'गुगल म्याप्स' कति विश्वसनीय?: उत्तर प्रदेशमा भएको एउटा घातक दुर्घटनापछि उठेको प्रश्न

तस्बिर स्रोत, Anoop Mishra
- Author, शेरिलान मोलन र सैयद मोजिज इमाम
- Role, बीबीसी न्यूज र बीबीसी हिन्दी
के प्रयोगकर्ता दुर्घटनामा पर्यो भने उसले बाटो हेर्न प्रयोग गरेको 'न्याभिगेशन एप'लाई जिम्मेवार मान्न र कारबाही गर्न सकिन्छ?
नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशको बरेलीमा एउटा अपुरो पुलबाट कार खस्दा त्यसमा सवार तीन जनाको मृत्यु भएपछि अहिले यो प्रश्नबारे भारतमा चर्चा भइरहेको छ।
प्रहरीले आइतवार भएको दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। 'गुगल म्याप्स' प्रयोग गर्दा उनीहरू निर्माणाधीन पुल भएको उक्त बाटोमा पुगेको प्रहरीले ठानेको छ।
यो वर्ष बाढीले उक्त पुलको एउटा भाग बगाएको थियो। त्यो कुरा थाहा भएका स्थानीय बासिन्दाहरू त्यो बाटो प्रयोग गर्दैनन्। तर दुर्घटनामा ज्यान गुमाएका तीन जना भने बाहिरबाट त्यहाँ पुगेका थिए।
उक्त बाटोमा पुल अधुरो रहेको जनाउने कुनै बोर्ड, सङ्केत वा अवरोध थिएन।
आपराधिक हत्याको आरोप लगाउँदै राज्यको सडक विभागका चार इन्जिनियर र 'गुगल म्याप्स'का एक अधिकारीविरुद्ध प्रहरीमा उजुरी परेको अधिकारीहरूले बताएका छन्। गुगलका अधिकारीको नाम सार्वजनिक भएको छैन।
गुगलका एक प्रवक्ताले अनुसन्धानमा आफूहरूले सघाइरहेको बीबीसी हिन्दीसँग बताएका छन्।
सडक पूर्वाधारको अवस्थाबारे चर्चा

तस्बिर स्रोत, ANI
यो दुर्घटनाले भारतमा सडकको दुरवस्थाप्रति मानिसहरूको ध्यानाकृष्ट भएको छ।
'गुगल म्याप्स' बाटो देखाउने एपहरू यस्ता किसिमका दुर्घटनामा जिम्मेवार हुन्छन् कि हुँदैनन् भन्ने बहस पनि चलिरहेको छ।
कतिपयले वास्तविक सूचना नदिएको भन्दै दुर्घटनाको दोष एपमाथि लगाएका छन् भने अरू कतिपयले उक्त पुलमा सवारीसाधन जान सक्ने गरी बिनाअवरोध त्यत्तिकै छोड्नु सरकारको कमजोरी भएको तर्क गरेका छन्।
'गुगल म्याप्स' भारतमा सबैभन्दा लोकप्रिय ‘न्याभिगेशन एप’ अर्थात् बाटो देखाउने एप हो।
यसले राइड शेअरिङ सेवाहरूसँगै अनलाइन व्यापार र खानेकुरा ल्याइदिने सेवाहरूलाई पनि सहज बनाइदिएको छ।
भारतमा यो एपका छ करोड सक्रिय प्रयोगकर्ता रहेको र दैनिक छ करोड पटक ‘सर्च’ हुने बताइएको छ।
तर कहिलेकाहीँ सही दिशा नदेखाएको र कतिपय अवस्थामा घातक दुर्घटना समेत भएको भन्दै यो एप पटकटक छानबिनमा परेको छ।
यसअघि पनि भएको थियो उस्तै घटना
सन् २०२१ मा महाराष्ट्र राज्यका एक व्यक्तिले चलाएको कार एउटा बाँधभित्र छिरेपछि उनको डुबेर मृत्यु भएको थियो। उनले पनि 'गुगल म्याप्स'मा भर परेर कार चलाएको दाबी गरिएको थियो।
गत वर्ष केरलाका दुई युवा डाक्टरहरूले चलाएको कार नदीले बगाएपछि उनीहरूको ज्यान गयो। प्रहरीका अनुसार उनीहरूले पनि 'गुगल म्याप्स'ले देखाएको बाटो प्रयोग गरेका थिए।
बाढी आएको अवस्थामा 'गुगल म्याप्स'मा मात्रै अत्यधिक भर नपर्न प्रहरीले त्यस बेला मानिसहरूलाई सचेत गराएको थियो।
'गुगल म्याप्स'ले कसरी सडकको अवस्था थाहा पाउँछ

