सिक्किम र दार्जलिङमा मनाइने दशैँ कस्तो हुन्छ?

सिक्किमको दशैँ

तस्बिर स्रोत, NITESH R PRADHAN

    • Author, नितेश आर प्रधान
    • Role, सिक्किम, भारत

नेपालमा मनाइने सबैभन्दा ठूलो चाड दशैँ सिक्किम र दार्जिलिङका नेपाली समुदायमाझ पनि विशेष रूपले मनाइन्छ।

यद्यपि स्थानीय परम्पराको झल्को देख्न पाइने यहाँको दशैँ मनाउने तरिका भने केही फरक पाइन्छ।

पहाडी क्षेत्रहरूमा दशैँ केवल धार्मिक चाडको रूपमा मात्रै नभइ सामुदायिक एकता, साँस्कृतिक विविधता र आपसी मेलमिलापको पर्वका रूपमा मनाइने गरेको जानकारहरू बताउँछन्।

सिक्किममा दशैँको मुख्य आकर्षण भनेको सामूहिक टीका र जमरा ग्रहण गर्ने परम्परा हो।

गाउँभरका मानिसहरू मुखियाको घरमा भेला हुन्छन् र मुखियाबाट टीका र जमरा ग्रहण गर्छन्।

यस परम्परामा विशेष रूपमा बाजा बजाइन्छ, मिष्ठान्न परिकारहरू बनाइन्छ र गाउँभरि गीत-सङ्गीतको रौनक हुन्छ।

गाउँलेहरूले एक अर्कालाई शुभकामना आदान-प्रदान गर्छन् र यसले दशैँको उत्सवलाई अझै रङ्गिन बनाउँछ।

सिक्किमको दशैँ

तस्बिर स्रोत, NITESH R PRADHAN

विशेषगरी दशमीको दिन, टाढा रहेका चेलीबेटीहरू घर फर्केर परिवारको साथमा जमरा र टीका लगाउँछन्।

सिक्किमको गान्तोकमा कार्यरत सविता तामाङ भन्छिन्, "हामी सबै वर्षभरि काममै व्यस्त हुन्छौँ, तर दशैँ आउँदा भने गाउँ फर्कने उत्साह बेग्लै हुन्छ। यो बेला मात्र हामीले परिवारसँग समय बिताउने मौका पाउँछौँ।"

सिक्किममा दशैँको अर्को आकर्षण भनेको सामुदायिक खेलकुद र साँस्कृतिक कार्यक्रमहरू आयोजना गर्नु हो।

गाउँ-गाउँमा युवाहरूले खेलकुद प्रतियोगिता, नृत्य र गीत-सङ्गीत कार्यक्रमहरू आयोजना गर्छन्।

यस्ता कार्यक्रमहरूले आफ्नो संस्कृति र परम्पराको सम्मान गर्न प्रेरित गर्ने स्थानीय युवाहरू बताउँछन्।

दार्जिलिङमा दशैँ: मालश्री धुन, पण्डाल संस्कृति, र फूलपाती यात्रा

दार्जिलिङमा भने दशैँमा मालश्री धुन गाउँ गाउँमा गुन्जिन्छ।

साथै, दार्जिलिङमा दशैँको अर्को महत्त्वपूर्ण पक्ष भनेको पण्डाल संस्कृति हो।

विशेषगरी दुर्गा पूजाको अवसरमा ठूला-ठूला पण्डालहरू निर्माण गरिन्छ र त्यहाँ देवी दुर्गाको मूर्ति स्थापना गरेर पूजा गरिन्छ।

पण्डालहरूलाई विशेष रूपमा सजाइन्छ र यी पण्डालहरूमा हजारौँ मानिसहरूको भीड लाग्छ।

पण्डालमा देवी दुर्गाको पूजा गर्ने र परम्परागत परिकारहरूको स्वाद लिने अवसरका रूपमा स्थानीय मानिसहरू लिन्छन्।

