गणतन्त्र आएपछि गोरखा दरबार र हनुमानढोकाको दशैँमा यस्ता परिवर्तन

फुलपाती समारोह

तस्बिर स्रोत, Bikash Marahatta

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

गोर्खा दरबारमा रहेको गोरखकाली मन्दिरका मूल पुजारी शारदा भट्टराई मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तन यता अन्याय परिरहेको ठान्छन्।

२०६२-२०६३ को जनआन्दोलनपश्चात् मुलुक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेपछि गोरखा दरबार र गोरखकाली मन्दिरका लागि दिने गरिएको बजेटमा उल्लेख्य मात्रामा कटौती गरिएको उनी बताउँछन्।

उनले भने, “२०६४ सालभन्दा अघिको समयमा गोरखा दरबारको बलिलाई राज्यले यथेष्ट रकम दिन्थ्यो। त्यति बेला हामी राँगोमात्रै ८४ वटा बलि चढाउँथ्यौँ। अहिले हामी १६ वटा राँगो बलि चढाउँछौ। त्यस्तै १५४ वटा बोकाहरू हुन्थे, अहिले ३६ वटा बोकाको बलि दिन्छौँ।”

शासन व्यवस्था बदलिएसँगै दशैँ लगायत चाडपर्वमा बलि तथा अन्य पूजा अर्चनाका लागि राज्यले काठमाण्डूको हनुमानढोका र गोर्खाको गोरखकालीसहितका मन्दिरमा दिने गरेको बजेट कम गरेको थियो।

त्यसको विरोधमा राजधानी काठमाण्डूमा असन्तुष्टि नै व्यक्त भएपछि सरकार पछि हटेको थियो तर आफूहरूको चाहिँ आवाज ‘मसिनो’ भएकाले कसैले नसुनेको भट्टराई बताउँछन्।

उनले भने, “गोरखा दरबारमा पूजा बलि नियमित हुनुपर्छ। बजेट काट्न पाइँदैन भन्ने आवाज कसैले उठाइदिएन। त्यसले गर्दा त्यत्ति बेलादेखि नै गोरखा दरबार अन्यायमा परिरहेको छ।”

अघिल्लो वर्ष वार्षिक पूजाका लागि २६ लाख रुपैयाँ बजेट आफूहरूले प्राप्त गरेकोमा यो वर्ष घटाएर साढे १० लाख बनाइएको उनले बताए।

“तर त्यसमा अरू १०-११ लाख थपिदिने आश्वासन चाहिँ उहाँहरूले दिनुभएको छ।”

परिवर्तनहरू के भएका छन्?

मूल पुजारी भट्टराईका अनुसार हालैका वर्षमा गोरखा दरबारमा कार्यरत कर्मचारीहरूको सङ्ख्यामा पनि ७० प्रतिशतले भन्दा धेरै कटौती भएको छ।

उनले भने, “पहिले ११४ जनाको दरबन्दी थियो। अहिले स्थायी १९ जना जति र करारमा १५ जना जति हुनुहुन्छ। पहिला इस्लाम धर्म मान्ने चुरौटेहरूलाई देवीको सौभाग्यका सामानहरू किन्न भनेर दरबारले आजभन्दा ४०० वर्ष अघिबाटै काम दिएर राखेको रहेछ। अहिले त्यस्तो अभ्यासहरू बन्द हुँदै गएको छ।”

त्यसबाहेक राजतन्त्र रहेको समयमा काठमाण्डूस्थित हनुमान ढोकाबाट प्रत्येक दशैँमा देवीको मङ्गल गीत गाउने व्यक्तिहरू गोरखा दरबार जाने गरेको भट्टराई उल्लेख गर्छन्।

उनले थपे, “घटस्थापनादेखि हरेक पूजामा, बलिमा अलग अलग गीत गाउनुपर्ने हुन्छ। पहिला पहिला बडा दशैँ र चैते दशैँमा काठमाण्डूबाट नै आउनुहुन्थ्यो। अहिले त्यो जनशक्ति हामीले नै उत्पादन गर्‍यौँ र यतैबाट चल्ने भएको छ।”

फाइल फोटो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गोरखा दरबारबाट फूलपाती ल्याइँदै (फाइल फोटो)

हनुमान ढोकास्थित दशैँघरका पुजारी देवराज अर्यालले राजतन्त्रकालमा दशैँ सुरु हुनु अघि मङ्गल धुन गाउने ‘मङ्गलिनी’हरू हनुमानढोकाबाट गोरखा र नुवाकोट दरबार जाने गरेको सम्झन्छन्।

उनले भने, “अहिले गोरखाका लागि उहीँ गाउँछन् र हनुमानढोकाकाले यहीँ गाउँछन्।”

यात्रा लगायत बन्दोबस्तीमा लाग्ने खर्चसहितका विभिन्न कारणले यो परम्परा रोकिएको कतिपय जानकारहरूले बताउने गरेका छन्।

के परिवर्तन भएको छैन?

