'प्रत्येक तीन मिनटमा एक जनाको ज्यान जान्छ': भारतका सडकहरू घातक हुनुका कारण

तस्बिर स्रोत, Getty Images
- Author, सौतिक बिस्वास
- Role, भारत संवाददाता
प्रत्येक दिन भारतीय पत्रपत्रिकाहरू सडक दुर्घटनाका समाचारले भरिएका हुन्छन्। कतै यात्रुबस पहाडका खोँचमा खसेका, कतै मातेका चालकले पैदलयात्रुलाई ठक्कर दिएका, कतै रोकिएका ट्रकमा कार जोतिएका र दुईपाङ्ग्रे साधनलाई ठूला सवारीले ठक्कर दिएका।
दिनैपिच्छे आइपर्ने यस्ता दुःखद घटनाहरूले भारतमा भुसमा फैलिएको आगोजस्तो भित्रभित्रै एउटा डरलाग्दो सङ्कट फैलिएको सङ्केत गर्छन्। सन् २०२३ मा मात्रै भारतका सडकमा १,७२,००० जनाले ज्यान गुमाए। यहाँ औसतमा प्रत्येक दिन ४७४ जना र प्रत्येक तीन मिनटमा एक जनाले ज्यान गुमाइरहेका छन्।
सरकारी तथ्याङ्क सार्वजनिक हुन बाँकी नै रहे पनि सडक तथा पारवहन र राजमार्गमन्त्री नितिन गड्करीले गत डिसेम्बरमा सडक दुर्घटनाको विकराल अवस्थाबारे बोलेका थिए।
सन् २०२३ मा भारतमा सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये १०,००० बालबालिका थिए। अरू १०,००० को विद्यालय तथा क्याम्पस क्षेत्रमा भएका सडक दुर्घटनामा ज्यान गएको थियो। अनि ज्यान गुमाउने ३५,००० पैदलयात्रु थिए। सडकमा ज्यान गुमाउनेको ठूलो सङ्ख्या दुईपाङ्ग्रे सवारीसाधनमा सवार मानिसको पनि छ।
सडक दुर्घटनाको सबैभन्दा प्रमुख कारण तीव्र गति देखिएको छ। न्यूनतम सुरक्षा सावधानी नअपनाएका कारण धेरैको ज्यान गएको छ। उदाहरणका लागि, ५४,००० जनाको हेल्मेट नलगाएका कारण र १६,००० जनाको गाडीभित्र पेटी नबाँधेका कारण ज्यान गएको छ।
अरू प्रमुख कारणहरूमा अत्यधिक भार, चालक अनुमतिपत्र प्राप्त नगरी गाडी चलाउने र गलत लेनबाट गाडी चलाउने जस्ता लापरबाही छन्। त्यो वर्ष भएका ३४,००० वटा दुर्घटनामा संलग्न चालकको लाइसन्स नभएको पाइएको छ।
सन् २०२१ मा पनि १३ प्रतिशत दुर्घटनामा संलग्न चालकको या त लाइसन्स थिएन वा सिकारु अनुमतिपत्र मात्रै थियो।
कतिपय सवारीसाधनहरू पुराना भएका कारण दुर्घटनामा क्षति कम गराउन सक्ने एअरब्याग देखि सीटबेल्ट पनि काम लाग्ने अवस्थामा हुँदैनन्।
सडकको यो अव्यवस्थालाई भारतको मिश्रित यातायात प्रणालीले थप जटिल बनाइदिएको छ।
भारतका सडकमा मोटरले तान्ने देखि जनावरले तान्ने गाढा र बसदेखि साइकल तथा रिक्सासम्म एउटै बाटोमा गुडिरहेका हुन्छन्। अनि पैदलयात्रुदेखि जनावरसम्म सडकमै हिँडिरहेका भेटिन्छन्।
सडकमा पसल थाप्ने वा अन्य व्यवसाय गर्नेहरूले पैदलयात्रुका लागि राखिएको ठाउँ कब्जा गरेर सामान फिँजाएका कारण मानिसहरू गाडी हिँड्ने ठाउँबाट हिँड्न बाध्य हुन्छन्। त्यसले ट्राफिक व्यवस्थापन अझै जटिल बनेको देखिन्छ।
'कानुनप्रति सम्मान र डर दुवै नहुँदा समस्या'

तस्बिर स्रोत, Getty Images
