नेपालमा ठूलो क्षतिको पृष्ठभूमिमा यूकेका नेपाली यसरी दशैँ मनाउँदै छन्

तस्बिर स्रोत, Brigade of Gurkhas
- Author, भगीरथ योगी
- Role, लन्डन
यूकेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा आबद्ध डा. राघवप्रसाद धिताल जेन जीले प्रदर्शन आह्वान गरेको गत सेप्टेम्बर ८ मा काठमाण्डूमा थिए।
अर्को दिन (९ सेप्टेम्बरमा) त्रिभुवन विमानस्थल बन्द हुनुभन्दा ठिकअघि उनी यूके फर्किए।
"नेपालमा भ्रष्टाचार अन्त्य र सुशासन हुनु पर्छ भन्ने युवा पुस्ताको माग जायज छ। अब पुरानो पुस्ताले योग्य युवाहरूलाई शासनसत्ता हस्तान्तरण गर्नु पर्छ," डा. धिताल भन्छन्। "आन्दोलनका क्रममा युवाहरू लगायत नेपालीहरूको निधन, सिंह दरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति कार्यालय जस्ता नेपालका सम्पदा ध्वस्त पारिएको समाचार सुन्दा, हेर्दा साह्रै मन दुखेको छ। पारिवारिक तथा नेपालमा भएको हिंसाका कारण पनि यस पटक दशैँ मनाउन त्यति उत्साह छैन," उनले भने।
गएको ४६ वर्षदेखि बेलायतमा बसोबास गरिरहेका वरिष्ठ डाक्टर धिताल सुरुसुरुमा नेपालीहरूको सङ्ख्या निकै कम रहेको र सामाजिक संस्था यति र नेपाली दूतावासमा आयोजना गरिने दशैँ समारोहमा भेटघाट गरेर रमाइलो गर्ने गरेको सम्झना गर्छन्।
"अचेल त नेपालीका संस्था निकै छन्। केही न केही कार्यक्रम गरिरहन्छन्। खासगरी नयाँ पुस्तालाई नेपाली संस्कृति र चाडबाडबारे बताउन जरुरी छ," उनी भन्छन्।
गएको २२ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी सिनियर नर्स रश्मिता दर्लामी दशैँको बेला अझ बढी व्यस्त हुन्छिन्।

तस्बिर स्रोत, Brigade of Gurkhas
उनी कार्यरत लन्डनस्थित हिलिङ्गडन अस्पतालमा १२० जना नेपाली नर्ससहित २०० जनाभन्दा बढी नेपालीहरू काम गर्छन्।
सर्जिकल वार्डको वार्ड म्यानेजर पनि भएकाले उनले आफ्नो वार्डमा कार्यरत नेपाली नर्सहरूलाई पालैपालो छुट्टीमा जान आग्रह गर्छिन्। "दशैँ तिहारको बेला पारेर घरबाट मिठो मिठो नेपाली खाना पकाएर अन्य स्टाफहरूसँग शेअर गर्छौँ," उनले भनिन्।
उनलाई दशैँको बेला नेपालको निकै सम्झना आउँछ। बुवाआमा तथा अरू इष्टमित्र कहाँ गएको, टिका लगाएको, आशीर्वाद लिएको झझल्को आइरहन्छ।
"यहाँ बच्चाहरूको स्कूल चलिरहेको हुन्छ, आफ्नो काममा पनि जानुपर्यो। फेरि चाडबाडको बेला पाहुनाको सत्कार तथा विभिन्न परिकार बनाउन भ्याई- नभ्याई हुन्छ। तर पनि सबै नेपालीको महान् चाड भएकाले हाँसी खुसी दशैँ मनाउँछौँ," नेप्लिज नर्सिङ्ग एसोसियशन यूकेकी अध्यक्षसमेत रहेकी रश्मिताले भनिन्।
