कोरोनाभाइरस: चीनबाट फैलिएको नयाँ भाइरसले कसरी उपयुक्त नाम पाउला

तस्बिर स्रोत, Reuters
यो भाइरसले हजारौँ जनालाई सङ्क्रमण गरेको छ र ४०० भन्दा बढीको ज्यान लिइसकेको छ। यसले धेरै स्थानमा सीमा बन्द गराएको छ तथा चीनका विभिन्न भागलाई बन्दजस्तै गराइदिएको छ।
तर यसले अहिलेसम्म एउटा उपयुक्त नाम पाएको छैन।
यसलाई केवल 'कोरोनाभाइरस' भनिएको छ। तर यो नाम त यो भाइरससहित विभिन्न भाइरस अर्थात् विषाणुहरू समाविष्ट एउटा समूहलाई जनाउने शब्द हो।
तत्कालका लागि 2019-nCoV पनि भन्ने गरिएको छ। तर त्यो नाम एकदमै क्लिष्ट छ।
वैज्ञानिकहरूको एउटा समूहले उक्त भाइरसलाई उपयुक्त नाम दिन बृहत् छलफल गरेका छन्। उनीहरूले आफूहरूले छिट्टै नयाँ नाम घोषणा गर्ने बीबीसीलाई बताएका छन्।
नाम जुराउन किन यति लामो समय लाग्यो त?
"नयाँ भाइरसको नामकरण गर्न प्राय: ढिलो हुन्छ। अनि अहिलेसम्म जनस्वास्थ्यसम्बन्धी काममा ध्यान थियो," जन हप्किन्स सेन्टर फोर हेल्थ सिक्युरिटीका वरिष्ठ प्राज्ञ क्रिस्टल वाट्सनले भनिन्।

तर नामकरण पनि प्राथमिकतामा पर्नुमा विभिन्न कारण भएको उनी बताउँछिन्।
यो भाइरसको भेद निर्धारण गर्न वैज्ञानिकहरूले यसलाई नोभल अर्थात् नयाँ कोरोनाभाइरस भन्दै आएका हुन्।
सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा तिनमा मुकुटजस्ता गुच्छा देखिने भएका भाइरसलाई कोरोनाभाइरस भन्ने गरिएको छ।

तस्बिर स्रोत, Smith Collection/Gado
विश्व स्वास्थ्य सङ्गठनले अस्थायी नाम 2019-nCoV प्रयोग गर्न सिफारिस गरेको छ। यसमा पत्ता लागेको साल २०१९, नयाँ जनाउन एउटा अक्षर n र कोरोनाभाइरसका लागि CoV लेखिएको छ। तर यो नाम त्यति चलेको छैन।
"यसको अहिलेको नाम प्रयोग गर्न सजिलो छैन तथा सञ्चारमाध्यम र सर्वसाधारणले यो भाइरसका अन्य नाम प्रयोग गरिरहेका छन्," डा. वाट्सनले भनिन्।
"आधिकारिक नाम नहुँदा मानिसहरूले 'चाइना भाइरस' जस्ता पदावली प्रयोग गर्न सक्ने खतरा हुन्छ। अनि यसले केही समुदायलाई अप्ठ्यारो पार्न सक्छ।"
सामाजिक सञ्जालका कारण अनौपचारिक नामहरू चाँडै स्थापित हुने र तिनको प्रयोग कम गर्न गाह्रो हुने उनको बुझाइ छ।
उक्त भाइरसको औपचारिक नामकरण गर्ने उत्तरदायित्व 'इन्टर्न्याश्नल कमिटी अन ट्याक्सनमी अफ भाइरसेज (ICTV)' को हो।

तस्बिर स्रोत, Getty Images
यसअघि फैलिएका भाइरसको नामकरण गर्दा उक्त समूहले केही पाठ सिकेको छ। सन् २००९ मा H1N1 भाइरसलाई "स्वाइन फ्लू" भनियो। उक्त भाइरस सुँगुरले नभएर मानिसले फैलाउने भए पनि इजिप्टमा भएका सबै सुँगुर मारियो।
औपचारिक नामले पनि समस्या पर्न सक्छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा मेर्स (Mers, मिडल ईस्ट रेस्पिरटरी सिन्ड्रोम) राखिँदा आलोचना गरेको थियो।
केही रोगका नामले निश्चित धार्मिक वा जातीय समुदायलाई अप्ठ्यारो पारेको तथा यात्रा र व्यापारवाणिज्यमा अनुचित अवरोध सिर्जना गरेको र पशुहरूको अनावश्यक मारकाट निम्त्याएको भन्दै उसले एउटा विज्ञप्ति प्रकाशित गरेको थियो।
विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको निर्देशिकाअनुसार नयाँ कोरोनाभाइरसको नाम राख्दा यी कुराहरू हुनुहुँदैन:
- ठाउँको नाम
- मानिसको नाम
- कुनै पशु वा खानेकुराको नाम
- कुनै संस्कृति वा उद्योगलाई सङ्केत गर्ने कुरा
उसले नाम छोटो र वर्णनात्मक हुनुपर्ने उल्लेख गरेको छ। जस्तै सार्स (Sars, सिभिअर अक्यूट रेस्पिरटरी सिन्ड्रोम)।
तर नयाँ भाइरसको नाम रुचिकर र सहज हुनुपर्ने धारणा भाइरोलजीका प्राध्यापक बेन्जमिन नोयमानको छ।
उनीसहित आईसीटीभीका १० सदस्य अहिले चीनमा फैलिएको भाइरसको नामकरण गर्ने समूहमा छन्।
उक्त समूहले दुई हप्तादेखि छलफल गरिरहेको र दुई दिन लगाएर एउटामा सहमति जुटाएको जानकारी नोयमानले दिए।
उक्त नाम प्रकाशित गर्न एउटा वैज्ञानिक जर्नलमा पठाइँदैछ। केही दिनमै त्यो नाम औपचारिक रूपमा घोषणा हुने बताइएको छ।













