तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'थप विषम' हुँदै मौसम, सम्भाव्य विपद्बारेका चेतावनीलाई बेवास्ता नगर्न आग्रह
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
लामो समयपछि चैतको अन्तिममा परेको मनसुनपूर्वको वर्षा स्वाभाविक नै भए पनि यसपालि एप्रिल महिनामा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
एप्रिल महिनाको जलवायु आकलनअनुसार यस महिनामा अपेक्षित सरदर वर्षा (५८.७ मिलिमिटर) भन्दा कम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको हो।
देशका पहाडी क्षेत्रमा बिहीवारदेखि पर्न थालेको पानी तीन दिनसम्म रहे पनि देशभरिको मौसममा अपेक्षा गरेअनुसार सुधार नआउने भन्दै सतर्कता अपनाउन विभागले अपील गरेको छ।
'प्रीमनसुन'का समयमा देखिने मौसमी गतिविधि देशका विभिन्न भागमा देखिइरहँदा त्यसले कतिपय विपद्का घटनाहरू पनि निम्त्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार बझाङ जिल्लामा चट्याङकै कारण एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। त्यसबाहेक केही ठाउँमा वर्षाका कारण बाटोहरूमा अवरोध पुगेको उनले बताए।
"यही वर्ष गएको असोज महिनामा हामीले जारी गरेका पूर्वचेतावनीअनुसार सतर्कता नअपनाउँदा पहिरोसँगै बस बगेर जाने घटनाहरू पनि भए, त्यसैले मौसमबारे दिइएका पूर्वचेतावनीहरूलाई गम्भीर रूपमा लिन आवश्यक छ," प्रवक्ता केसीले भने।
मनसुनपूर्वको गतिविधि हेरेर यो वर्ष मनसुन कस्तो रहला र कस्ता विपद् निम्तिन सक्लान् भन्नेबारे चाहिँ अहिले नै अनुमान गर्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सतर्कता आवश्यक
चैत र वैशाख महिनामा पानी पर्ने, आकाश गर्जिने र हावाहुरी आउने भएका कारण खास गरी मानवीय र भौतिक क्षति हुने गरेको विज्ञहरू बताउँछन्।
हावाहुरीले घरहरू भत्किने, रुखहरू ढल्ने अनि चट्याङ पर्नेजस्ता घटनाहरू विगतमा देखिएका छन्।
अहिले चट्याङकै कारण केही ठाउँमा क्षति पुगेका बेला सरकारी निकायले दिएका सूचनाअनुसार सतर्कता अपनाउन विपद् जोखिम न्यूनीकरण विज्ञ डाक्टर वसन्तराज अधिकारी सुझाव दिन्छन्।
विगतमा आफ्नो क्षेत्रमा विपद्मा जस्ता घटना भएका थिए, त्यस्तै दोहोरिन सक्नेप्रति व्यक्ति स्वयं सचेत हुनुपर्ने उनी बताउँछन्।
"पहिला चट्याङ, बढी परेका ठाउँहरूमा सतर्कता अपनाउनुपर्यो। घरबाट बाहिर निस्किनुभएन। बिजुलीका पोलनजिकै उभिनुभएन," अधिकारीले भने।
पछिल्लो समयमा विपद्का घटनाको प्रकृति फरक भएको र त्यसले गर्ने असर पनि बढी देखिन थालेको उनी बताउँछन्।
"पहिला जति घटना हुन्थे, त्योभन्दा अहिले बढी हुन थालेका छन् र जोखिम पनि उत्तिकै बढेको देखिन्छ," अधिकारीले भने।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल पनि समग्रमा अहिलेको प्रीमनसुनको समयमा चट्याङ र असिनाबाट बच्नुपर्ने बताउँछन्।
