नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो तर उनीहरूले गर्ने खर्च घट्यो

पर्यटक

तस्बिर स्रोत, RSS

सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षहरूको तुलनामा पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि भएको तर उनीहरूले नेपालमा गर्ने औसत खर्च घटेको अधिकारीहरूले बताएका छन्।

नेपालमा पर्यटकहरूले गर्ने औसत खर्च घट्दा त्यसले पर्यटनसँग सम्बन्धित व्यवसायीहरूलाई भने चिन्तित बनाएको छ।

पर्यटन बोर्डका अनुसार नेपालमा आउने पर्यटकहरूको सङ्ख्या क्रमिक रूपमा बढिरहेको भए पनि उनीहरूले नेपाल बसाइका क्रममा गर्ने खर्च भने घटिरहेको पाइएको छ।

बोर्डका निर्देशक समेत रहेका सह प्रवक्ता मणि लामिछानेका अनुसार पछिल्लो विवरण अनुसार नेपालमा पर्यटकहरूले प्रतिदिन गर्ने खर्च ४०.५ अमेरिकी डलर (करिब ५,४०० नेपाली रुपैयाँ) मा खुम्चिएको छ।

यसअघि सन् २०२१ मा पर्यटकहरूले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गरेका थिए। यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारन्टीनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको बताइन्छ।

तर त्यसअघि पनि नेपाल आउने पर्यटकहरूको प्रतिदिन औसत खर्च ५० अमेरिकी डलर आसपास हुने गरेको विभिन्न तथ्याङ्कमा उल्लेख छ।

यसको प्रमुख कारण नेपालमा पर्यटक आउने देशहरूको अर्थतन्त्रमा आएको मन्दीसँगै कोभिड महामारीको प्रभाव पनि हुनसक्ने जानकारहरू बताउँछन्।

पर्यटक सङ्ख्या

नेपाल आउने पर्यटकको सङ्ख्या कति बढ्यो?

कोभिड महामारीपूर्वकै अवस्थामा विदेशी पर्यटक भित्र्याउने सरकारी निकायहरूले पहल गरिरहेको बताए पनि सरकारले सार्वजनिक गरेको वार्षिक बजेटमा सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

सरकारको लक्ष्यअनुसार आगामी डिसेम्बरसम्म पाँच लाख बढी पर्यटक आउनेमा धेरैलाई आशङ्का छ।

तर पर्यटन बोर्डका सह प्रवक्ता लामिछाने बाँकी छ महिनामा छ लाख पर्यटक आउने सम्भावना रहेको बताउँछन्।

“सेप्टेम्बरदेखि नोभेम्बरबीचको तीन महिनामा मात्रै तीनदेखि चार लाख पर्यटक आउने अनुमान छ। बाँकी महिनाहरूमा पनि औसत ६०,००० पर्यटक आउँछन्,” उनले भने।

नेपालमा पर्यटक आगमनको तथ्याङ्क हेर्ने हो भने अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक आउँछन्।

हालसम्मकै सबैभन्दा धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा अक्टोबर महिनामा एक लाख ३४,००० पर्यटक नेपाल आएका थिए।

तर वर्षको सुरुमा सबैभन्दा धेरै विदेशी पर्यटक नेपाल आउने मार्च महिनामा यो वर्ष करिब एक लाख मात्रै पर्यटक नेपाल आएका छन्।

सन् २०१९ को मार्चमा एक लाख २७,००० पर्यटक नेपाल आएका थिए।

नेपालमा सबैभन्दा धेरै कुन देशका पर्यटक आउँछन्?

