बहराइनका राजकुमारलाई मनास्लु हिमालको चुचुरोमा पुर्याएका शेर्पा के भन्छन्?

तस्बिर स्रोत, EPA/SEVEN SUMMIT TREK
सन् २०२१ मा सगरमाथा आरोहणको लक्ष्य राखेको बहराइनको रोयल गार्ड्सको टोली केही समयअघि मनास्लु हिमालको चुचुरोमा पुग्यो।
सेप्टेम्बरको तेस्रो साता विशेष उडानबाट आएको टोलीमा राजकुमार शेख नासेर बीन हमाद अल खलिफा समेत रहेको बताइएको छ।
सगरमाथा चढ्ने अभ्यासका रूपमा मनास्लु आरोहण गर्न आइपुगेको उक्त टोलीले त्यसअघि लोबुचे हिमाल चढेको थियो।
राजकुमार सहितको टोलीले हिमाल आरोहण गर्ने कार्यको नेतृत्व भने नेपालका ३४ वर्षीय तासी लाक्पा शेर्पाले गरेको थिए।
शेर्पाले यसअघि कैयन् महत्त्वपूर्ण व्यक्तिहरूलाई हिमाल चढ्न सघाएको भए पनि राजपरिवारकै सदस्यलाई लिएर भने हिँडेका थिएनन्।
खुसी
आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणमा साथ दिनसक्ने थुप्रै 'शेर्पाहरू नेपालमा भए पनि' उक्त यात्राको नेतृत्व गर्न पाएकोमा उनी निकै खुसी छन्।
समुद्री तटबाट आएको बहराइनको टोलीलाई हिमाल चढाउने कार्य सहज भने नभएको उनले बताए।

तस्बिर स्रोत, Tashi Lakpa Sherpa / Facebook
उनीहरूलाई काठमाण्डूमा केही अभ्यास गराएर ६,११९ मिटर अग्लो लोबुचे हिमाल लगिएको थियो जहाँ १८ मध्ये १५ जना सफल भए।
रोयल गार्ड्स र राजपरिवार सदस्यको यात्रा सहजीकरण गर्नका लागि २५ जना शेर्पाहरू खटिएको लाक्पा बताउँछन्।
त्यसपछि उनीहरू काठमाण्डू आएर दुई दिनपछि गोर्खाको एक गाउँमा पुगे र मनास्लुको यात्रा सुरु गरे।
आधार शिविरदेखि शिखर चढ्ने बाटोमा आवश्यक प्रबन्ध शेर्पाहरूको टोलीले मिलाई सकेको थियो।
काठमाण्डूबाट ७ अक्टोबरमा हिँडेको टोलीले १५ तारिखका दिन मनास्लुको सफल आरोहण गरेको उनी बताउँछन्।
टोलीका १३ जनाले मात्रै आरोहण गर्न सफल भए।
'अनुशासन देख्दा अचम्म लाग्यो'
"समूहमा सैन्य अधिकारीहरू भएकाले पनि होला उक्त समूह निकै अनुशासित थियो," तासी भन्छन्।
"भनेका कुरा उहाँहरूले मान्नुहुन्थ्यो," उनले भने। "तालिमका र रेखदेखका हिसाबले चुनौतीपूर्ण भए पनि अन्य कुरा भने सहज थियो।"

तस्बिर स्रोत, EPA/SEVEN SUMMIT TREK
राजकुमारले धेरै कुराको माग गर्छन् भन्ने आफूहरूको अनुमान रहे पनि उनी त्योभन्दा नितान्त फरक रहेको तासी बताउँछन्।
"त्यसै अनुसार तयारी पनि थियो। तर उहाँ त एकदमै सामान्य हुनुहुँदो रहेछ। बरु टोलीले सुविधा खोज्ने, उहाँ चाहिँ जस्तो शेर्पाले खान्छ त्यस्तै खान रूचाउने," उनले भने।
राजकुमार सोचेभन्दा निकै सामान्य रूपमा प्रस्तुत हुँदा आफूहरू अचम्मित भएको तासीले सुनाए।
अरू बेला धेरै दुख नभए पनि मनास्लु आरोहण गरेको दिन भने लगातार २८ घण्टासम्म हिँड्दा भने पूरा टोलीलाई गाह्रो भएको उनले बताए।
नयाँ सुरुवात
सगरमाथासहित कैयौँ हिमाल आरोहण गरेका तासी बहराइनको राजपरिवार सहितको टोलीले नेपालको पर्यटन क्षेत्रका लागि नयाँ ढोका खोलेका बताउँछन्।
"व्यक्तिगत प्रयोगका लागि बनाइने अत्यन्त महँगा सामानहरू मध्यपूर्वमा बिक्री हुन्छ। उनीहरू आर्थिक रूपमा निकै समृद्ध छन्। त्यस क्षेत्रका मानिसहरू अहिलेसम्म नेपाल आउने वातावरण बन्न सकेको थिएन।"
"राजकुमार सहितको टोलीनै नेपाल आएको अवस्थामा यसले हाम्रो हिमाली क्षेत्रका लागि नयाँ बजार विस्तार गरेको जस्तो लाग्छ," तासीले भने।
मध्यपूर्वका देशहरूबाट अहिले नै धेरैले नेपालबारे चासो देखाउन थालेको उनी बताउँछन्।
उनीहरू खर्च गर्न नहिच्किचाउने अनि मरुभूमिबाट आएकाले नेपालको प्रकृतिले नै लोभ्याउने हुँदा पर्यटन व्यवसायीहरू उत्साहित रहेको तासी बताउँछन्।
"यात्राकै क्रममा पनि खोलानाला, डाँडा-झरना देख्दा उहाँहरू निकै रमाउनु भयो। हिमाल देखेपछि यो त जीवनमा कहिल्यै पनि चिताएको थिइन भन्नु भयो," उनले भने।








