विदेशी सेलिब्रिटी नेपाल आउँदा यसरी पुग्न सक्छ पर्यटन उद्योगलाई फाइदा

तस्बिर स्रोत, Vivek Anand Oberoi/Facebook
केही साताअघि हलीवुड अभिनेता जेट लीले काठमाण्डूको भ्रमण गरे। उनले एक बौद्ध धर्मगुरुसँग छ दिन बिताए। लीले बौद्धनाथ स्तूपअघि खिचेर इन्स्टाग्राममा राखेको तस्बिर एक लाख जनाभन्दा बढीले लाइक गरेका छन्।
डिसेम्बरको अन्त्यमा नै बलीवुड अभिनेता विवेक ओबराय नेपालमा आए। उनले काठमाण्डू, पोखरा र भैरहवाका विभिन्न ठाउँको भ्रमण गरे। उनले आफ्नो घुमघाम र भेटघाटको तस्बिर सामाजिक सञ्जालमा पटकपटक प्रेषित गरे।
ज्यानुअरीको पहिलो साता अमेरिकी सञ्चारसंस्था सीएनएनका चर्चित अन्तर्राष्ट्रिय संवाददाता लेरी म्याडोले नेपालमा खिचिएको "ध्वनिबाट उपचार गर्ने" एउटा परम्परागत विधिबारे ट्विटरमा पोस्ट गरेको भिडिओ भाइरल बनेको छ।
गत वर्ष सार्वजनिक बलीवुड चलचित्र 'उंचाई'को छायाङ्कन पनि नेपालमै भएको थियो। अनि कैयौँ 'ट्राभल भ्लगरहरू' ले नेपाल आएर खिचेका भिडिओहरू यूट्यूब र सामाजिक सञ्जालमा हालिरहेका छन्।
यस्ता गतिविधिले कोभिड महामारीपछि तङ्ग्रिने प्रयास गरिरहेको नेपालको पर्यटन क्षेत्रलाई सहयोग गर्ने अपेक्षा धेरैले गरेका छन्।
चर्चित पाहुना आउँदा नेपालको पर्यटनमा कस्तो प्रभाव
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक तथ्याङ्कले कोरोनाभाइरस महामारीले सन् २०२० र सन् २०२१ मा नेपालको पर्यटनलाई नराम्ररी प्रभावित पारेको देखिन्छ।
सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटकले नेपालको भ्रमण गरेकोमा सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१ मा १ लाख ५० हजार भन्दा बढी विदेशी पर्यटक नेपाल आइपुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
सन् २०२२ मा हवाईमार्गबाट मात्रै ६ लाख १४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए।
तीमध्ये २ लाख १० हजारजति भारत, ७७ हजारभन्दा बढी संयुक्त राज्य अमेरिका, ४४ हजारभन्दा बढी यूके, २६ हजारभन्दा बढी अस्ट्रेलिया र २५ हजारभन्दा बढी विदेशी बाङ्ग्लादेशबाट आएका थिए।
यो लेखमा Facebook बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Facebook cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Facebook पोस्ट समाप्त
पर्यटन मन्त्रालयअन्तर्गत रहेको नेपाल पर्यटन बोर्डको मार्केटिङ र प्रवर्धन हेर्ने वरिष्ठ व्यवस्थापक श्रद्धा श्रेष्ठ केही समययता ख्यातिप्राप्त विदेशी हस्तीहरू नेपाल आएकाले आफूहरूलाई अझ उत्साहित भएको बताउँछिन्।
यसै महिना चीनले आफ्नो अन्तर्राष्ट्रिय सीमा पनि खोलेको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, “त्यस्ता भ्रमणहरूले सकारात्मक प्रभाव पर्छ। जस्तो जेट ली आफ्नो व्यक्तिगत भ्रमणमा गुरु रिम्पोचेलाई भेट्न आउनुभयो। तर विवेक ओबराय आउँदा उहाँले भैरहवा, पोखरा र काठमाण्डूमा विभिन्न कार्यक्रममा पनि भाग लिनुभयो। उहाँहरूलाई पछ्याउने धेरै भएकाले उहाँहरूले नेपालको बारेमा केही लेख्दा मात्रै पनि धेरै राम्रो प्रभाव पर्छ।”
