सुनकोशी मरिन आयोजना के मधेशमा खडेरी हटाउने दीर्घकालीन उपाय हो

    • Author, सञ्जय ढकाल
    • Role, बीबीसी न्यूज नेपाली

हालै सुक्खाग्रस्त तराईको भ्रमण गरेका प्रधानमन्त्री केपी ओलीले त्यहाँ खडेरीको दीर्घकालीन समाधानका लागि सुनकोशी मरिन डाइभर्शन आयोजना अघि बढाइएको टिप्पणी आइतवार फेसबुकमा गरे।

उक्त टिप्पणीपश्चात् के त्यो आयोजनाले साँच्चिकै तराई मधेशको सिँचाइ समस्या समाधान गरिदिन्छ अनि त्यसको प्रगति चाहिँ कस्तो छ भन्ने खालका प्रश्नहरू उठेका छन्।

यो वर्ष बर्खा यामको पूर्वार्धमा पर्याप्त पानी नपरेका कारण खास गरी मधेश प्रदेशका आठ जिल्लामा राम्ररी रोपाइँ हुन सकेको थिएन। विभिन्न स्थानमा खानेपानीको समस्या पनि देखा परेको थियो।

गत साता अलि पानी परेपछि त्यहाँ अब झन्डै तीनचौथाइ रोपाइँ भइसकेको जानकारी दिइएको छ।

तर ढिलो रोपाइँ गरिएको तथा कैयौँ ठाउँमा रोपाइँपछि पनि पानीको अभाव भएकाले यसपालि धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चेतावनी दिइएको छ।

सुनकोशी मरिन डाइभर्शन आयोजना के हो

यो सुनकोशी नदीको पानीलाई बाँध बाँधेर १३.३ किलोमिटर लामो सुरुङमार्फत् मरिन नदीमा खसाली वाग्मती नदी हुँदै वाग्मती सिँचाइ आयोजनामा पुर्‍याएर खेत सिँचित गर्ने बहुउद्देश्यीय आयोजना हो।

यसले मधेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरूका कुल १,२२,००० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य राखेको छ।

मधेश प्रदेशका आठ जिल्ला - सिराहा, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी र महोत्तरी - मा धान रोपाइँ हुने कुल क्षेत्रफल ३,७२,६४५ हेक्टर रहेको छ।

यो आयोजनाले मरिन नदीमा पानी पथान्तरण गरेर ३१ मेगावाट जलविद्युत् पनि उत्पादन गर्ने लक्ष्य राखेको छ। पथान्तरण गर्दा पानी ५२ मिटर तल झर्ने हुँदा जलविद्युत् उत्पादनको सम्भावना भएको हो।

साथै यसो गर्दा सुनकोशीमा ८ किलोमिटर माथिसम्म अनि तामाकोशीमा ६ किलोमिटर माथिसम्म करिब १३ मिटर गहिरो पोखरी बन्छ जसले पर्यटकीय आकर्षण पनि विस्तार गर्ने आयोजनाले बताएको छ।

झन्डै ५० अर्ब रुपैयाँ लागत अनुमान रहेको यसलाई राष्ट्रिय गौरवको आयोजनाको श्रेणीमा समेत राखिएको छ। यसको निर्माण नेपाल सरकारकै लगानीमा भइरहेको छ।

मधेशमा सिँचाइको निम्ति कति महत्त्वपूर्ण

यो वर्षको खडेरीले देशको अन्नभण्डार भनिने तराई मधेशको खेतीपातीमा मात्र होइन खानेपानीमा समेत हाहाकार देखिएको थियो।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै खडेरीका कारण तराईका खेतमा धाँजा परेर रोपाइँ गर्नै नसक्ने अवस्था आएको र रोपाइँ भएका ठाउँमा पनि पानीको अभावले रोपो मर्न थालेको उल्लेख गरे।

उनले हालै त्यहाँ भ्रमणमा गएको स्मरण गर्दै तत्कालका निम्ति ५०० डीपबोरिङ जडानको काम सुरु गरिएको बताए। उनले दीर्घकालीन समाधानका लागि सुनकोशी मरिन डाइभर्शनमा काम भइरहेको पनि लेखे।

"यसको मुख्य विशेषता भनेको यसबाट १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ गर्न सकिन्छ। अहिले विद्यमान वाग्मती वा अन्य आयोजनाले हिउँदमा पानी दिन सक्दैन। तर सुनकोशी मरिन र भेरी बबई आयोजनाहरूले चैतेबालीलाई पनि फाइदा पुग्ने गरी बाह्रै महिना सिँचाइ गर्न सक्छ," सुनकोशी मरिन डाइभर्शन बहुउद्देश्यीय आयोजनाका निर्देशक बद्री कार्कीले बताए।