झन्डै सात वर्ष एनएचएसमा काम गरेका डा. विशाल गुरुङ अहिले 'सिनियर सिटिजन्स' लाई घरमै गएर स्याहार गर्ने कम्पनी, केयर मार्क विन्चेस्टर एन्ड इष्टले, मा प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन्। उनले पनि दशैँ, तिहारको बेला तीन दिनको छुट्टी लिने गरेका छन्।
"परिवारका सबै सदस्य भेला भएर दशैँ मनाउँदा निकै रमाइलो हुन्छ। अहिले त अल्डरशट नगरमा गोर्खा समुदायको बाक्लो बसोबास छ। थुप्रै नेपाली व्यवसायहरू खुलेका छन्। दशैँ, तिहार, ह्लोछारका बेला यहाँ युवाहरूले निकै रमाइलो गर्छन्," तमु धिं यूकेका महासचिव पनि रहेका डा. गुरुङले भने।
अल्डरशटमै बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिक शेरबहादुर सुनार सोह्र श्राद्धको अवधिमा माछा मासु खाँदैनन्। उनी र उनकी श्रीमतीले घरमै देवी दुर्गाको मन्दिर स्थापना गरेर पूजाआजा गर्छन्। "८३ वर्षीय मेरी आमाको हातबाट टिका थाप्न बेलायतका विभिन्न ठाउँमा रहेका ज्वाइँ चेला लगायत झन्डै १०० जना इष्टमित्र आउनु हुन्छ। दशैँमा त धेरै व्यस्त भइन्छ," उनले भने।
नेपाली समुदायद्वारा अल्डरशटमै स्थापित शिव मन्दिर (शिव सांस्कृतिक तथा सामाजिक केन्द्र) का संस्थापक समेत रहेका सुनारले मन्दिरमा दशैँको बेला विशेष पूजाआजा गरी सबै भक्तजनहरूलाई पण्डितबाट टिका जमरा लगाइदिने प्रबन्ध मिलाइएको जनाए।
"दशैँ सबै जातजाति तथा समुदायको साझा चाड हो। तर अहिले पनि धार्मिक स्थलमा जातीय भेदभाव हुने गरेको पाइन्छ। हामीले त्यस्ता कुसंस्कार हटाउँदै सबै नेपालीको साझा चाडको रूपमा दशैँ मनाउनु पर्छ," उनले भने।

तस्बिर स्रोत, Brigade of Gurkhas
पल्टनमा दशैँ
समान पेन्सन लगायतका माग गर्दै भूतपूर्व गोर्खा सैनिकहरूको लामो आन्दोलनपछि सन् २००९ मा ब्रिटिश सेनामा कम्तीमा चार वर्ष सेवा गरेका भूतपूर्व गोर्खा सैनिकलाई आवासीय अधिकार दिने घोषणा गरेको थियो।
त्यस यता हजारौँको सङ्ख्यामा गोर्खा सैनिक तथा तिनका परिवार बेलायतमा स्थायी रूपमै बसोबास गर्दै आएका छन्।
ब्रिगेड अफ गोर्खाजमा कार्यरत गोर्खा सैनिकहरूको लागि त दशैँको विशेष महत्त्व छ। बेलायतमा मात्रै हैन युद्ध क्षेत्रमा रहेको बेला पनि उनीहरू पूजाआजा गर्दै दशैँ मनाउँछन्। बेलायतमा चाहिँ गोर्खा सैनिक रहेका सबै ब्यारेकहरूमा विधि विधान पूर्वक दशैँ लगायतका चाडबाड मनाइने गरेको मेडस्टोनस्थित क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत पण्डित प्रेमप्रसाद गैरेले बताए।
"घटस्थापनाका दिन विधिपूर्वक जमरा राखेर मन्दिरमै पाल टाँगेर नौ दिनसम्म नित्य देवी दुर्गाको पूजापाठ गर्छौँ, मालसिरी गाउँछौँ। सातौँ दिन नौ थरीका बिरुवाहरू ल्याएर फूलपाती भित्र्याउँछौँ। दशमीका दिन विधिपूर्वक जमरा काटेर पण्डित र वरिष्ठ गोर्खा मेजरले सकल दर्जालाई टिका लगाइदिने चलन छ। त्यसपछि सबै गोर्खा सैनिक आआफ्नो घर डेरामा गएर आफ्नो परिवारसँग टिका लगाउनुहुन्छ। केही ब्रिटिश अफिसरहरू पनि टिका लगाउन आउनु हुन्छ," पण्डित गैरेले भने।
