दशैँमा खुर्सानी दलेको खसी टोकेर मार्ने कर्णालीको अनौठो चलन

तस्बिर स्रोत, Gopal Shahi
- Author, प्रकाश पन्त
- Role, सुर्खेत
कर्णालीको मुगु र कालिकोट जिल्लाका केही ठाउँमा दशैँमा मर्च्या पाठो भनिने खुर्सानी दलेको खसी बाजा बजाउने पेसामा रहेका स्थानीय बासिन्दालाई दिइन्छ। त्यससँग जोडिएका पक्षहरू अनौठो लाग्ने खालका छन्।
मुगुको सोरु गाउँपालिकाको जवलधार, जरेपानी क्षेत्रमा दशैँको टीकाकै दिन र कालिकोटको शुभकालिका क्षेत्रमा टीकाको भोलीपल्ट बाजा बजाउनेहरूलाई मर्च्या पाठो दिने चलन वर्षौँदेखि चलिरहेको छ।
स्थानीय बासिन्दाहरू एकै ठाउँमा भेला भएर मर्च्या पाठो हस्तान्तरण गरिने त्यहाँका बासिन्दाहरू बताउँछन्।
हतियार प्रयोग नगरी मार्ने चलन
करिब ४-५ किलो खुर्सानी पिँधेर बनाइएको लेदो खसीको शरीरमा दलिन्छ।
मुगु सोरुका जुहारीलाल शाहीका अनुसार त्यो खसी पाउनेहरू मिलेर त्यसलाई मार्छन्। तर कुनै हतियार प्रयोग गर्न पाइँदैन। उनीहरूले टोकेरै उक्त खसी मार्छन्।
उनका अनुसार खसी मार्ने प्रतिस्पर्धा हुँदा सयौँ मानिसहरू हेर्न उपस्थित हुन्छन्।
करिब १०-१२ जना बाजा बजाउने सहभागी हुने यो अनौठो प्रतिस्पर्धा करिब एक-डेढ घण्टा जति चल्छ।
खुर्सानी आँखामा परे पनि, त्यसले मुखमा पोले पनि प्रतिस्पर्धामा सहभागी सबैको ध्यान खसीमै हुने गरेको वर्षौँदेखि बाजा बजाउँदै आएका मुगुका रति दमाईले सुनाए।
उनले भने, “बाजा बजाइरहेका बेला स्थानीय मानिसहरूले हाम्रो समूहको बीचमा एक्कासि खुर्सानी लेपेको खसी फाल्छन्। अनि हामीबीच प्रतिस्पर्धा चल्छ।”
खुर्सानीको असरलाई कम गर्न बाजा बजाउनेका श्रीमतीहरूले उनीहरूलाई तेल घसिदिने चलन छ।
उति वेला खुर्सानीले पोलेको खासै अनुभूति नभए पनि पछि भने निकै पोल्ने गरेको अनुभव उनीहरू सुनाउँछन्।
कसले दिन्छ मर्च्या पाठो?

तस्बिर स्रोत, Yogendra Shahi
पहिले पहिले गाउँका मुखियाले मात्र हरेक वर्ष मर्च्या पाठो दिने गर्थे। तर मुखिया हटेपछि जसले पनि मर्च्या पाठो दिने चलन सुरु भएको छ।
एक वर्षमा एउटा गाउँमा एक घरले मात्रै मर्च्या पाठो दिन्छन्। एक भन्दा बढीले चाहेर पनि दिन पाउँदैनन्। त्यसको लागि अर्को वर्ष पालो पर्खिन्छन्।
मर्च्या पाठो दिँदा धेरै खर्च लाग्ने भएकोले पनि धेरैजसोले दिने आँट पनि गर्दैनन्।
पुर्खाले चलाएको चलनलाई आफूहरूले परम्पराको रूपमा निरन्तरता दिएको बताउने मुगुका जुहारीलाल शाही भन्छन्, “मर्च्या पाठो दिँदा कम्तीमा एक डेढ लाख रुपैयाँ खर्च लाग्छ। पैसा धेरै खर्च हुने भएकोले जो कोहीले मर्च्या पाठो दिने आँट गर्दैनन्।"
खर्च बढ्दै गए पनि मर्च्या पाठोको प्रचलन पहिले भन्दा अहिले चर्चित हुन थालेको स्थानीय बासिन्दाहरूको अनुभव छ।
मुगुको सोरु क्षेत्रका बासिन्दाहरूले मर्च्या पाठो कसले दिने भनेर अष्टमीका दिनमै सल्लाह गरेर टुङ्ग्याउँछन्।
अर्को दिनदेखि मर्च्या पाठो दिने घरले खसीलगायत अरू आवश्यक सरसामान जुटाउँछन्।
दशैँको टिका जमरा लगाएर गाउँका बासिन्दाहरू दिउँसो २-३ बजेतिर मर्च्या पाठो दिनेको घर पुगेर रमाइलो सुरु गर्छन्।
कालिकोटमा फरक चलन

कालिकोटमा भने बासी टीका भनिने दशैँको टीकाको भोलीपल्ट मर्च्या पाठो दिने गरिन्छ।
पूर्व वडाध्यक्ष समेत रहेका भर्ताका धनराज शाही भने, “टीकाको दिन रगत देखिनु हुँदैन भन्ने मान्यता अनुसार आफ्नो गाउँमा दशैँको भोलीपल्ट मात्र मर्च्या पाठो दिएर चाड मनाउने चलन छ।"
खुर्सानीको लेदोमा चोपेर दिएको खसी टोकेर मार्दा धेरै कराउन दिइँदैन।
कालिकोटको भर्तामा कालिकाको मन्दिरमा भेला भएर गाउँका बासिन्दाहरूले मर्च्या पाठोको परम्परालाई निरन्तरता दिने गरेका छन्।
मर्च्या पाठो दिने व्यक्तिको घरमा बाजा बजाएर हर्ष बढाइँ गरिन्छ।
मर्च्या पाठो दिने व्यक्तिले हेर्न आएकाहरूलाई सगुनको रूपमा हलुवा, खीर, पुरी खुवाउने र टीका लगाएर बिदा गर्ने चलन छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