तराई मधेशको कृषि मामिलाका जानकार वीरगन्जका रामचन्द्र मिश्र पनि सुनकोशी मरिनजस्तो सतह सिँचाइ उक्त क्षेत्रका निम्ति एकदमै आवश्यक र महत्त्वपूर्ण भएको बताउँछन्।

"यसपालि सुक्खा हुँदा डीपबोरिङ गर्ने कुराहरू पनि आए। तर धानखेतीका लागि प्रशस्त पानी चाहिने हुनाले बोरिङ र डीप बोरिङले पुग्दैन। सतह सिँचाइ नै उत्तम हुन्छ," मिश्रले बताए।

"सुनकोशी मरिन आयोजना आयो भने यो क्षेत्रका किसानहरूलाई धेरै नै राहत हुन्छ। तर सबभन्दा ठूलो समस्या चाहिँ यो समयमा सकिने देखिएको छैन," उनले भने।

मधेश प्रदेशको कृषि आयोजना निर्देशनालयका अनुसार साउन २३ गतेसम्ममा त्यहाँ धानबाली लगाइने क्षेत्रको करिब ७६ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। अब रोपाइँ गर्न सकिने समय घर्किन लागेकाले यो वर्ष ८० प्रतिशतको हाराहारीमात्रै रोपाइँ हुन सक्ने निर्देशनालयका प्रमुख जितेन्द्र यादवले बीबीसीलाई बताए।

त्यसले समग्रमा पोहोरको तुलनामा धानको उत्पादन २७ प्रतिशतले खस्किने उनले बताए।

"रोपाइँ नै नभएकाले २० प्रतिशत त यत्तिकै घट्ने भइहाल्यो। त्यसबाहेक ढिलो रोपाइँ गर्दा बेर्नाहरू छिप्पिसकेका हुन्छन् र तिनबाट गाँज आउँदैन। ती ठाउँमा पनि उत्पादन २०-२५ प्रतिशत घट्छन्। यी हिसाबहरू गर्दा समग्रमा २७ प्रतिशतले उत्पादन घट्ने हाम्रो अनुमान छ," यादवले बताए।

खडेरीबाट जोगिने प्रमुख उपाय नै सतह सिँचाइ भएकाले सुनकोशी मरिनजस्ता आयोजना अत्यन्त महत्त्वपूर्ण भएको उनले बताए।

"तर त्यसको पनि आफ्नै कथाव्यथा छ।"

"अहिलेसम्म सुरुङको काम मात्रै भएको छ। त्यहाँबाट पानी ल्याएर यहाँ झार्नलाई कति समय लाग्ने हो? त्यसपछि यहाँका जिल्लाहरूमा वितरण गर्ने नहर बनाउनुपर्ला," उनले भने।

खेतीकिसानीका लागि उत्तम त्यस्तो सतह सिँचाइ उपलब्ध नभएसम्म भूमिगत जलको उपयोगमा ध्यान दिन पर्ने उनले औँल्याए।

"हामीले त्यसको केवल २० प्रतिशतमात्र उपयोग गरेका छौँ जबकि छिमेकी भारतको बिहारमा ८० प्रतिशतसम्म उपयोग गरिन्छ," यादवले विद्युतीकरणको सुविधापनि सँगसँगै चाहिने बताए।

अहिले सो क्षेत्रमा वाग्मती, गण्डक, कोशीजस्ता सिँचाइ प्रणाली भए पनि वाग्मतीमा पानी नपुग्ने तथा गण्डक र कोशीको हकमा भारतले उसको खुसीमा पानी छाड्ने स्थिति रहेकाले सुनकोशी मरिनजस्तो आफ्नै नियन्त्रणमा रहने र वर्षैभरि पानी पुग्ने आयोजनाको विशिष्ट महत्त्व हुने उनले बताए।

प्रगति चाहिँ फितलो

मधेशमा सिँचाइका निम्ति निकै महत्त्वपूर्ण मानिएको यस आयोजनाको प्रगति भने फितलो रहेको जानकारहरू बताउँछन्।

आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको यसको निर्माण आर्थिक वर्ष २०८५/८६ अर्थात् अबको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ।

तर हालसम्म यसको भौतिक निर्माण प्रगति प्रतिशत जम्मा ३६ मात्र भएको आयोजनाका प्रमुख बद्री कार्कीले बताएका छन्।

सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ तर बाँध निर्माण, पावरहाउस तथा इलेक्ट्रोमेकानिकल कामहरू धेरै बाँकी रहेको छ।

अत्याधुनिक टनेल बोरिङ मशीनको प्रयोग गरेर काम गर्दा सुरुङ निर्माण समयभन्दा अगावै सकिएको आयोजना प्रमुखले बताए। "तर अन्य पाटोमा प्रगति आशानुरूप हुन नसकेकाले समयमै सिध्याउन चुनौतीपूर्ण बनेको छ," आयोजना प्रमुख बद्री कार्कीले भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।