चिनियाँ पर्यटक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, केही महिनाअघि चिनियाँ पर्यटकहरूको समूहलाई स्वागत गर्न पर्यटनमन्त्री आफैँ विमानस्थल पुगेका थिए

अध्यागमन विभागका अनुसार नेपालमा सबैभन्दा धेरै पर्यटक दक्षिणी छिमेकी राष्ट्र भारतबाट आउँछन्।

यो वर्षको पहिलो छ महिनामा भारतबाट मात्रै एक लाख ६७,००० पर्यटक हवाईमार्गबाट आएका छन्।

गत एप्रिलबाट चीनले कोभिडसम्बन्धी प्रतिबन्धहरू खुला गरेपछि त्यहाँबाट आउने पर्यटकहरूको सङ्ख्या पनि उल्लेख्य वृद्धि भएको पर्यटन बोर्डका अधिकारीहरू बताउँछन्।

तर सन् २०२३ को जूनसम्म चीनबाट जम्मा २०,००० पर्यटक मात्रै आएको देखिन्छ।

नेपालमा कोभिड महामारीपूर्वका वर्षहरूमा भने चीनबाट आउने पर्यटकहरूको हिस्सा ११ देखि १५ प्रतिशतसम्म देखिन्छ।

यो भारतीय पर्यटकपछि सबैभन्दा धेरै हो।

पर्यटक धेरै आउने देशहरू

भारतबाट आउने पर्यटकहरूको हिस्सा कोभिडपूर्वका वर्षहरूमा १३ देखि २३ प्रतिशतसम्म देखिन्छ।

तर सन् २०२१ मा भारतीय पर्यटकहरूको हिस्सा करिब ४३ र २०२२ मा ३४ प्रतिशत रह्यो।

पर्यटन बोर्डका अनुसार यो वर्षको पहिलो छ महिनामा मात्रै ४,७६,४८१ जना पर्यटक नेपाल आइसकेका छन्।

तीमध्ये सबैभन्दा धेरै सार्क राष्ट्रबाट ४१ प्रतिशत छन्।

युरोपबाट १७ र एशियाका अन्य देशबाट १५ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटनमा आश्रित व्यवसायहरू कस्तो अवस्थामा छन्?

फेवाताल

होटल व्यवसायीहरूको साझा संस्था होटेल असोसिएशन अफ नेपालका अध्यक्ष विनायक शाह पर्यटकहरूको सङ्ख्या बढे पनि होटल व्यवसाय घाटामै रहेको बताउँछन्।

जानकारहरूका अनुसार यसको एउटा कारण पछिल्लो समय थपिएका नयाँ होटलको उल्लेख्य सङ्ख्या पनि हो।

अध्यक्ष शाह होटलहरूको व्यापार नाफामा जानका लागि कम्तीमा ३८ देखि ४० प्रतिशत बुकिङ हुनुपर्ने बताउँछन्। उनका अनुसार अहिले होटलहरूको बुकिङ एकतिहाइको हाराहारीमा छ।

“केही ठूला होटलहरू राम्रै चलेका छन्। तर बाँकीलाई समस्या छ। हामीसँग सेवा बढेको छ, तर माग बढाउन सकेका छैनौँ। त्यसका लागि पर्यटकहरू ल्याउने पूर्वाधार बढाउन जरुरी छ,” उनले भने।

नेपालमा पर्यटक र तारे होटेलहरूमा शय्याको सङ्ख्या २०६९ सालमा ३१,००० रहेकोमा २०७९ सालसम्म बढेर ५३,००० पुगेको छ।

साङ्केतिक तस्बिर
तस्बिरको क्याप्शन, pls add red line here
साङ्केतिक तस्बिर
तस्बिरको क्याप्शन, pls add red line here

पोखरा र भैरहवामा नयाँ बनेका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा ल्याउन सकिए त्यसले नेपालको पर्यटनलाई थप सहयोग पुर्‍याउन सक्ने शाह ठान्छन्।

नेपालको प्रमुख पर्यटकीय सहर पोखरा पर्यटन परिषद्‌का अध्यक्ष पोमनारायण श्रेष्ठ राजधानी काठमाण्डू र अर्को प्रमुख पर्यटकीय गन्तव्य सौराहा जोड्ने सडक पूर्वाधारको रुग्ण अवस्थाका कारण पोखरामा पर्यटकको सङ्ख्या घटेको बताउँछन्।

