नेपाल पर्यटनः पर्यटक आउने आशामा सीप तिखार्दै महिला पथ प्रदर्शक

तस्बिर स्रोत, Three Sisters
- Author, मतिना त्वानाबासु
- Role, भक्तपुर
करिब दुई दशकदेखि पथ प्रदर्शक भएर पर्यटन क्षेत्रमा संलग्न अर्चना नेपाल कोभिड महामारीले पेशा परिवर्तन गर्न बाध्य भएको बताउँछिन्।
उनी अहिले क्याम्पसका विद्यार्थीलाई पर्यटनसम्बन्धी विषय पढाउँछिन्‚ पर्यटनसँग जोडिएको लैङ्गिक सवालमा परामर्शदाताको रूपमा पनि काम गर्छिन्, पहिले उनी यस्ता काम गर्दिनथिन्।
पर्यटक नहुँदा जिउने आधार गुमेको बताउने महिला पथ प्रदर्शकहरू कोभिड महामारीविरुद्ध खोपको उपलब्धता बढेसँगै पर्यटक आउने आशा बढेको बताउँछन्।
पुरुषको वर्चस्व रहेको नेपाली पर्यटन उद्योगमा महिला पथ प्रदर्शकहरूको उपस्थिति बिस्तारै बढ्दै गर्दा कोभिड महामारीले धेरैलाई यो पेशा अँगाल्नेबारे पुनः सोच्न बाध्य बनाएको बताइएको छ।
पेशा परिवर्तन
पहिले नै कम रहेको नेपाली महिला पथ प्रदर्शकहरूको सङ्ख्या कोभिड महामारीपछि भने झन् कम हुन सक्ने पर्यटन क्षेत्रका जानकारहरू बताउँछन्।
स्थापित भइसकेकालाई विस्थापित हुने त्यति डर नभए पनि नयाँलाई चुनौती देखिन्छ।
"लामो समयदेखि पर्यटनमा काम गरेका म जस्ता व्यक्तिलाई पनि कोभिड महामारीले आफ्नो मूल पेशा परिवर्तन गर्न बाध्य बनायो। भर्खर भर्खर यो क्षेत्रमा आएकालाई त निकै समस्यामा पारेको देखेकी छु। गुजारा चलाउन अर्को पेशा त गर्नै पर्यो," नेपाल बताउँछिन्।
कोभिड महामारीले गम्भीर रूपमा असर गरेका क्षेत्रमध्येको एक हो पर्यटन। पूर्णतया विदेशी पर्यटक आगमनमा निर्भर पथ प्रदर्शकहरू‚ त्यसमा पनि महिलाहरू झन् प्रभावित भएको जानकारहरू बताउँछन्।
"पर्यटक घुमाएरै आफ्नो र परिवारको जीवन धान्ने दिदीबहिनीहरू कोभिड महामारीमा निकै बिचल्लीमा परेको देख्यौँ। आफूसँग अर्को पनि सीप भइदिएको भए पर्यटक नआउँदा त्यही सीपले जीवन चलाउन अलि सहज हुन्थ्यो। 'गाइड' गर्ने बाहेकको सीप पनि चाहिँदो रहेछ भन्ने धेरैले महसुस गरे," लामो समयदेखि महिला पथ प्रदर्शकहरूलाई प्रवर्धन गर्दै आएको संस्था थ्री सिस्टर्सकी लक्की क्षेत्रीले भनिन्।
'घुमेर खाने' पेशा?

