नेपाल मनसुन: यसपालिको विजयादशमी पनि 'हिले' हुने पूर्वानुमान, कहाँ वर्षाको सम्भावना बढी?

हिलाम्मे ग्रामीण सडक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हिलाम्मे ग्रामीण सडक

यो पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावनायुक्त मौसमी गतिविधिहरू देखिएको मौसमविद्हरूले बताएका छन्।

हालसम्मका मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ "हिले" हुनसक्ने उनीहरूको पूर्वानुमान छ।

कतिपय मौसमविद्का भनाइमा चाहिँ "अक्टोबर र नोभेम्बर" महिनाका मौसमी गतिविधिहरू "सङ्क्रमणकालीन र अप्रत्याशित खालका" समेत हुने गरेकाले यसै भन्न सकिन्न।

एकजना मनसुन विज्ञले चाहिँ नेपालमा मनसुनको प्रकृतिमा पहिलेको तुलनामा कैयौँ परिवर्तन देखापरेको भन्दै थप अध्ययनको आवश्यकता औँल्याए।

दशैँका बेलामा वर्षा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद्‌ मञ्जु बासीका अनुसार अहिले बङ्गालको खाडी क्षेत्रमा न्यून चापीय अवस्था विकास हुँदै गइरहेको देखिएको छ।

त्यसको प्रभावले नेपालमा यो साताभरि हुने सम्भावना देखिन्छ।

दशैँ

तस्बिर स्रोत, RSS

"अहिलेको मौसम प्रणालीको अनुगमन गर्दा नवमी र दशमीका दिन लगभग नेपालभरि नै वर्षाको सम्भावना देखिन्छ," उनले भनिन्।

टीकाका दिन विशेषगरी गण्डकी प्रदेश र त्यसभन्दा पश्चिमतिर बढी वर्षा हुने पूर्वानुमान गरिएको उनको भनाइ छ।

आगामी तीन दिनको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार जारी गरेको आगामी तीन दिनको मौसमसम्बन्धी पूर्वानुमानमा पनि देशका विभिन्न स्थानमा पानी पर्ने उल्लेख छ।

महाशाखाका अनुसार "हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको" छ।

मङ्गलवार देशभरि मौसम सामान्य बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई स्थानहरूमा उच्च वर्षाको सम्भावना रहेको छ।

हिलाम्मे ग्रामिण सडक

तस्बिर स्रोत, RSS

बुधवार र बिहीवार पनि देशैभरि सामान्य र पूर्ण बदली रहने विभागको पूर्वानुमान छ।

बुधवार दिउँसो प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधवार राति गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा उच्चदेखि धेरै उच्च वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीवार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा उच्चदेखि धेरै अति उच्च वर्षाको सम्भावना रहेको छ।

बिहीवार राति सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस दिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा उच्चदेखि धेरै उच्च वर्षाको सम्भावना रहेको छ।

मनसुन कहिलेसम्म जारी रहन्छ?

नेपालमा जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ तारिखमा बाहिरिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यद्यपि यसपालि उक्त मितिभन्दा केही अघि नै मनसुन सक्रिय भएको थियो भने अक्टोबर २ तारिखभन्दा पछिसम्म मनसुन लम्बिने देखिएको छ।

"अहिलेसम्मका मौसमी गतिविधि हेर्दा यो वर्षको मनसुन अक्टोबर २ तारिखभन्दा अलिपछिसम्म जाने देखिएको छ," मौसमविद् बासीले भनिन्।

हिलाम्मे ग्रामिण सडक

तस्बिर स्रोत, RSS

करिब एक दशकदेखि नेपालमा ढिलोगरी मनसुन भित्रने र ढिलै अन्त्य हुने प्रवृत्ति पटकपटक देखापरेको उनले बताइन्।

'मनसुन बाहिरिने समय पछि सर्दै'

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार नेपालमा मनसुन सुरु हुने दिनमा खासै परिवर्तन नआएको भए पनि मनसुन अन्त्य हुने दिन भने पछि सरिरहेको छ।

त्यसको कारण विभिन्न हुनसक्ने भन्दै उनी त्यसबारे "थप अध्ययन जरुरी रहेको" बताउँछन्।

"एउटा कारण जलवायु परिवर्तन हुनसक्छ। जलवायु परिवर्तनका कारण समुद्री तापक्रम बढिरहेको छ त्यसको प्रत्यक्ष प्रभाव मनसुनमा पर्छ। तर त्यसबारे थप अध्ययन हुनु जरुरी हुन्छ," उनले भने।

पछिल्लो दशकमा मनसुन अन्त्य हुने समय पछि सर्दा दशैँका बेलामा पनि वर्षा हुने गरेको उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार नेपालमा हरेक दश वर्षमा मनसुन अवधिबारे पुनरवलोकन गर्ने गरिन्छ।

मनसुन

तस्बिर स्रोत, RSS

त्यस क्रममा सन् २०२० मा त्यस्तो पछिल्लो पुनरवलोकन भएको थियो।

त्यसपछि नेपालमा मनसुन सुरु हुने दिन जुन १३ र अन्त्य हुने दिन अक्टोबर २ ठानिएको हो।

त्यसअघि जुन १० मा मनसुन सुरु भएर सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिने ठानिन्थ्यो।

उनी दशैँका बेलामा वर्षा हुने पूर्वानुमान गरिएको भए पनि "अक्टोबर र नोभेम्बर महिनाको मौसम अनिश्चित हुने" बताउँछिन्।

"यो बेला सङ्क्रमणकालीन प्रवृत्तिको मौसम हुने भएकाले त्यसको पूर्वानुमान पनि मिल्छ नै भन्ने हुँदैन," उनले भनिन्।

सहप्राध्यापक डा. मदन सिग्देलका अनुसार नेपालमा परम्परागत रूपमा पूर्वबाट मनसुन प्रवेश गरेर पश्चिम जाने भन्ने गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, देशमा कतै बाढी आउने कुरा काठमाण्डूमा यसरी थाहा हुन्छ!

"तर कतिपय अवस्थामा अहिले गङ्गा नदी हुँदै भैरहवातर्फबाट नेपाल प्रवेश गरेर मनसुन पूर्व आएको पनि देखिएको छ," उनले भने।

"यस्ता प्रवृत्तिबारे थप अध्ययन हुनु जरुरी छ।"

सिग्देलका अनुसार बङ्गालको खाडीमा जति धेरै पटक न्यून चापीय प्रणाली विकसित हुन्छ त्यति नै धेरै पटक नेपालमा मनसुनी वर्षा हुने गर्छ।

तर नेपालमा अरेबियन सागरमा उत्पन्न भएको त्यस्तो प्रवृत्तिका कारण पनि मनसुन सक्रिय हुन्छ।

उनले भने, "हिन्द महासागरको समुद्री तापक्रम बढेका बेला बङ्गालको खाडीमा न्यून चापीय प्रवृत्ति बढी देखिन्छ भने पूर्वी प्रशान्त महासागरको समुद्री तापक्रम बढ्दा त्यसको प्रभाव पनि देखिन्छ।"

उनका भनाइमा पूर्वी प्रशान्त महासागरको समुद्री तापक्रम बढ्दा भने नेपालमा वर्षा कम हुने गरेको देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रातभरि वर्षा, बस्तीमा बाढी