नेपालमा छायाङ्कन भएको बलीवुड चलचित्र सार्वजनिक भएपछि त्यसले पनि धेरै सकारात्मक प्रभाव पारेको स्मरण गर्दै उनले भनिन्, "पहिला हामीलाई दिल्लीमा हुने पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रममा २० जना लैजान समेत गाह्रो हुन्थ्यो। तर उक्त चलचित्रकै कारण हामीले २५ जना लैजान्छौँ भन्दा ७५ जना भन्दा बढीको आवेदन परेको छ।”

फेब्रुअरी महिनाको दोस्रो साता दिल्लीमा हुने दक्षिण एशियाकै पर्यटन प्रवर्धनसम्बन्धी उक्त कार्यक्रममा आफूहरूले 'उंचाई' चलचित्र निर्माण गर्ने पक्षलाई पनि आमन्त्रण गरेर सम्मानित गर्ने प्रयास गरिरहेको उनले सुनाइन्।
पर्यटन व्यवसायीहरूका अनुसार उक्त चलचित्र सार्वजनिक भएपछि पदयात्राजस्ता क्षेत्रमा चासो दिँदै भारतीय पर्यटकबाट सन् २०२३ का लागि बुकिङमा वृद्धि भएको छ।
हवाई दुर्घटनाले थपेको चिन्ता
तर केही साता पहिले पोखरामा भएको यती एअरलाइन्सको हवाई दुर्घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने डर पर्यटन व्यवसायीहरूमा छ।
नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापा भन्छन्, “पर्यटन क्षेत्रमा केही समयसम्म यस्ता दुर्घटनाले असर पार्छ। हवाई दुर्घटनामा यत्रो ठूलो क्षति लामो समयपछि भएको हो। विस्तारै केही समयपछि अवस्था सुधार हुँदै आउँछ भन्ने हाम्रो बुझाइ हो।”
हवाईसुरक्षा सुनिश्चित गर्नका लागि सरकारले वायुसेवालक्षित कार्यक्रमहरू ल्याइनुपर्ने उनको भनाइ छ।
नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा सोलुखुम्बुको लुक्लापछि सबैभन्दा धेरै आन्तरिक उडान हुने स्थानमा पर्छ।
सन् २०२१ मा १९,००० वटाभन्दा बढी उडानमा झन्डै ५ लाख ३० हजार यात्रु पोखरा पुगेका थिए।
चीनको सीमा खुलेपछि बढेको आशा

तस्बिर स्रोत, RSS
चीनले ज्यानुअरी ८ बाट आफ्नो अन्तराष्ट्रिय सीमा खुला गरेसँगै चिनियाँ पर्यटकको आगमन पनि वृद्धि गर्ने अपेक्षा सरकारी अधिकारी र पर्यटन व्यवसायीहरूको छ।
चाइनिज टूर अपरेटर्स असोसिएशन नेपालका अध्यक्ष विश्वेश श्रेष्ठ चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि हुनेमा आशावादी छन्।
कोभिड-१९ भन्दा पहिलेको समयमा नेपाल र चीनबीच साताको ३५ वटा सम्म उडान रहेको उल्लेख गर्दै उनले बिस्तारै चिनियाँ पर्यटकहरूको चहलपहल पनि बढ्ने हुनाले हवाई सञ्जाल विस्तारमा जोड दिए।
अघिल्लो महिना जेट लीबाट भएको नेपाल भ्रमण व्यक्तिगत तवरमा भएकाले त्यति चर्चमा नभएको भए पनि चर्चित चिनियाँ कलाकारहरूको भ्रमणका कारण नेपालमा विगतमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएको उनले सुनाए।