पण्डालहरूमा स्थानीय संस्कृति र परम्परालाई झल्काउने सजावट गरिन्छ जसले दशैँको महत्त्वलाई थप जीवन्त बनाउने जानकारहरू बताउँछन्।

सिक्किमको दशैँ

तस्बिर स्रोत, NITESH R PRADHAN

फूलपाती यात्रा पनि दार्जिलिङमा दशैँको विशेष आकर्षण हो।

फूलपातीको अवसरमा गाउँ गाउँबाट मानिसहरू फूल र पातहरूको थुप्रो लिएर मन्दिरहरूमा चढाउन जान्छन्।

यस क्रममा ठूला मेला आयोजना गरिन्छ जसमा परम्परागत नेपाली परिकारहरू, स्थानीय हस्तकलाका सामानहरू र खेलौना बिक्री गरिन्छ।

यी मेलामा स्थानीय समुदायका सबै उमेरका मानिसहरू सहभागी हुन्छन् र दशैँको उल्लासपूर्ण माहोलले गाउँ गाउँलाई जीवन्त बनाउँछ।

दार्जिलिङका व्यवसायी सन्तोष राई भन्छन्, "दशैँ भनेको हाम्रो लागि उमेरभरि सम्झनामा बस्ने चाड हो। सहरमा जति नै कमाए पनि गाउँको वातावरण र आफन्तहरूको साथको रमाइलो यहाँ पाइँदैन।"

उनीजस्तै धेरै मानिसहरू दशैँको समयमा टाढा-टाढाबाट गाउँ फर्कन्छन् र परिवारको साथमा चाड मनाउँछन्।

सिक्किम र दार्जिलिङमा दशैँले केवल नेपाली समुदायमा मात्रै नभइ अन्य जातजाति र समुदायहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ।

अन्तर सामुदायिक विवाहका कारण सिक्किममा बसोबास गर्ने भोटे समुदायले पनि दशैँलाई आफ्नै शैलीमा मनाउँछन्।

यस्तै, लेप्चा र अन्य समुदायले पनि दशैँलाई विशेष महत्त्वका साथ मनाउँछन्।

गान्तोकमा कार्यरत रमेश क्षेत्री भन्छन्, "दशैँमा गाउँ जाने र परिवारसँग रमाउने हाम्रो संस्कार नै हो। यो बेला त हरेकले आफ्नो गाउँ फर्केर चाड मनाउने रहर राख्छ्न्।"

दशैँले विभिन्न जातजाति र धर्मका मानिसहरूलाई पनि एकतामा बाँध्ने काम गरेको देखिन्छ।

रेडिओ पत्रकार प्रियङ्का तामाङले आफ्ना बाल्यकालका दशैँका सम्झनाहरू सुनाउँदै भनिन्, "बाल्यकालमा चिया बगानमा दशैँ हाम्रो लागि महोत्सव जस्तै हुन्थ्यो। परिवारका सबै सदस्य जम्मा भएर मेलाजस्तै रमाइलो गरिन्थ्यो। अहिले भने दशैँको खुसी आमा र दिदीबहिनीका लागि किनमेल गर्नु, कहिलेकाहीँ आमालाई घुम्न लग्नुमा केन्द्रित भएको छ।"

सिक्किम एक्सप्रेसका सम्पादक अमित पत्रो भन्छन्, "दशैँ कृतज्ञता, आत्म चिन्तन, र पारिवारिक सम्बन्धहरूको उत्सव हो। हाम्रो समुदायको लागि सबैभन्दा प्रिय पर्व पनि दशैँ हो। हामीले वर्षौँदेखि यो पर्वलाई रमाइलो तरिकाले मनाउँदै आएका छौँ।"

सिक्किम र दार्जिलिङमा दशैँको उत्सवले सांस्कृतिक सम्पदा, धार्मिक सहिष्णुता, र समुदायको एकताको प्रतीकको रूपमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

दशैँको बेला उपहारहरूको आदानप्रदान, पण्डालहरूमा देखिने रङ्गिन सजावटहरू र मेलामा मानिसहरूको भिडले यस चाडलाई अझै उल्लासमय बनाउने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।