गएको ४० वर्षदेखि ब्रिगेड अफ गोर्खाजमा कार्यरत पण्डित गैरेका अनुसार नेपाल, ब्रुनाइ लगायत केही मुलुकमा पशु बली दिने चलन भए पनि बेलायतमा चाहिँ दशैँको अष्टमीका दिन गोर्खा ब्यारेकहरूमा काँक्रो, कुभिन्डो आदि बली दिने चलन छ। "आफूभित्र रहेको काम, क्रोध, लोभ, मोह काट्नु नै बली हो। पशु बली नै दिनु पर्छ भन्ने अनिवार्य छैन। यो प्रचलनको कुरा हो," पण्डित गैरेले भने।
उनले शक्ति प्राप्त गर्न देवी दुर्गाको पूजा आराधना गर्ने, आफूभन्दा ठुलासँग आशीर्वाद लिने, मीठो मसिनो खाने, रमाइलो गर्ने दशैँ नेपाली मात्रको महान् चाड भएको बताए।
"यो चाडले संसारभरि रहेका नेपालीहरूलाई सांस्कृतिक रूपमा जोड्ने काम गरेको छ," उनले भने ।

तस्बिर स्रोत, Rashmita family collection
जेन जी पुस्ताको सम्झना
हालैको आन्दोलनका क्रममा जेन जी पुस्ता लगायत ७० जनाभन्दा बढीको ज्यान गएको खबर सुनेर बेलायतस्थित नेपाली समुदाय स्तब्ध भएको थियो।
दक्षिण पूर्वी लन्डन लगायत विभिन्न स्थानमा मृतकहरूको आत्माको चीर शान्तिको कामना गर्दै शोकसभाहरू आयोजना गरिएका थिए।
लन्डनको रेभन्जबर्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रार्थनासभा आयोजना गरे।
उक्त प्रार्थना सभामा सो विश्वविद्यालयका उपकुलपति जन किंग्सबरी, अन्य पदाधिकारीहरूका साथै अन्य मुलुकबाट आएका विद्यार्थीहरू पनि सहभागी भएका थिए।
सोही विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थी निशान्त बीसी नेपालमा भर्खरै भएको आन्दोलनका क्रममा किशोर तथा युवाहरूको ज्यान गएको खबर सुन्दा आफूहरू मर्माहत भएको बताउँछन्। "म आफै पनि जेन जी पुस्ताको सदस्य हुँ। नेपालमा भएको भए अवश्य पनि शान्तिपूर्ण रूपमा आन्दोलनमा सहभागी हुने थिएँ," बीसीले भने।
"यहाँ अन्य मुलुकबाट आएका विद्यार्थीहरूले पनि नेपालमा स्थिति कस्तो छ, तिम्रो मुलुकमा चाँडै शान्ति कायम होस् भन्ने हाम्रो चाहना छ भनेर हामीलाई भने। पोहोर साल त अन्य नेपाली साथीहरूसँग मिलेर रमाइलोसँग दसैँ मनाएको थिएँ। तर यस पटक नेपालका घटनाहरूले गर्दा त्यति उत्साह छैन। सुर्खेतमा रहनु भएका बुवाआमा र परिवारलाई 'मिस' गरिरहेको छु," उनले भने।
८२ वर्षीय वरिष्ठ चिकित्सक डा. धितालले पनि दशैँ सबै नेपालीहरूको लागि शुभ होस् भन्ने चाहना व्यक्त गरे। "यो चाडले हामी सबैमा सद्बुद्धि ल्याओस्। सबै नेपालीको भलो होस्। एकता र मेलमिलाप कायम होस्," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