कैयौँ प्रयास र लगानीका बावजुद पनि भारतको सडक विश्वमै असुरक्षितमध्ये पर्छ। विज्ञहरूका अनुसार यो सङ्कटका पछाडि पूर्वाधार मात्रै नभएर मानिसको व्यवहार र नियम पालना गराउने कुरामा कमी अनि प्रणालीगत बेवास्ताजस्ता कारणहरू पनि छन्।
सडक दुर्घटनाका कारण भारतलाई देशको कुल गाहर्स्थ्य उत्पादन (जीडीपी)को तीन प्रतिशत आर्थिक बोझ थपिएको छ।
अमेरिकापछि सबैभन्दा ठूलो सडक सञ्जाल भएको देश भारत हो। भारतमा ६६ लाख किलोमिटर लामो सडक सञ्जाल छ। त्यसमध्ये राष्ट्रिय वा राज्यस्तरीय सडक सञ्जालको भाग पाँच प्रतिशत छ। अनि भारतमा दर्ता भएका सवारीसाधनको सङ्ख्या अनुमानित ३५ करोड छ।
गडकरीले सडक सुरक्षासम्बन्धी बैठकमा मानिसहरूमा कानुनप्रति सम्मान र डर दुवै नभएका कारण सडक दुर्घटना भइरहेको बताए।
"सडक दुर्घटनाका कैयौँ कारणहरू छन्। त्यसमध्ये सबैभन्दा प्रमुख कारण चाहिँ मानिसको व्यवहार नै हो," उनले भने।
यो एउटा पाटो मात्रै हो। गत महिना गडकरीले कमजोर सिभिल इन्जिनिअरिङ अभ्यासबारे बोलेका थिए। उनका अनुसार सडकको त्रुटिपूर्ण डिजाइन, कम गुणस्तरको निर्माण र कमजोर व्यवस्थापनसँगै सडकमा अपर्याप्त सङ्केतचिह्नले सडक दुर्घटनाको दर बढेको छ।
"यसका सबैभन्दा मुख्य दोषी सिभिल इन्जिनिअरहरू हुन्।... हाम्रोमा सडकमा राखिने सङ्केतचिह्नदेखि रेखाङ्कनजस्ता सामान्य कुरा समेत गतिलो छैन," उनले भनेका थिए।
सन् २०१९ देखि उनको मन्त्रालयले राष्ट्रिय राजमार्गहरूमा सडक भासिएका लगायत ५९ वटा कमजोरी पहिचान गरेको गडकरीले गत महिना संसद्लाई जानकारी गराएका थिए। दुर्घटना हुन सक्ने सम्भावित क्षेत्रका रूपमा पहिचान गरिएका १३,७९५ स्थानमध्ये ५,०३६ स्थानमा मात्रै दीर्घकालीन समाधान खोजिएको थियो।
सडक मापदण्डमा त्रुटि र लापरबाही

तस्बिर स्रोत, Reuters
दुर्घटना न्यूनीकरण र प्रविधिसम्बन्धी भारतका छुट्टाछुट्टै दुई निकायले गरेको सडक सुरक्षा जाँचमा सडक पूर्वाधारमा गम्भीर त्रुटिहरू फेला पारेका थिए।
कतिपय स्थानमा सडकको डिलबाट सवारीसाधनहरू नखसून् भनेर राखिएका बार भएको ठाउँबाटै सवारीसाधनहरू खस्ने गरेको पाइएको थियो।
यस्ता 'सेफ्टी ब्यारिअर'को निश्चित मापदण्डको अभाव, उचाइको कमी वा कमजोर निर्माणका कारण तिनले ट्रक वा बसजस्ता ठूला साधनलाई रोक्न नसकेको पाइएको थियो।
"राम्रोसँग नराखिएको अवस्थामा त्यस्ता बारहरूले फाइदाभन्दा बेफाइदा धेरै गर्न सक्छन्," आईआईटी दिल्लीमा सिभिल इन्जिनिअरिङकी प्राध्यापक गीतम तिवारीले बीबीसीसँग भनिन्।
अनि तीव्र गतिमा सवारीसाधनहरू गुड्ने सडकमा दुईतर्फका सवारीसाधनलाई विपरीत लेनमा छुट्ट्याउने पर्खाल वा सडक डिभाइडरहरू पनि मापदण्ड अनुसारका नरहेको पाइएको थियो। यस्ता डिभाइडरहरू १० सेन्टिमिटरभन्दा अग्ला हुनु नहुने मापदण्ड छ, तर अधिकांश त्योभन्दा अग्ला थिए।
