दशैँ: एक वर्षमा कतिवटा नवरात्रि, के चैतको दशैँ असोजमा सारिएको हो

तस्बिर स्रोत, Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा यो किंबदन्ती निकै प्रचलित छः पहिलापहिला चैतमा दशैँ बढी उमङ्गसहित र उत्साहपूर्वक मनाइन्थ्यो, तर चैतमा मासु खाँदा धेरै मानिस बिरामी परेकाले बर्खापछि शरद् ऋतुमा मनाउनेगरी दशैँ सरियो!
के यो लोकोक्तिमा कुनै सत्यता छ? अनि एक वर्षमा कति पटक दशैँ मनाइन्छ त?
पूर्वीय परम्परा र धर्मशास्त्रका ज्ञाताहरूका अनुसार एक वर्षमा चार ऋतुमा छुट्टाछुट्टै नवरात्रि पर्छन्। त्यस बेला देवीको आराधना गर्ने प्रचलन छ।
तर असोज वा कात्तिक महिनामा पर्ने दशैँलाई बडादशैँ भनेर विशेष रूपमा मनाइने गरेको छ। यो पर्व असोज शुक्ल प्रतिपदादेखि आरम्भ हुन्छ र विजयादशमीपछि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ। नेपाल र भारतमा मनाइने विभिन्न सांस्कृतिक पर्वमा समानता रहे पनि नेपालमा मनाइने बडादशैँका आफ्नै मौलिकता रहेको संस्कृतिविद्हरू औल्याउँछन्।
'चारवटा दशैँ'
कुनै वर्ष असोज र कुनै वर्ष कात्तिक महिनामा पर्ने नवरात्रिलाई शारदीय नवरात्रि पनि भनिन्छ। नवरात्रि सकिएपछि नेपालमा दशमीको दिन विशेष उत्सव मनाइन्छ।
यसबाहेक माघ, चैत्र र असार शुक्लपक्षमा पनि नौ दिनसम्म तान्त्रिक र शक्तिसाधकहरूले देवीको पूजा आराधना गर्दै नवरात्रि मनाउने गरेका छन्।

तस्बिर स्रोत, Getty Images
संस्कृतिविद् डा. जगमान गुरुङका अनुसार हेमन्त ऋतुको दशैँ पौष शुक्लपक्षमा पर्छ र यसलाई देवीले भोजन गर्ने अवसरको रूपमा धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ।
तर जाडो याममा पर्ने भएकाले यो दशैँलाई धुमधामसँग मनाउने परम्परा नबसकेको उनको भनाइ छ।
सनातन हिन्दू धर्मशास्त्रहरूका अनुसार वसन्त ऋतुको चैत्र शुक्लपक्ष भगवती शयन गर्ने समय भएको विज्ञहरू बताउँछन्। यसलाई "चैते दशैँ" पनि भन्ने गरिएको छ।
संस्कृतिविद् वीणा पौडेल रामनवमी अर्थात् भगवान् रामको जन्मदि र चैते दशैँको एकैदिन पर्ने भएकाले वसन्त ऋतुको दशैँलाई पनि विशेष महत्त्व दिने गरिएको बताउँछिन्।
शारदीय नवरात्रिपछि विजयादशमी र वसन्तीय नवरात्रिमा नवमीमा चैते दशैँ मनाइन्छ।
यसबाहेक ग्रीष्म ऋतुको असार शुक्लपक्षमा पनि अर्को नवरात्रि पर्छ। यसलाई धर्मशास्त्रहरूमा भगवती कोल्टे फेर्ने समयको रूपमा व्याख्या गरिएको संस्कृतिविद् गुरुङ बताउँछन्।
तर खेतीपातीको समय र बाढी पहिरोको मौसममा पर्ने यो नवरात्रिमा हिँडडुल गर्न समस्या हुने भएका कारण पनि यसलाई शारदीय र वसन्तीय दशैँको जस्तो महत्त्व नदिइएको हुनसक्ने उनको बुझाइ छ।
"पुसमा जाडो हुन्छ, चैत्र वैशाखमा सुक्खा खडेरी हुन्छ। कामकाजको पनि बेला आयो असारमा त, रोपाइँ भो! धान रोप्ने कि दशैँ मान्ने त?" गुरुङ भन्छन्।
"अब असोजमा त धान पाकेको छैन, कोदो पनि बेला भएको छैन। किसानलाई नि फुर्सद छ अहिले ऋतुले पनि साथ दिएको छ वातावरणले पनि साथ दिएको छ। आनन्दको समय छ।"
शरद् ऋतुको असोज शुक्लपक्षमा "देवी भगवती जागा हुने" भनेर धर्मशास्त्रहरूमा व्याख्या गरिएका कारण पनि यसलाई बडादशैँको रूपमा विशेष महत्त्वका साथ मनाइने गरिएको छ।
मौसमअनुसारका बालीहरू भित्र्याएपछि चारवटै ऋतुमा नयाँ बाली भगवान्लाई चढाउने र मनोरञ्जन गर्ने कुरासँग पनि चारवटा दशैँ सम्बन्धित रहेको संस्कृतिविद् वीणा पौडेल बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
के दशैँ चैतबाट असोजमा सारिएको हो?
चैत्र शुक्लपक्षमा मनाइने नवरात्रिमा बडादशैँमा जस्तै टीका र प्रसाद लगाउने चलन पनि कतैकतै देखिन्छ। चैते दशैँ समेत भनिने वसन्त यामको दशैँमा पनि काठमाण्डूस्थित हनुमान् ढोकामा जमरा राख्ने प्रचलन पनि रहेको प्रा. डा. माधव भट्टराई बताउँछन्।
पहिलेपहिले चैत्रको दशैँलाई धुमधामसँग मनाइने र त्यसलाई असोजमा सारिएको चर्चा हुने गरे पनि यस्तो दाबीमा सत्यता नभएको संस्कृतिविद्हरू बताउँछन्।
"चैते दशैँलाई असोजमा सारिएको सत्य होइन। शारदीय दशैँको महत्त्व मार्कण्डेय पुराणमै लेखिएको छ र यो धेरै पहिले लेखिएको हो," प्रा. माधव भट्टराईले भने।
"सप्तशती चण्डीमा शरद् ऋतुमा गरिएको पूजाबाट भोग, स्वर्ग र अपवर्ग प्राप्त हुन्छ भनिएको छ र अरू शास्त्रीय ग्रन्थहरूमा पनि शरद्कालीन दुर्गापूजाको महत्त्व बताइएको छ र प्रकृतिले पनि हामीलाई साथ दिएको छ।"