तस्बिर स्रोत, Three Sisters
पर्यटन क्षेत्रमा गाइडको रूपमा महिलाहरूको उपस्थिति ज्यादै कम छ।
भक्तपुरकी स्थानीय गाइड रिता सुवाल भन्छिन्, "हाम्रो पेशालाई नराम्रो सोचिन्छ। यो पेशामा लाग्ने महिलाहरूको सामाजिक र चारित्रिक सुरक्षाको सवालमाथि सधैँ प्रश्न उठिरहन्छ। घुमेर खाने भनेर होच्याएर बोलिदिन्छन्। मन लागेर यो क्षेत्रमा आएकी हुँ। एउटै सिजनमा पनि राम्रो कमाइ हुन्छ। तर समाजले टेढो नजरले हेर्ने गर्छ।"
करिब दुई दशकदेखि महिला गाइडमा क्रियाशील थ्री सिस्टर्सकी लक्की क्षेत्री यो क्षेत्रमा आउन महिलाहरूलाई निकै साहस र प्रतिबद्धताको खाँचो हुने बताउँछिन्।
परिवारबाट टाढा गएर, भारी बोकेर पहाड र हिमालको यात्रामा पर्यटकको साथी र सारथि बनेर हिँड्न महिलाहरूमा हिम्मत र ज्ञान उत्तिकै चाहिने उनी बताउँछिन्। यो सबै कुरामा पोख्त बनेर यो क्षेत्रमा होमिन आएका नयाँ महिलाहरू कोभिड महामारीले काम गर्ने अवसर नपाउँदा यो पेशा अँगाल्नेबारे सोच्न बाध्य बनेको उनी बताउँछिन्।
अवसरको सङ्कट
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान नाथमले करिब ५ सय महिला र ४ हजार पुरुषलाई 'टुरिस्ट गाइड'को लाइसेन्स प्रदान गरेको छ। तीमध्ये कति क्रियाशील छन् भन्ने जानकारी भने लाइसेन्स प्रदायकसँग पनि छैन।
महामारीको सिकार महिला पुरुष सबै गाइड बनेका छन्। महिलाहरूको सङ्ख्या पहिलेदेखि कम थियो भन्दै पछिल्लो समय पर्यटनको विभिन्न विधाको अध्ययन गरी यही क्षेत्रमा आएका महिलाहरूका कारण सङ्ख्या बढिरहेकोमा लकडाउनले त्यो सङ्ख्या तल झर्न सक्ने टुरिस्ट गाइड एसोसिएसन टुरगानका कोषाध्यक्ष राजेन्द्र मानन्धर बताउँछन्।
"कोभिड महामारीले महिला पुरुष सबैलाई बेरोजगार बनाएको छ। अवस्था सामान्य हुँदै गयो भने महिला गाइडहरूले जति प्राथमिकता र अवसर पहिले पाउँथे उस्तै अवस्था अब नरहन सक्छ। किनकि बेरोजगार पुरुष गाइडहरूको सङ्ख्या ठूलो छ।" प्रतिस्पर्धा चुलिन सक्ने सङ्केत गर्दै मानन्धर थप्छन्।
फर्किने तयारी
आफ्नो २० वर्षे ट्रेकिङ गाइडको यात्रामा कोभिडको जस्तो गहिरो असर कहिल्यै नपरेको पोखराकी मन कुँवरले बताइन्।
घर परिवार छोडेर हिँडिरहनु पर्ने उनी लकडाउनका सुरुवाती केही समय परिवारसँग सँगै बस्न पाउँदा रमाइलोसँग बितेको सुनाउँछिन्। त्यसपछि दुखका दिनहरू आए।
"बुढाबुढी एउटै काममा थियौँ। दुवैको काम छुटेपछि कमाइ पनि छुट्यो। पहिलेदेखि जानेको बुझेको यही काम हो। अन्त लाग्न पनि मन लागेन", काम गरिरहने बानी परेकी उनलाई २ वर्षदेखि विना काम र आम्दानीको अवस्थाले पिरोलेको छ।

तस्बिर स्रोत, Three Sisters
कोभिड खोपको उपलब्धता सहज हुँदै गएपछि र महामारी सेलाउँदै गएको हो कि भन्ने भएपछि अब पर्यटक आउँछन् भन्ने भएको छ मनलाई। दुई वर्षदेखि खासै नहिँडेका खुट्टालाई लामो हिँडाउन थालेकी छन्। भाषाको अभ्यास पनि सुरु गरिसकिन्।
पर्यटकसँग हिँड्न भाषा मात्र भएर पुग्दैन। उनीहरूलाई बाँड्न ज्ञान चाहिन्छ‚ पहाड उक्लन शरीरमा ताकत पनि चाहिन्छ भन्दै २ वर्षदेखि आफ्नो सीप उपयोग गर्न नपाएकी सीता राई पनि तयारी थालेको बताउँछिन्।
"हिँडिरहने बानी भएकालाई एउटै ठाउँमा बस्न पर्नु भनेको सजाय हो। आफूले बीसौँ वर्षदेखि गरी आएको भए पनि प्रयोग नहुँदा त गाह्रो गाह्रो हुँदो रहेछ। पर्यटक आए भने अब त आफू तयारी अवस्थामा रहन पर्यो भनेर नेतृत्व विकास अनि भाषाको तालिमहरू लिइरहेकी छु। छोटो छोटो ट्रेकिङ पनि गरिरहेकी छु। ज्यान पनि बनाउन पर्यो ज्ञान पनि बढाउन पर्यो नि हैनॽ" उनी भन्छिन्।
आकर्षण उस्तै
टुरिस्ट गाइडको लाइसेन्स पाएपछि कोभिडअघि एउटा सिजनमा मात्र काम गर्न पाएकी रिता सुवाल यो पेशाले आफूलाई सधैँ आकर्षित गरिरहने बताउँछिन्।
"हरेक दिन नयाँ नयाँ देशका मानिसहरूसँग उनीहरूको कला संस्कृति भूगोल लगायत धेरै कुराबारे थाहा पाइन्छ। आफ्नो ठाउँ आफ्नो संस्कृतिबारे उनीहरूलाई भन्न पाइन्छ। हरेक दिन विशेष दिन हुन्छ। यही कुराले मलाई यो पेशा प्यारो लाग्छ। अहिले एउटा अनलाइनमा संलग्न छु। तर अक्टोबरको सिजनमा तपाईँले मलाई गाइडको रूपमा देख्नुहुनेछ भन्ने मलाई लागेको छ।"
महिलाहरूले ठग्दैनन्‚ उनीहरूले हानी गर्दैनन्‚ उनीहरू आफ्नो कामप्रति इमानदार छन् भन्ने प्रभाव धेरै पर्यटकहरूलाई परेकाले हुन सक्छ पछिल्लो समय महिला गाइडको खोजी गर्दै आउने पर्यटकहरू बढेको जानकारहरूको भनाइ छ।