सीधा ठाडो बनाइएका यस्ता अग्ला डिभाइडरमा तीव्र गतिमा रहेको गाडीले ठक्कर दिएको अवस्थामा चक्का पड्किने वा गाडी सडकमा गुल्टिने अवस्था बन्न सक्छ।
राजधानी दिल्लीनजिकै रहेको एउटा राजमार्गमा यस्तो डिभाइडर सुरक्षा मापदण्डविपरीत बनाइएको छ। अनि धेरै सडकहरू किनाराको भागभन्दा उठाएर बनाइएका छन्। यस्तो डिजाइनले केही गरी सवारीसाधनहरू डिलमा पुगेको अवस्थामा चिप्लिने वा पल्टिने जोखिम हुने विज्ञहरू बताउँछन्। दुईपाङ्ग्रे सवारीसाधनका हकमा यो अझै जोखिमपूर्ण हुन्छ।
भारतको सडक मापदण्ड कागजमा स्पष्ट छ, तर व्यावहारिक कार्यान्वयन कमजोर छ।
"यसको प्रमुख कारण सुरक्षा मापदण्ड पूरा नगरेको अवस्थामा तोकिएको न्यूनतम जरिबाना हो। ठेकेदारहरूले यस्ता मापदण्डमा ध्यान दिँदैनन् र सुरक्षा मापदण्ड हेरेरभन्दा पनि निर्माण भएको किलोमिटरका आधारमा भुक्तानी दिइन्छ," प्राध्यापक तिवारी भन्छिन्।
'पश्चिमा शैलीको नक्कल तथा मौलिकताको बेवास्ता'

तस्बिर स्रोत, Getty Images
मन्त्री नितिन गडकरीले हालै २५,००० किलोमिटर लामो राजमार्गलाई दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेका छन्। "यसले सडक दुर्घटनालाई उल्लेख्य मात्रामा कम गर्ने छ," उनको भनाइ छ।
तर शिकागो विश्वविद्यालयका विज्ञ कवि भल्ला त्यसप्रति विश्वस्त छैनन्। न्यून र मध्यम आय भएका देशहरूमा सडक सुरक्षाका क्षेत्रमा काम गरेका भल्ला भारतमा बनाइने सडकहरूमा पश्चिमा शैलीको नक्कल गरिने भए पनि देशको मौलिक यातायात अवस्था र पूर्वाधारको आवश्यकतालाई बेवास्ता गरिने बताउँछन्।
"सडक फराकिलो पार्दैमा सवारीसाधन दुर्घटनामा हुने मृत्यु घट्छ भन्ने कुरा पत्याउने आधार छैन। सडकको स्तरोन्नति गर्दा सवारीसाधनहरूको गति पनि बढ्ने र त्यसले पैदलयात्री, साइकलचालक र मोटरसाइकलचालकहरूका निम्ति जोखिम बढाउने कैयौँ प्रमाणहरू छन्," उनी भन्छन्।
"भारतमा नयाँ सडक डिजाइन अमेरिका र युरोपका सडकबाट नक्कल गरिएको छ। फरक यातायात भएको देशमा यो प्रमुख समस्या हो। भारतले अमेरिकाको जस्तो पूर्वाधार बनाए पनि सुरक्षामा त्यो देशको जस्तो लगानी गरेको छैन," भल्ला भन्छन्।
अन्तर्राष्ट्रिय सडक महासङ्घका केके कपिल बढ्दो सडक सङ्कटको सम्बोधनका लागि भारतले रणनीतिक सुधार गर्न जरुरी रहेको बताउँछन्। उनी भारतको सङ्घीय सरकारलाई सडक सुरक्षासम्बन्धी विषयमा सहयोग गर्दै आएका छन्।
उनका अनुसार प्रमुख राज्यहरूलाई दुर्घटना भइरहने स्थानको पहिचान गर्न भनिएको छ। त्यसमा सुधार गरिएपछि ती स्थानहरू सुरक्षित भएको उनले बताए।
अधिकांश अर्थशास्त्रीहरूले धेरैभन्दा धेरै सडकहरू भारतको उन्नतिका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।
तर तिनलाई दीर्घकालीन बनाउनका लागि पैदलयात्रु र साइकलचालकको ज्यान जोखिममा हुने किसिमको निर्माण हुन नहुने उनीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








