नेपाली महिला: कालापत्थर पुगेका पदयात्रीले पाएको त्यो प्रेरणा

पदयात्रा
    • Author, मतिना त्वानाबासु
    • Role, काठमाण्डू

हालै कालापत्थर पुगेको महिला पदयात्रीको एउटा समूहका सदस्यले उच्चपहाडी क्षेत्र र हिमाली भेगका महिलाहरूको घरेलुदेखि पर्यटन क्षेत्रसम्ममा देखिएको व्यवस्थापकीय क्षमताबाट आफूहरूलाई प्रेरणा मिलेको बताएका छन्।

जलवायु परिवर्तनले महिलाका जीवनमा पार्ने असरबारे छलफल गर्न काठमाण्डूबाट विभिन्न क्षेत्रमा सक्रिय रहेका करिब ४० महिला कालापत्थर पुगेका थिए।

भौगोलिक विकटताका कारण जीवन सहज नदेखिए पनि त्यहाँ रहेका महिलाहरूले पर्यटन सहितका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उनीहरूको भनाइ छ।

एक सय बाह्रौँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभावबारे छलफल गर्न काठमाण्डूबाट सो समूह कालापत्थर पुगेको थियो।

महिलाको वर्चस्व

काठमाण्डूबाट विमान चढेर लुक्ला पुग्नेबित्तिकै दुर्गम भेगका महिलाबारे बनेका धारणाहरू निश्चित रूपमा परिवर्तन हुने हालै त्यहाँ पुगेका महिलाहरूले बताए।

नपढेका वा कम पढेका‚ आर्थिक रूपले परनिर्भर‚ चुलोचौकोमा मात्र सीमित होलान् भन्ने महिलाहरूप्रति पहिल्यै बनेका धारणा एकाएक त्यसभन्दा भिन्न हुन पुगेको उनीहरूले सुनाए।

पदयात्रामा सहभागीमध्येकी पेसाले उडान सहायक प्रदा कार्की लुक्ला झरेदेखि हरेक पाइलामा महिलाबाट प्रेरित बनेको बताउँछिन्।

"लुक्लादेखि माथि नाम्चेसम्मै अधिकांश होटल र चिया पसल महिलाहरूले सञ्चालन गरिरहेको देख्यौँ। ठूलाठूला भारी बोक्ने महिला पनि भेट्यौँ। बच्चालाई विद्यालय पुर्‍याउँदै गरेका महिला पनि भेट्यौँ। जताततै महिलाहरूको वर्चस्व देख्यौँ," उनले भनिन्।

साह्रै बलिया

पढेलेखेको‚ जागिरे‚ सूचना र सुविधाको सहज पहुँच भएका सहरी क्षेत्रका कतिपय महिलाहरूलाई दुर्गमका महिलाहरू सबै किसिमले कमजोर छन् भन्ने लाग्नु अर्धबुझाइ भएको कार्कीको धारणा छ।

पदयात्रीको समूहमा सबैभन्दा पाको उमेरकी आरती रोक्कालाई १२ दिनको पदयात्रामा भेटिएका कोही पनि महिला "बिचरा" नलागेको रहेछ।

उनले भनिन्, "उनीहरू र हामीबीच तुलना गर्न हुँदैन। काठमाण्डूजस्तो सुगम ठाउँका हामी पढेर सशक्त भएका हौँ, तर उनीहरू परेर। त्यो ठाउँ उनीहरूका लागि उपयुक्त हो भने त्यो ठाउँका लागि उनीहरू। त्यहाँको जाडो खाएका‚ ती जोखिमपूर्ण सडकमा हिँड्न र कुद्न जानेका‚ बरफ खनेर कोसौँ बोकेर पानी बनाउन जानेका‚ त्यो सङ्घर्षमय जीवन उनीहरूको विशेषता हो।"

पदयात्रा

आफ्नै शरीर भारी भएर हिँड्न नसकेको समयमा त्यहाँका महिलाहरूले उठाएर हिँडेको भारी सम्झेर सहरी पदयात्री भन्छन् "उनीहरू साह्रै बलिया रहेछन्।"

