कोरोनाभाइरस: चीनबाहिर पहिलो पटक फिलिपिन्समा एक जनाको मृत्यु

फिलिपिन्स

तस्बिर स्रोत, EPA

कोरोनाभाइरसको सङ्क्रमण भएका एक व्यक्तिको पहिलो पटक चीनबाहिर मृत्यु भएको पुष्टि भएको छ।

तर फिलिपिन्समा मृत्यु हुने ती ४४ वर्षीय व्यक्ति चिनियाँ नागरिक हुन् र उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिन्थ्यो।

अहिलेसम्म कोरोनाभाइरसको महामारीमा १४,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ। अधिकांश बिरामीहरू चीनको हुबे प्रान्तमा छन्।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ।

अमेरिका, अस्ट्रेलिया र अन्य देशहरूले चीनबाट विदेशी नागरिकहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई अलग्गै राख्ने व्यवस्था मिलाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप बनाउन अहोरात्र काम

फिलिपन्समा मृत्यु भएका व्यक्तिबारे के थाहा छ?

मृत्यु हुने ती पुरुष हङ्‌कङको बाटो हुँदै एक ३८ वर्षीया महिलासँग फिलिपिन्स आएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ। ती महिलामा पनि सङ्क्रमण भएको पुष्टि भएको छ।

ती पुरुषलाई मनिलास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनलाई गम्भीर खालको न्युमोनिया भयो।

फिलिपिन्सस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रवीन्द्र अभयसिङ्घेले सर्वसाधारणलाई विचलित नहुन आग्रह गरेका छन्।

Coronavirus particles
Science Photo Library
कोरोनाभाइरसको प्रकोप

वुहानमा पहिला पुष्टि भएका ४२५ सङ्क्रमणमा आधारित

  • ५९ वर्षसङ्क्रमित व्यक्तिको औसत उमेर

  • ८९%सङ्क्रमण भएको कम्तीमा पाँच दिनसम्म अस्पताल भर्ना भएनन्

  • ५६%सङ्क्रमित व्यक्ति पुरुष

  • ५५%नयाँ वर्षअघि भएका सङ्क्रमणको समुद्री खाद्यपदार्थसँग सम्बन्ध

स्रोत: The New England Journal of Medicine

चीनबाहिर पहिलो पल्ट कोरोनाभाइरसका कारण कसैको ज्यान गएको पुष्टि भएको भन्दै उनले भने, "हामीले के बुझ्नुपर्छ भने यो स्थानीय रूपमा भएको सङ्क्रमण हैन। ती बिरामी महामारीको केन्द्रबिन्दु भएको ठाउँबाट आएका थिए।"

स्थानीय समाचारपत्र र्‍याप्लरले देशका स्वास्थ्यसचिवलाई उद्धृत गर्दै मृत्यु भएका व्यक्ति स्थिर अवस्थामा भएको र उनमा सुधारको सङ्केत देखिएको भए पनि २४ घण्टामा उनको स्थिति बिग्रिएको उल्लेख गरेको छ।

फिलिपिन्सका स्वास्थ्यसचिव

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, फिलिपिन्सका स्वास्थ्यसचिवका अनुसार भाइरस नफैलियोस् भनेर मृतकको दाहसंस्कार गरिनेछ

स्वास्थ्यसचिव फ्र्यान्सिस्को डुकेले रोग नियन्त्रण गर्न कसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार शव व्यवस्थापन गर्ने भन्ने विषयमा चिनियाँ दूतावाससँग छलफल भइरहेको बताए।

उनका अनुसार ती चिनियाँ नागरिकको शव जलाइनेछ।

सरकारले ती दुई चिनियाँ नागरिक आएको विमानमा भएका अन्य यात्रु तथा तिनको सम्पर्कमा आएका अन्य व्यक्ति पत्ता लगाउने र तिनलाई छुट्टै राख्ने प्रयास भइरहेको डुकले बताएका छन्।

फिलिपिन्समा मास्क किन्दै सर्वासाधारण

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फिलिपिन्सको मनिलामा मास्क किन्दै सर्वसाधारण

फिलिपिन्सले चीनबाट विदेशीहरूको आवागमनमा रोक लगाउने घोषणा गरेको केही क्षणपछि नै कोरानाभारइसबाट एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।

यसअघि फिलिपिन्सले हुबे प्रान्तबाट मात्र विदेशीलाई आउन रोक लगाएको थियो।

चीनमा स्थिति कस्तो छ?

शनिवारसम्म चीनमा ३०४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

हुबे प्रान्तमा मात्रै ४५ जनाभन्दा बढीको ज्यान गएको छ।

वुहान अहिले बन्दजस्तै देखिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वुहान अहिले बन्दजस्तै देखिन्छ

चीनभरि थप २,५९० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै सरकारी टीभीले शनिवारसम्म सङ्क्रमण भएका मानिसको सङ्ख्या १४,३८० पुगेको जनाएको छ।

यूनिभर्सिटी अफ हङ्‍कङको आकलनअनुसार सङ्क्रमण भएका मानिसको सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै हुन सक्छ।

विज्ञहरूका अनुसार वुहानमा मात्रै कम्तीमा ७५,००० जना उक्त भाइरसबाट सङ्क्रमित भएका हुन सक्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस फैलिएको हुबे प्रान्त यस्तो देखिन्छ