त्यसबाहेक अहिलेको वर्षाले क्षतिभन्दा फाइदा नै बढी गराउने देखिएको प्राध्यापक अर्यालले बताए।
"डढेलोको सम्भावना र वायुमण्डलको प्रदूषणलाई यसले घटाउँछ," प्राध्यापक अर्यालले भने। "अहिलेको पानीले पहाडी भेगमा मकै लगाउने किसानलाई पनि फाइदा पुग्ने देखिन्छ।"
अलि अगाडि नै पानी परेको भए प्रदूषण बढ्ने समस्या समेत नहुने उनको दाबी छ।
बदलिँदो मौसमी प्रवृत्ति
विगत केही दशकको मौसमको प्रवृत्ति हेर्दा त्यसमा पुनरवलोकन गर्नुपर्ने देखिएको अर्यालले बताए।
"ठ्याक्कै यो बेलामा पानी पर्छ भनेको चाहिँ परिवर्तन भइसक्यो कि भन्ने हाम्रो अनुमान छ। सन् १९९० देखि तथ्याङ्क हेर्दा यो प्रणालीलाई पुनरवलोकन गर्नुपर्छ," प्राध्यापक अर्यालले भने।
पानी कमै परे पनि परेको बेलामा एकै पटक मात्रा धेरै हुने गरेको उनी बताउँछन्।
विपद् जोखिम न्यूनीकरण विज्ञ डाक्टर वसन्तराज अधिकारी कहिलेकाहीँ प्रीमनसुनी गतिविधि भइरहँदा पानी कम पर्ने आकलन गरिए पनि त्यसमा परिवर्तन आउन सक्ने बताउँछन्।
"पानी थोरै समयका लागि तर धेरै मात्रामा पर्न सक्ने भएकाले त्यसतर्फ पनि सचेत हुनुपर्छ," अधिकारीले भने।
"थोरै समयमा धेरै पानी पर्न सक्ने हुँदा कस्तो असर गर्न सक्छ भनेर राष्ट्रिय रूपमा आएका सूचना बुझेर यो प्रीमनसुनको समयमा पनि सचेत हुनुपर्छ।"
'विषम' मौसमी परिस्थिति
यो वर्ष कम वर्षा भएको र अधिकतम तथा न्यूनतम दुवै तापक्रम बढी भएको देखिँदा समग्रमा अवस्था थप 'विषम' बनेको देखिएको विभागकी मौसमविद् विभूति पोखरेलले बताइन्।
"तथ्याङ्क हेर्दा खडेरी पनि लामो समय हुने र वर्षा हुँदा पनि अति पानी पर्ने, चट्याङ पनि बढी हुने देखिँदा परिस्थिति विषमतर्फ गइरहेको छ," पोखरेलले भनिन्।
"वर्षा त हुन्छ तर वर्षा भएको बेला बाढी नै आउने गरी पानी पर्ने, अरू बेला खडेरीमा जाने देखिन्छ। मौसमी चक्र हामीले जस्तो अपेक्षा गर्थ्यौँ, यो पछि यो हुन्छ भनेर त्यो अवस्थाचाहिँ भिन्न हुन थालेको अनुभव हुन थालेको छ।"
मनसुन कुनै वर्ष अक्टोबर महिनाको मध्य वा अन्त्यसम्म पनि गएको अवस्था रहेकाले मौसमी चक्रमा परिवर्तन आएको देखिएको उनले बताइन्।
यो वर्ष मनसुनपछिको अवधि अक्टोबरदेखि नोभेम्बर २०२४ मा देशभर सरदरभन्दा १९.६ प्रतिशत कम भएको र तापक्रम पनि सरदरभन्दा ०.७ डिग्री सेल्सिअस बढी रहेको थियो।
त्यसै गरी हिउँद अवधि सन् २०२४ को डिसेम्बरदेखि सन् २०२५ को फेब्रुअरीसम्म सम्म सरदरभन्दा ७९.४ प्रतिशतले कम वर्षा भएको विभागले जनाएको छ। त्यसपछि प्रीमनसुन सुरु हुने सन् २०२५ को मार्च महिनामा पनि सरदर वर्षाभन्दा २९.५ प्रतिशतले कमी आएको छ।
मार्च महिनाको अन्तिम साता अर्थात् चैत ९ र १० गते देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भए पनि त्यसयता भने पानी पर्न सकेको थिएन।
पानी नपर्दा वायु प्रदूषण बढ्नुका साथै अन्नबाली लगाउन किसानहरूलाई समस्या भइरहेको विवरणहरू आएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।