राजसंस्था हटेपछि विभिन्न चाडपर्व र सांस्कृतिक समारोहहरूमा राष्ट्रपति प्रमुख अतिथि भएर जाने गरेको पाइन्छ।

कम्तीमा अढाई सय वर्ष देखि गोरखाबाट बडादशैँका अवसरमा फूलपाती हनुमानढोकामा भित्र्याएर त्यसलाई पर्सने चलन अझै कायमै छ।

हनुमान ढोकास्थित दशैँघरका पुजारी देवराज अर्यालले बीबीसीसँग भने, “मलाई लाग्छ पृथ्वीनारायण शाहले काठमाण्डू जितेको एक वर्षपछि दशैँ घरको वर्षबन्धन पूजा गरे। गोरखा दरबारबाट कालीको कुनै प्रतीक वा रूप ल्याएर असार शुक्ल द्वितीयाको दिन वर्षबन्धन गरिएको थियो। त्यही भएर त्यही समयबाट यो सुरु गरेको भन्ने थाहा हुन्छ।”

गोरखा दरबारको दशैँ

तस्बिर स्रोत, Bikash Marahatta

गोरखा कालिका र हनुमानढोका कालिकाको पूजा विधि फरक रहेको उल्लेख गरेका उनले बेलपातीसहित पूजा नगरिएको नवपत्र गोरखाबाट काठमाण्डू पठाउने गरिएको बताए।

विगतमा गोरखा दरबारबाट फूलपाती लिएर आउँदा हिँडेर आउने प्रचलन भएपनि यातायातको सुगमतासँगै गाडीमा ल्याउने वा हिँडेर ल्याउने दुवै अभ्यास रहेको छ।

अर्याल भन्छन्, “यहाँबाट षष्ठिका दिन धादिङको जीवनपुरमा हनुमानढोका दरबारबाट आठजना जान्छन्। त्यसमा तीन जना मगर, एक जना ब्राम्हण र दुई जना नेवार अनि दुई जना सार्दुल जङ्ग गुल्मका सैनिकहरू हुन्छन्। त्यहाँ एकरात बसेर बेलको रुखलाई पूजा गरेर एउटा बोका र एउटा भेडा बलि दिन्छन्। कहिलेकाहीँ त्यो टोली र हाम्रो अर्को धादिङमा रहेको टोली अनि गोरखाबाट आएको टोली एक ठाउँमा भेट हुन्छ।”

उनले गोरखा दरबारबाट ल्याइएको फूलपाती जमल आएपछि हनुमानढोकाबाट जाने बाजागाजासहितको टोलीले त्यसलाई हनुमानढोकामा ल्याउने बताए।

नाशल चोकमा ल्याएपछि त्यसलाई पर्सने र दियो, कलश, गणेश अनि नवपत्रिकाको पूजा गरेर मूलचोकमा जाने अनि त्यहाँ पनि पूजा अर्चनापछि बोकालाई बलि दिने अभ्यास छ।

हनुमानढोका परिसरमा अष्टमीको दिन राति ५४ वटा राँगा र ५४ वटा बोका बलि दिने गरिन्छ।

त्यसबाहेक नवमी र चतुर्दशीका दिन बिहान पनि ५४ वटा राँगा र ५४ वटा बोका बलि दिने प्रचलन रहेको छ।

अर्यालका अनुसार हनुमानढोकाको पूजा अर्चनाका लागि खासै बजेट घटेको छैन।

गोरखकाली मन्दिरका मूल पुजारी शारदा भट्टराई

तस्बिर स्रोत, Bikash Marahatta

तस्बिरको क्याप्शन, गोरखकाली मन्दिरका मूल पुजारी शारदा भट्टराई

अधिकारीहरू के भन्छन्?

अधिकारीहरू आफूहरूले पैरवी गरे पनि विभिन्न कारणले बडा दशैँ लगायत चाडपर्व मनाउन गोरखा दरबारजस्ता ऐतिहासिक सम्पदाहरूलाई पर्याप्त बजेट दिन नसकेको स्वीकार गर्छन्।

पुरातत्त्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल भन्छन्, “हाम्रा परम्परा मास्नु हुँदैन भन्ने ज्ञान सम्बन्धित निकायहरूलाई छ। तर स्रोत साधनको अभावले कैयौँ चाडपर्वहरू ओझेलमा परेको जस्तो देखिन्छ।”

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले गोरखा दरबार र हनुमानढोका दरबारमा पूजा अर्चनाका लागि बजेटको अभाव नरहेको बताए।

उनले भने, “बजेट छुट्याउने क्रममा कहिलेकाहीँ घट्ने गरेको भएपनि पछि माग गर्दा दिइने गरेको छ। बजेट समस्या होइन। यस्ता पूजा र चाडपर्व हाम्रो प्राथमिकतामा छन्।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।