तस्बिर स्रोत, Getty Images
'गुगल म्याप्स'ले सडकको अवस्थामा भएको परिवर्तनबारे कसरी थाहा पाउँछ त?
प्रयोगकर्ताहरूको एपबाट 'ग्लोबल पोजिशनिङ सिस्टम' भनिने जीपीएस सङ्केतहरूका आधारमा 'गुगल म्याप्स'ले सडकको अवस्था आकलन गर्छ। धेरै प्रयोगकर्ताहरूबाट सङ्केतहरू देखिएको अवस्थामा सडकमा चाप भएको र कम प्रयोगकर्ताका सङ्केत देखिएको अवस्थामा सडक कम प्रयोग भएको बुझिन्छ। यो एपले सरकारहरू र प्रयोगकर्ताहरूबाट पनि ट्राफिक जाम र सडक बन्दको अवस्थाबारे अद्यावधिक विवरणहरू लिने गर्छ।
दैनिक आउने दशौँ लाख गुनासा हेर्ने जनशक्ति गुगलसँग नभएका कारण सवारीसाधनहरूको उच्च चाप रहेको गुनासो वा प्रशासनबाट गराइएको जानकारीलाई गुगलले उच्च प्राथमिकता दिने 'गुगल म्याप्स'का पूर्वकर्मचारी आशिष् नायर बताउँछन्।
"सञ्चालकले त्यसपछि भूउपग्रहबाट प्राप्त तस्बिरहरू, गुगल स्ट्रीट भ्यू र सरकारी सूचनाबाट पुष्टि गरेर म्याप अद्यावधिक गर्छ," नायर भन्छन्।
नायर 'पोटर म्याप्स'का संस्थापक पनि हुन्। उनी यस्ता दुर्घटना हुँदा एपलाई जिम्मेवार बनाउन नहुने धारणा राख्छन्। म्याप प्रयोगको सर्तमै वास्तविक अवस्थाभन्दा नक्सामा देखाइएको सूचना फरक पर्न सक्ने र प्रयोगकर्ताहरूले आफ्नो विवेक प्रयोग गर्न भनिएको हुने उनी बताउँछन्।
त्यसबाहेक पनि विश्वभरिको म्याप व्यवस्थापन गर्ने गुगलजस्ता सेवाको लागि सडकमा हुने सबै परिवर्तन अद्यावधिक राख्न कठिन हुने उनको भनाइ छ।
अरू देशहरूजस्तै भारतमा पनि यस्ता समस्याहरू समयमै जानकारी गराउने द्रुत प्रणाली छैन।
"भारतमा ठूलो चुनौती भनेको डेटा हो। पूर्वाधारमा भएको परिवर्तन 'गुगल म्याप्स'जस्ता एपहरूले प्रयोग गर्ने गरी वेबको इन्टरफेसमा राख्ने कुनै प्रणाली छैन। सिङ्गापुरजस्ता देशहरूमा यस्तो प्रणाली छ," उनले भने।
उनी भारतजस्तो धेरै जनसङ्ख्या भएको र तीव्र गतिमा विकासनिर्माणका कामहरू भइरहेको देशमा वास्तविक र 'रिअल टाइम' विवरण पाउन अझै चुनौतीपूर्ण रहेको बताउँछन्।
"अर्को शब्दमा भन्नुपर्दा डेटा सङ्कलन र आदानप्रदानको काममा सरकार आफैँ सक्रिय नभएसम्म त्रुटिपूर्ण म्यापहरू हट्ने छैनन्," उनले भने।
कानुनविद् के भन्छन्
सडक दुर्घटनामा जीपीएस एपहरूलाई कानुनी रूपमा जिम्मेवार बनाउन सकिन्छ कि सकिँदैन भन्ने कुरामा कानुनका जानकारहरू पनि विभाजित छन्।
अधिवक्ता सीमा खान भारतको सूचना प्रविधि ऐनले तेस्रो पक्षबाट सूचना लिएर सञ्चालन हुने 'गुगल म्याप्स'जस्ता डिजिटल सेवाहरूलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिएको बताउँछिन्।
यदि 'गुगल म्याप्स'ले समयमै सही सूचना पाएर पनि त्यसलाई समयमै अद्यावधिक नगरेको प्रमाणित भए उसके हेलचेक्र्याइँ गरेको ठहर हुन सक्ने उनको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








