अन्तका भन्दा भक्तपुरकी कुमारी कसरी फरक

कुमारी

काठमाण्डू उपत्यकामा प्रचलित परम्परा अनुसार जीवित देवी कुमारीको रूपमा चयन भएर पुजिने कुमारीहरूमध्ये भक्तपुरकी एकान्त कुमारीको जीवनशैली र उनीसँग सम्बन्धित रीतिरिवाज पृथक रहेको संस्कृतिविद्हरू बताउँछन्।

भक्तपुरमा बज्राचार्य वा शाक्य कुलकी कन्या एकान्त कुमारी छनोट भएपछि दशैँ वा अन्य कुनै विशेष पर्वमा बाहेक परिवारसँग अलग्गिएर कुमारी घरमा बस्नुपर्दैन।

उनी साधारण बालिका सरह नियमित विद्यालय जान्छिन्, मावली र आफन्तकहाँ भोजभतेरमा समेत जान पाउँछिन्।

विमला बज्राचार्य भक्तपुरकी एकान्त कुमारी नौ वर्षीया जीविका बज्राचार्यकी आमा हुन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा

तीन वर्षअघि आफ्नी छोरी कुमारी नियुक्त भएपछि उनको दैनिकीमा विभिन्न परिवर्तन आएको उनी बताउँछिन्।

"पहिला त जूठोको केही मतलब हुँदैन्थ्यो। कुमारी छनोट भएपछि छोरीले जूठो खान छाडिन्। साथीहरूले स्कूलमा खाजा दिए भने पनि जूठो खादिनँ भन्छिन्। झुक्किएर उसलाई कसैको खुट्टा लागेछ भने पनि ढोग्न लगाउँछिन्।"

काठमाण्डू र ललितपुरमा जस्तो कुमारी चयन भएपछि आफ्नो घर छाड्न नपर्ने, परिवारसँगै बस्न पाउने भएकाले अन्तभन्दा सजिलो भएको उनी बताउँछिन्।

छनोट

भक्तपुर शहरभरिबाट कुमारीको छनोट हुन्छ, छनोट प्रक्रिया पनि सामान्य नै हुन्छ।

'उपयुक्त लक्षण'की बालिकाको शिरमा तलेजुको फूल राखिदिएर चार दिनसम्म उनी बिरामी परिनन् भने कुमारीको रूपमा छनोट हुने परम्परा रहेको भक्तपुरको तलेजुका जोशी नाइके नरेन्द्र जोशी बताउँछन्।

भक्तपुरकी कुमारीको विशेषताबारे उनी भन्छन्, "भक्तपुरकी कुमारी परम्परादेखि नै आफ्नै घरमा बस्नुहुन्छ, विद्यालय नियमित जानुहुन्छ, साथीसँग खेल्नुहुन्छ, मामाघर जानुहुन्छ। उहाँ दशैँमा मात्र कुमारी घरमा बस्नुहुन्छ।"

कुमारी

ललितपुर र काठमाण्डूका कुमारी पर्वका बेलामात्र घरबाट बाहिर निस्कन पाउँछन्।

भक्तपुरकी कुमारीलाई भने बाहिर निस्किने र विद्यालय जाने स्वतन्त्रता छ।

कुमारीको खानपानमा भने विशेष ध्यान दिइन्छ। कुखुराको मासु वा अण्डा खान निषेध हुन्छ।

भक्तपुरको प्रशन्नशील विहारस्थित कुमारी घरमा विगत २१ वर्षदेखि कुमारीहरूको स्याहार सुसारमा संलग्न कुमारी आमा लुकमणि बज्राचार्य कुमारी घरमा कुमारी नभए पनि दैनिक पूजाआजा गर्ने बताउँछिन्।

महत्त्व

"जमरा राख्नुभन्दा चार दिन वा एक दिन अगाडि पनि हुनसक्छ कुमारी यहाँ आउनुहुन्छ। पूर्णिमासम्म बस्नुहुन्छ।"

"त्यसबाहेक पनि बीचमा कसैले दर्शन गर्छु भन्यो भने म कुमारी आमाले कुमारीको घर गएर यहाँ कुमारी घरमा ल्याएर शृङ्गार गर्छु। उहाँ नभएको अरूबेला पनि दैनिक सबै पूजाहरू गर्नुपर्छ।"

तर काठमाण्डूको तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धव कर्माचार्यको तर्क छ, खुलाभन्दा गोप्य कुराको महत्त्व बढी हुन्छ।

कुमारी

राजधानीको वसन्तपुरस्थित कुमारी घरमा गोप्य रूपमा राखिने भएका कारण नै काठमाण्डूकी कुमारीलाई राज्यकै देवीको रूपमा पुजिने उनको भनाइ छ।

"उहाँको तलेजुमा विशेष गोप्य पूजा हुन्छ। सामान्य खाना त उहाँले कुमारी घरमै खानुहुन्छ। तर उहाँको लागि विशेष गोप्य भोजन दैनिक तलेजुबाटै पठाउँछौँ। त्यो उहाँले ग्रहण गर्नुहुन्छ देवीको रूपमा।"

काठमाण्डू उपत्यकामा ठाउँ अनुसारका विशिष्ट परिचय, पहिचान र परम्परा ‌अनि आचार, व्यवहार र विश्वासबीच निरन्तरता पाइरहेको प्रथा अन्तर्गतका देवताहरूका बीच आपसी तुलना हुन नसक्ने मानिसहरूको मत छ।

र, यी सबै परम्पराको महिमा उत्तिकै रहेको संस्कृतिविद्हरू बताउँछन्।