मुग्लिङ-पोखरा सडक खण्ड र नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम भइरहेका कारण धूलो र हिलोको समस्याले पर्यटकहरू यो बाटो यात्रा गर्न अनिच्छुक देखिएको हुनसक्ने पोखराका व्यवसायीहरूको आकलन छ।

“बाटोका कारण पनि विगतमा पाँचदेखि छ घण्टामा हुने यात्राका लागि दोबर समय लागेको अवस्था छ। त्यसमा सरकाले गम्भीर भएर सोच्न जरुरी छ,” उनले भने।

कोभिड महामारी कम भएपछि पर्यटक आगमन सुधारोन्मुख रहे पनि सन्तोषजनक नभएको उनले बताए।

“भूकम्पअघि अफ-सीजनमा पर्यटकको कमी थिएन। हामीले उनीहरूको चहलपहल भूकम्पअघिको अवस्थामा पुर्‍याउन आफ्नो क्षेत्रबाट प्रवर्धनका कामहरू गर्नुपर्ने देखिन्छ,” उनले भने।

उनले कतिपय व्यवसायीहरूलाई अझै पनि भाडा तिर्न र किस्ता तिर्न समस्या रहेको बताए।

पर्यटक बढाउन के गरिँदै छ?

सूर्योदय हेर्दै पर्यटकहरू

पर्यटन बोर्डका सह प्रवक्ता लामिछाने नेपालमा पर्यटकहरूको आगमन ८० प्रतिशतले पुनर्स्थापित भएको बताउँछन्।

उनका अनुसार विशव अर्थतन्त्रको अवस्था थप खराब नभए नेपालमा आउने पर्यटकहरूको सङ्ख्या थप बढ्दै जाने आकलन गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धनका कार्यक्रम गर्न जरुरी रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठ बताउँछन्।

“अहिलेसम्म हामीले भारत र दक्षिण पूर्वी एशियामै प्रवर्धन गरिरहेका छौँ। किनभने यो क्षेत्रमा हवाई भाडा पनि सस्तो छ। युरोपमा आर्थिक मन्दी पनि भएका कारण हामीले यो क्षेत्रमा प्रवर्धनका कामहरू यसपालि कम गरे पनि व्यवसायीहरूले आफ्नै बलबुतामा गरिरहनुभएको छ,” लामिछानेले भने।

बोर्डले यसअघि दक्षिण कोरिया, मलेशिया, सिङ्गापुर, बाङ्ग्लादेश र दक्षिण कोरिया लगायतका देशहरूमा यो वर्ष पर्यटन प्रवर्धनका कार्यक्रम गरिएको जनाएको छ।

पर्वतारोहणमा के छ स्थिति?

पर्यटक

नेपालमा पर्यटन व्यवसायको मेरुदण्ड भन्ने गरिएको पर्वतारोहणका लागि आउने पर्यटकहरू भने यो वर्ष उल्लेख्य सङ्ख्यामा बढेका छन्।

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त याममा २८ वटा हिमाल आरोहणका लागि १,१७६ जनाले अनुमति लिएका थिए। जसबाट सरकारलाई रोयल्टी मात्रै ७६ करोड ५७ लाख नेपाली रुपैयाँ सङ्कलन भएको थियो। त्यसमध्ये अधिकांश आरोहीहरू विदेशी थिए।

गत वर्ष यही याममा आरोहणको अनुमति लिनेको सङ्ख्या ९८६ थियो भने त्यसमा ६४ जना नेपाली थिए। हिमाल आरोहण अनुमतिबाट गत वर्ष झन्डै ५० करोड रोयल्टी सङ्कलन भएको थियो।

कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ मा पनि ८६८ जनाले मात्रै आरोहण अनुमति लिएका थिए जसबाट करिब चार करोड ५० लाख राजस्व सङ्कलन भएको थियो।

आरोहणका लागि आउने पर्यटकहरूको बसाइ पनि लामो हुने र आरोहण टोली र सहयोगीका रूपमा धेरै जना नेपालीले रोजगारी समेत पाउने भएका कारण पर्वतारोहणमा धेरै पर्यटक आउँदा यो क्षेत्र चलायमान हुने जानकारहरू बताउँछन्।