तस्बिर स्रोत, RSS
संस्कृतिविद् गुरुङ पनि चैतमा फूल नपाइने र सुक्खा हुने भएकोले असोजमा सारिएको हो भन्ने जनमानसमा प्रचलित किंबदन्ती सत्य नभएको बताउँछन्।
"देवी जागा हुने समय शारदीय ऋतु भएकाले यसको बढी महत्त्व भएको हो। यो समयमा आकाश पनि सफा हुने र अमृत वर्षा हुन्छ भनिएको छ। त्यसैले यसैलाई बडादशैँको रूपमा मनाइएको हो," उनले भने।
चैते दशैँमा टीका लगाउन मान्यजन र नातागोतामा आउजाउ नगरे पनि कतिपय परिवारले यो दशैँलाई पनि बडादशैँकै जसरी मनाउने गरेको संस्कृतिविद् पौडेल बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
दशैँको सामाजिक सम्बन्ध कस्तो?
प्रा. डा. माधव भट्टराईका अनुसार नेपालमा मनाइने चाडपर्वहरू प्रकृति र समाजसँग पनि मिल्दो छन्।
"हाम्रा पर्वहरू कस्ता छन् भने नितान्त शास्त्रीय कट्टरतामा आधारित नभएर प्रकृतिसँग, समाजसँग र कृषिप्रधान देशसँग पनि पनि सामञ्जस्य राख्ने हुनाले यहाँ प्रयोग हुने जति पनि सामग्रीहरू छन् ती अहिले उपलब्ध छन्," उनी भन्छन्।
दशैँ धर्मसँग मात्र नभएर समाजसँग पनि जोडिएर आएकाले यो चाड मनाउने संस्कृति ठाउँ र समुदायअनुसार पनि फरक रहेको संस्कृतिविद् पौडेल बताउँछिन्।
"नेपाली समाजको विशेषता लिच्छविकालबाटै धार्मिक सहिष्णुता भएको समुदाय हो," उनी भन्छिन्।

"भारतमा टीका र आशीर्वादको चलन नभए पनि नेपालमा दशमीपछि पनि टीका र आशीर्वादको प्रचलन हुनुमा नेपालको मौलिक संस्कृति प्रमुख हो।"
भारतमा विभिन्न कालखण्डमा हिन्दू मठमन्दिरमा आक्रमण हुँदा कतिपय धार्मिक ग्रन्थ वा मान्यताहरू नष्ट समेत भएको तर नेपालमा ठूलो आक्रमण र क्षति नभएका कारण पनि यहाँ दशैँको संस्कृति जीवित रहेको उनी बताउँछिन्।
प्रा. भट्टराई पनि नेपाल उपनिवेश नभएका कारण पनि यहाँका धार्मिक परम्परा मौलिक र अक्षुण्ण रहेको रहेको बताउँछन्।
यो पनि हेर्नुहोस्












