताइहाल्ने अवस्था नरहेको उसले जनाएको छ।
आफ्नो पछिल्लो बुलेटिनमा हुबेइ प्रान्तका स्वास्थ्य अधिकारीहरूले शनिवार थप ८१ जनाको ज्यान गएको उल्लेख गरेका छन्।
2019-nCoV नाम दिइएको उक्त भाइरस पहिलोपटक हुबेइको राजधानी वुहानमा देखा परेको थियो।
सो शहरलाई हप्तौँदेखि सार्वजनिक आवागमन रोकेर एक्ल्याइएको छ।
बिहीवार त्यहाँ एक ६० वर्षीय अमेरिकी नागरिक भाइरस सङ्क्रमणका कारण मारिए।
उनी यसरी ज्यान गुमाउने पहिलो गैरचिनियाँ मानिस हुन्।