श्रेष्ठ भन्छन्, “केही वर्ष पहिले चिनियाँ चलचित्र 'अप इन द विन्ड'को छायाङ्कन नेपालमा भएको थियो। त्यसमा काठमाण्डू, पोखरा र चितवनका दृश्यहरू थिए। त्यसमा प्याराग्लाइडिङको पनि दृश्य समेटिएको थियो। त्यसपछि निक्कै राम्रो सङ्ख्यामा चिनियाँ पर्यटकहरू नेपाल आएका थिए। त्यसै गरी अभिनेता ज्याकी चान नेपाल आएपछि पनि चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएको थियो।”
उनका अनुसार यस्ता भ्रमण र गतिविधिले "हजारौँ विज्ञापन गर्दाभन्दा बढी फाइदा" नेपालको पर्यटन क्षेत्रलाई दिने गरेको छ।

भारतपछि सबैभन्दा बढी चिनियाँ पर्यटक बर्सेनि नेपाल आउने गर्छन्।
सन् २०१२ मा लगभग ७२ हजार चिनियाँ पर्यटक नेपाल आएकोमा कोभिड महामारी देखिनुभन्दा भन्दा अघि सन् २०१९ सम्म उक्त सङ्ख्या १ लाख ७० हजार पुगेको थियो।
भारतबाट सन् २०१२ मा १ लाख ६५ हजार भन्दा बढी पर्यटक आएकोमा त्यो सङ्ख्या सन् २०१९ मा २ लाख ५४ हजार भन्दा बढी थियो।
चलचित्र 'उंचाई' ले साासिक पर्यटन प्रवर्धन गर्ने विश्वास
सरकारी तथ्याङ्कअनुसार पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा साढे तीन प्रतिशतजति योगदान गर्दै आएको छ।
विश्व ब्याङ्कको एउटा तथ्याङ्कले पर्यटनले नेपालको अर्थतन्त्रमा २ अर्ब डलरभन्दा बढीको प्रभाव पारेको उल्लेख गरेको छ।
कोरा टूर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्य फेरि नयाँ प्रकारको कोरोनाभाइरसले दुःख नदिएको खण्डमा सन् २०२३ मा नेपालको पर्यटन क्षेत्रले थप सुधार देख्ने ठान्छन्।
उनले भने, “मेरो विचारमा यो वर्षमा साढे सात वा आठ लाख पर्यटक पुग्छन्। मेरो विचारमा सन् २०१९ को जति सङ्ख्या सन् २०२५ अघि पुग्न गाह्रै छ। किनभने त्यसका लागि ३० देखि ४० प्रतिशत वृद्धि हुनुपर्छ जुन सजिलो छैन।”
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
सन् २०१९ मा झन्डै १२ लाख पर्यटकले नेपालको भ्रमण गरेका थिए।
पुरानै अवस्थामा पर्यटकहरूको आगमन सुनिश्चित गर्नका लागि उडान र सीट पनि थपिनुपर्ने र पोखरा र भैरहवामा बनेका अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न सकिए सकारात्मक प्रभाव पार्न सक्ने उनको धारणा छ।
पर्यटन व्यवसायी अमात्य चर्चित व्यक्तित्वहरूको भ्रमणले नेपालको पर्यटनका बारेमा मानिसहरूमा चेतना अभिवृद्धि गर्ने बताउँछन्।
उनले भने, “उंचाईका कारणले अब भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुने निश्चित छ। अब ट्रेकिङ हुने समयमा नेपालमा बढी भारतीयहरू आउन खोज्छन्। अहिले नै हामीकहाँ सोधपुछ र बुकिङ बढिसकेको छ।”
सूरज बडजात्याले निर्देशन गरेको उक्त चलचित्रमा सगरमाथा सहितका क्षेत्रको मनोरम दृश्य छ।
बलीवुडका सुपरस्टार अमिताभ बच्चनसहितका चर्चित कलाकारको अभिनय रहेको उक्त चलचित्रको छायाङ्कनका क्रममा बच्चन भने नेपाल आएका थिएनन्।