आत्मनिर्भर बन्ने पाठ

फरक उमेर‚ क्षेत्र‚ र अनुभव भएका महिला पदयात्रीको समूहले लुक्लादेखि सगरमाथाको आधार शिविरसम्मको यात्रामा भेटिएका स्थानीय किशोरी तथा महिलाहरूबाट उनीहरूको घरेलु कामकाजदेखि पर्यटन क्षेत्रसम्मका व्यवस्थापकीय क्षमताले प्रेरणा मिलेको बताएका छन्।

सानै उमेरदेखि आत्मनिर्भर बन्ने अभ्यासको सिको गर्न पर्ने बताएका छन्।

आफू चिसोमा बसेर पनि त्यहाँ पुग्ने पर्यटकलाई न्यानो बाँड्ने उनीहरूको विशेषताको उनीहरूले खुलेर प्रशंसा गरेका छन्।

पेसाले पत्रकार मञ्जु टेलर थप्छिन्, "नाम्चेमा एक जना भर्खरकी २०-२२ वर्षकी किशोरी एक्लैले होटेल चलाइरहेको देख्यौँ। जुन हामीहरूलाई सोच्न पनि निकै हिम्मत चाहिन्छ। सानै उमेरदेखि आत्मनिर्भर बन्न उनीहरूको पछ्याएको बाटोले हामीलाई उत्प्रेरित बनाएको छ।"

कठोर जीवनयापन

दैनिक जीवनयापनका लागि अत्यावश्यक पानीको जोहो गर्न उनीहरूले खर्चने मेहनेत हेर्दा, त्यो चिसोमा पर्यटकलाई न्यानो बनाउन उनीहरूले गर्ने सङ्घर्ष देख्दा‚ हराइरहने बाटो खोज्दै गर्ने अनिश्चित यात्राहरू सबै सम्झँदा आफूलाई निकै भाग्यमानी महसुस हुने रिनु शर्मा बताउँछिन्।

आधारभूत आवश्यकताको लागि त्यहाँका महिलाहरूले झेलिरहेको समस्याबारे स्वास्थ्यकर्मी अनिता गुरुङलाई निकै चिन्ता लागेको रहेछ।

महिला

उनले भनिन्, "घरपायक विद्यालय छैनन्। घण्टौँ हिँडेर पुग्नुपर्ने रहेछ। महिनावारी हुँदा त्यत्रो लामो यात्रा तय गर्न कति गाह्रो हुँदो हो! बिरामी परिहाल्यो भने स्वास्थ्यचौकी पनि नजिकमा देखेनौँ। सम्पर्कको लागि कुनै फोन वा अन्य माध्यमको उपलब्धता त्यहाँ थिएन। जीवन निकै कठिन रहेछ।"

भावी योजना

जाडोमा काठमाण्डु र अन्य सहरी क्षेत्रतिर जाने कतिपय महिलाहरू जाडो सकिएपछि बिस्तारै घर फर्किँदा रहेछन्।

तर त्यो सक्नेका लागि सामान्य जीवनपद्धति जस्तो देखिए पनि सबैलाई त्यो सम्भव नहुने कतिपय सहरी महिला पदयात्रीहरूको ठम्याइ छ।

"साथसाथै संस्थाको आयोजनामा सजिलै पुग्न नसकिने ठाउँमा पुगेर सकुशल फर्केर आयौँ। त्यहाँको शिक्षा क्षेत्रमा केही योगदान गर्न पाए हुन्थ्यो। त्यहाँका बासिन्दा जलवायु परिवर्तनको उच्च जोखिममा छन्। पूर्वतयारीबारे प्रशिक्षण गर्न पाए सहयोग हुन्थ्यो। सहजै हिँडडुल गर्न मिल्ने बाटो‚ स्वास्थ्य संस्थाको व्यवस्थापनको लागि सरकारको ध्यान जानुपर्ने जस्तो लाग्छ," रिनु शर्माले भनिन्।

नेपाली महिलालाई आफ्नै देशका विभिन्न स्थानको यात्रा गराएर समानतालाई प्रवर्धन गर्ने‚ उनीहरूलाई सशक्त बनाउने लक्ष्य रहेको साथसाथैकी प्रजिता कार्कीले बताइन्।

त्यसअनुसार अन्नपूर्ण आधारशिविरको सफल यात्रापछि सगरमाथाको आधार शिविरको यात्राको आयोजना गरेको उनले बताइन्। यात्रा सकेर फर्केका सबैजसो महिलाहरू यात्राबाट जीवनमा थप जोस र आँट बढेको बताउँछन्।